तन्नेरी उमेरमै रेष्टुराँ व्यवसायमा हात हालेका निकेश ताम्राकार दुईपटक डुबे। बुवाको लगानीबाट व्यवसाय सुरू गरेका उनले २०६४ सालतिरै ७० लाख पैसा फसाए।
रेष्टुराँ व्यवसायले दुईपटक लडाए पनि निकेशले हिम्मत हारेनन् बरू अन्तिम एकपटक प्रयास गर्छु भनेर लागे। त्यसबाट पनि पार नलागे विदेश हुइँकिन्छु भन्ने सोच बनाए।
सोही अनुसार उनले यता व्यवसाय सुरू गर्ने भनेर काम पनि गरिरहेका थिए, उता अस्ट्रेलियाको भिसा प्रक्रिया पनि अगाडि बढाइरहेका थिए। तर भिसा लागेन। त्यसपछि पार्सपोर्ट नै च्यातेर फालिदिएका निकेश जसरी पनि नेपालमै गर्छु भनेर एकसुरो भए।
तेस्रोपटक भने उनले चिकेन स्टेसनको आइडिया अघि सारे। चिकेन स्टेसन सुरू गर्नुपूर्व उनले अन्तर्राष्ट्रिय ब्रान्ड 'केएफसी' को मोह नेपालमा पनि देखेका थिए। केएफसीमा मानिसहरू लाम लागेर खाएको देख्दा उनलाई यस्तै व्यवसाय कम मूल्यमा सुरू गरे कसो मानिसहरूले नरुचाउँलान् भन्ने निचोडमा पुगे।
त्यसपछि उनले मध्यम आर्थिक अवस्था भएका मानिसहरूलाई लक्षित गरी चिकेन स्टेसन सुरू गरे। झम्सीखेलबाट सुरू गरेको चिकेन स्टेसन अहिले देशभर गरी ३४ वटा पुग्न लागेको छ।
चार वर्षमै ३४ वटा शाखा विस्तार गरेका निकेशलाई केही वर्षभित्रै सयवटा चिकेन स्टेसन विस्तार गर्ने धोको छ।
हेर्नुस् उनै युवा उद्यमी निकेशसँग सेतोपाटीले कुराकानी गरेर तयार पारेको यो सफलताको भिडिओ कथाः