सेलिब्रेटी बैंकर अनिलकेशरी शाहको रूप पछिल्ला दिनमा फेरिएको छ। नफेरियोस् पनि किन! ३२ वर्ष विभिन्न बैंकमा काम गरेका अनिल गत साता मात्र बैंकिङ क्षेत्रबाट विदा भएका छन्। बैंकिङ क्षेत्रमा रहँदा उनले आफ्नो एकखाले व्यक्तित्व बनाए। रातो चश्मा, ठाडो जुँगा राखेर उनी सधैँ टाई-सुटमा चिटिक्क पर्थे। बैंकिङ करियरको १७ वर्षसम्म उनले नबिल बैंक र मेगा बैंकको सिइओ भएर बिताए।
३२ वर्षपछि अनिलले बैंकिङसँगै टाई र सुटबाट पनि छुटकारा पाएका छन्। अब उनलाई ठाँटिएर कार्यालय जानुपर्ने छैन। सधैँ फुर्तिला र जोशिला देखिने अनिलले ब्रेक पाएका छन्। अनिललाई एउटा प्रश्नले भने अझै छाडेको छैन।
'अब के गर्ने?'
अनिललाई राजनीतिमा आउन सुझाउने धेरै छन्। कतिपयले भने उनलाई कुनै संस्था वा बैंकमा फेरि सिइओ बनेर काम गर्न सुझाइरहेका छन्। अनिल भन्छन् - धेरैलाई यो जुङ्गेले अब के गर्ला भन्ने चासो रहेछ?
अनिलले भने बैंकबाट बाहिरएसँगै नयाँ 'स्टार्टअप' सुरू गरिसकेका छन्। 'लिड नेपाल' नामको संस्था खोलेर उनी नेतृत्व विकास, क्षमता विकासमा संलग्न हुने सोचमा छन्।
'जहाँ अनिल शाह बसेको छ, त्यही मेरो अफिस हो। मान्छे पनि म एक्लै छु। किनभन यो स्टार्टअप हो', अनिलले भने, 'अब नयाँ बाटो बनाउने हो। विश्वास छ, आँट छ, पसिना बगाउन सक्छु। बुद्धि चलाउन सक्छु। सबै जनाको मायाले पहिला नै अनिल शाह भन्ने ब्रान्ड छ। त्यो ब्रान्डको सदुपयोग गर्ने हो।'
अनिल संस्थामार्फत् आफूले डाक्टरको काम गर्ने बताउँछन्।
'अब अनिल शाह डाक्टर बनेको छ। जसरी डाक्टरले रिपोर्ट हेरेर, परीक्षण गरेर यो-यो खाना खानु, यो-यो नखानु, चुरोट नखानु, रक्सी लिमिट गर्नु, एक्सरसाइज गर्नुस् भन्नुहुन्छ', अनिलले भने, 'मेरो पनि अब काम त्यही हो। मैले सिकेको अनुभव बाँड्ने हो। म अब 'वान अन वान' मेन्टरिङ पनि गर्छु। संस्थामा टिमहरू कसरी अगाडि बढाउने भनेर सिकाउँछु। तालिमदेखि मनिटरिङसम्मको काम हुन्छ।'
त्यसो त अनिल शाहलाई बैंकिङ छाडेर अहिले स्टार्टअप सुरू गर्न खोज्दा त्यस्तो पागलनपनमा नलाग्न सुझाव दिनेहरू पनि प्रशस्तै छन्।
'मैले ३ हजार ५ सय रुपैयाँको जागिर खाँदा पनि पागलपन भन्नेहरू थिए। स्ट्यान्डर्ड चाटर्ड बैंकबाट विदेश जाने अवसर छाडेर नबिल बैंकमा जाँदा पनि 'पागलपन किन गरेको अनिल!' भन्ने आफन्त र शुभचिन्तक हुनुहुन्थ्यो। फेरि नम्बर वान बैंक नबिल छाडेर मेगामा जाँदा पनि किन यस्तो गरेको भन्ने हुनुहुन्थ्यो', अनिलले भने, 'अहिले पनि त्यस्तै प्रश्न आएको छ।'
अनिल भने अब राजनीति वा कुनै कार्यालयमा नेमप्लेट टाँसेर काम गर्न चाँहदैनन्।
'जे मैले सिकेको छु, त्यो बाँड्ने हो। म कुनै कम्पनी न्युयोर्क स्टक एक्सचेन्जमा लिस्ट हुँदा घन्टी बजाउने मान्छे हुन चाहन्नँ', अनिलले भने, 'बरू मलाई ह्वाट्सएपमा कुनै मेसेज आओस्- अनिल दाइ, आज मेरो कम्पनी न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टेड हुँदैछ। धन्यवाद दाइ, तपाईंको दुई शब्दले पनि मलाई धेरै मद्दत गर्यो र बिलियन डलरको कम्पनी बनाउन सक्षम भयौं भन्ने मेसेज हेर्न चाहन्छु।'
हेर्नुहोस् भिडिओ: