लक्ष्मी घिमिरे २०६६ साल असोजमा भिरबाट लडिन्। दुर्घटनाका कारण उनको मेरूदण्डमा पक्षघात भयो। सानैदेखि सेनामा जाने उनको सपना त्यहीँ टुट्यो।
'प्लस-टु सकेर सेनामा सेकेन्ड लेफ्टिनेन्ट हुन्छु भनेर तयारी गरिरहेकी थिएँ,' लक्ष्मीले भनिन्, 'दुर्घटना हुनासाथ योजनाहरू मोडिएर अन्तै गइदिए।'
तर लक्ष्मीका लागि भने नयाँ अवसरले पर्खिबसेको थियो।
हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लक्ष्मी घिमिरेलाई समानुपातिक तर्फबाट बागमती प्रदेश सभा सदस्य बनाएको छ।
तर यसपटक सांसद बन्ने मौका पाइएला भन्ने उनलाई कुनै भेउ थिएन।
'एक दिन सांसद हुन्छु भन्ने थियो तर अहिले हुन्छु भन्ने थिएन,' लक्ष्मीले भनिन्, 'मबाट मान्छेले धेरै अपेक्षा गरेको देखेर अझ राम्रो गर्नुपर्छ भन्ने जिम्मेवारीबोध भएको छ।'
अहिले ह्विलचेयरको सहयोगमा हिँडडुल गर्ने लक्ष्मी रामेछापको गोकुलगंगा गाउँपालिका हुन्। उनी विवेकशील साझा पार्टी हुँदै राप्रपामा पुगेकी हुन्।
केही समयअघिसम्म विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा कार्यरत थिइन्। व्यवस्थापन संकायबाट स्नातकसम्मको अध्ययन गरेकी लक्ष्मी ह्विलचेयर बास्केटबल खेलाडी समेत हुन्।
लक्ष्मी सांसद बनेसँगै बागमती प्रदेश सभा सचिवालयले आफ्ना संरचना अपांगतामैत्री बनाउन सुरू गरेको छ।
योसँगै अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, व्यवसाय लगायत क्षेत्रमा सहजीकरण र सुधार गर्नु आफ्नो मुख्य एजेन्डा भएको उनी बताउँछिन्।
'पार्टीले उठाएका एजेन्डा त हामी टिमले नै उठाउने कुरा हो,' सांसद लक्ष्मीले भनिन्, 'अपांगता भएकै व्यक्तिको प्रतिनिधित्व गर्दै जाँदा उनीहरूका लागि मैले जतिसक्दो केन्द्रित भएर काम गर्नुपर्ने हुन्छ र गर्छु।'
सांसद लक्ष्मी घिमिरेसँग उनको व्यक्तिगत र राजनीतिक जीवन यात्राका बारेमा सेतोपाटीले गरेको पूरा कुराकानी हेर्नुस् भिडिओमाः