काठमाडौं सम्झना
फेसबुकको बिहानी फन्दामा ‘पासा पासा’ को पोस्टिङले महाकाल भैरवको पूर्णकद दर्शन गर्ने अवसर मिल्यो। मेरो बाल्यावस्थाको खेल जीवन त्यही भैरव मन्दिर वरपर र टुँडिखेल–वीर अस्पताल आसपास बितेको थियो।
बिक्रम सम्बत २००७ सालताका म १३ वर्षको थिएँ। त्यो बेला हामी थुप्रै खेल खेल्थ्यौं। केही त आज पनि खेलौं खेलौं लाग्छ।
मसँग एउटा साइकलको पांग्रा थियो। भित्रका सबै तार र बाहिरका टायर–ट्युब निकालेकाले त्यो हलुका थियो। त्यो ठुटे पांग्रा एउटा लौरोले धकेलेर स्याँ स्याँ गुडाउन ज्यादै मज्जा लाग्थ्यो। अरू साथीका पांग्रा रबरका थिए। मोटरका टायर काटेर बनाइएको। तिनलाई भने लौरोले ठ्याक—ठ्याक ठोकेर गुडाउनुपर्थ्यो।
मेरो पांग्राको गति अरूकोले उछिन्ने कुरै भएन। महाबौद्ध चोकबाट वीर अस्पताल र त्यसको अगाडि ठडिएको चन्द्रशमशेरको शालिक वरपर घुमाएर महांकाल पुगिन्थ्यो।
मलाई रोक्ने–छेक्ने कोही हुँदैन थियो। बेलाबेला गुड्ने एक–दुईवटा साइकलबाहेक अरू ट्राफिक शून्य हुन्थ्यो। सवारी हुन्थ्यो त मेरै पांग्राको। महांकालस्थान पछाडि सैनिक अस्पतालको भवनमाथि एक जना सिपाहीको शालिक थियो। पाले सिपाहीले हामीलाई उक्त शालिक सलाम गर्न लगाउँथे।
यसैकारण महांकालको सवारीमा शालिक सिपाहीलाई सलाम र भैरव मूर्ति ढोग गर्ने बानी नै पर्यो।
आजको काठमाडौंमा त्यसरी पांग्रा गुडाउँदै दुगुर्ने ठाउँ कहीँ छैन। मेरो एउटा पांग्रा गुड्ने त्यो सडकभर आजभोलि कार, मोटरसाइकल, बस र ट्रकका हजारौं पांग्रा जाममा फस्छन्।
धन्य, सवारीचालकहरू महांकाल मन्दिर पुगेपछि हात उठाएर देवता ढोग्छन्। म पनि टाउको निहुराएर मोटरभित्रैबाट दर्शन गर्ने चेस्टा गर्छु। मैले सलाम गर्ने शालिक सिपाही भने कहाँ गयो, कता गयो, थाहा भएन।
आजभोलि ट्याक्सी चढ्दा म देख्छु, चालकहरू बागमती, विष्णुमती पुल पुग्दा नदीलाई ढोग्छन्। उनीहरू धन्य छन्, किनकि त्यो ढोगाइ उनीहरूको उच्च चेतनाको संकेत हो। नेपालीहरूको यात्रा–सँस्कृतिअनुसार बाटोमा पर्ने देवस्थल र पूण्यभूमि पुज्ने कार्यले मात्र यात्रा सफल हुन्छ, बाटो बिराइँदैन।
मेरो बाल्यावस्थाको खेल जीवन कोट्याउन थाल्यो भने वर्तमानले पत्याउन गाह्रो मान्छ।
हामी दाइ—बुवाले फ्याँकेका चुरोटका बट्टा च्यातेर तास बनाउँथ्यौं। फूलमार्का, बसमार्का, उँठमार्का, क्रामेन लगायत चुरोटका बट्टाको भाउ आफैं तोक्थ्यौं।
दुईवटा फूलमार्का बराबर एउटा बसमार्का। क्रामेनको एक पत्ताले त फूलमार्काको दस बट्टा भेट्टाउँथ्यो। तासमा पैसा थाप्न भने सक्थेनौं। यिनै चुरोटका बट्टा थापेर ‘पाय्ँ’ खेल्थ्यौं। तिनै तास जितेर ठेली बनाउँथ्यौं। हारेर टाट पल्टन्थ्यौं।
यसैगरी दाउमा थाप्ने अर्को वस्तु चुराका स–साना टुक्रा हुन्थे। फुटेका चुराका टुक्रा सँगालेर दाउ लाउँथ्यौं।
चुराका टुक्रालाई असल दाउराको गोल (अँगार) मा पोलेपछि काँच पग्लेर लोल बन्छ। एक लोल बराबर दस टुक्रा काँच सटही हुन्थ्यो। हाम्रो आफ्नै सट्टा बजार थियो।
त्यही बजार भाउअनुसार तिया, चौका, पन्जा, छक्का गरी चार दाउमा ‘पाय्ँ’ खेल्थ्यौं। कौडी खेल्दा पुलिसको डर हुन्थ्यो। माटोको फुटेको घैंटो, भेगट वा गोम्पचा (लोहटा) का टुक्रा राम्ररी घोटेर सिक्काजस्तै चक्की बनाएपछि पाय्ँ बन्छ। आगोले पोलेर रातो भएको बाहिरी सतह र आगोले नछोएको भित्री सतह भएको भाँडाको टुक्राबाट पाय्ँ बन्छ।
कौडी खेल्दा घोप्टो वा ठाडो परेझैं पाय्ँ खेल्दा रातो वा कालो सतह पल्टिन्छ। आठवटा पाय्ँ चक्कीलाई मुठ्ठीबाट भुइँमा छाड्दा तीनवटा कालो र पाँचवटा रातो पल्टियो भने तिया दाउ पर्छ। त्यस्तै एउटा रातो र सातवटा कालो पल्ट्यो भने पनि तिया नै पर्छ। चारवटा रातो र चारवटा कालो पर्यो भने चौका हुन्छ। आठैवटा रातो वा कालो जे परे पनि चौकाले मार्छ। पन्जामा भने तीनवटा रातो र पाँचवटा कालो हुनुपर्छ।
त्यस्तै, एउटा कालो र सातवटा रातो पल्टे पनि पन्जा दाउ पर्छ। छक्का दाउ पर्न छवटा रातो वा कालो जे पल्टे पनि हुन्छ।
कौडी खेल्दा बाह्रमासे जुवाडी कहलिने हुनाले पाय्ँ विकल्प थियो। दाउ थाप्ने, दाउ हान्ने र जोखिम उठाउने साहस बटुल्न हामी पाय्ँ खेल्थ्यौं।
आफ्नो निशानामा तारो हान्ने एकाग्र शक्ति वृद्धि गर्ने खेलमध्ये मेरो रोजाइ गुच्चा हो। काँचका गोला गुच्चाहरू हाम्रो बगलीमा प्रायः सबैसँग हुन्थ्यो।
गुच्चाले हानेर टाढाको गुच्चा ठोक्काउने ताक विकास गर्न निकै अभ्यास गरिन्थ्यो। घरका भित्तामा गुच्चा हानेर अभ्यास गर्दा भित्ताभरी दाग बस्थ्यो।
त्यो बदमासीको सजाय पनि पाइन्थ्यो। बुबाको नली कुटाइ र आमाको हप्की।
गुच्चा दुई जनाको बीचमा खेलिन्छ। हारजितमा गुच्चा नै लिने वा हार्नेले आफ्नो खुट्टाको गोलीगाँठोमा गुच्चाको ठोकाइ खाने सहमतिमा खेल सुरु हुन्थ्यो। गोलीगाँठो ठोक्ने सजायलाई ‘गौ छ्या य्गु’ भनिन्छ। जित्नेको दयामायामा त्यो ठोकाइ साह्रो या सामान्य हुन आउँछ। कहिलेकाहीँ रुनै पर्ने गरी ठोकाइ खाइन्छ।
ताक हान्ने खेलमध्ये पैसाको खोपी खेल्ने अधिक लोकप्रिय थियो। पैसा नहुनाले स–साना बालबालिकाहरू आरूको गेडा ‘बस्पती’ वा सिंगो ओखरको ‘ह्वाग्रा’ खेल्थ्यौं। मलाई भने ह्वाग्राभन्दा गुलेली हान्न धेरै मन पर्थ्यो। लुकीलुकी चरा शिकार जाने गरेकोमा एक दिन आमाले भंगेरा मार्यो भने त्यसको परिवारमा कस्तो कष्ट हुन्छ भनेर सम्झाएपछि मैले गुलेली त्यागिदिएँ। नत्र भंगेरा र परेवा शिकारमा तल्लीन थिएँ। सायद त्यही पाप कटाउन आजभोलि बिहानै परेवा र भंगेरालाई चामल दिने गरेको छु। त्यसो त आजभोलिका बालबालिका चरा मार्ने गर्दैनन्। ज्ञानी छन्।
टोलछिमेकका दाजुभाइ, दिदीबहिनी मिलेर रमाउने खेल पनि थरीथरीका थिए। हातेमालो गरी खेल्ने ‘चाकली पाँ पाँ’ कति रमाइलो थियो। त्यस्तै, ‘तेलकासा’, ‘सुलाकासा’ र ‘कानकान पिचा’ खेल्दा सबै जातिका साथीहरू एकसरह खेल्थ्यौं। छुत–अछुत कोही थिएन।
हामी सबै नेवारीमा खेल्थ्यौं, नेवारी बोल्थ्यौं। बाहुन, दमाई, सार्की, चित्रकार, गुभाजु, तमोट, प्रधान, श्रेष्ठ सबै नेवारी बोल्थे। वटु, इन्द्रचोकतिरका मुसलमान एवं मारवाडीका केटाकेटी पनि नेवारीमै बोल्थे, नेवारीमै बाझ्थे।
सामूहिक खेलमध्ये मलाई ‘तेलकासा’ धेरै मनपर्छ। ‘तेल’ भन्नाले ‘लौ बेला भयो’ भन्ने संकेत गर्छ। पाँच–छ जना मिलेर खेलिने यो खेलमा जो धेरै कुद्न सक्छ, उसले जित्छ। एक जनालाई डोम बनाइन्छ। त्यो अछुत हुन्छ। उसले छोयो भने डोम बनिन्छ। उसले छोला भनेर भागाभाग खेल्ने खेल हो, तेलकासा।
यस खेलमा कुनै एक निर्दिष्ट स्थान वा वस्तुलाई ‘आजु’ निर्धारण गरिन्छ। हामी बहालको ‘चिवा’ सानो बुद्ध चैत्यलाई ‘आजु’ बनाउँथ्यौं। डोम बन्नेले आजु छेउ अरूलाई आउन दिँदैन। डोमबाहेक अरू आजुभन्दा पर बसेर ‘तेल’ भनेपछि डोमले अरूलाई खेद्न थाल्छ। जसलाई छोयो, त्यो डोम हुन्छ। डोमले खेद्दा खेद्दा छुन सकेन र थाक्यो भने आजुलाई छुनुपर्छ। त्यसपछि डोमले छोए पनि डोम लाग्दैन।
यसैगरी सामूहिक खेलमा लुकामारी अर्थात्, ‘सुलाकासा’ तथा आँखा बाँधेर साथीलाई समात्ने खेल ‘कानकान पिचा’ अधिक खेलिन रमाइलाहरू थिए।
हामीले आफ्नै जीवनमा खेलेका र भोगेका कतिपय खेल काठमाडौंबाट लोप भइसके। केही पुस्तकमा तिनका वर्णन पढ्न पाइन्छ। मोतीलक्ष्मी शाक्यद्वारा नेपाल भाषामा लेखिएको पुस्तक ‘झीगु तिसा, कासा व भ्वय् धासा’ अर्थात् हाम्रो गरगहना, खेलवाड र भोजन परिकार निकै महत्वपूर्ण छ।
मेरो लगाव भएको, तर नाम नभएको अनाम खेल थियो सिक्का पैसाको साल भन्ने। मैले निकै पैसा जितेको पनि हुँ। महाबौद्धमा मात्र होइन, असन, इन्द्रचोक र भूगोल पार्कमा पनि त्यो खेल खेलेको हुँ।
त्यसबेलाका सिक्का पैसा असली चाँदी, तामा र पित्तलका थिए। प्रत्येक पैसा वा ढ्याकमा त्यो कति सालमा छापेको भन्ने हुन्छ। अरूको पैसाको साल भन्ने वा आफ्नो पैसा अरूलाई साल भनाउने त्यो खेलमा निकै हारजित हुन्छ। सामान्य पैसाभन्दा अलि फरकको पैसा आफूसँग छ भने त्यसबाट धेरै जित्न सकिन्छ।
मेरो जीवनमा बक्सिङ (मुक्काबाजी), रेसलिङ (पहलमानी) वा कुस्ती कहिल्यै खेलिएन। म दुब्लो थिएँ। बलियो थिइनँ, तर अरू भिडेको, जुधेको, लडेको हेर्न साह्रै मन लाग्छ। यसै सन्दर्भमा कुखुराको भाले भिडाउने, बट्टाई चरा लडाउने, च्याखुरा चरा लडाउने, भाले जुधाउने, साँढे जुधाउने मलाई मन पर्ने खेल थिए।
म आफ्नै बुइगलमा पालेको कुखुराको भालेलाई अरूको बारीमा पालेको भालेसँग जुधाउन लग्थेँ। महाबौद्ध बहालमा पनि धेरैले आफ्नो कुखुरा छाड्न ल्याउँथे। तिनका भालेसँग आफ्नो भाले जुधाउन लग्थे। बहालमा मेला नै लाग्थ्यो।
काठमाडौंमा पालिने साखिनी भालेभन्दा हाम्रो लखनवी भाले भिड्नमा निपूर्ण हुन्थ्यो। रक्ताम्य भएर पनि हार्दैनथ्यो। बीचमा हामी छुट्टयाउँथ्यौं। तेल–बेसारको उपचार गर्नुपर्थ्यो। मलाई मेरो भालेको चौपट्ट माया लाग्थ्यो, तर दसैं आएपछि सोही भाले गणेशलाई बलि दिन लग्नुपर्थ्यो। धुरुधुरु रुनबाहेक मेरो केही चल्दैनथ्यो। अर्को ल्याइदिन्छु भनेर आमाले फकाउनु हुन्थ्यो। हुन पनि दसैं लागेपछि बिहान कतै भाले बास्दैन। उराठलाग्दो बिहानीमा उराठ सूर्य उदाउँछ।
भालेको भिडन्तमा रमाउन जाँदा कहिलेकाहीँ बेग्लै दृश्यगोचर हुन्छ। मेरो भालेले एउटा सानो पोथीलाई बेस्कन टाउकोमा टोकेर जीउमाथि चढ्छ। भालेसँग नजुधेर पोथीलाई किन टोक्यो भन्ने जिज्ञासा राख्दा बुवाले भन्नुभएको थियो, ‘त्यो भाले लागेको हो, बाटो–बाटोमा भुस्याहा कुकुरहरू जोल्टिँदा पनि त्यो भाले लागेको भन्नुहुन्थ्यो मेरो बुवा। पञ्चपाण्डवको सराप लागेको भन्नुहुन्थ्यो मेरी आमा। टुँडिखेलमा पनि गाई पाल्नेहरू साँढेसँग भाले लगाउन ल्याएको भन्थे। पशुपन्छीका यस्ता क्रिडा बाटो–बाटोमा देखिन्थे। मेरा बाल मस्तिष्कमा छाप परेको थियो, ती क्रिडा पशुपन्छीका पाशविक क्रियाकलाप मात्र हुन्। कालान्तरमा ज्ञान भयो, हामी मानिस पनि पशु नै रहेछौं।
पशु हुनुभन्दा पहिलेका खेल जीवन सम्झँदा लप्सीका गेडा ‘च्याम्पटी’ जुधाउनु, दसैं बेला चंगा उडाउनु, मीनपचास बेला बट्टाई जुधाउनु, त्यस्तै डन्डिबियो ‘पानस’ खेल्नु, कबड्डी खेल्नु, भकुन्डो अर्थात् फुटबल खेल्नु र कहिलेकाहीँ बाघचाल खेल्नु मेरो स्मृतिका झिल्का हुन्।
शारीरिक व्यायाम र मानसिक कसरत हुने उहिलेका ती खेललाई आजभोलि आइप्याडले विस्थापित गरेको छ। मानिसको दास प्रविधि हैन, प्रविधिको दास मानिस बन्दै गएको आभाष हुन्छ।
शारीरिक एवं मानसिक तन्दुरुस्तीका लागि बाल्यावस्थामा खेलकुद र मनोरञ्जनका खुराकमा कमी आउन दिनु हुँदैन।
खेल खेलौं, तन्दुरुस्त बनौं।