पछिल्लो एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन्।
संक्रमितका लागि वार्डमा छुट्याइएको ४० वटै बेड अहिले बिरामीले भरिएका छन्।
यस्तै २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोला बताउँछन्।
उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो। त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए। अहिले ७० बढी संक्रमितको उपचार भइरहेको निर्देशक बास्तोलाले जनाए। उनले एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।
'जुन हिसाबले बिरामीको संख्या बढेको छ, यसले तेस्रो लहरतिर प्रवेशको संकेत गरिरहेको देखिन्छ। जति पनि कोभिडको उपचार गर्ने अस्पतालहरू छन्, प्राय: अस्पतालको शैया भरिन सुरू भएको छ। बिरामी रिफर भएर आउने संख्या पनि बढेको छ,' निर्देशक बास्तोलाले भने।
टेकु अस्पतालभित्रका बेड संक्रमितले भरिएपछि थप संक्रमितको उपचार गर्न साविककै अस्थायी टहरामा १० बेड सुचारू गरिएको छ। ती टहरामा शंकास्पद बिरामीलाई राखिएको छ। जेठको तेस्रो सातातिर भने उक्त टहरा पूरै खाली भएको थियो।
सरकारले असारको दोस्रो सातादेखि निषेधाज्ञालाई धेरै खुकुलो पारेपछि फेरि अस्पतालमा संक्रमितको चाप बढेको हो। डाक्टर बास्तोला पनि निषेधाजा खुकुलो हुँदा मापदण्ड पालनामा हेलचक्र्याइँ गर्दा संक्रमण बढेको बताउँछन्। उनले अझै पनि मापदण्ड तोड्ने र भिडभाड कायम राखे स्थिति घातक हुने जनाए।
'जुन गल्ती गत पुस, माघमा गरेर चैतदेखि बिरामी बढे, त्यही गल्ती अहिले निषेधाज्ञापछि गरिरहेका छौं। जसले गर्दा बिरामीको संख्या बढिरहेको छ। यसरी नै मापदण्ड पालना नगर्ने हो भने आगामी दुई-तीन हप्तामा बिरामीको चाप बढेर जाने प्रष्ट छ,' उनले भने।
पछिल्लो समय संक्रमण बढ्दै गर्दा सरकारले फेरि निषेधाज्ञालाई थप कडाइ गर्दै 'स्मार्ट लकडाउन' गर्ला कि भन्ने आमजिज्ञासा छ। निर्देशक बास्तोलाले अस्पतालले थेग्नै नसक्ने गरी संक्रमित बढ्न थालेमात्र सरकारले उक्त निर्णय लिनसक्ने बताए।
'अहिले जुन निषेधाज्ञा चलिरहेको छ त्यसलाई नै कडाइ गर्दै अगाडि बढ्नु पर्ने देख्छु तर अस्पतालले थेग्नै नसक्ने गरी संक्रमित बढ्न थाले सरकारले लकडाउन गर्ने निर्णय पनि लिन सक्छ,' बास्तोलाले भने।