'कबड्डी ४' की नायिका मिरुना मगर अहिले चर्चामा छिन्। सन् २०१६ मा लण्डनबाट नेपाल आएकी मिरुनाले फिल्ममा अभियन गर्न थालेको धेरै भएको छैन। छोटो अवधिमै उनले नेपाली फिल्म क्षेत्रमा पकड भने कायम गरेकी छन्। अभियनकै कारण उनले पछिल्लो समयको नेपालकै चर्चित फिल्म 'कबड्डी ४' मा मुख्य अभिनेत्रीको भूमिका पनि पाएकी छन्।
मिरुनाको फिल्म क्षेत्रमा आगमन पनि कुनै फिल्मी संयोगभन्दा कम छैन।
बुवा बेलायती सेनाको गोर्खा फौजमा भएकाले मिरुना १२ वर्षको उमेरमा लण्डन पुगेकी थिइन्। त्यसैले उनी लण्डनमै हुर्किइन्, पढिन्। पढाइ सकिएपछि सन् २०१६ मा उनी भूकम्प पीडित सहयोग गर्ने संस्थामा काम गर्न नेपाल आएकी थिइन्।
तर नेपालमा जुन संस्थासँग काम गर्न मिरुना आएकी थिइन् नेपाल आएपछि त्यो संस्थाले वेवास्ता गर्यो। कहिले उनको एप्लिकेसन हराएको भन्यो। कहिले काम नै नभएको भनिदियो। काम नपाएपछि मिरुना समयको सदुपयोग गर्न अभियन सिक्न थालिन्। एक्टर्स स्टुडियोमा।
तीन महिने कोर्स पूरा गरेपछि उनको नेपाल बस्ने छुट्टीको समय सकियो। कोर्सको अन्तिममा उनको ब्याचले नाटक देखाउनुपर्थ्यो। मिरुनाका साथीहरूले ‘कथादेश ३’ निर्माण गर्ने भए। उनी लण्डन जाने कि नेपालमै बसेर नाटकमा अभियन गर्ने भन्ने दोधारमा परिन्। अन्तत: छुट्टी लम्बाउने निर्णय गरिन्। मिरुनाको यो निर्णणले उनलाई नेपाली फिल्म क्षेत्रमा ल्यायो।
'कथादेश ३' नाटकमा अभिनय गरिरहेको बेला फिल्म 'लालपुर्जा'को टिम कलाकार खोज्दै शिल्पी थिएटरमा पुगेको थियो। लालपुर्जाको टिमले स्क्रिनटेष्ट गर्यो र पात्रमा फिट हुने भएपछि उनी फिल्म लालपुर्जामा आबद्ध भइन्। फिल्म त खासै चलेन तर उनको अभिनयले सबैलाई लोभ्यायो। त्यसपछि लाहुरे, रोज, साइनो, चचहुँई जस्ता एकपछि अर्को फिल्ममा उनले अभिनय गरिन्। मिरुनाको अभिनय रहेको नेपालको सबैभन्दा सफल मध्येको फिल्म सिरिज 'कबड्डी ४' यही जेठ १३ गते प्रदर्शनमा आउँदैछ।
त्यसो त मिरुनाकी आमा नाट्यकर्मी हुन्। आमाले सानैदेखि नाटक देखाउने ठाउँमा सँगसँगै लैजान्थिन्। मिरुनालाई त्यसको गहिरो छाप पर्यो। आमासँगै प्रहरी कार्यालय, अड्डा अदालत, नाटकघर, कविगोष्टीमा गएको सम्झना मिरुनालाई छ।
तर बेलायत पुगेपछि उनले फरक संस्कृति र परम्परामा रुझ्नुपर्यो। त्यसले मिरुनालाई थप सिक्ने वातावरण दियो। नेपालमा फिल्म क्षेत्रमा जम्न थालेकी मिरुना फिल्म क्षेत्रमा लगातार काम गर्ने कि नगर्ने भन्ने दोधारमा भने अझै छिन्। समाजशास्त्रमा स्नातक गरेकी उनले अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर्स गरेकी छन्।
उनले अभियनय गरेका कतिपय फिल्म लकडाउनका कारण प्रदर्शनमा आएका छैनन्। तर उनको माग बढ्दो छ। उनी भने अझै फिल्मी भविष्यमाथि आत्मविश्वासी छैनन्।
हेर्नुहोस् भिडिओ: