स्ट्यान्ड-अप कमेडियन नारिया गिरी बेलाबखत आफ्ना भिडिओमा आउने प्रतिक्रिया देखेर दिक्क मान्छिन्।
उनलाई लाग्छ, दर्शकले गाली वा तारिफ जे गरे पनि कमेडीलाई लिएर गरून् तर अधिकांश प्रतिक्रिया आफ्नो उपस्थिति र पहिरनलाई लिएर आएको देख्दा उनलाई चित्त बुझ्दैन।
नारिया भन्छिन्, 'मान्छेले केटीलाई 'कमेडियन' भनेर हेर्दैनन्, 'केटी कमेडियन' भनेर हेर्छन्। मेरो त कमेन्टमा खाली नारियाको लिपिस्टिक बिग्रेछ नि, कपाल स्ट्रेट गरेको भए राम्रो देखिन्थ्यो भन्नेवाला आउँछ। मान्छेले कमेडी हेर्दैनन् क्या!'
कमेडी गर्न सजिलो भए पनि केटीहरूका लागि कमेडीपछिको कुरा सजिलो नहुने नारिया बताउँछिन्।
'कमेडी च्याम्पियन' को पहिलो सिजनमा 'टप १५' भित्र परेकी उनले एक-दुई वटा ठाउँबाट केटी भएकै कारणले 'शो' को लागि निम्तो आएको सुनाइन्।
'कतिपय शोचाहिँ 'एउटा केटी त चाहिन्छ' भन्ने वालाले पनि पाएँ। त्यो त राम्रो भएन नि,' उनले आफ्नो अनुभव सुनाइन्।
हरेक क्षेत्रमा जस्तै कमेडीमा पनि केटीले बढी आलोचना सामना गर्नुपर्ने नारिया बताउँछिन्।
उनले आफूले भिडिओमा कमेडीले भन्दा पनि बढी गाली 'एटिच्युड'ले गर्दा खाने गरेको सुनाइन्।
केटीहरूले कमेडी गर्दा अलिकति बढी 'कन्फिडेन्ट' देखाए त्यो दर्शकको लागि अपाच्य भइहाल्ने अनुभव भएकी नारिया भन्छिन्, 'बढी 'कन्फिडेन्ट' देखायो भने पनि यसलाई निकाल भन्दै हुटिङ गर्छन्।'
कमेडीमा केटा र केटीले अश्लील शब्द प्रयोग गर्ने कुरालाई समान ढंगले नहरेकोमा पनि उनको असन्तुष्टि छ।
केटाहरूले कमेडी गर्दा अश्लील शब्द प्रयोग गर्दा त्यसलाई सहजै स्वीकार्ने तर केटीले प्रयोग गर्दा त्यहीँ कुरा ठूलो हुने भन्दै नारियाले भनिन्, 'केटाहरूले 'ननभेज जोक' गर्दा केही हुँदैन तर त्यही कुरा केटीहरूले भन्दा यतिधेरै गाली आउँछ।'
उनले केटीहरूले कमेडीमा आफूलाई प्रवेश गराउन सुरूदेखि नै अवरोधहरूसँग जुध्नुपर्ने बताइन्।
आफूले पनि कमेडी च्याम्पियनमा सहभागिता जनाउने कुरा पहिले परिवारमा नभनेको उनले सुनाइन्।
'सुरूमा भनेकै थिइनँ। पछि टिभीमा देखेपछि 'ओहो! त पनि टिभीमा भनेर भन्नुभयो',' उनले भनिन्, 'अगाडि नै भन्यो भने फेरि किचकिच गर्नुहुन्छ होला भनेर नभनी गइदिएँ।'
छोरीहरू कमेडीमा आउँदा कति परिवारले उनीहरूको भविष्यलाई लिएर असुरक्षा महशुस गर्ने उनी बताउँछिन्।
छोरीले बाहिर गएर यसोत्यसो भन्दै कमेडी गर्दा पछि छोरीलाई कसले बिहे गर्छ भनेर धेरै परिवारले सोच्ने गरेको उनको बुझाइ छ।
‘कहिलेकाहीँ म आफैंलाई कसले बिहे गर्छ भन्ने लाग्छ,’ ठट्यौली शैलीमा नारियाले भनिन्, ‘त्यत्रो 'नन भेज जोक' हान्या छ।’
जब नारिया कमेडी च्याम्पियनको पहिलो सिजनमा आइन्, उनलाई लागेको थियो दोस्रो सिजनमा भने केटीहरूको संख्या बढ्नेछ। तर दोस्रो सिजनमा जम्मा दुई जना केटीहरू देखिए। जुन पहिलो सिजनको भन्दा पनि कम हो।
पहिलो सिजनमा तीन जना केटीहरू थिए। यसपालिको दोस्रो सिजनमा छानिएका २४ जना कमेडियनमध्ये दुई जना केटी छन्: झापाकी श्रेया सुवेदी र सिन्धुपाल्चोककी स्वेता चौलागाईं।
उनीहरूले आफूहरूलाई कमेडीमा आउन गाह्रो नभएको भए पनि अन्य केटीहरूको हकमा भने यस क्षेत्रमा आउन सहज नहुने सुनाए।
श्रेयालाई त घरमा बुवा नै कमेडी मन पराउने हुँदा सहज भयो। त्यस्तै कानून पढिरहेकी स्वेतालाई पनि परिवारलाई मनाउन खासै गाह्रो भएन।
सुरूमा परिवारले कानूनको विद्यार्थी कसरी कमेडीमा जाने भनेर अचम्म माने पनि आफूले दुबैलाई सन्तुलित बनाएर लानसक्ने भनेपछि परिवार पनि मञ्जुर भएको स्वेता सुनाउँछिन्।
२४ जना केटाहरूसँग प्रतिस्पर्धामा उत्रेका श्रेया र स्वेतालाई उपाधि चुम्ने चुनौती छ।
दुबैले आफूहरूले सक्दो मेहेनत गर्ने र उपाधि चुम्ने लक्ष्य राखेको सुनाए। नारिया, श्रेया र स्वेता तीनै जनाले केटीहरूका लागि पनि केटाकै जस्तो कमेडीमा आउने सहज वातावरण हुनुपर्नेमा जोड दिए।
‘कमेडी गरेर पनि भविष्य राम्रो छ है भन्ने कुरालाई पचाइदियो भने भोलिका दिनमा कमेडीमा धेरै केटीहरू आउँछन्,' नारियाले भनिन्।