राजधानीको शंखमुलदेखि बागमती कोरिडोर हुँदै अघि बढ्दा तीनकुने नपुग्दै बायाँपट्टि 'स्वाद म देशी या' लेखिएको बोर्ड देखिन्छ।
फिल्मको अभिनयबाट तारिफ कमाएका कामेश्वर चौरसिया अहिले सुटिङमा कम देखिन्छन्। सात महिनादेखि चौरसिया यहीँ रेष्टुरेन्ट चलाएर बसेका छन्।
दर्शकमाझ अभिनयको चर्चा कमाए पनि उनलाई फिल्मबाट लामो समयसम्म कामको अफर आएन। त्यसपछि उनले व्यवसाय अंगालेका हुन्।
अब दिनदिनै चौरसियाको परिचय कलाकारसँगै रेष्टुरेन्ट मालिक भनेर चिनिँदैछ। तर आफू व्यवसायीभन्दा पनि कलाकार भनेर चिनिन मन पराउने चौरसिया बताउँछन्।
‘म कलाकार ठीक छु। त्यही सुन्दा आनन्द आउँछ। भोक, प्यास बिर्साउने त्यही हो,’ यसो भनिरहँदा उनमा फिल्मको भोक देखिन्थ्यो।
आज उनको हातमा फिल्म छैन। रेष्टुरेन्ट सुरू गरेको सात महिना पुग्दा यो बीचमा उनले कुनै फिल्म साइन गरेका छैनन्। उनले ‘लुट २’, ‘रेशम फिलिली’, ‘साढे सात’ फिल्ममा अभिनय गरेका छन्।
'आज छैन नि फिल्म मसँग। मेरो फिल्मले कमाल गर्न सकेन होला तर भोलिको दिन मेरै होला कि! दस वर्षपछि मेरो समय आउला कि,’ उनले आशा मारेका छैनन्।
आफू अहिले व्यवसायमा रहे पनि फिल्मबाट भाग्न नखोजेको उनले जिकिर गरे। विदेशतिर कलाकारहरू बूढो भइञ्जेलसम्म अभिनयमा सफलता खोज्ने गरेको उदाहरण सुनाए।
यो सबै निरन्तर प्रयास र लगावको फल रहेको भन्दै उनले आफूमा त्यो लगाव किन नहुने भन्दै प्रश्न तेर्साए।
उनले फिल्मबाट कमाएको माया व्यवसायमा पनि पाइरहेका छन्।
कति ग्राहकले आफ्नो वास्तविक नाम थाहा नभएर पात्रकै नामले बोलाउने गरेको उनले सुनाए।
रेष्टुरेन्टको किचनमा काम गर्ने स्टाफले समेत फुर्सदमा उनको डाइलगको तारिफ गरिदिन्छन्। यस्तो सुन्दा आफू फिल्मसँग झन् नजिक भएको महशुस हुने उनी बताउँछन्।
अहिले उनको रेष्टुरेन्टमा ग्राहकले रोटी, बोटी, माछादेखि सबै परिकार चाख्न पाउँछन्। रेष्टुरेन्टमा पाँच जना कामदार छन्। कहिलेकाहीँ ग्राहकको चाप हुँदा चौरसिया आफैं पनि खटिन्छन्। आफैं अर्डर लिन्छन् र सर्भ पनि गर्छन्।
रेष्टुरेन्टको व्यवसायमा रातदिन खटिँदा पनि उनले फिल्मसँगको साइनो मेटेका छैनन्। दिमागमा आउने कथालाई लेखेर राख्छन्। फिल्मकर्मी साथीहरू रेष्टुरेन्टमा आउँदा मौका पारेर डाइलग मारिदिन्छन्। यसरी नै उनले फिल्मको हुटहुटी मेटिरहेका छन्।
फिल्ममा चर्चा कमाइरहेकै बेला चौरसियालाई काम आउन बन्द भयो। त्यसपछि यतिले मात्र नहुने रै’छ कि क्या हो भन्ने मनमा सोच आएको उनले सम्झिए।
फिल्मबाट फुर्सदिलो बनेपछि विस्तारै उनले आर्थिक अभाव झेल्न थाले।
‘रिचार्जदेखि पाँच रुपैयाँ पिसाब फेरेको पैसा तिर्न पनि खाँचो पर्थ्यो,' उनले विगतमा झेलेको अभाव सुनाए।
फिल्ममा काम गरेको पारिश्रमिक समयमा नपाउँदा थप समस्या परेको उनले सुनाए।
‘प्रोड्युसरको हातमा पैसा छ। पैसा माग्न फोन गर्दा ढिला गर्दिने। लिन जाँदा नभेट्ने, फोन स्विच अफ गर्दिने,’ उनले भने, ‘कलाकार मान्छे गएर नाली सफा गरेर आजै पैसा कमाउ भन्ने आँट पनि आएन।’
यही भोगाइले आफूलाई फिल्मकर्म ‘पिसाबको न्यानो’ जस्तो लागेको उनी बताउँछन्। स्टारडम कमाएका कलाकारलाई पनि सजिलो नभएको उनले बुझेका छन्।
‘स्टारडम धान्न ट्याक्सीलाई धेरै भाडा दिनुपर्छ, रेष्टुरेन्टमा टिप्स दिनुपर्छ,’ उनले भने, ‘म त्यस्तो स्टारडम अपनाएको भए घर न घाटको हुन्थें।’
आफूले फिल्मकर्ममा दुःख झेले पनि उनले नयाँ पिँढीलाई यस कर्ममा आउन अपिल गरेका छन्।
‘आउनुस्, तहल्का मच्चानुस्। म लेखेर दिन्छु नयाँ पिँढी जो प्यासोनेट छ उसलाई मजस्तो समस्या हुँदैन,’ उनले दाबी गरे।
फिल्मकर्मबाट जति दुःख भोगे पनि यसबाट आफू टाढा नहुने उनको अठोट छ। बाँचुञ्जेल फिल्म खेल्ने उनको चाहना छ।
‘फिल्मलाई म छाड्नै सक्दिनँ। सय वर्ष बाँचे भने पनि फिल्म खेल्न पाऊँ। मेरो फस्ट लभ फिल्म नै हो,’ उनले भने।
अभिनयको चर्चा शिखरमा पुगिरहेकै बेला काममा खडेरी लागेपछि उनले जिरोबाट व्यवसाय सुरू गरे।
‘म सधैं जिरो हो। जिरोबाट हिरो भएको हो फेरि जिरो हुन्छु, हिरो हुन्छु। जिरोबाट म डराउँदिनँ,’ उनले भने।