नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र नयाँ सत्ता समीकरण निर्माणको तयारीमा छन्।
नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ। अर्को तर्फ उसले नेकपा एमालेसँग पनि संवाद जारी राख्ने भनेको छ। अबको सरकार, ओली पक्षमा लागेका माओवादी नेताको फिर्ती र नेकपा एमालेसँगको सहकार्यको सम्भावनाबारे सेतोपाटीका मनोज सत्यालले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी गरेका छन्।
अन्तर्वार्ताका मुख्य मुख्य बुँदाहरु -
- प्रधानमन्त्री आफैंले भंग गरेको प्रतिनिधिसभामा उहाँ जानु हुँदैन, राजीनामा दिनुपर्छ भनेर हामीले भनेका थियौं। अब एकीकरण नै पछाडि धकेलिएपछि उहाँले स्वत: राजीनामा दिनुपर्ने भन्ने हाम्रो कुरा हो।
- अहिलेसम्म सरकारको समर्थन फिर्ता लिएका छैनौं। अहिलेको परिस्थितिमा राजीनामा दिएर उहाँले सरकार गठनको बाटो खोल्नुपर्छ।
- अहिलेको बेला सरकार निर्माण, संविधान कार्यान्वयन र राजनीति सही दिशामा लैजाने विषयमा नेपाली कांग्रेस र जसपासँग वार्तामा जोड दिएका छौं। तर एमालेसँगको वार्ता र सहकार्य अस्वीकार गर्दैनौं।
- हामी कम्युनिष्ट एकताको पक्षधर हौं। उहाँले राजीनामा दिनुभयो, पार्टीलाई पनि नयाँ ढंगले अगाडि बढाऔं भनेर प्रस्तुत हुनुभयो भने हामी खुला ढंगले छलफल गर्न तयार हुन्छौं।
- पार्टी एकता गर्ने कि भंग गर्ने अदालतले भन्ने हो? नामको कुरा छाडेर एकीकरण भंग भयो भन्न पाइन्छ? यसप्रति हाम्रो तीव्र असहमति छ।
- बादल लगायतका नेताहरूलाई ल्याउने वा कारवाही गर्ने भन्ने विषयमा म टिप्पणी गर्दिनँ। अदालतको फैसलाले सामान्यतया आफ्नो पार्टीमा फर्कने भनेको छ। त्यसबारे उहाँहरू आ-आफ्नो दृष्टिकोण बनाउन स्वतन्त्र हुनुहुन्छ। हामी उहाँहरूलाई छिट्टै आफ्नो दृष्टिकोण स्पष्ट पार्न अपिल, विचार र स्थिति गर्न चाहन्छौं।
- प्रचण्डले नै भयो आधा आधा किन भन्नुपर्यो राम्रो सरकार चलाउनुहुन्छ भने तपाईं नै चलाउनुहोस् भनेर केपी ओलीलाई दिएको हैन। तर सरकार बनेपछि ९ महिनासम्म पार्टीको कुनै बैठकमा अजेण्डा नै बनेन। बरू सरकारले पर्फरमेन्स नदेखाएपछि पार्टीमा छलफल गरौं भनेको हो।
- केपी ओलीसँग नजुध्न पाएको भए हुन्थ्यो भन्ने लागेको छैन। मुख्यकुरा आफ्नो व्यक्तिगत स्वार्थ पूरा भएन भने संविधान नै हत्या गरिदिने र पार्टी नै फुटाउने काम केपी ओलीले गर्नुभयो, त्यो नितान्त गलत हो। व्यवहारिक रुपमा पार्टी र सरकारलाई नयाँ ढंगले लैजाने वातावरण तयार गर्नुभयो भने एकीकरण गर्नुपर्छ भन्ने पक्षमा म अझै छु।