नेपाली चलचित्र क्षेत्रको 'क्युट जोडी' निश्चल बस्नेत र स्वस्तिमा खड्का पहिलोपटक एकसाथ फिल्ममा देखिँदैछन्।
विवाहित जोडी भए पनि फिल्ममा निश्चल र स्वस्तिमा साली-भिनाजुका रूपमा देखिनेछन्।
‘घामड शेरे’ फिल्ममा निश्चल विदेशबाट फर्किएर नेपालमा व्यवसायिक कृषि खेती गर्ने प्रयासमा हुनेछन्। तर उनी कानुनी दाउपेचमा फस्छन्। नियम र कानुनको कुरा गर्दा शेरे घामड पात्रका रूपमा दरिन्छन्।
नेपाली चलचित्र क्षेत्रमा निर्देशक, निर्माता र कलाकारका रूपमा सफल मानिएका निश्चल आफ्नो फिल्म रिलिज हुनु अघि दबाबमा हुन्छन्।
'दबाब नलिने भने पनि दबाब हुन्छ', निश्चलले सेतोपाटीसँग कुराकानीमा भने, 'म आफू जोडिएको फिल्मलाई आफ्नै रूपमा बुझ्छु। मान्छे रुचाउँछन् कि रुचाउँदैनन्। दिन खोजेको म्यासेज त्यही रूपमा जान्छ कि जाँदैन। अनि लगानी उठ्छ कि उठ्दैन, उठेन भने निर्माताका लागि मात्र घाटा हुन्न। लगानीकर्ताको म माथिको विश्वासले गरेको लगानी नउठ्दा दुखी भइन्छ।’
स्वस्तिमा भने फिल्म रिलिज अघि दबाब महशुस गर्नुभन्दा त्यस्तो दबाब सुटिङको क्रममा लिनुपर्ने तर्क गर्छिन्।
'आफू माथिको लगानी र जिम्मेवार कलाकार भएपछि भविष्यमा फिल्मले प्रगति गर्ला कि नगर्ला भन्ने दबाब हुन्छ', स्वस्तिमा भन्छिन्, 'तर त्यो दबाब अलिकति सुटिङ सेटमा लियो भने काम राम्रोसँग गर्नुपर्छ भन्ने हुन्छ। भोलि फिल्म रिलिज हुँदैछ भने त्यस्तोमा प्रेसर लिनु बेकार हो।'
स्वस्तिमा बरु कलाकारले फिल्म प्रमोशनमा बेला दबाब लिनुपर्ने बताउँछिन्।
भिडिओ -