भारतीय विदेशमन्त्री सुषमा स्वराजको जारी नेपाल भ्रमणलाई कसरी हेर्ने? यसको अर्थ के हो?
यी विषयमा अहिले स्वाभाविक चासो र बहस छ।
मलाई लाग्छ, यो भ्रमण र भ्रमण बेला देखिएका दृश्य पाँच कोणबाट हेर्न र बुझ्न सकिन्छ।
पहिलो, यो भ्रमण भारतीय पहलमा भएको हो।
पछिल्लो संसदीय निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीलाई दुईपटक फोन गरिसकेका छन्। पछिल्लो फोनमा उनले ओली भेट्न विदेशमन्त्री सुषमा स्वराजलाई पठाउन चाहेको बताए। एक एमाले नेताका शब्दमा, ‘मोदीजीले नै पठाउन चाहेपछि हामीले नआउनुहोस् भन्ने कुरा भएन।’
निर्वाचन परिणाम प्रस्ट छ। निर्वाचन आयोगले अन्तिम परिणाम प्रकाशित गरिसकेको छैन, किनकि राष्ट्रियसभा निर्वाचन हुनै बाँकी छ। सरकार त्यसपछि मात्र बन्ने हो।
कुनै मित्रराष्ट्रको सरकार प्रमुखले नयाँ सरकार बनेपछि प्रधानमन्त्रीलाई बधाई दिनु सामान्य चलन हो। मोदीले भने दोस्रोपटक टेलिफोन गर्दा नै ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा बधाई दिएको उनको निजी सचिवालयले जनाएको थियो।
यो भारतीय अग्रसरता अस्वाभाविक हो। प्रधानमन्त्री बन्नुअघि नै छिमेकी मुलुकको विदेशमन्त्री आएर भावी प्रधानमन्त्री र उनी निकट नेताहरूसँग डिनर गर्नु पनि स्वाभाविक होइन। तर, यो ओलीका पक्षमा भारतीय हस्तक्षेप होइन।
के हो त यो?
नेपालमा अस्वाभाविक रूपले नाकाबन्दी लगाएको र अघिल्लोपटक ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न अस्वाभाविक प्रयत्न गरेको भारतले पछिल्लो चुनावमा वाम गठबन्धनले सफलता प्राप्त गरेपछि एमालेसँग गरेको अस्वाभाविक 'रिच–आउट’ हो यो।
नेपालले संविधान जारी गरेपछि जसरी भारतले नाकाबन्दी लगाएर अस्वाभाविक प्रतिक्रिया देखाएको थियो, ओलीसँग हात बढाउन भारतले देखाएको सक्रियता त्यस्तै अस्वाभाविक छ। त्यसैले, विदेशमन्त्रीको यो भ्रमण प्रतिक्रियात्मक हो।
यो नाकाबन्दीजस्तो नकारात्मक भने छैन। बरु सकारात्मक यस कारण छ, भारतले नयाँ जनादेशप्राप्त सरकारसँग मिलेर काम गर्नैपर्थ्यो। अहिले त्यही चाहना भारतले अनावश्यक आतुरतासाथ अभिव्यक्त गरिरहेको छ। सायद हिजो नेपाल र ओलीसँग आफूले गरेको गलत व्यवहारको प्रतिक्रियास्वरुप भारत यसरी प्रस्तुत भइरहेको छ। यही मेसोमा हामी नेपालीले नाकाबन्दीदेखि अहिलेसम्म भारतीय कूटनीतिको अपरिपक्व पाटो देख्ने मौका पाइरहेका छौं।
भारतको यस्तो अस्वाभाविक सक्रियताले कतिपय वाम तप्कामै ‘षड्यन्त्रको थ्योरी’ लाई प्रश्रय दिएको छ— कतै ओलीलाई अस्वाभाविक कूटनीतिमा भुलाएर भारत भित्रभित्रै वाम गठबन्धनविरुद्ध त काम गरिरहेको छैन?
दोस्रो, स्वराजको स्वागत र नेपालमा रहँदा उनका भेटघाट व्यवस्थापनको कोणबाट यो भ्रमणलाई हेरौं।
स्वराजको भ्रमणले नेपाल सरकारलाई केही अप्ठ्यारोमा पारिदियो। सामान्यतया छिमेकी मुलुक वा कुनै मित्रराष्ट्रका विदेशमन्त्री वा उच्चस्तरका नेता भ्रमणमा आउँदा निमन्त्रणा गर्ने सरकारले नै आतिथ्य प्रदान गर्छ। भ्रमणको पहल जसले पनि गर्न सक्छ, तर मित्रराष्ट्रका विदेशमन्त्रीले आउने इच्छा व्यक्त गरेपछि आतिथ्य प्रदान गर्ने मुलुकले निमन्त्रणा पठाउँछ। स्वराज भने नेपाल सरकारले निमन्त्रणा नपठाइकनै आएकी हुन्।
स्वराजको नेपाल आउने इच्छाबारे वा मोदीले उनलाई नेपाल पठाउन चाहेकाबारे नेपाल सरकारसँग सरकारी तहमा कुनै छलफल वा परामर्श भएन। एकैपटक भारतीय दूतावासले स्वराज फेब्रुअरी १ मा नेपाल आउने ‘नोट’ सरकारलाई पठायो। त्यो बेलासम्म मोदीले ओली भेट्न स्वराजलाई पठाउन लागेको सार्वजनिक भइसकेको थियो।
स्वराज नेपाल भ्रमणमा जाने विज्ञप्ति दिल्लीमा सार्वजनिक भएका दिन मात्र परराष्ट्र मन्त्रालयले यसको जानकारी पायो। स्वराज नेपाल आउने केही घन्टा अघिसम्म उनी कति बजे काठमाडौं आइपुग्दै छिन्, क–कसलाई भेट्दै छिन् भन्ने परराष्ट्रलाई थाहा थिएन।
स्वराजलाई कसले स्वागत गर्ने भन्नेमा पनि सरकार केही अप्ठ्यारोमा पर्यो। हामीकहाँ सामान्यतया विदेशी पाहुना स्वागत गर्न समकक्षी एयरपोर्ट पठाउने चलन छ। प्रधानमन्त्रीलाई स्वागत गर्न प्रधानमन्त्री, मन्त्रीलाई स्वागत गर्न मन्त्री। अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै परराष्ट्र सम्हालिरहेका छन्। त्यसैले स्वराजलाई स्वागत गर्न कुनै ‘फुल’ मन्त्री पठाउनुपर्थ्यो।
बालुवाटारमा यसबारे लामो छलफल भयो। परराष्ट्र सचिवलाई मात्र पठाउने कुरा पनि चल्यो। अन्ततः अर्थ राज्यमन्त्री उदयशमशेर राणालाई पठाउने निर्णय भयो।
‘हामीले शिष्टाचार त देखाउनुपर्यो भनेर राज्यमन्त्री पठाउने निर्णय गरेका हौं,’ बालुवाटार श्रोतले भन्यो, ‘भारतमा उच्चस्तरीय पाहुनालाई एयरपोर्टमा स्वागत गर्न राज्यमन्त्री जाने चलन छ, हामीले पनि त्यसै गर्यौं।’
स्वराजसँग आफ्ना नेताहरूको भेट व्यवस्थापन कसरी गर्ने भन्ने सकस एमालेलाई पनि पर्यो।
पछिल्ला वर्ष ओलीले यस्ता भेटमा प्रोटोकल ख्याल गर्ने गरेका छन्। उनी पूर्व प्रधानमन्त्री र एक किसिमले ‘प्रधानमन्त्री इन वेटिङ’ हुन्।
भारतीय विदेशमन्त्रीले नेपाली नेताहरूलाई निजी निवासमा विरलै भेट्ने गरेका छन्। अपवाद भने नभएको हैन। अर्कातिर पूर्व प्रधानमन्त्री ओली पाहुना विदेशमन्त्रीलाई उनी बसेको होटलमै गएर भेट्नु शोभनीय हैन भन्नेमा सचेत छन्।
यसपालि भारतीय गणतन्त्र दिवस (जनवरी २६) मा दूतावासमा आयोजित जलपान कार्यक्रममा ओलीलाई निम्ता गर्न राजदूत मंजीवसिंह पुरी उनको निवास पुगेका थिए। ओलीले त्यसलाई नम्रतापूर्वक पन्छाए।
प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लैनचौर गए पनि ओली गएनन्। बरु गणतन्त्र दिवसको उपलक्ष्यमा मोदीलाई लिखित शुभकामना सन्देश पठाएर उनीसँग काम गर्न, नेपाल–भारत सम्बन्ध विस्तार गर्न आफू उत्सुक रहेको बताए।
स्वराजलाई कहाँ, कसरी भेट्ने भन्ने प्रश्न ओलीसामु थियो। एमाले पार्टीले त्यसको हल खोज्यो— स्वराजको सम्मानमा रात्रिभोज दिने। प्रधानमन्त्री मोदीको दूतका रूपमा ओलीलाई भेट्न आएकी स्वराजको सम्मानमा रात्रिभोज दिनु अस्वाभाविक हुन्नथ्यो। एमालेले त्यही बाटो समात्यो।
स्वराज नेपाल आउँदा प्रायः द्वारिकाजमा बस्ने गर्छिन्। त्यसैले, रात्रिभोजका लागि यसपालि सोल्टी होटल छानेको ओलीनिकट एक नेताले बताए।
‘उनी सोल्टीमै बस्ने थाहा पाएपछि हामीले रात्रिभोजका लागि होटल परिवर्तन गर्न खोजेका थियौं,’ उनले भने, ‘भारतीय पक्षले स्वराजको भर्खरै मिर्गौला फेरिएकाले धेरै संक्रमणको डर छ, भरसक सोल्टीमै रात्रिभोज राखिदिनुहोस् भन्ने अनुरोध गरे। हामीले स्वीकार्यौं।’
स्वराजको केही महिनाअघि मात्र मिर्गौला प्रत्यारोपण भएको हो। ओलीको दस वर्षअघि नै प्रत्यारोपण गरिएको थियो।
अब तेस्रो कुरा।
स्वराज र ओलीबीच के कुराकानी भयो? स्वराज के सन्देश लिएर आएकी थिइन्?
स्वराजले एमाले नेताहरूसँगको औपचारिक भेटघाटमा तीनवटा कुरा गरिन्। रात्रिभोजमा उपस्थित एक एमाले नेताका अनुसार उनले भनिन्, ‘मेरो विशेष कुनै एजेन्डा छैन। म शिष्टाचार भेट गर्न आएकी हुँ। तपाईंहरूलाई बधाई दिउँ भनेर आएकी हुँ। नेपालमा तीनै तहका चुनाव सम्पन्न भएका छन्। तपाईंहरूको जुन खालको विजय प्राप्त भएको छ, त्यसका लागि हाम्रा प्रधानमन्त्री, पार्टी र मेरो तर्फबाट बधाई दिउँ भनेर आएकी हुँ। खण्डित जनमत भएका बेला देशमा काम गर्न गाह्रो हुन्छ। अहिले तपाईंहरूलाई प्राप्त जनमतले काम गर्न सजिलो हुनेछ। हामी नयाँ बन्ने सरकारसँग सहकार्य गर्न तयार छौं।'
'अर्को कुरा, नेपाल र भारतबीच ऐतिहासिक र फराकिलो सम्बन्ध छ। त्यसलाई हामी झन् अगाडि बढाउन चाहन्छौं। तपाईंहरूलाई थाहै छ, छिमेकीहरूसँगको सम्बन्धलाई प्राथामिकता दिने हाम्रो प्रधानमन्त्रीको नीति नै छ।’
उनले नेपालको विकास अभियानमा भारतले सहयोग गर्दै आएको र त्यसलाई निरन्तरता दिने पनि बताइन्।
एमाले नेताहरूसँगको औपचारिक भेटघाटमा स्वराजले भनेका कुरा सामान्य छन्। मूलतः हामी कुनै पूर्वाग्रह नराखी नयाँ सरकारसँग काम गर्न चाहन्छौं भन्ने स्वराजको सन्देशको सार हो। हिजो एउटा कालखण्डमा ओली र भारतबीच जुन तिक्तता देखियो, त्यसको प्रभाव नयाँ सरकारमा पर्ने छैन भनी आश्वस्त पार्न मोदीले स्वराजलाई पठाएको देखिन्छ। उनले एमाले नेताहरूसँगको औपचारिक बैठकमा जे भनेका भए पनि स्वराज आउनुको सबैभन्दा ठूलो सन्देश नै यही हो।
ओलीसँगको ‘वान–टु–वान’ भेटघाटमा उनले के भनिन्, हामीलाई थाहा छैन। ओली र मोदीको सम्बन्ध जुन चरणमा छ, त्यहाँ उनीहरूबीच मुद्दा विशेषमा थप आश्वासन लिने वा दिने काम भयो होला भन्ने पत्याउन गाह्रो छ। दुई मुलुकका चासोका विषयमा भने पक्कै कुरा भयो होला।
चौथो र हाम्रा लागि दीर्घकालीन महत्वको विषय भने अर्कै छ— भारतले ओलीसँग मात्र तत्कालका लागि सम्बन्ध सुधार्न खोजेको हो वा नाकाबन्दीदेखि यहाँसम्म आइपुग्दा नेपालसँगको सम्बन्ध र नेपाललाई हेर्ने दृष्टिमै सुधार गर्न भारत तयार भएको हो? भारतले ओलीसँग डिल गर्न खोजेको हो वा नाकाबन्दीपछिको परिवर्तित नेपालसँग आपसी सम्मानका आधारमा सम्बन्ध विस्तार गर्न खोजेको हो?
यी प्रश्नको उत्तर पाउन हामीले केही समय कुर्नुपर्नेछ। एउटा कुरा भने पक्का छ- भारतले हामीसँग कस्तो व्यवहार गर्छ, त्यसले नै आगामी दिनमा नेपाल-भारत सम्बन्धका आयाम धेरै हदसम्म निर्धारण गर्नेछ।
दिल्लीको एउटा धारणा हुन सक्छ— वाम गठबन्धनले निर्वाचन जित्यो। ओली प्रधानमन्त्री बन्ने लगभग तय छ। नयाँ जनादेशप्राप्त सरकारसँग हामीले काम गर्नैपर्छ। हामीले सुरुदेखि नै राम्रो सम्बन्ध राख्ने प्रयास गरेनौं भने उनले चीनसँग थप सम्बन्ध विस्तार गर्ने छन्। नेपाल चीनसँग थप नजिक हुनेछ, त्यो भारतको हितमा हुने छैन। त्यसैले जति अस्वाभाविक देखिए पनि ओलीलाई सुरुमै ‘रिच–आउट’ गरौं। उनलाई ‘गुड बुक’ मा राखौं।
अर्को धारणा पनि हुन सक्छ— नाकाबन्दी लगाउनु हाम्रो गल्ती थियो। नाकाबन्दी लगाएकै कारण नेपालीहरूको चित्त दुख्यो। आमनेपालीले जति कष्ट बेहोरे पनि उनीहरूले सरकारलाई दोषी मानेनन्। बरु भारतलाई नै गाली गरे। नाकाबन्दी लगाएकै कारण चीन नेपालमा आयो। अब हामीले ठानेजस्तो हिमालय हाम्रो सुरक्षा कवच रहेन, किनकि त्यो हिमालय अभेद्य रहेन। त्यसलाई छेडेर सबै मौसममा चल्ने बाटो नेपालसम्म आइपुग्यो। भोलि रेल पनि आउनेछ। हामीले चाहे पनि नचाहे पनि नेपालले चीनसँग भौगोलिक पहुँच बढाउनेछ। चीनसँग पनि सम्बन्ध बढाउने छ। त्यसैले हामीले यो परिवर्तन आत्मसात् गरेर नेपालमा जसको सरकार आए पनि आपसी विश्वास र सम्मानका आधारमा सम्बन्ध राख्नुपर्छ। परिवर्तित नेपाल र नेपालीसँग राम्रो सम्बन्ध कायम गर्नुपर्छ।
स्वराज माथिको पहिलो वा दोस्रो कुन कुरा मनभरी बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेकी हुन्? मोदीले के सोचेर उनलाई नेपाल पठाएका हुन्?
पाँचौं, र उत्तिकै महत्वपूर्ण प्रश्न— ओलीले स्वराजलाई के हैसियतमा भेटेका हुन्? त्यो निजी वा पार्टीगत भेट हो वा सबैभन्दा ठूलो राजनीतिक दलका नेता अझ ‘प्राइममिनिस्टर इन वेटिङ’ का रूपमा भेटेका हुन्?
नेपाली नेताहरूले सत्तासीन विदेशी नेताहरूलाई भेट्दा निजी भेटघाटजस्तो गर्ने गरेका छन्। जबकि त्यो निजी भेटघाट हुन्न।
केही महिनाअघि पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमणमा गएका थिए। मोदीसँग भेटको तस्बिर भारतीय प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो। त्यो तस्बिरमा देउवा र मोदी आमनेसामने बसेका छन्। मोदीको देब्रेतिर लहरै उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल, विदेश सचिव जयशंकर र त्यसपछि भारतीय विदेश मन्त्रालयका अन्य अधिकारी देखिन्छन्। कम्तिमा दुई जनाले उक्त भेटघाटको ‘नोट’ टिपेको प्रस्टै देखिन्छ। दाहिनेतिरको लहरमा देउवा पत्नी आरजु मात्र बसेकी छन्।
[caption id="attachment_129077" align="alignnone" width="829"]
तस्बिर: भारतीय प्रधानमन्त्री कार्यालयको ट्विटर[/caption]
त्यो भेटघाटमा देउवा र मोदीबीच के कुरा भयो, त्यसको भारत सरकारसँग ‘नोट’ छ। त्यो भारत सरकारको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहन्छ। किनभने भारतलाई थाहा छ, त्यो भेट दुई साथीबीचको ‘निजी भलाकुसारी’ हैन। देउवालाई साथी भनेर मोदीले बोलाएका पनि हैनन्। नेपालको सबैभन्दा ठूलो पार्टी सभापतिका रूपमा, भावी प्रधानमन्त्रीका रूपमा बोलाएका हुन्।
नेपाल राज्यलाई भने त्यो भेटमा न मोदीले के भने थाहा छ, न देउवाले के भने थाहा छ।
ओली प्रधानमन्त्रीका रूपमा भारत जाँदाको प्रसंग कम पेचिलो छैन। हैदरावाद हाउसमा नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच औपचारिक बैठक हुनुअघि ओली र मोदीबीच ‘वान–टु–वान’ बैठक तय थियो। प्रचलन त्यही हो।
त्यस साँझ आफ्ना साथीहरूसँग ओलीले गुनासो गरे, 'मोदीसँग ‘वान–टु–वान’ छलफल भनेको त ‘नोट’ टिप्ने कर्मचारी पनि राखेका रै’छन्। भारतीय नेताहरूलाई कर्मचारीले कज्याएका छन्। राम्ररी कुरै हुन पाएन।'
मोदी र ओलीबीचको त्यो बैठकमा के कुरा भयो, त्यसको ‘नोट’ पनि भारत सरकारसँग छ। उसको ‘इन्स्टिच्युसनल मेमोरी’ मा सुरक्षित छ। हामीलाई भने केही थाहा छैन।
कुनै पनि औपचारिक ‘वान–टु–वान’ मिटिङ खासमा ‘एक्ला–एक्लै’ हुन्नन्। यो फगत दुई जनाबीचको भेट होइन। दुई देशका प्रतिनिधिबीचको भेट हो। उनीहरूबीच के कुरा भयो, ती मुलुकको रेकर्डमा बस्छ, बस्नुपर्छ।
बिहीबार साँझ सोल्टी होटलमा एमाले नेताहरू र स्वराजबीच भएको छलफलमा पनि गम्भीर त्रुटि भएको छ। यो भ्रमणको सुरुदेखि नै परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरियो। हिजो साँझको रात्रिभोजमा पनि परराष्ट्र मन्त्रालय कतै छैन।
मैले शुक्रबारको रात्रिभोजमा उपस्थित एक एमाले नेतालाई सोधेँ, ‘किन परराष्ट्रका कोही त्यहाँ नभएको?’
उनले भने, ‘यो त पार्टीगत तहमा भेटघाट भएको हो।’
त्यो साँचो हैन।
मोदीले भाजपा नेतृ सुषमा स्वराजलाई एमाले अध्यक्ष केपी ओली भेट्न पठाएका हैनन्। विदेशमन्त्री सुषमा स्वराजलाई पठाएका हुन्। उनीसँग विदेश मन्त्रालयको पूरा टिम उपस्थित छ। त्यहाँ विदेश सचिव छन्, नेपाल हेर्ने सहसचिव छन्। नेपालस्थित भारतीय राजदूत छन्।
एमाले नेताहरूसँगको औपचारिक भेटघाटमा स्वराज र ओलीले बोलेको ‘नोट’ उनीहरूले टिपेका छन्। त्यो पनि अब भारतको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहन्छ। एमालेका कुनै नेताले नोट टिपेका छैनन्। त्यो नोट नेपालसँग रहने छैन।
[caption id="attachment_129076" align="alignnone" width="947"]
तस्बिरः अनिल गिरीको ट्विटर[/caption]
सोल्टी होटलमा ओली र स्वराजबीच भएको ‘वान–टु–वान’ मिटिङमा पनि भारतीय पक्षबाट ‘नोटटेकर’ पक्कै बसेको हुनुपर्छ। त्यहाँ उपस्थित एक जना एमाले नेताले यकिनसाथ भन्न सकेनन्। अर्कोले स्वराज र ओलीबाहेक कोही नभएको बताए। त्यस्तो हुने सम्भावना भने कम छ।
एमालेले सुरुमै यसबारे विचार पुर्याउनुपर्थ्यो। सुल्टो र सही प्रक्रिया के हुन्थ्यो भने, मोदी र ओलीबिच टेलिफोन संवाद भएर स्वराज आउने टुंगो लाग्नेबित्तिकै परराष्ट्र मन्त्रालयलाई सहभागी गराउने। हिजोको बैठकमा पनि परराष्ट्रका प्रतिनिधि संलग्न गराउने।
हाम्रो राज्य त्यत्तिकै कमजोर भएको होइन। निजी स्वार्थ मुलुकको स्वार्थमाथि हाबी भएर कमजोर भएको हो। अन्य मुलुकमा जे आधारभूत मानिन्छ, त्यसैलाई लत्याएर हामी कमजोर भएका हौं।
हामीले हाम्रो स्वाभिमान र प्रोटोकलको विषयसँगै प्रक्रिया र विधि पनि बिर्सनुहुन्न।
बिहीबारको भेटको आलोचना सही नै भए पनि पछिल्लो समय ओली यस्ता विषयमा धेरै सचेत हुँदै आएका छन्। पूर्व प्रधानमन्त्री दाहाल त शुक्रबार बिहान मात्र स्वराजलाई भेट्न एक्लै सोल्टी होटल पुगेका थिए। यस्तो कुरामा बरु माओवादी नेता नारायणकाजी श्रेष्ठ सबैभन्दा अब्बल देखिए।
सरकारमा हुँदा होस् वा बाहिर, उनले सधैं यो विषय उठाउँदै आएका छन्। सत्तामा रहँदा थिति बसाल्ने प्रयत्न गरेका छन्। यो विषयमा सधैं एकरुपता कायम राखेका छन्।
हिजोसम्म जे भयो भयो, अब भने नेताहरू सच्चिनै पर्छ। विदेशी नेताहरूसँग नेपाली वा विदेशी भूमिमा हाम्रा नेताहरूले गर्ने भेटले नेपाली लज्जित हुने शृंखला बन्द हुनुपर्छ।
नेताहरूले जब आफूलाई हैन, नेपाललाई प्रतिनिधित्व गरेर छिमेकी वा अन्य मित्रराष्ट्रका नेतासँग कुरा गर्छन्, त्यसमा लुकाउनुपर्ने केही हुन्न। त्यसपछि त्यो संवाद मुलुकको ‘इन्स्टिच्युसनल मेमोरी’ मा राख्नलायक हुन्छ।
कसैले एक्लै कुरा गर्छ, मुलुकबाट त्यो कुरा लुकाउँछ भने अब नेपालीले बुझ्नेछन्— उसले मुलुकको स्वार्थमाथि सम्झौता गरिरहेको छ।