नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीलाई बिहिबार आलोचनाको बदलामा पक्राउ मार्फत् सरकारले सत्ताको तागत देखाइदिएको छ। झाँक्रीलाई उनको निवासबाटै पक्राउ गरेर सरकारले आलोचना र टिप्पणी नसहने स्पष्ट सन्देश दिएको छ।
सरकारले झाँक्रीको पक्राउका लागि मात्र काठमाडौंको शंखमुल स्थित उनको निवास बाहिर झण्डै तीन सय प्रहरी पठाइएको थियो।
पक्राउसँगै प्रहरीले उनलाई राज्य विरुद्धको कसुर गरेको पुर्जी थमाएको थियो। जसको पछाडी उनलाई ७ जेलमा थुन्ने सरकारको नियत देखिन्छ। मुलुकी संहिताको राज्य विरुद्धको कसुरको दफा ५८ मा रहेको राष्ट्रपतिलाई धम्की दिएको अभियोग प्रहरीले झाँक्रीलाई लगाएको छ। गोरखामा गत माघ १६ गते झाँक्रीले एउटा राजनीतिक कार्यक्रममा गरेको भाषणलाई प्रहरीले उनीविरुद्धको अभियोग बनाएको छ। झाँक्रीले उक्त भाषणमा राष्ट्रपति भण्डारीलाई बालकोट जान सुझाएकी छिन्।
त्यसो त झाँक्री पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने गरेकी छिन्। सार्वजनिक मञ्चहरुमार्फत् उनले राष्ट्रपतिको आलोचना गर्ने गरेकी छिन्। जसका कारण उनी सिधा सरकारको निशानामा परेकी छिन्।
मदन भण्डारीको हत्यापछि राष्ट्रपति भण्डारीलाई सेतो सारी लगाएर निर्वाचनमा उठाउनु गलत भएको टिप्पणी समेत उनले गरेकी थिइन्। जसका विरुद्ध राष्ट्रपतिकी छोरी उषाकिरणले फेसबुक मार्फत् जवाफ फर्काएकी थिइन्।
सरकारले रामकुमारी झाँक्रीलाई दिउँसो पक्राउ गरेर साँझ रिहा गरेपनि सार्वजनिक टिकाटिप्पणी र आलोचनालाई नसहने स्पष्ट सन्देश दिएको छ। भिडिओ