पूर्व सुनसरीको इनरुवामा जन्मिएका गायक विधान श्रेष्ठले अहिलेसम्म पश्चिमको दार्चुलाको कालापानी टेकका छैनन्। तर उनको परिचयसँग भने पश्चिमको त्यही कालापानीले गराइदियो।
'माछी मार्न जाऊँ न दाजै कालापानीमा
छेकी बारी दुवाली, महाकालीमा
माछी मार्न जाऊँ न दाजै कालापानीमा'
२०५५ सालमा पनि कालापानी विवाद चर्किरहेको थियो। पत्रपत्रिका कालापानीका समाचारले भरिएका थिए। नेकपा मालेले कालापानीमा सीमा मिचिएको भन्दै १८ दिन लगाएर ३२८ किलोमिटर मार्च गर्यो। राजनीति तरङ्गित थियो। राष्ट्रिय राजनीति तातिरहेको नियालिरहेका सञ्चारकर्मी भुषण दाहालले एकदिन विधानलाई भने, ‘अहिले कालापानीबारे गीत बन्यो भने एकदम राम्रो हुन्छ।’
विधान यो कुरा लिएर बुवा भएको ठाउँ सुनसरीको इनरुवा पुगे। उनका बुवा विजय श्रेष्ठ संगितकार हुन्। छोरोको कुरा सुनेर श्रेष्ठले कालापानीबारे आउने समाचारहरु केलाउन थाले। विजय त्यतिबेला राजा मन्हेन्द्रले लोक संस्कृति उथानका लागि खोलेको भानु मोरङ सांस्कृतिक समितिमा काम गर्थे।
समितिमै काम गर्दा उनले ‘राम साइली छेकन दुवाली माछा मारी’ भन्ने लोक गीत सुनेका थिए। विजयले त्यही लोकगीतको भाका र समाचारबाट सिला गरेका शब्दहरुबाट ‘कालापनी’ गीतको रचना गरे।
विधान भने भर्खरै ‘ज्ञानबहादुर छोरा’ नामको अर्को राष्ट्रिय भावना बोकेको गीत निकालेर चर्चाम थिए। बुवाले गीत लेखेपनि सुरुआतमा विधान गाउन तयार भएनन्। ‘दुईवटा राष्ट्रवादी गीत सँगसँगै नहोस् भन्ने मेरो सोचाई थियो। तर पछि स्टुडियाका एरेन्जरहरुले विधानले नै गाउनुपर्छ भने। भाग्यले घुमिफिरी गीम म कहाँ नै आइपुग्यो,’ उनले भने। सुरुआतमा जे पापीले कालापानी गाउन आँटेका थिए। तर विधानले गाउने भएपछि जे पापी र रिता उपाध्यायले साथ दिए।
२०५६ सालमा गीत रेकर्ड भयो। भुषण दाहालले राजधानी नजिकैंको दोलालघाटमा भिडिओ बनाए। दुई महिनासम्म गीत सबै च्यानलहरुमा बज्यो। तर त्यसपछि एक्कासी गीत बज्न बन्द भयो। विधान आफैं सबै च्यानल स्टेसन धाए। तर कसैले गीत बजाउन बन्द गरेको कारण खुलाएनन्।
‘सबैले बज्छ-बज्छ मात्र भने तर कसैले बजाएनन्। किन रोकियो भन्ने खुलेन। चार वर्षपछि फेरी आफैं बजाउन थाले,’ उनले भने।
यो गीत सुन्नासाथ आफूलाई छुट्टै उर्जा र आनन्द आउने उनी सुनाउँछन्। हरेक पटक सीमा विवादका कुरा उठ्दा मान्छेहरुले आफ्नो गीत सामाजिक सञ्जालमा सेयर गर्ने गरेको उनी बताउँछन्।
‘हाम्रोतिर सीमा विवादको कुरा कम छ तर कालापानी, लिपुलेक, सुस्ता लगायत अरु ठाउँको सधैं विवाद हुन्छ। विवाद सुल्झाउनेले किन वेवास्ता गरको होला। यो देख्दा दुःख लाग्छ,’ उनले गुनासो पोखे।
दुई दशक अगाडि गीत रचना गरेका बुवा विजय श्रेष्ठ पनि सीमा विवाद अहिले पनि उस्तै देख्दा उदेक लाग्ने बताउँछन्। अहिले भारतले जारी गरेको नयाँ नक्सामा कालापानी समावेश गरेपछि चर्किएको सीमा विवाद कुटनीतिक माध्यमबाट शिघ्र समाधान गर्नुपर्नेमा उनको जोड छ।
‘यत्रो नांगो नृत्य गरिरहेको छ। त्यहाँ जानुपर्ने को हो, हामीले जिताएको कसलाई हो?,’ उनले आक्रोस पोखे।
देशको सार्वभौमसँग जोडिएको विषयमा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको बुझाइ छ। विधान मात्र होइन विजय पनि कालापानी पुगेका भने छैनन् । ‘त्यही भएर त माछी मार्न जाउ दाजै कालापानीमा भनेर लेखेको हुँ, यो आव्हान हो,’ विजय भन्छन् ।