मिस नेपाल नम्रता श्रेष्ठलाई एकैछिन चुप लागेर बस्न समेत गाह्रो हुन्छ। मोबाइल चलाइराख्नु पर्ने। साथीहरूसँग कुरा गरिराख्नुपर्ने। अझ मिस नेपाल भएपछि उनी यति व्यस्त भइन् कि आफैंलाई समेत समय दिन सकिरहेकी थिइनन्।
मंसिर पहिलो साता उनी मिस वर्ल्डमा भाग लिन अमेरिकाको पुएर्तो रिकोमा पुगेकी थिइन्। कोरोनाभाइरसको महामारी बढेपछि प्रतियोगिता बीचैमा रोकियो। उनी नेपाल फर्किइन्।
नेपाल फर्कंदा उनलाई अघिल्लो दिनसम्म सबै तयारी गरेको परीक्षा स्थगित भएजस्तो लाग्यो। मिस वर्ल्ड प्रतियोगिता ९० दिन सर्यो।
'प्रतियोगिता सरेपछि म आफ्नो दिमाग शान्त पार्न चाहिरहेको थिएँ। मलाई भावनात्मक रूपमा पनि उतारचढाव महसुस भएको थियो', नम्रताले सेतोपाटीसँग भनिन्, 'मलाई त ध्यान गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्यो।'
नम्रताले ध्यान गर्ने निर्णय लिइन्। मिस नेपालको आयोजक हिडेन ट्रेजरले पनि उनलाई ध्यानमा जान अनुमति दियो।
'मलाई विपश्यनाबारे केही थाहा थिएन', नम्रताले भनिन्,'मैले विपश्यनामा गएपछि नै यो गौतम बुद्धले आफ्ना शिष्यहरूलाई सिकाएको ध्यानको तरिका हो भन्ने थाहा पाएँ। तर यो कुनै धर्मसँग सम्बन्धित रहेनछ। बरू वैज्ञानिक रहेछ।'
नम्रताले सजिलै ध्यान लगाउन सकिनन्। विपश्यना ध्यान केन्द्रमा हरेक दिन बिहान ४ बजे उठ्नुपर्थ्यो। नउठ्दासम्म घन्टी बजिरहन्थ्यो।
'पहिलो दुई दिन पानी पर्यो। छाता ओढेर ध्यानमा जानुपर्दा किन आएँ होला भन्ने लाग्यो', नम्रताले भनिन्, 'दैनिक १७ घन्टा उठ्दा १२ घन्टा ध्यानमा बस्नुपर्यो। फोन चलाउन पाएको भए साथीसँग कुरा गरेर समय कटाउन सकिन्थ्यो होला। १२ घन्टासम्म ध्यान गर्दा त भविष्यदेखि विगत सबै सोच्न पाइयो। एक कक्षादेखि छुटेका साथीदेखि १० वर्षपछिको योजनासम्म दिमागमा आयो।'
ध्यानमा मन लाग्दै गएपछि भने उनलाई जीवनमा कति धेरै कुरा छुटिरहेको रहेछ भन्ने लाग्यो।
'ध्यानको ५/६ दिन पुग्दा त कहिले १० दिन पुग्लाजस्तो लाग्यो। जब १० औं दिन भयो समय त कटिहाल्ने रहेछ भन्ने भयो', नम्रताले भनिन्, 'ध्यानमा सबभन्दा ठूलो कुरा अनुशासन रहेछ। एक जना मान्छेले ध्यान गर्दा कुप्रिएर बस्नु पर्दा गाह्रो हुन्छ भने। गुरूमाले आएर 'गाह्रो भए पनि त्यसलाई जित्न भन्नुभयो। उहाँले काँडा बिझ्यो भने काँडा झिक्ने हो। काँडा निकाल्नुपर्छ राखिराख्न हुन्न भन्नुभयो। मलाई साँच्चै गाह्रो भए पनि अनुशासनले ध्यान गर्न सकिन्छ भन्ने भयो।'
ध्यानपछि आफूलाई फरकपन महसुस भएको उनले बताइन्।
'मलाई पहिलादेखि एन्जाइन्टी हुन्थ्यो। म सानो कुरामा आत्तिहाल्थें। मलाई भेट्नेहरू ध्यान गर भन्नुहुन्थ्यो', नम्रताले भनिन्, 'मलाई ध्यान गर्नेबारे थाहा थियो तर कसरी गर्ने थाहा थिएन। शान्त भएर कसरी बस्ने थाहा थिएन। विपश्यनाबाट मैले त्यो तरिका थाहा पाएँ।'
भावनात्मक उतारचढावलाई आफूले अब नियन्त्रणमा राख्न सक्ने विश्वास उनलाई छ।
'कसैलाई नराम्रो गर्न हुँदैन भन्ने हामीलाई थाहा हुन्छ। प्राणी हत्या गर्न हुँदैन भन्ने त थाहा हुन्छ नि तर त्यसलाई कसरी जीवनमा लागु गर्ने थाहा हुन्न नि त', नम्रताले भनिन्, 'त्यसैले त्यो कुरा सिक्न पाइन्छ।'
नम्रता आउँदो मार्च १२ मा कोरोना महामारीले रोकिएको मिस वर्ल्ड २०२१ को फाइनलमा सहभागी हुन फेरि जाँदैछिन्। यसपटक टप १० मा पुग्ने उनको आशा छ।
मिस नेपालका आयोजकले एउटा छोटो बाटो पनि बनाइदिएकाले आफू त्यो बाटोबाट अघि बढ्ने विश्वास उनलाई छ।
'फास्ट ट्र्याकबाट जानका लागि डिजिटल मिडिया ट्यालेन्ट थपिएको छ। मिस वर्ल्डको वेबसाइटमा हरेक देशका प्रतियोगीले आफ्नो देश, जीवन र कामबारे लेख्नुपर्छ', नम्रताले भनिन्, 'त्यो लेखमा आउने प्रतिक्रिया र 'इन्गेजमेन्ट' हेरेर सिधै टप १० मा पुग्ने बाटो छ। नेपालीहरूले साथ दिए त्यो बाटो हाम्रा लागि राम्रो हुन्छ।'
हेर्नुहोस् भिडिओ-