'बलात्कारी होस् तँ' भन्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेको समूह सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनविरूद्ध खडा भयो। आफ्नो फरक शैलीको प्रदर्शनबाट धेरैको ध्यान तान्न सफल भएको समूहले प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चेर प्रतिनिधि सभा विघटन गरेको नारा लगायो।
तिहारको देउसी-भैलीमा जस्तो एउटाले भट्ट्याउने र अरूले साथ दिने शैलीको प्रदर्शनलाई 'फ्ल्यास मोब' भनिन्छ। बाजाको साथ नाच्दै र हरफ मिलेका नारा चिच्याउँदै गरिने यो प्रदर्शनमा सानो समूहले ठूलो आवाज निकाल्न सक्छ।
'पोलिटिकल लिटरेसी फर वुमन' समूहकी अभियन्ता प्रकृति भट्टराई बस्नेत प्रतिनिधि सभा विघटनविरूद्ध सडकमा युवा नदेख्दा खिन्न भएको बताउँछिन्। त्यही खिन्नताकै कारण नागरिक समाजको आन्दोलनसँग जोडिन पुगेको प्रकृतिले बताइन्।
'हाम्रो संविधान त स्थायित्वका लागि थियो। तर कोही सन्की व्यक्ति आएर दुई-दुई पटकको संविधान सभामार्फत् संविधान ल्याउँदा पनि पुरानै प्रवृति दोहिरिनु गलत हो', प्रकृति भन्छिन्, 'सडकमा अहिले ओर्लिएन भने भोलि पर्सि हाम्रा छोराछोरीले लोकतन्त्रमाथि हमला हुँदा के गर्नुभयो ममी तपाईंले भनेर सोधे के जवाफ दिने? फेसबुकमा स्ट्याटसमात्र लेखेंभन्दा मलाई नमज्जा लाग्छ। त्यसैले आन्दोलनमा आएँ।'
प्रकृतिले भर्खरै स्नातक उत्तीर्ण गरेकी छन्। उनकै शब्दमा उनले चलाएको अभियान बोल्दा अंग्रेजी मिसाएर बोल्ने सहरी युवतीमा केन्द्रीत छ। जसलाई उनी राजनीति बुझाउन चाहन्छिन्। नयाँ पुस्ताका युवतीहरूले मतदाता परिचय पत्रसम्म नबनाएको देखेपछि आफूले अभियान सुरू गरेको उनले बताइन्।
'हामीले लकडाउनमै पचास जनाको समूह बनाएर तीन सय युवतीलाई राजनीति बुझायौं', प्रकृतिले भनिन्, 'अहिले उनीहरूबाटै छानेर २५ जनाको समूह बनाएर प्रदर्शन गरेका हौं।'
प्रकृतिले तालिम दिएका युवतीहरूलाई राजनीति बुझाउन र आन्दोलनमा सहभागीसमेत गराउने गरेकी छिन्।
'गोविन्द केसीको आन्दोलनमा हामी गयौं', प्रकृतिले भनिन्, 'राजनीति बुझाउन हामीले उनीहरूलाई सडकको पनि अनुभव दिलाउनुपर्छ। त्यसैले बलात्कारको मुद्दा होस् वा अहिले प्रतिगमनको मुद्दा युवतीहरूलाई सडकमा ल्याइरहेका छौं।'
हेर्नुहोस् प्रकृतिको भिडिओ ब्लग