दुई साताअघि फेसबुकमा एउटा पातमा बनाइएको चित्रको फोटोको खुब चर्चा भयो।
फोटोमा 'भिजिट नेपाल २०२०' को लोगो थियो।
फोटो भने हाल डेनमार्कमा रहेका २६ वर्षीय ईशान महर्जनले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए।
भिजिट नेपाल २०२० सुरू भएसँगै ईशानलाई एक जना साथीले यसको लोगो पातमा बनाउन सुझाए। लगत्तै उनले लोगोलाई पातमा दुरुस्तै उतारे।
ईशानले अरुबेलाजस्तै पातमा लोगोको चित्र बनाएर फेसबुकमा फोटो पोष्ट गरेका थिए। तर फोटोले सोचेभन्दा धेरै चर्चा पायो।
फोटोलाई धेरैले सेयर गरेको उनले सम्झिए। ईशान हाल डेनमार्कमा छन्।
नेपालमा बिबिएसको अध्ययन सकेर तीन महिना अगाडि डेनमार्क पुगेका उनी लन्ड्रीमा काम गर्छन्।
नेपालमा पनि हुँदा उनी पातमा चित्र कोरिरहन्थे तर त्यसको खासै चर्चा भएको थिएन।
पातबाट बनाइने यस्ता चित्रको फोटो उनले पहिलोपल्ट इन्स्टाग्राममा देखेका थिए। फोटोले उनको ध्यान खिच्यो।
सानैबाट आर्टमा रुची राख्ने ईशानले घरमा भएको मनी प्लान्टको पातमा त्यसरी नै चित्र कोर्न थाले। कोर्दाकोर्दै उनले पातमा आर्ट गर्ने भाका टिपे। अहिले पनि डेनमार्कमा उनी फुर्सद भयो कि पातमा चित्र कोर्न थाल्छन्।
पहिलोपल्ट आफूले बुद्धको चित्र बनाएको उनले सुनाए।
उनले फुटबलर मेस्सी, नेपाली र्यापर भिटेन, यम बुद्ध, मिस नेपाल श्रृंखला खतिवडा र बाहुबली फिल्मका हिरो प्रभासको पनि चित्र कोरेका छन्।
अहिले उनलाई साथीभाइ र अरुले पनि आफ्नो फोटो बनाइदिन आग्रह गर्दै मेसेज गर्छन्।
उनले केहीको बनाइ पनि दिएका छन्। तर यो कामबाट ईशानलाई कुनै कमाइ हुँदैन। कमाइ नभए पनि कामको सबैले प्रशंसा गर्दा हौसला बढेको भन्दै ईशानले भने, 'धेरैले सेयर गर्नुहुन्छ। मेरो रुची पनि भएको कारण यसलाई निरन्तरता नै दिन्छु।'
ईशानको कला यतिमै सीमित हुँदैन। उनमा 'बिट बक्स' गर्ने कौशल पनि राम्रो छ। उनले बिट बक्स पनि सिक्न कुनै कक्षा लिएनन्। युट्युबको भिडिओबाटै सिके। आफूले नेपालमा रहँदा बिट बक्स ब्याटल पनि गरेको उनले सुनाए।