काभ्रेकी रजनी तिमिल्सिनालाई गाउँलेले पूर्वमाओवादी लडाकूका रूपमा चिन्छन्।
२०६१ सालमा १४ वर्षको उमेरमा उनलाई तत्कालीन विद्रोही माओवादीले जबरजस्ती विद्यालयबाट लिएर हिँडेका थिए।
‘त्यतिबेला माओवादीमा जान्न भन्नै पाइन्नथ्यो', रजनी सम्झन्छिन्, ‘माओवादीले हामीलाई ट्रेनिङ दियो, हातहतियारको काम गर्नुपर्यो, जासुसीको काम लगाइयो।’
माओवादीले उनलाई रेकीमा खटायो। आक्रमण गर्ने ठाउँको सूचना संकलन गर्ने जिम्मेवारी रजनीको थियो।
‘हामीले युद्धको रेकी गर्नुपर्थ्यो, त्यहाँको अवस्था कस्तो छ, युद्ध जित्न सकिन्छ/सकिन्न जस्ता काम दिइएको थियो।'
संयुक्त राष्ट्रसंघीय मिसन(अनमिन)ले सेनामा समायोजनका लागि उमेर नपुगेको भन्दै शिविरबाट ४ हजार ९ जनलाई निष्कासन गरेको थियो।
त्यसरी अयोग्य लडाकू घोषणा गर्दा उमेरलाई समेत आधार लिइएको थियो। सेनामा भर्ना हुन उमेर नपुगेपछि रजनी 'अयोग्य लडाकू' बन्न पुगिन्।
उनलाई 'अयोग्य लडाकू'का रूपमा लागेको ट्यागले भने पिरोलेको छ।
‘हामीले धेरै समयसम्म लडाकूबाट फालिएको थाहै पाएनौं,’ रजनी भन्छिन्, 'पछि कक्षा सञ्चालन गरेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन भन्दै क्यान्टोनमेन्टबाट निकालियो।'
रजनी लडाइँमा लागेर पढ्न नपाएकोमा चुकचुकाउँछिन्।
'नेता, कमाण्डरहरूले जनवादी शिक्षा पढ्नुपर्छ यो बुर्जुवा शिक्षा पढेर काम छैन भने', रजनी भन्छिन्,' ‘नपढे पनि प्रमाणपत्र त चाहिने रहेछ, योग्यता पुग्नुपर्ने रहेछ।'
आफूले पढ्न नपाए पनि बालबच्चालाई पढाउने दृढता रजनीले लिएकी छिन्।
रजनी जस्तै म्याग्दीका तेजिन्दे केसी पनि २०६१ सालमै ११ वर्षको उमेरमा माओवादी बने। उनी त्यतिबेला कक्षा ६ मा पढिरहेका थिए।
माओवादीले उनलाई पनि सुराकीको काममा खटायो।
‘विद्यार्थीबाट लडाकू भएपछि मैले व्यवस्थापनको काम गरें,’ तेजिन्द्र भन्छन्, ‘खाने, बस्ने कहाँ सुरक्षित छ भन्ने जस्ता कुराको व्यवस्थापन गर्थें।’
उनलाई पनि अनमिनले प्रमाणित गर्दा किन आफू अयोग्य भएँ? भन्ने प्रश्नले खाइरहन्छ।
'म सेनामा भर्ती हुन योग्य थिएँ', तेजिन्द्र भन्छन्, 'मेरो उमेर पनि पुग्थ्यो। त्यत्तिबेला शान्ति प्रक्रिया टुंग्याउन तपाईंहरू शिविरबाट निस्केको देखाउने मात्र हो, तपाईंहरू एउटा गेटबाट निस्किने र अर्को गेटबाट छिरिहाल्ने हो भनेर हाम्रो कमाण्डरहरूले भन्नुहुन्थ्यो हामीले पत्यायौं। सेना समायोजनमा सहयोग गर्ने र फेरि अर्को गेटबाट त्यही क्यान्टोनमेन्टमा छिरेर सेनामै समायोजन गर्ने आश्वासन थियो। हामीलाई गेटबाट निकालियो तर कहाँबाट छिर्ने भनेर अर्को गेट देखाइएन।’
बाग्लुङका सूर्य कुँवर अयोग्य लडाकूको ट्याग लागे पनि पार्टीले अहिले ध्यान नदिएको बताउँछन्।
‘माओवादी र शाही सेनाबीच युद्ध भइरहन्थ्यो, पढ्ने वातावरण थिएन', सूर्य भन्छन्, 'म १२ वर्षको थिएँ। त्यतिबेला म कक्षामा ९ मा पढ्थें।
उनी सशस्त्र द्वन्द्वको क्रममा युद्धमा समेत सामेल भए।
'कहिल्यै युद्द छोडेर भाग्ने मन भएन जसरी पनि बन्दुकको नालबाट राजनीतिक सत्ता प्राप्त गर्नुपर्छ भन्ने मानसपटलमा थियो।’
तर अयोग्य घोषित भएपछि भने आफूलाई पीडा भएको उनी बताउँछन्।
‘पार्टी र कमान्डरहरूले विचलित हुन दिँदैनौं, तपाईंहरू हतोत्साही नहुनुहोस्, सेनामा समायोजन गर्छौं, नेपालका हरेक सुरक्षा निकायमा राख्छौं भन्नुभयो', सूर्य भन्छन्, 'आजसम्म आउँदा यो आश्वासनमा मात्र सीमित भएको छ।
रामेछापका संगम श्रेष्ठलाई पनि दुई/दुई पटक प्रमाणीकरणबाट आफूलाई अयोग्य बनाइएकोमा चित्त दुखेको छ।
‘हामीलाई थाहा भएन कि हामी अयोग्य भएका छौं हामीले पछिल्लो चरणमात्र थाहा पायौं’, संगम भन्छन्, 'क्यान्टोनमेन्टबाट निस्केपछि सडकमा छौं, आर्थिक अवस्था कमजोर भएको छ।'