'तपाईं कफी सपमा दैनिक कति खर्च गर्नुहुन्छ?'
हिमालयन जाभाका संस्थापक गगन प्रधानले सन् १९९९ मा काठमाडौंमा कफी सप खोल्नुअघि बजारमा सानो अध्ययन गरे। दरबारमार्ग, पुतलीसडक क्षेत्रका करिब दुई सय कार्यालय पुगेर प्रश्नसहितको फारम भराए।
फारममा धेरैले जवाफ लेखे- दिनमा सय रूपैयाँसम्म खर्च गर्छु।
गगनले योसँगै 'दैनिक कति कप कफी पिउनुहुन्छ, कस्ता-कस्ता कफी मनपर्छ' लगायत प्रश्न पनि समेटेका थिए। अधिकांशले दिनको दुईदेखि तीन कपसम्म कफी पिउने लेखे।
यी जवाफले गगनलाई उत्साही बनायो।
त्यतिबेला काठमाडौंमा पाँचचारे होटलले मात्र कफी बेच्थे। चिया पसल र रेस्टुरेन्टमा १५-२० रूपैयाँमा तत्कालै खान मिल्ने (इन्स्ट्यान्ट) कफी मात्र पाइन्थ्यो।
पढ्न भनेर अस्ट्रेलिया गएका गगनले त्यहीँ हुँदा कफी बनाउन सिकेका थिए। नेपालमै केही गर्ने उद्देश्य बोकेर उनी पढाइ सकेर फर्के।
बजार बुझेर कफी सप खोल्ने निधो गरेपछि उनी व्यवस्थापनका थप कुरा सिक्न अमेरिका पुगे। त्यहाँ फेरि कफी बनाउने तालिम लिए, सञ्चालनको तौरतरिका सिके। अनि कफी बनाउने मेसिन लिएर काठमाडौं आए।
लगत्तै कमलादीको हेरिटेज प्लाजामा उनले कफी सप खोले।
मेनुमा एसप्रेसो, माकिआटो, क्यापचिनो, अमेरिकानो, लाते, मोक्का लगायत कफीका स्वाद समेटे।
बजार अध्ययन क्रममा उपभोक्ताले खर्चिने रकमकै आसपास रहेर उनले स्वादअनुसार कफीको मूल्य ६० देखि एक सय रूपैयाँसम्म तोके।
कफी सपले ओगटेको आधा भागमा घरको बैठक कोठाजस्तो बनाएर सोफाहरू राखे। कफी पिउन आउने ग्राहकलाई घरकै वातावरण तयार पारिदिए। बाँकी भागमा कार्यालयमा राखिनेजस्तै टेबल-कुर्सी राखे। पश्चिमा मुलुकतिर कार्यालयको चारघेरा बाहिर निस्केर कफी सपमा काम गर्ने चलन छ। त्यही देखेर आएका गगनले यहाँ पनि त्यस्तै जोरजाम गरे।
जब कफी सप खुल्यो, तब गगनलाई झट्का लाग्यो- उनले दिएका फारम भर्नेहरू कोही आएनन्।
'जसले फारममा दिनमा तीन पटक कफी पिउँछु भनेका थिए, ती महिना दिनमा एकपटक पनि आएनन्,' गगन सम्झन्छन्, 'सय रूपैयाँ खर्च गर्छु भन्ने मान्छेले दिनमा २० रूपैयाँ पनि खर्च गरेन। किनभने काठमाडौंमा त्यतिबेला कफी पिउने बानीको विकास भएकै थिएन।'
उनलाई अझै अचम्म तब लाग्यो, जब उनको कफी सप देखेर कतिपय मानिस फर्निचर पाइने पसल सम्झेर भित्र छिरे। त्यस्तै 'हिमालयन जाभा' नाम देखेर कतिपय विद्यार्थी कम्प्युटर इन्स्टिच्युट सम्झेर भर्ना हुन आए।
गगनका अनुसार त्यो बेला कफी नै पिउन आउनेहरू मुश्किलले दैनिक १२ देखि १५ जना मात्र हुन्थे। त्यतिबेला उनी आफैं कफी बनाउँथे। काउन्टर सम्हाल्थे। टेलबमा कफीको अर्डर पुर्याउन जान्थे।
उनको सोच थियो- सफा र विलासी वातावरणमा उच्च गुणस्तरको कफी बेच्ने।
तर कफीको मेनु देखेर भित्र छिरेका मान्छे पनि बाहिरिन्थे।
'मेनुमा लेखिएका एसप्रेसो, माकिआटो, मोक्का जस्ता कफीका नाम मान्छेले सुनेकै थिएनन्,' उनले भने, 'फेरि नेपालीहरू थाहा भएको खानेकुरा मात्र अर्डर गर्थे। थाहा नभएका नयाँ खानेकुरा मगाएर झट्टै चाखिहाल्न हिचकिचाउँछन्। अहिले त यो बानी धेरै परिवर्तन भयो। तर त्यतिबेला कफी सप छिरेर बसिसकेको मान्छे समेत मेनु हेरर 'भइहाल्यो भाइ' भनेर उठेर जान्थे।'
यी सबै अनुभवले गगनलाई गलाएको थिएन। उनी नियमित आउने ग्राहकसँग नम्र बोलेर सद्भाव व्यक्त गर्थे। तीतो कफी खाएर जाने कतिपय ग्राहक गगनको मिठो बोली सम्झेर आउन थाले। कोही भने त्यहाँको वातावरण देखेर आकर्षित भए।
सीमित ग्राहकलाई तान्न सके पनि कफी सपको बजार बढ्न सकेन। गगन यसको कारण केलाउन थाले। धेरै खोजबिन गरेर सोचेपछि बल्ल गगनले बुझे- खासमा कफी सपको बजार विस्तारका लागि 'कफी कल्चर' विकास गर्नुपर्ने रहेछ।
अर्थात् यहाँका मान्छेको जिब्रोमा कफीको स्वाद बसाउनुपर्थ्यो।
घरघरमा चिया पिउने नेपालीलाई कफी बेच्नु चुनौतीपूर्ण थियो। यो चुनौतीले उनको कफीलाई उँभो लगाउन सकेको थिएन। उनको परिवार पनि आत्तिन थाल्यो। त्यो बेलै विदेश पढ्न गएको छोराले फर्किएर कफी सप खोल्दा परिवार असमञ्जसमा पर्नु स्वाभाविक थियो। तै छोराले जे गरे पनि राम्रै गर्छ भन्ने विश्वासले जित्यो।
'परिवारको समर्थन भए पनि व्यवसाय अगाडि बढाउन कफी संस्कृति विकास गर्नै पर्थ्यो। र यो काम निकै मुश्किल थियो,' गगनले भने, 'तर मलाई कुनै काम सजिलो हुँदैन, नतिजा राम्रो हुन्छ भन्ने सोचले यसमा अड्याइरह्यो।'
गगनले यसनिम्ति विभिन्न उपाय सोचे। नियमित आउने ग्राहकसँग कुराकानी गरे। ती ग्राहक दिनमा तीनदेखि आठ कपसम्म कफी पिउँथे। उनी तिनै ग्राहकहरू रिझाउनतिर लागे। भन्छन्, 'अहिले पनि कफी पिउने ८० प्रतिशत ग्राहक नियमित हुन्छन्।'
व्यापार बढाउन उनले अर्को उपाय पनि लगाए। कमलादी, हेरिटेज प्लाजामा खोलेको कफी सपलाई छोटो समयमै उनले ठमेल सारे। विदेशी पर्यटकको चहलपहल धेरै हुने ठमेलले गगनलाई केही भरथेग गर्यो। विस्तारै कफीको स्वाद चाखिसकेका मान्छेबीच उनको कफी सपको कुरा हुन थाल्यो।
'हिमालयन जाभामा मीठो कफी पाइन्छ नि,' मुखैमुखबाट उनको सपको प्रचार भयो।
एकदिन ठमेलस्थित काठमाडौं गेस्ट हाउस सञ्चालक राजन शाक्य गगनलाई भेट्न कफी सपमै आए।
उनले प्रस्ताव राखे- काठमाडौं गेस्ट हाउसमा कफी सप राखौं।
त्यतिबेला काठमाडौं गेस्ट हाउस पर्यटकले भरिएको हुन्थ्यो। गगनले कफीको बजार देखे। अनि हिमालयन जाभाले आफ्नो शाखा पायो।
हिमालयन जाभाको अर्को शाखा विस्तारको कथा पनि कम रोचक छैन।
अमेरिकन दूतावासले सञ्चालन गर्ने रविभवनस्थित लिंकन स्कुलका तत्कालीन प्रधानाध्यापक ठमेलको कफी सपमा नियमित आउँथे। एकदिन उनै प्रधानाध्यापकले गगनलाई भने- स्कुल परिसरभित्रै कफी सप राखौं।
'उहाँले भित्रै कफी सप राख्न आग्रह गर्नुभयो। मैले भित्र होइन, बरू बाहिर राख्छु भनेँ,' गगनले सम्झिए, 'अमेरिकनले कफी धेरै खान्छन्। लिंकन स्कुलसँगै अमेरिकी सहयोग नियोग (युएसएआइडी) को अफिस पनि थियो। मलाई ग्राहक बढ्छन् भन्ने लाग्यो। त्यसमाथि उच्च र उच्चमध्यम वर्गको राम्रो बसोबास क्षेत्र थियो त्यो। हामीले त्यहाँ एउटा सिमेन्ट गोदामलाई कफी सपमा परिवर्तन गर्यौं।'
ठमेल, काठमाडौं गेस्ट हाउस र रविभवनको लिंकन स्कुलबाहिर हिमालयन जाभा खोलिसकेपछि गगनको मेहनतले रङ पोत्न थाल्यो। उनले अब कफी सपको विज्ञापन गर्नु परेन।
'मान्छेहरू एकले अर्कालाई भन्दै गए,' उनले सुनाए, 'मेरो ध्यान हाम्रो कफी सप छिरेपछि उनीहरूले सत्कार पाऊन् र निस्किँदा खुसी भएर जाऊन् भन्नेमा हुन्थ्यो।'
गगनले आफ्ना कर्मचारीलाई पनि त्यसैअनुसार गर्न भने।
हिमालयन जाभाका शाखा बढ्दै गए पनि उनलाई बजारमा कफी संस्कृति अझै बनिनसकेको महशुस भइरह्यो। उनी हरतरिका सोच्न थाले।
त्यो बेलासम्म देशमा माओवादीले युद्धविराम गरेर शान्ति प्रक्रियामा आइसकेको थियो। राजनीतिक स्थिरतासँगै रेस्टुरेन्टहरू खुल्ने क्रम बढ्यो। तर ती रेस्टुरेन्टले पनि तम्तयार कफी उमालेर मात्र बेच्थे। गगनले काठमाडौं उपत्यकाभित्र र बाहिर खुलेका त्यस्तै रेस्टुरेन्टलाई कफी मेसिन बेच्ने योजना बनाए।
'कफीको बानी बसाल्न मैलै मेसिनहरू ल्याएर बेच्न थालेँ', गगन भन्छन्, 'त्यसपछि कफीको बजार बढ्न थाल्यो।'
उनले रेस्टुरेन्ट खोल्न चाहने तर लगानी धेरै नभएकालाई पनि कफी सप खोल्न हौस्याए।
'राम्रो रेस्टुरेन्ट सुरू गर्न पचास लाख लाग्छ, कफी सप १२ देखि १५ लाखमै खुल्छ। परिवार वा साथीहरू मिलेर पनि खोल्न सकियो,' उनी भन्छन्, 'हामीसँग धेरै हिमालयन जाभा विस्तार गर्न त्यतिबेला पैसा पनि थिएन। त्यसैले हामीले मेसिन बेच्यौं।'
अनि कुनै ठाउँमा कफीको बजार देखियो वा बढ्यो भने त्यहाँ हिमालयन जाभा विस्तार गर्ने योजना गगनले बुने। यो योजनाले अहिले पोखरा, जोमसोम र नाम्चे बजारमा समेत हिमालय जाभा खुल्न सफल भएको छ।
कफी सप खुल्दै गएपछि उनले कफीको गुणस्तर कायम राख्नेमा धेरै ध्यान दिए। कफी बनाउन जान्ने जनशक्ति अभाव हटाउन तालिम दिन थाले। सन् २००८ मा तालिम दिन सुरू गरेका गगनले सन् २०११ मा त सिभिल मलमा कफी बनाउने बरिष्टा स्कुल नै खोले।
स्कुल खोल्नुका पछाडि भने अर्को कारण पनि थियो। त्यतिखेर धेरै नेपाली विद्यार्थीहरू पढ्न भनेर अस्ट्रेलिया गइरहेका थिए। अष्ट्रेलियामा पढेर फर्किएका र नेपालमा व्यवसायमा सफलता हात पारिरहेका गगनलाई अस्ट्रेलियन दूतावासले विद्यार्थीलाई उत्पेरित गर्न बोलाउँथ्यो। सन् २००८ मै गगन घुम्न भनेर अस्ट्रेलिया पुगेका थिए। त्यो बेला धेरै नेपाली विद्यार्थीले काम नपाएको देखे। सीप नभएका कारण बेरोजगार हुनुपरेका युवा देखेपछि उनलाई कफी बनाउन सिकाउने हुटहुटी जाग्यो। अनि उनले तालिम र स्कुलमा जोड दिए।
अहिले देश र विदेशमा गरी गगन चालीस वटा कफीसप सञ्चालन गर्छन्। यसमध्ये २३ वटा फ्रेन्चाइज हुन्। सन् २०१६ बाट उनले हिमालयन जाभाको नाममा अरू व्यक्ति र कम्पनीलाई कफी सप (फ्रेन्चाइज) सञ्चालन गर्न दिएका हुन्। यसबापत मूल कम्पनीले पैसा पाउँछ। गगनलाई देशभित्रै र बाहिरबाट पनि फ्रेन्चाइजका लागि सयौं इमेल आउँछन्।
उनी हिमालयन जाभाको नामबाट बिक्री हुने कफीको गुणस्तरसँग उत्ति नै सचेत छन्। अहिलेसम्म स्थानीय कफी प्रयोग गरिरहेका उनी गुणस्तर कायम राख्न दाना (कफी बिन्स) छनौटमा विशेष ध्यान पुर्याउँछन्।
अहिले उनी पोखरामा आफैं कफी उत्पादन गर्छन्। छिट्टै इलाममा पनि हुँदैछ। अर्को वर्षबाट त्यहाँ उत्पादन गर्ने गरी तयारी भइरहेको छ। कफी बनाउन पोख्त गगन स्वादिलो र गुणस्तरीय कफीका लागि दूधदेखि पानीको समेत गुणस्तर राम्रो हुनुपर्ने बताउँछन्।
'सबै ठाउँमा आफूले हात हाल्ने कुरा त भएन। जसले हामीलाई सामान बेच्नुहुन्छ, उहाँहरूलाई हामी गुणस्तर कायम राख्न भनिराखेका छौं,' उनले भने, 'अहिले कफीका ग्राहक गुणस्तर जाँच्न सक्ने भइसकेका छन्।'
दरबारमार्गमा लकडाउनअघि गगनले हिमालयन जाभाको नयाँ आउटलेट खोले। त्यहाँ फिल्टर्ड कफी बेच्न थालेका छन्। फिल्टर्ड कफी विशेष किसिमको कागजमा छानेर हातैले बनाइन्छ।
यसको स्वादबारे गगन भन्छन्, 'छानेको कफी पिउन थालेपछि यसमै स्वाद बस्छ।'
उनी अब कफीको बार नै बनाउने सोचमा छन्। यो बारमा कफी बिन्सदेखि पानी कति राख्ने भन्नेसम्म छान्न ग्राहकलाई नै दिने योजना हो।
अहिले हिमालय जाभाका सबै शाखामा करिब चार सय जनाले रोजगारी पाइरहेका उनले जानकारी दिए। पछिल्लो समय फ्रेन्चाइज मोडल अघि बढाए पनि राम्रो ठाउँ पाए आफैं आउटलेट सञ्चालन गर्ने योजना छ।
उनी अहिले पनि दैनिक आफ्ना कफी सपमा पुग्छन्। कर्मचारीसँगै काम गर्छन्। भने, 'मैले सिकेको कामको सम्मान हो। कर्मचारी खुसी भए ग्राहक खुसी हुन्छन्। मलाई पनि काममा जानुछ भन्दा खुसी लाग्छ।'
गगनसँगै हिमालयन जाभामा उनका साथी आनन्द गुरुङको लगानी छ। आनन्द फ्रेन्चाइज मोडल, कफी सपका लागि आवश्यक सामान आपूर्ति लगायत काम हेर्छन्। आनन्दको साथले गगनलाई कफीको दैनिक व्यापार हेर्न समय पुगेको छ।
नेपाली समाजमा कफी संस्कार बढाउन तल्लीन गगन अहिले आफूले गरिरहेको काम सुरूआत मात्र भएको बताउँछन्। नेपाली कफी उत्पादन र बाहिरी मुलुकसम्म विस्तार गर्न अझै लामो बाटो तय गर्नुपर्छ।
'हामीले यसमा धेरै गृहकार्य गर्नुछ। विदेशको कफीसँग प्रतिस्पर्धा गर्न हामी पहिले यहीँ राम्ररी स्थापित हुनुपर्छ,' उनले भने, 'यहाँ उत्पादन र आपूर्ति श्रृंखला मिलाउनुपर्छ। यी सबै व्यवस्थापन गर्न सके नेपालको कफीको भविष्य देश-विदेशमा एकदमै राम्रो छ।'