प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र हुन् महेश बस्नेत। भक्तपुरका सांसद उनी नेकपाको ओली पक्षको युवा संघका इन्चार्ज हुन्।
प्रधानमन्त्री ओलीका लागि पनि काम अह्राउन, खटाउन बस्नेत सहजै उपलब्ध छन्। नेकपाको संसदीय दलमा बहुमत पुर्याउन यतिबेला सांसद तानातान भइरहेका छन्। यस्तोमा प्रधानमन्त्रीले के महेश बस्नेतलाई पनि सांसद फकाउने जिम्मा दिएका छन्?
सेतोपाटीका मनोज सत्यालले बस्नेतसँग गरेको कुराकानीका मुख्य बुँदा यसप्रकार छन्ः
- सर्वोच्च अदालतले नयाँ सरकार बन्ने सम्भावना छ भने खोज्नुस् भनेर फैसला गरेको मेरो बुझाइ छ। सदनमा वैकल्पिक सरकार बन्ने अवस्था खोजी गर्नुपर्छ। केपी ओलीले राजीनामा दिऊन् र ढुक्कै हामी खाउँला भन्ने प्रचण्ड र माधवहरूले सोच्नुभएको छ भने त्यो गलत कुरा हो।
- सदनभित्र कि केपी ओलीको निरन्तरताको पहल वा बहस होला वा विकल्पबारे छलफल होला। राजीनामाको कुरा आजको राजनीतिको अजेण्डा होइन।
- श्रीमान श्रीमतीबीचमा कुरा नमिल्दा पारपाचुके गर्ने चलन छ। राजनीतिक दलमा कुरा नमिलेपछि लफडा गर्नुहुन्न।
- प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न। हुनुभएको भए अविश्वासको प्रस्ताव पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले संसदीय दलमा पेश गर्नुहुन्थ्यो। उहाँले संसद सचिवालयमा जानुको मतलब दलमा प्रधानमन्त्री बहुमतमा हुनुहुन्छ भन्ने हो।
- प्रचण्ड र माधव कमरेड एकातिर हुँदा केपी ओलीको सांसद हाराहारी हुनुको मतलब उहाँहरूको नैतिक हार हो। लड्डु प्रकरण र कम्फरटेबल पार्टीको कुरा आएपछि मुलुकको राष्ट्रियता र हितका लागि केपी ओली नै हो रहेछन् हामी भ्रममा रहेछौं भन्ने दृष्टिकोणमा प्रचण्ड र माधव नेपाललाई साथ दिने धेरै साथीहरू पुग्नुभएको छ।
- केपी ओली दबाइएको, लुकाइएको, कुण्ठित नेता हो। माधव नेपालको पालामा १७ वर्ष र झलनाथ खनालको पालामा १२ वर्ष, केपी ओली भनेको निषेधित व्यक्ति हो। उहाँलाई हामीले जबरजस्ती निकाल्यौं। कहिलेकाहीँ हुन्छ नि, सुन-हिरा हिफाजत ढंगले नराख्दा ढुसी आउने, हामीले त्यसलाई चम्कायौं। पछिल्लो समय प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि आफ्नो नेतृत्व क्षमता देखाउनुभयो। त्यो कुरा प्रचण्डसँग व्यक्तित्वको टकरावमा पैदा भयो।
- प्रचण्ड जनयुद्धको नायक र गणतन्त्रको नायक भन्ने व्याख्या हुन्थ्यो। उहाँको केपी ओलीसँग तुलना हुन थाल्यो। अझ केपी ओलीको मदन भण्डारी, बिपी कोइराला, राजा महेन्द्र, भिमसेन थापापछिको आशा जगाउने नेता भनेर कुरा हुन थाल्यो। त्यो कुरा मन नपरेपछि यो समस्या सिर्जना भएको हो। दुई महिनापछिको महाधिवेशन कुर्ने धैर्य प्रचण्डमा भएन।
- सबैभन्दा जटिल चक्रव्युहमा प्रचण्ड र माधव नेपाल पर्नुभएको छ। आफैंले बनाएको चक्रव्युहमा पर्नुभएको छ। तर तोड्न सक्ने अवस्था छैन।
- पार्टी विभाजन गरे कांग्रेससँग सहकार्य गर्नुपर्यो भने केपी ओलीले परिस्थितिको बाध्यताले गर्ने हो। केपी ओलीको रहरले होइन।
- वामदेव कमरेडलाई प्रचण्ड कमरेडले राजीनामाको कुरा त हामीले बाहिर गरेको हो। ल एक एक वर्षको सरकारको सहकार्य गरौं न त भन्नुभएको छ रे। नेताहरूबीचमा छलफल गरौं न त भन्ने कुरा भएको छ रे भन्ने मैले सुनेको छु ।
- हाम्रो पार्टीमा भएका युवा मोटरसाइकलमा तेल हालेर, मासु भात खुवाएर, र्यालीमा आउने खालका होइनन्। सहरी मध्यम वर्गीय युवामा हाम्रो पार्टीको आकर्षण छ। बरू अरुलाई मासु भात खुवाएर ल्याउने खालका युवा हामीसँग छन्।
- प्रधानमन्त्रीसँग म निकट छु र कुनै पनि परिस्थिति आइपरे महेशले ह्याण्डल गर्न सक्छ भन्ने परेको छ। प्रधानमन्त्रीले खटाउनेभन्दा पनि प्रधानमन्त्रीसँग निकट हुन चाहेका सांसदहरूले मसँग सम्पर्क गर्ने स्थिति छ ।
- प्रचण्ड निकट रहेका मिडियाहरूबाट योजनावद्ध रूपमा प्रधानमन्त्रीविरूद्ध भ्रम आउन थाल्यो। डेढ-दुई सयको संख्याको सोसल मिडियाको ग्रुपले प्रोपोगान्डा गर्ने र अश्लिल तथा असभ्य कुरा आउन थालेपछि सूचना प्रविधिमा विज्ञ साथीहरू जो हामीसँग थिए, उनीहरूलाई प्रयोग गर्न सकिन्छ भनेर साइबर सेना बनाएको हो।
- साइबर सेना नभनी साइबर युथ भनेको भए प्रभाव हुने थिएन। यो सेना भनेर साइकोलोजिकल ट्रिट गरिएको हो।
- म साइबसेनाको सेना प्रमुख होइन। म युवा इन्चार्ज हो। युवा संघको पुनर्गगठित संगठनको कोही एउटा साथीलाई यो जिम्मेवारी दिन सकिन्छ। कन्सेप्ट मेरो हो, म सेनापति होइन।
-