केही दिनअगाडि 'घुमन्ते' नामको युट्युब च्यानलबाट अपलोड गरिएको एउटा भिडिओलाई धेरै दर्शकले रूचाएका छन्। उक्त भिडिओमा सुदूरपश्चिमको विकट भेगमा रहेको धार्मिक स्थल बडिमालिका र त्यस आसपास रहेको प्राकृतिक सुन्दरतालाई कैद गरिएको छ।
हुन पनि मनसुनकै बेला जोखिमपूर्ण यात्रा गरी कैद गरिएका हरिया पाटनका थुम्काहरूले साँच्चिकै जो कसैको मन लोभिन्छ। विगत सात वर्षदेखि घुमन्तेले यस्तै दूरदराजमा रहेका ठाउँका भिडिओ दर्शकमाझ पस्किँदै आएको छ। हिमालको फेदीबाट कोरिएका ट्रेकिङ रूटदेखि मानव पाइला नपुगेका तालहरूसम्म घुमन्तेको भिडिओमा कैद भएका छन्।
लुकेर रहेका ठाउँहरूलाई बाहिर ल्याउने उद्देश्यका साथ २०१५ मा खोटाङका कञ्चन राईले केही साथीहरूलाई साथ लिएर 'घुमन्ते' च्यानल सुरू गरेका थिए। 'साथीहरूसँग घुम्दाघुम्दै घुमेको कुरालाई डकुमेन्ट गरूम न त भनेर 'भ्लग' सुरू गरियो। त्यसपछि २०१५ बाट भने अफिसियली नै 'घुमन्ते' सुरू गरियो,' उनले सुनाए।
घुमन्ते सुरू गर्नुअघि कञ्चनले नेपालमै आइटी कम्पनी खोलेका थिए। पछि उनको कम्पनी डुब्यो। त्यसपछि केही समय अरूको कम्पनीमा काम गर्न थाले। त्यसबाट पनि सन्तुष्ट नभएपछि २०१५ मा उनी थाइल्यान्ड गए। त्यहाँ पनि एउटा आइटी कम्पनीमा काम सुरू गरे। कमाइ राम्रै थियो तर त्यसले पनि उनलाई सन्तुष्टि दिन सकेन।
सानैदेखि घुमफिरमा रूची रहेका कञ्चन सधैँ दुर्गम भेगमा रहेका ठाउँहरू दुनियाँलाई देखाउन चाहन्थे। त्यसैले थाइल्याण्ड बसाइको क्रममा पनि नेपालमा रहेका साथीभाइसँग सहकार्य गर्दै घुमन्तेलाई निरन्तर अगाडि बढाउँदै गए। उनलाई सधैँ घुमन्तेका लागि पर्याप्त समय दिन नसकेको भान हुन्थ्यो। त्यसकारण कमाइ राम्रो हुँदाहुँदै पनि उनी कामबाट छुटकारा चाहिरहेका थिए।
'मासिक ४ लाख कमाइ हुन्थ्यो। तर पनि कामबाट खुसी थिइनँ। त्यसैले २०१९ मा नेपाल फर्किएँ,' उनले सुनाए।
नेपाल फर्किएपछि उनले आफ्नो पूरा समय घुमन्तेका लागि दिन थाले। साथीभाइसँग योजना बुन्दै कहिले पूर्व र कहिले पश्चिमका हिमाल, पहाड, कुनाकन्दरा दौडिन थाले। घुमन्तेले बनाएका केही भिडिओहरू साँच्चिकै प्रशंसनीय छन्। डोल्पास्थित से-फोक्सुण्डो ताल, कास्कीको कोरी, कपुचे ताल, कञ्चनजंघा आधार शिविरबारे बनाएका भिडिओहरू दर्शकहरूले निकै नै रूचाएका छन्। पछिल्लो समय 'बडिमालिका' बारे बनाएको भिडिओ पनि धेरैले रूचाएका छन्। बडिमालिका आफूलाई पनि सबैभन्दा मन परेको ठाउँमा पर्ने कञ्चन बताउँछन्।
'यत्रो नेपाल घुमियो तर नेपालमा पनि यस्तो पहाडको परिदृश्य छ भन्ने थाहा थिएन। त्यस्तो दृश्य त कहीँ पनि देखेको छैन,' उनले सुनाए।
यसरी कुनाकन्दराका ठाउँहरूलाई बाहिर ल्याउने काम गरेपछि सरकारी स्तरबाट भने कुनै हौसला नभएको उनी बताउँछन्। अहिले पनि विभिन्न ठाउँहरूमा जाँदा ड्रोन उडाउन समस्या रहेको उल्लेख गर्दै उनी भन्छन्, 'ड्रोनको अनुमति लिन निकै नै झन्झटिलो छ। त्यसैले पर्यटन मन्त्रालय वा बोर्डले कम्तीमा जहाँ पनि ड्रोन उडाउन सक्ने गरी व्यवस्था गरिदिए निकै नै सजिलो हुन्थ्यो।'
सरकारी स्तरबाट केही सहयोग वा सहकार्य गर्न पाए अझ राम्रो काम गर्न सकिने भए पनि त्यसप्रति कुनै निकायले चासो नदेखाएको उनी बताउँछन्।
'पर्यटन बोर्डसँग पन्ध्र मिनेटको समय लिएर एउटा भिडिओ प्रस्तुति देखाइरहेको थिएँ तर पाँच मिनेटमै भाइ तपाईंको भिडिओ हेरें, भयो भयो भनेर त्यहाँबाट साइड लाग्नुभयो। त्यो सम्झिँदा दुःख लाग्छ,' उक्त घटना सम्झिँदै उनले भने, 'पर्यटन बोर्डले २०१९ तिर नेपालको शीर्ष सय गन्तव्य भनेर निकाल्यो। त्यो सूचीमा भएको अधिकांश ठाउँहरूको हामीले भिडिओ बनाइसकेको थियौं। तर उहाँहरूले राम्रो काम गर्नुभएको रैछ भनेर पनि भन्नुभएन।'
अहिलेसम्म बनेको भिडिओहरूमा स्थानीयहरूले नै ठूलो सहयोग गरेको उनी सुनाउँछन्। त्यसबाहेक भने टिममा रहेका साथीहरूबीच नै पैसा संकलन गरेर विभिन्न ठाउँहरू जाने गरेको सुनाए। अहिलेसम्म टिममा रहेका साथीहरूलाई नियमित तलबसम्म दिन नसकेको भन्दै उनले जेनतेन गरेर थोरै रकमबाट सबै खर्च व्यवस्थापन गर्नुपरेको जनाए।
अभाव भयो भन्दैमा आफूहरूले घुमन्तेको यात्रामा भने ब्रेक नलगाउने उनले बताए। लुकेर रहेका गन्तव्यहरू अझै धेरै रहेकालाई आगामी दिनमा थप भिडिओहरू दर्शकमाझ पस्किने उनको योजना छ।
'अबको यात्रा सैपाल आधार शिविर, मकालु बरूण, ओलङ्चुङगोला र हुम्लादेखि तिब्बतको कैलाश मानसरोवरको सर्किट पनि गर्न मन लागेको छ,' उनले भने।