पाँच दिनयता दैनिक भारतको जयनगरबाट नेपालको जनकपुर हुँदै धनुषाको कुर्थासम्म रेल सञ्चालन भइरहेको छ।
विसं १९९४ बाट सञ्चालनमा आएको जयनगर–जनकपुर रेल ८ वर्षयता बन्द अवस्थामा थियो। यसबीच रेल्वेको ट्रयाक 'न्यारोगेज' बाट ब्रोडगेजमा स्तरोन्नति भएको छ भने नेपालले आफ्नै रेल किनेको छ।
धार्मिक सहर जनकपुरका लागि जयनगरबाट रेल नेटवर्कमा जोडिनुको अर्थ भारतीय रेल्वेको नेटवर्कसँग जोडिनु हो। नेपालको कुर्थादेखि भारतको जयनगरसम्म जम्मा ३५ किलोमिटरको रेल्वे ट्रयाक छ। तर यो ३५ किलोमिटरले भारतको ६८ हजार किलोमिटरको नेटवर्कलाई जोड्ने काम गरेको छ।
जयनगरबाट दैनिक दिल्ली, मुम्बई, कलकत्ता, पटना लगायत भारतका अधिकांश सहरमा रेल चल्छन्। जयनगरमा अहिले नै ५ वटा रेल्वे प्ल्याटफर्म छन्। कुनै एउटा सहरका लागि रेल छुटिरहँदा अर्को सहरबाट रेल आइपुग्ने अवस्थामा जयनगर स्टेसन छ। यसले धार्मिक सहर जनकपुरको पर्यटनमा फाइदा पुर्याउनेछ।
जनकपुर-जयनगर ट्रयाकमा अहिले १३ सय ५० सिटका दुई सेट रेल सञ्चालन हुने अवस्थामा छन्। तर रेलका लागि तत्काल यात्रु पुर्याउनु नै चुनौतीपूर्ण देखिएको छ।
भारतको बिहार राज्यमा रहेको जयनगरको जनसंख्या लगभग ३० हजार हाराहारी मात्र छ। त्यसैले जयनगरको मात्र भर पर्दा जनकपुर रेल्वेलाई सञ्चालन सहज छैन। जयनगर नेपालको जनकपुरभन्दा सानो सहर हो। तर आसपासका बस्तीका लागि जयनगर रेल्वे स्टेसन हबका रूपमा विकास भएको अवस्था छ। जनकपुरको राम्रो प्रचार गरिए अन्य ठाउँबाट यात्रु आकर्षित गर्न सकिने सम्भावना छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झा केबलकारमा यात्रा गरेजस्तै नेपालीहरू जनकपुर-जयनगर रेलमा यात्रा गर्न आउने दाबी गर्छन्। झा रेलमा यात्रुको कमी नहुने बताउँछन्।
'आन्तरिक पर्यटन, व्यापार व्यवसाय र दुई देशको भाषा, संस्कृतिको क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ,' झाले सेतोपाटीसँग भने, 'यात्रुको कमी हुँदैन। अब हामी अनलाइन टिकट काट्ने तरिका मिलाउँदैछौं।'
त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक पशुपतिनाथ झा बौद्ध धर्मावलम्बीहरू लुम्बिनी गएजस्तै हिन्दु धर्मावलम्बी जनकपुर आउने बताउँछन्।
‘जनकपुर हिन्दु धर्मावलम्बीका लागि विश्वप्रसिद्ध स्थल हो,' मिथिला भाषाका पूर्वप्राध्यापक झाले भने, 'मानिस चाहेर पनि आउन पाएका थिएनन्। अब रेल यातायात सुरू भएपछि ओइरो लाग्छ।'
जनकपुरदेखि जयनगरसम्म ८ वटा रेल्वे स्टेसन र हल्ट छन्। 'पाँचवटा स्टेसन छन् जसमध्ये एउटा भारतको जयनगरमा छ। बाँकी ४ वटा नेपालमा छन्,' झाले भने, 'हल्टमा यात्रु ओराल्ने र उकाल्ने काम हुन्छ।'
अहिले कुर्थादेखि जयनगरसम्म सामान्य सिटमा भाडादर ९० रूपैयाँ तोकिएको छ।
हेर्नुहोस् नेपालको जनकपुरदेखि जयनगरसम्मको रेल यात्राको भिडिओ-