आफैंले गरेको संघीय संसद्को लोगोको डिजाइन विवादमा परेपछि टेकवीर मुखियालाई केही दिनयता निन्द्रा पर्न छाडेको छ।
८७ वर्षीय मुखियाले बहुदल आएदेखि यता संसदका सबै लोगो डिजाइन गरेका हुन्। तर यसपटक उनको लोगो विवादमा पर्यो।
सांसदहरूलाई लगाउन दिइएको लोगोमा न त नेपालको झण्डा सही स्वरूपमा छ, न त नक्सा नै। हचुवा शैलीको लोगोको दोष यतिबेला डिजाइनर मुखियामाथि थोपरिएको छ।
'मैले बनाएको डिजाइनमा गल्ती छैन। बनाउनेले गल्ती गरेको हो,' मुखियाले सेतोपाटीसँग भने, संसद् सचिवालयको लापरबाहीको दोष ममाथि थुपारियो।’
लोगोलाई लिएर आएका प्रतिक्रियाले उनलाई हैरानी दिएको छ।
डिजाइनर मुखिया भए पनि लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उद्योग कार्यालयमा तयार भएको हो।
'त्यो सांसदहरूलाई वितरण गरिएको लोगो मैले डिजाइन गरेकोजस्तो छैन', मुखियाले भने, 'त्यो एक दुई कक्षामा पढ्ने बच्चाले बनाएको जस्तो छ।'
मुखियालाई त्यस्तो लोगो संघीय संसद् सचिवालयले अनुमोदन गरेकोमा आश्चर्य लागेको छ। 'त्यस्तो लोगो संसद् सचिवालयले कसरी अनुमोदन गर्यो?', मुखियाले भने, 'लोगो पहिला एउटा मगाउने अनि डिजाइन अनुरूप भए/ नभएको हेरेर थप निर्माणको जिम्मा दिनुपर्थ्यो।'
संसद् सचिवालयको लापरबाहीको दोष आफ्नो टाउकोमा थोपरिएको उनी बताउँछन्।
'नयाँ नक्सा छापिएपछि मलाई लौ लोगो बनाइदिनु भनेर आए। मैले समय लाग्छ भनेँ तर उनीहरूले हतारो बताए', मुखियाले भने, 'मैले एउटा रफ बनाइदिएँ। फाइनल पनि बनाएको थिइनँ। पछि टेलिभिजनमा त्यही रफ लोगो आयो।'
आफूले लोगोको डिजाइन गर्दा कुन रंग कति प्रतिशत लगाउने समेत उल्लेख गर्ने गरेको उनले सुनाए।
'सुनौलो रंग निकाल्न कति प्रतिशत कुन कुन रंग मिसाउनुपर्छ भनेर पनि लेखेर दिने गरेको छु', मुखियाले भने, 'मेरो हात काट्नुपर्छ भनेर लेखेका छन् रे। सुनेर निन्द्रा लागेन।'
मुखियाको पुर्ख्यौली घर ओखलढुंगा हो। तर सानैमा उनको परिवार कलकत्ता बसाइँ सरे।
उनले अध्ययन कलकत्तामै गरे। १८ वर्षको उमेर पूरा भएपछि मात्र उनी परिवारलाई छाडेर नेपाल आए।
कलाकारितामा चासो भएका मुखिया बाँसुरी र गीतार बजाउँथे। राष्ट्रिय नाचघरका प्रहसनमा भाग लिन्थे। राजपरिवारका सदस्यहरूका लागि विभिन्न उत्सवमा पेन्टिङ उपहार दिन्थे।
उनको जीवन्त पेन्टिङलाई राजा महेन्द्रले समेत तारिफ गर्थे। उनी किताबका कभर डिजाइन गर्थे। विभिन्न पुस्तकका लागि चित्र कोर्थे।
२०४६ सालको संसद्को लोगो मुखियाले नै डिजाइन गरेका थिए। त्यसपछि व्यवस्थापिका संसद् र संविधान सभाको लोगो पनि उनैले डिजाइन गरे। कहिल्यै प्रश्न उठेन।
तर यसपटक लोगोको कामका कारण उनको चित्त दुखेको छ।
'डिजाइनका लागि पचास हजार रुपैयाँ पाएको हुँ। कर कटाएर दिएको थियो', मुखियाले भने, 'मेरो कारणले समस्या भएको भए म पैसा फिर्ता गर्न तयार छु।'
उनलाई आफ्नो कलाको अपमान भएको महशुस भएको छ।
'मैले देशका लागि भनेर गरेको हो', मुखियाले भने, 'मेरो इज्जतमा प्रहार भयो।'
उनी संसद् सचिवालयलाई आफूले फाइनल लोगो दिन खोजे पनि सचिवालयले कम्युटरबाट बनाएको भन्दै वास्ता नगरेको बताए।