स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले कार्ययोजना नै बनाएर तीन महिनाभित्र सबैलाई कोरोनाको खोप लगाउने गरी काम गरिरहेको बताएका छन्।
आजै कोरोनाविरूद्धको खोप कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप तीन महिनाभित्र सबै नेपालीलाई नि:शुल्क लगाउने घोषणा गरेका थिए।
विश्वभर कोरोनाको खोपको तीव्र माग भैरहेकाले कतिपय धनी र सम्पन्न मुलुकहरूले समेत खोप पाउन सकेका छैनन्। खोपको विकास गरिए पनि त्यसको उत्पादन गर्ने कम्पनीहरूले माग अनुसार आपूर्ति गर्न सकिरहेका छैनन्।
भारतले अनुदानमा पठाएको खोप स्वास्थ्यकर्मीहरूलाई आजै लगाइए पनि सर्वसाधारणले खोप कहिले पाउँछन् भन्ने निश्चित छैन।
सरकारले अहिलेसम्म खोप खरिदको कुनै पनि कार्य अगाडि बढाएको छैन। बरु बिल गेट्स फाउण्डेसनको सहयोगमा विश्वभर खोप प्रदान गर्ने कोभ्याक्स कार्यक्रम र दातृ मुलुकको आश सरकारले गरिरहेको छ।
मन्त्री त्रिपाठीले खोप पाउने आधार के हो भन्ने प्रश्नमा 'केही आधार बाहिर भन्न मिल्ने खालकै नभएको' प्रतिक्रिया दिए। त्रिपाठीसँग मनोज सत्यालले गरेको कुराकानी -