झापाको कुनै बस्ती वा खेतबारीमा जंगली हात्ती देखापरे जिल्ला वन कार्यलयबाट २० वर्षीय ठिटो अनिल प्रधानलाई फोन आउँछ। लगत्तै अनिल आफूले बनाएको ड्रोन लिएर हात्ती धपाउन दौडिन्छन्।
ड्रोनकै माध्यमबाट आफूले दसैं अगाडि झापाको बीगाउँ, डीगाउँ र जलथलबाट हात्तीलाई जंगल लखेटेको भन्दै अनिलले सेतोपाटीसँग भने, ‘त्यसपछि यस क्षेत्रमा हात्ती देखा परेको छैन।’
हात्ती धपाउन ड्रोन प्रविधिको प्रयोग गरिएको यो नेपालमा पहिलोपटक हो। अनिल आफैं जंगली हात्ती प्रभावित क्षेत्रका बासिन्दा हुन्।
जिल्ला वन कार्यालयका अनुसार पछिल्लो नौ वर्षमा झापामा जंगली हात्तीको आक्रमणबाट ३९ जनाको मृत्यु भएको छ।
जंगली हात्तीको वितण्डा अनिलले पहिलेदेखि देख्दै आए।
प्रविधिमा काम गर्ने भएकाले अनिललाई प्रविधिको माध्यमबाट हात्ती धपाउन केही गर्न सकिन्छ कि! भनेर हुटहुटी भयो।
उनले गुगल गरे।
अध्ययन, अनुसन्धान गर्न थाले। खोज्दै जाँदा हात्तीलाई मौरीको आवाज मन नपर्ने तथ्य फेला पारे।
हात्ती विज्ञ नरेन्द्रबाबु प्रधानले कतिपय ठाउँमा मौरीको घार राखेर हात्ती धपाउने चलन रहेको बताए।
उनले भने, ‘हात्तीले मौरीको आवाजलाई दिग्दारी मान्छ। त्यसैले कतिपय ठाउँमा मौरीको घार राखेर हात्ती धपाउने चलन पनि छ।’
तर मौरीको आवाजको साइरन प्रयोगबाट हात्ती धपाउने विधि अस्थायी रहेको प्रधानले बताए।
‘हात्ती मौरीको आवाजसँग बानी पनि पर्न सक्छ। त्यो भने यो प्रभावकारी नहुन सक्छ,’ उनले भने।
त्यहीँ मौरीको आवाजको साइरन ड्रोनमा जडान गर्ने भनेर अनिल कस्सिए।
उनी प्रस्ताव लिएर भद्रपुर नगरपालिका गए। प्रस्ताव स्वीकृत भयो। आवश्यक सामग्री सबै अमेरिकाबाट झिकाए।
अनिललाई ड्रोन तयार गर्न दुई महिना लाग्यो।
ड्रोन तयार भएपछि उनले दसैं अगाडि पहिलो परीक्षण गरे।
ड्रोनको साइरन सुनेर हात्ती जंगल फर्कियो, परीक्षण सफल भयो।
उनले सो कुरा जिल्ला वन कार्यालयलाई खबर गरे।
केही दिनपछि मेची नगरपालिकाको दुवागढीमा जंगली हात्ती देखा पर्यो। अनिल फेरि ड्रोन लिएर हात्ती धपाउन दुवागढी पुगे।
जिल्ला वन कार्यालय प्रमुख विष्णुलाल घिमिरे सहितको टोली पनि पुग्यो। त्यहाँ पनि अनिलले परीक्षण गरेर देखाए। ड्रोनको साइरन सुन्नासाथ हात्ती जताबाट आएको त्यतै फर्कियो।
ड्रोन प्रविधिको प्रयोग प्रभावकारी भएको उनको दाबी छ।
‘हामीसँग पनि सशस्त्र वन रक्षक टोली छ। हात्ती आएको खबर आउनसाथ साइरन सहितको गाडी खटाउँथ्यौं। हात्ती एकछिन जंगल पस्थ्यो फेरि निक्लिहाल्थ्यो। तर ड्रोन प्रविधिको प्रयोगपछि हात्ती फर्केर आएको छैन,’ जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले भने।
अर्कोपटक फेरि जलथलबाट ५ वटा हात्तीलाई ड्रोन प्रविधिबाटै लखेटेको अनिलले सुनाए।
आजभोलि कतै हात्ती आएको खबर पाउनसाथ वन कार्यालयले अनिललाई फोन गर्ने प्रमुख घिमिरेले बताए।
हात्ती धपाउन ड्रोनको प्रभावकारिता देखिएपछि वन कार्यालयले ड्रोन उडानको अनुमतिको लागि जिल्ला प्रशासन कार्यालयलाई निवेदन गरेको छ।
‘हामी नगरपालिका र अन्य सरोकारवालासँग छलफल गरेपछि यहीँ प्रविधिलाई अगाडि बढाउने सोचमा छौं,’ घिमेरेले भने।
अनिलले यो ड्रोनलाई ‘साइरन ड्रोन फर वाइल्डलाइफ म्यानेजमेन्ट’ नाम दिएका छन्।
‘ड्रोन एसेम्बल गर्ने ठूलो कुरो होइन। यसलाई कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने कुरा ठूलो हो। त्यसैले मैले फरक प्रयोग गर्न खोजेको हुँ,’ उनले भने।
अब आफूलाई बालीमा औषधि हाल्ने र पोखरीमा माछालाई चारो हाल्ने ड्रोनको विकास गर्ने सोच रहेको उनले बताए।
प्रविधिको क्षेत्रमा काम गर्ने अनिल शिक्षाका विद्यार्थी हुन्।
उनी कक्षा १२ मा अध्ययनरत छन्।