पीपलबोट डटकम‘तपाईं कता जाने हो ?’ घच्याक्क रोकिएको कारबाट कसैले नम्र स्वरमा सोधे।
मैले मुन्टो निहुर्याउँदै भनेँ, ‘सहरतिर झर्ने हो।’
‘त्यसो भए आउनोस्,’ उनले हातको पाउर लाउँदै मलाई आफूछेउको सिटको ढोका खोल्न अह्राए।
सहर पुर्याउने भनेको त सहर चिनाउने पो भए। लिफ्ट दिने सज्जन सहरी योजनाविद् परेछन्, इन्जिनियर पद्मसुन्दर जोशी।
छेउमा एक पाइला पनि हिँड्ने बाटो नभएको र एक सरो चार पाङ्ग्रे गुड्ने मात्र सडक भएकोलाई राजपथ भन्ने हो र?
छाँटकाँट त्यही छ। राजमार्गभन्दा पुरानो शब्द। त्यसकारण सडक पनि पुरानो। कान्ति राजपथ।
यो राजपथमा नगुडी सुख छैन। हिँड्न खोजे गाडीले तिलको गेडो जति पनि ठाउँ दिने छैन। राजपथ भनेको हुइँकिने पो त। नेपाली ज्यानलाई हतार हुन्छ नि, हिँडेर कहिले पुगिन्छ? साइकल किन चलाउनुपर्यो, बच्चाबच्ची हो र?
हिँड्ने लोभभन्दा ज्यानको सुरक्षा ठूलो। त्यस कारण हिँड्दाहिँड्दै कतै गाडीको गर्जो टरिहाल्छ कि भन्ने लोभमा म आँखा पल्याकपुलुक गर्ने गर्छु।
मेरो नयाँ बसाइँ भएको ललितपुरको यो सुगम ठाउँलाई गाउँ भन्न मिल्दैन। नगरपालिकाको साइनबोर्ड लागिसकेको छ। टाढा त कति नै हो र? तर्पायाँ ओरालो चक्रपथ झर्न चार किलोमिटर पनि छैन।
हामीले परिचय आदानप्रदान गर्दा कार विस्तारै हाम्रो भेगको सबभन्दा पुरानो सहर छिर्दै थियो।
सोनाकोठी।
‘यो ठाउँको नाउँ खासमा सोनाकोठी होइन,’ उनले भने।
काठमाडौं उपत्यकामा यति पुरानो बस्ती छिचोल्ने व्यस्त सडक अन्त कतै छैन होला। राजपथको ‘चिकन नेक’। यहाँ पुगेपछि गाडीको गति स्वतः घट्न पुग्छ। गाडीले छुन्छ कि जस्तो लाग्ने दुरीमा पुराना घर उभिएका छन्। सहरहरू इतिहासका प्रमाण हुन् भने यो त्यस्तै एउटा जीवित संग्रहालय हो।
यही जीवित संग्रहालयको बाटो सधैं सुस्ताउने भुक्तमान यात्रुहरू कहिले डोजर आउला र सडक चाक्लो बनाइदेला भन्ने आश गर्छन्।
सडक विस्तार योजना भने धेरै वर्षदेखि विवादमा छ। यो लिच्छविकालीन सहर हो। अहिले भने भैँचालोमा घर भत्किएका स्थानीयबासी सडक बढाउन दिने गरी मुआब्जामा मञ्जुर भएको सुनिन्छ।
यो सहर गाडी गुड्न बनाएकै होइन। अंशुवर्माको पालातिर के चार पाङ्ग्रे सवारी साधनको कल्पना गर्थे होलान् र ? उनीहरू त्यति भविष्यद्रष्टा भए त चार लेनको फास्ट ट्रयाककै लागि ठाउँ खुला राखिदिन्थे नि।
यो त प्राचीन संस्कृतिको दीर्घ धागो कात्दै डेढ हजारभन्दा बढी उमेर जिउँदै आएको सहर हो।
चाडबाड सुरू भएपछि नसकिएसम्म हरेक दिनजसो यहाँ केही न केही जात्रा निस्कन्छ। परम्परागत पहिरन, देवदेवीका मूर्ति, बाजागाजासहितको लश्कर लाग्छ। सडक जाम हुन्छ।
कोही एक जना जानिफकारले मलाई एकपल्ट जाममा फस्दा भनेका थिए, यहाँ पहिला वर्षमा ३६६ वटा जात्रा निस्कन्थ्यो। आधुनिक जमानामा व्यवहार चलाउन गाह्रो परेको महशुस गरी आपसी सल्लाहले सय वटामा झारेका छन्।
यस्तो पुरातात्विक सहरको नाम भने गैरनेवारी देखेर म छक्क परेको थिएँ। कसरी सोनाकोठी हुनसक्छ ? सोना र कोठी। केही तुक देखिनँ।
एक जना प्रबुद्ध पाटनेसँग मैले शब्दविन्यास मागेको थिएँ। प्रमोदसिंह प्रधान यसका जानकार परेछन्। उनले मलाई यसैगरी लिफ्ट दिएको कार जाममा फस्दा अर्थ्याउन भ्याएका थिए, यसको खास नाम सनागथी हो।
सना भनेको मर्दापर्दा। पाटनका धनीमानी बासिन्दालाई मर्दापर्दा, जात्रा निकाल्नुपर्दा, सीप र श्रम चाहिँदा बोलाउन सकिने मानिसको ठाउँ।
सनागथी क्रमशः सुनागुथी, सुनागुठी, सोनागुठी, सुनाकोठी हुँदैहुँदै सोनाकोठी बन्न पुग्यो। राजपथ नै सहर छिचोल्दै बढेकाले लबज सडकछाप बन्दै गयो। सहरभित्र साइनबोर्डमा ठाउँका नाम यिनै अनेक छन्, गाडीमा गन्तव्यको नाम यिनै अनेक छन्। सहचालकहरूले यिनै अनेक नाम भट्याउँछन्।
प्रधानबाट जानकारी पाएयता म सनागथी भन्न खोज्छु। सुनागुठी त खास चलेको छैन भने सनागथी कसले बुझोस्? इतिहासले त बुझ पचाइसकेको छ।
‘यता हेर्नोस्,’ जोशीले आफ्नो दायाँपट्टि देखाए, भृंगारेश्वर महादेवको मन्दिर। यो मन्दिरमा साँझ नित्य चल्ने भजन सुन्न म कहिलेकाहीँ पस्छु तर बाहिर सडकको आवाज कर्कश बनिदिन्छ।
‘यो लिच्छविकालीन मन्दिर हो,’ उनले भने, ‘पशुपतिनाथ मन्दिरजत्तिकै पुरानो। राजनीतिक शक्ति जता पर्यो, उही लोकप्रिय भयो। त्यसो भन्दैमा यो सम्पदाको महत्व कम हुन्छ र?’
‘नहुनुपर्ने हो,’
‘सडक विस्तार हुँदा अब यो मन्दिर जोगिँदैन,’ उनले भने।
उपत्यकामा शैव सम्प्रदाय शक्तिशाली हुँदा शिवका मन्दिर बने। त्यसपछि बौद्धमार्ग भित्रियो। पुराना सम्पदा र संस्कृतिमा शैव र बौद्धबीच मिश्रण पाइन्छ। कति त छुट्याउनै सकिँदैन भनिन्छ। उनले भने, ‘यो मन्दिर त्यसकै चिनो हो।’
कार अघि सर्यो। सडकआडकै देव मूर्तिहरू, बहाल, चोक, कुमारीघर देखिए। ती सबै सडकसँगै सर्नुपर्ने छ।
उनले भने, ‘नेवार सभ्यताको केन्द्रमा अजिमा हुन्छिन्। अजिमा भनेको बूढी बज्यै। अष्टमातृका देख्नुहुन्छ नि? हरेक सहर अजिमाको वरिपरि बनाइएको हुन्छ।’
विवाहको प्रथा चल्नुअघि परापूर्वकालमा बच्चाका आमा मात्र चिनिने समाज थियो। ‘त्यो समयको सभ्यता देखाउने प्रमाण यिनै अजिमा केन्द्रित सहरहरू हुन्।’
जोशी भन्दै गए, काठमाडौंमा व्यवस्थित बसोबास लिच्छविकालमा विकसित भएको थियो। आवश्यक ठाउँमा मात्र सहर बसाल्ने र सक्ने क्षमताको मात्र बनाउने। बाटोघाटो, पाटीपौवा, पोखरी ढुंगेधारा। त्यो बेलाका सबै सहर सुविधासम्पन्न छन्।
‘सहर विकास गर्ने हो, विस्तार होइन भन्ने दर्शन थियो,’ उनले व्याख्या गरे, ‘त्यस कारण ठेचोको विकास भएपछि थप जनसंख्या निम्ति यो सहर बसालियो। हरेक सहर त्यसैगरी विकास गरिएको छ।’
‘हरेक सहर ?’
‘नेवारीमा गाउँ भन्ने शब्द उति छैन, देः भन्ने सुन्नुहुन्छ, हगि ?’ उनले भने, ‘देः भनेको देश हो। देश भनेको सहर।’
उनले अर्थ्याउँदै कारको गति बढाए। नेवारी जति सम्पन्न भाषा हो उति यसमा थोरै शब्दबाट काम चल्छ। छोटकरी शब्द प्रयोग हुन्छ। भाषा ठाडो छैन। कुनै कुरा सोझै भनिँदैन।
‘जनसंख्या बढ्ने बित्तिकै सहर बढ्ने भए त ठेचो नै ठूलो बनाउँथे होलान् नि,’ उनले भने, ‘जनताको वृद्धि थेग्न नयाँ देः स्थापना गरे।’
यस्तो पुरातात्विक देःभित्र सडक किन पसाइयो होला त?
पञ्चायतकाल न प्रजातन्त्रकाल। विकासको सोच सम्पदा र संस्कृतिमुखी कहाँ भयो र? काठमाडौंबाट हेटौंडा निकाल्ने राजपथ बनाउने भए, नाप्दै जाँदा यही सहर चिर्नुपर्ने भयो। चिरे।
विकास भनेको सडक।
ऊ बेला कत्तिको विरोध भयो, अहिले भने सडक विस्तार गर्दा सहरकै शोभा जान्छ भनेर सम्पदाविद्हरू चिन्तित छन्। जोशीसहितका अभियन्ताले सुनागुठी संरक्षणका लागि सडक विस्तार रोक माग गर्दै आएका छन्।
सडक बढाउनु भनेको सहर मास्नु होइन। सहरलाई नछोइकन पूर्व र पश्चिम जताबाट लगे पनि सडक जाने ठाउँ छ। ‘यो सहर छिचोल्ने नै हो भने पनि एकतर्फी सवारी मात्र गर्न सकिन्छ, अर्कोतर्फी सडक सहर बाहिरबाहिरै खन्ने ठाउँ छ,’ उनले भने।
सडक विस्तारलाई स्वागत गर्ने कि अवरोध अझै धेरथोर बहस छ। सडक बन्दा होस् वा विस्तार हुँदा, क्षति हुने घरजग्गाधनीसँगै लाभ पाउनेहरू पनि हुन्छन् र स्थानीय मत विभाजित हुनपुग्छ। सरकारले त्यस्तै परिस्थितिको च्याँखे थाप्ने गर्छ।
उपत्यकामा सवारी चाप थेग्न सडक विस्तारलाई अचूक मानियो। स्थानीय समुदायसँग संवाद गरिएन। बौद्धिक बहस चलाइएन। नीति परामर्श गरिएन। अध्ययन अनुसन्धान गरिएन।
खुला बजार व्यवस्थाले शासन प्रणालीलाई अँठ्याइसकेको थियो। बढीभन्दा बढी गाडी भित्र्याउनु थियो। तिनका लागि सडक बढाउनु थियो।
डोजर चले। सडक बढ्यो, गाडी बढे। बैंकहरूले गाडी किन्नेलाई हौस्याए। सरकारी सुविधा भनेकै निजी गाडी थियो। सरकारको खर्च बढ्यो, व्यापार बढ्यो, अर्थतन्त्र ठूलो भयो। राजश्व बढाउन गाडी आयात बढाउनु थियो।
विकास नीतिको केन्द्रमा आर्थिक वृद्धिको आयतन भएकाले कम आम्दानी हुने जनता पिल्सिने नै भए। फुटपाथ बढेन, साइकल लेन बनेन। सार्वजनिक ठाउँहरू झन् खुम्चिए। सुस्ताउने, टहल्लिने पार्क निस्केनन्।
सार्वजनिक यातायातको सिन्डिकेट तोडिएन। प्रदूषण बढ्यो, जनसंख्या बढ्यो, सहरी शोभा हरायो। सहरहरूलाई महान देखाउन महानगर नाम दिनुपर्ने भयो।
सडकलाई विकास ठान्नेहरूले नै सडक विस्तारलाई समृद्धि भन्न खोजेका छन्। विकास र समृद्धिको लोकप्रिय बहुमत भएकाले सम्पदा र संस्कृति छायाँमा भासिएको छ।
‘काठमाडौं सभ्यताप्रति कुनै दया, माया, ज्ञान, चेतना केही नभएकाहरू नै नीति निर्माता हुनु हाम्रो विडम्बना भयो,’ उनले भने।
सनागथी छाडेर कार विस्तारै ढोलाहिटीको ओरालो लाग्यो। उनले फेरि मलाई बायाँपट्टि हेर्न लगाए। ‘यो राजकुलो हो,’ उनले भने।
‘राजकुलो?’
उनी भन्दै गए। काठमाडौं उपत्यकामा धेरै राजकुलो छन्, तीमध्ये तीनवटा प्रमुख राजकुलो प्रणाली छन्। काठमाडौंका लागि बुढानिलकण्ठबाट आउँछ, भक्तपुरका लागि बागेश्वरीबाट र पाटनका लागि टीकाभैरवबाट।
‘यो राजकुलो टीकाभैरवबाट आएको हो?’
‘हो,’ उनले भने, ‘सोह्र किलोमीटर बगेर पाटन पुग्छ। पाटनका जति पनि पोखरी छन्, ती सबै भर्ने यही राजकुलो हो। पोखरी भरिएपछि ढुंगेधाराहरू रसाउँछन्। पाटनको पानी प्रणाली यही हो।’
अंशुवर्माकै युगमा उपत्यकामा पानी प्रणाली विकास थियो। घरधुरी पानीको पोत लिन्थे।
‘पाटन भनेको सुख्खा टार हो नि,’ उनले भने, ‘तर त्यत्राविधि पोखरी बनाइएका थिए, त्यत्राविधि ढुंगेधारा चल्थे। तिनका लागि यति लामो कुलो तानिएको थियो।’
हामी विस्तारै ओरालोमै थियौं। मेलम्ची आयोजनाका पाइप घुसार्न सडक खस्रिएतिर पुग्यौं।
धुलोमण्डल बढाउँदै उपत्यकालाई नयाँ पानी युगमा प्रवेश गराउने मेलम्ची प्रयत्न जारी छ। आयोजनाका कारण बिग्रेको सडकमाथि कारको गति फेरि कम भयो। धुलो बढ्यो। उनले कारको शीशा लगाए।
‘तपाईं हेर्दै हुनुहुन्छ?’ उनले सोधे, ‘त्यो राजकुलोमा पानी बग्न छाड्यो, हगि? प्लास्टिकका फोहोर, बोतल फाल्ने नाला भएको छ।’
मैले फेरि झ्यालबाहिर हेरेँ। पानी त अझै रसाएकै छ। ‘नयाँ बासिन्दालाई राजकुलोको मर्म थाहा छैन, आफ्नो छेउ कुलो सफा राखिदेऊ, फोहोर नफाल भन्यो भने पनि पानी त हो बगिहाल्छ।’
खुमलटार पुगेपछि भने कृषि फार्मतिर सोझिएर राजकुलो सडकको धुलोभित्र हरायो।
‘यहाँबाट कुलो बिच्छेद पारिएको छ,’ उनले भने।
राजकुलोको निशान मेटिएपछि हामी चक्रपथनेर पुग्यौं।
चिनियाँ सहयोगमा धमाधम फैलिरहेको चक्रपथको चापागाउँ दोबाटोमा अस्ति भर्खर डोजरले धुमधाम सम्याउँदै थियो। पूरै टाल्न भ्याइसकेछन्।
‘हामीले ललितपुरका मेयरलाई भेटेर फेरि भनेका थियौं,’ उनले भने, ‘चिनियाँले एकपल्ट बनाइसकेपछि सडक खोतल्न मान्दैनन्, तपाईंले कुरा गरिहाल्नुपर्यो।’
उनका अनुसार, चक्रपथमुनि कम्तिमा हिमपाइप भए पनि छिराएर राख्न पाए भविष्यमा राजकुलो सुचारू गर्न सकिन्थ्यो।
मेयरले सायद मेसोमेलो पाएनन्। हामी कुलो न नाला भएको सडकमा पाटनतिर लाग्यौं। ‘हामी जुन सडकमा छौं, यहीँमुन्तिर त्यही राजकुलो थियो,’ उनले भने।
कार विस्तारै अघि बढ्दै लगनखेल पुग्न लाग्यो। मुखैमा बायाँपट्टि हेर्न मलाई फेरि इसारा गरे। फोहोरमैला भरिएको एउटा खाल्डो देखाउँदै उनले भने, ‘यो पोखरी हो।’
‘पोखरी?’
‘पोखरीको यत्ति खाल्डो बाँकी राखेर जम्मै जग्गा स्कुल बनाउन दिए,’ उनले भने, ‘यो स्कुलमा अहिले कोही पढ्दैनन्। विद्यालय व्यवस्थापन समिति भने छ।’
‘अझै सक्रिय?’
‘टहराहरू देख्नुभएन? विद्यालय व्यवस्थापन समितिले यिनै टहराबाट भाडा उठाएर खान्छ। यसमा फेरि पोखरी बनाउन नसकिने हो र?’
कुरा यत्ति हो, आर्थिक शक्तिको हंस पसिसकेको छ। लाभान्वित हुनेहरूको संरचना बनिसकेको छ।
उहिलेको पोखरी र अहिलेको फोहोर खाल्डोलाई बायाँ पार्दै लगनखेल पुग्यौं। बायाँ एउटा ठूलो ढुंगेधारा छ तर हेर्नेको चित्त कुँडिने गरी बेहाल। पानी नझर्ने भएपछि थारो बसेकी गाईलाई जंगलमा अलपत्र छाडिदिएजस्तो दशामा धारो देखिन्छ। कति मिहिन तरिकाले मेहनत गरी बनाइएको सार्वजनिक धारोमा मानौं कुनै इतिहास छैन। त्यो सम्पदा होइन। पुर्खाको नासो होइन।
लगनखेल भनेको भिडभाड र बसपार्क। मत्स्येन्द्रनाथको रथ अड्याउने ठाउँ।
भनाइ छ, पाटनको मत्स्येन्द्रनाथको रथसँग नेपालका चाड सुरू हुन्छन् र काठमाडौंको सानो मत्स्येन्द्रनाथको जात्रापछि अन्त्य।
‘मत्स्येन्द्रनाथको रथजात्रासँग पाटनको अनिकालको कथा छ नि, हगि?’ उनले भने, ‘त्यो खासमा पोखरीहरूको कथा हो।’
‘पोखरी?’
‘पाटनजस्तो सुख्खा ठाउँलाई पोखरी नै पोखरी बनाइएको थियो, ढुंगेधाराहरूबाट सम्पूर्ण सहर चल्थ्यो,’ उनले भने, ‘त्यही राजकुलोले चलाउँथ्यो र राजकुलोसँग मत्स्येन्द्रनाथको जात्रा जोडिएको छ।’
मत्स्येन्द्रनाथको रथ चलाउनुअघि पाटनका पोखरी भरिनुपर्छ भन्ने मान्यता थियो। रथ चलाउन पोखरी भर्ने हो भने राजकुलो सफा गर्नुपर्थ्यो। चैत वैशाखको सुख्खा याममा वर्षको एकपल्ट हरेकले राजकुलो सफा गर्नुपर्ने चलन थियो।
जात्रा हरेक वर्ष चल्दै आएको छ तर पोखरीहरू मासिँदै गएका छन्। राजकुलोको पानी प्रणाली त हाम्रो आधुनिक विकास प्रणालीले टुटाइसकेको छ।
हामी कुमारीपाटी तेर्सियौं। उनले सम्झाए, ‘यहाँ कति गाडीहरू पानीमा फस्थे, हगि? सडकभरि पानी हुन्थ्यो। खासमा यो दलदले हो।’
कुमारीपाटी पछाडि उनले हातले जति इसारा गरे पनि कुनै पोखरी देख्न सकिन्थेन। ‘त्यतापट्टि एउटा सोह्र रोपनीमा फैलिएको पोखरी थियो,’ उनले भने, ‘पोखरीलाई आधा रोपनी छुट्याएर बाँकी जम्मैमा ‘विकास’ गरियो।’
‘विकास’ गरिएको क्षेत्र विचरण गर्दै हामी जावलाखेल कट्दै पुल्चोकतिर हानियौं। उनी भने पाटनका सबै पोखरी र ढुंगेधारा यथावत् ब्युँताउन सकिने अठोट दोहोर्याउँदै थिए।
‘रानीपोखरी प्रकरणपछि हामीले पाटनका मेयरलाई फेरि भेटेर भन्यौं– काठमाडौंले जे गल्ती गर्न खोजेको थियो, त्यसबाट शिक्षा लिएर हामी पाटनका पोखरी जगेर्ना गर्न थालौं,’ उनले भने।
‘सकिएला त?’
‘मेयरलाई नगरपिता भनिन्छ,’ उनले भने, ‘पिताले आफ्नो सम्पति संरक्षण गर्छ। हामीले मेयरहरू पाएका छौं। उनीहरूलाई अब सम्पदा संरक्षणको बल दिनुपर्छ।’
‘सम्पदाप्रतिको चेत कसले दिने नि?’
‘बहस चलाउनुपर्छ र जनमत बनाउनुपर्छ,’ उनले जुँगा र आँखीभौंको ताल मिलाउँदै मुसुक्क अनुहार उज्यालो पारे। र, मलाई ओराल्न कारको गति मत्थर पार्दै व्यस्त सडकमा पार्क गरे।
‘सहर ल्याइपुर्याइदिनु भएकामा धेरै धन्यवाद,’ मैले हात मिलाउँदै बाहिर निस्केर उनको कारको ढोका ढप्क्याइदिएँ।
अगाडि सडकमा पनि फुटपाथ थिएन। त्यसको निशाना पछ्याउँदै गाडीबाट जोगिन म किनारमा उभिएँ।
सोचेँ, यतै कतै पनि पोखरी हुनुपर्छ। राजकुलोको डाम कतै न कतै होला।
अलि पर नगरपिताको कार्यालय त प्रस्टै देखिन्छ।