सरकारले कारबाहीको चेतावनी दिएपछि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरूको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ।
यातायात व्यवस्था विभागले २०७८ कात्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नामाकरण भइसकेका प्रदेशका सवारीमा साधनमा चरणबद्ध रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने जनाएको थियो।
विभागले पछिल्लोपटक सूचना सच्याउँदै साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ। जडान नभए साउन १ गतेपछि सडक अनुगमन गरी कारबाही गर्ने जनाएको छ।
काठमाडौंको गुर्जुधारामा सवारी साधनमा इम्बोस्ड नम्बर दर्ता र जडान गर्नेहरूको लाइन बढ्दो छ। काठमाडौंकै रानीवनका सोमबहादुर तामाङ नम्बर प्लेट जडानका लागि धाएको तीन दिन भयो।
'साउन पछाडि फाइन हान्ने के-के कुरा सुनेपछि म पनि आएको हुँ', गुर्जुधारामा भेटिएका सोमबहादुरले भने, 'दोस्रोपटक आएर आज तेस्रो दिनमा बल्ल मेरो काम भयो।'
अनलाइन आवेदन भरेर, आवश्यक कागजपत्र र फारम भरी दस्तुर तिरेपछि इम्बोस्ड नम्बर प्लेट जडान गर्न पाइने व्यवस्था छ। तर सो प्रक्रिया अझै व्यवस्थित नभएको सर्वसाधारण बताउँछन्।
'सरकारले एकाएक उर्दी जारी गरेर नयाँ प्रणाली सुरू गर्ने भन्यो तर ४० लाख बढी दुईपांग्रे सवारीलाई यति छोटो समयमा सेवा दिनु सम्भव छैन,' बाफलका मनोजकुमार शाह भन्छन्, 'यदि जसरी पनि लागु गर्छु भन्न थाले धेरै भीडका कारण यहाँ मारपिट हुन नि सक्छ।'
ललितपुरकी भावना भण्डारीले इम्बोस्ड नम्बर प्लेटको बारेमा सकारात्मक-नकारात्मक कुरा बुझ्न समय नपुगेको बताइन्।
'प्रक्रिया सजिलै हो तर व्यवस्थापन राम्रो भएन र समय छोटो भयो', उनले भनिन्, 'एउटै नम्बर प्लेट बनाउन दुई-तीन लाग्नु हाम्रो धेरै समय खेर जानु हो।'
विभिन्न एजेन्ट र विभाग बाहिरका पसलहरूले कागजपत्र बनाउन शुल्क तोक्दा सर्वसाधारण मर्कामा छन्।
'मैले नम्बर प्लेट बनाउन, प्लेट होल्डर किन्न र कर्मचारी शुल्क भनेर पैंतालिस सय तिरेँ,' अफिस बिदा लिएर साथीसँग नम्बर प्लेट बनाउन आएका पासाङ शेर्पा भन्छन्, महंगो पर्यो कि भनेर सोधेको, उताबाट यस्तै हो भन्नुभयो अनि दिनु परिहाल्यो।'
यातायात व्यवस्था विभागका अनुसार देशभर ४० लाखभन्दा बढी सवारी दर्ता छन्।
सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने हो भने ४० लाखभन्दा बढी इम्बोस्ड नम्बर प्लेट चाहिन्छ। तर सबैलाई एकैपटक वितरण गर्न सक्ने गरी इम्बोस्ड नम्बर प्लेट सरकारसँग छैन।
विभाग महानिर्देशक नमराज घिमिरेका अनुसार सबैलाई कारबाही हुँदैन। नयाँ सवारी दर्ता भएर पनि इम्बोस्ड नम्बर प्लेट जडान नगरी चलेको अवस्थामा भेटिएमा मात्र कारबाही हुन्छ।
इम्बोस्ड नम्बर प्लेटको शुल्क
साधारण नम्बर प्लेटको तुलनामा इम्बोस्ड प्लेट पाँच गुणा बढी महँगो पर्ने देखिन्छ। साधारण नम्बर प्लेट पाँचदेखि छ सय रूपैयाँसम्म पर्छ।
विभागका अनुसार ठूला सवारीमा इम्बोस्ड प्लेट जडान गर्न तीन हजार छ सय शुल्क तिर्नुपर्छ। मझौला तथा साना चारपांग्रे (जिप, भ्यान, माइक्रो, मिनिबस) जस्तामा दुई हजार नौ सय रूपैयाँ लाग्छ। दुईपांग्रेका लागि दुई हजार पाँच सय रूपैयाँ तिर्नुपर्छ।