असार १९ गते पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बोलेका कुरा एकचोटि पढें र दुईचोटि भिडियो हेरें। वर्षौंपछि मलाई त्यति प्रभावित पारेको पहिलो अभिव्यक्ति थियो त्यो।
तर मुख्य कुराचाहिँ कार्कीका शब्दले मलाई ग्लानिबोध गराए।
धेरै साथीहरूसहित म पनि धेरै वर्षदेखि स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षा सुधारको अभियानमा छु। तर कहिलेकाहीं के हुन्छ भने जंगलभित्र हुनेले रुख मात्रै देख्छ भने जंगलबाहिरबाट हेर्नेले सिंगो जंगल देख्छ। एक हिसाबले कार्कीको अभिव्यक्ति नेपालको स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रको समग्र चित्र प्रस्तुत गर्ने ऐतिहासिक दस्तावेज थियो। त्यो सुनेपछि लाग्यो, हामीचाहिं यी क्षेत्रभित्रका एकएक समस्या र चुनौतीसित जुध्दाजुध्दा यिनको समग्र चित्र नै बिर्सन थालिसकेका थियौं।
जस्तो कि, अहिले सुधार अभियानमा मुख्य बहसको विषय चिकित्सा शिक्षाको गुणस्तर कसरी कायम गर्ने, त्यसका लागि राजनीतिक भागवण्डाले थिलोथिलो परेका नियामक निकायलाई कसरी ब्युँझाउने र अहिले भइरहेको अरबौंको कालोबजारी र कमजोर विद्यार्थी खोजेर पढाउने धन्दा कसरी रोक्ने भन्ने छ।
तर कार्कीले त्यसभन्दा पनि आधारभुत तहमा गएर प्रश्न सोधिन्–५० लाख लिएर पढाउने, डिग्री लिइसकेपछि २० हजारको जागिर पनि नदिने, यस्तो पनि पढाइ हुन्छ?
मानौं कि भोलि गएर नेपालमा मेडिकल शिक्षाको गुणस्तर दुरुस्त भएर योग्य डाक्टर निस्के। तर तिनले ५० लाख (अवैध रूपमा लेनदेन गरिएको थप रकम छाड्ने हो भने) खर्च गरेर पढेपछि महिनामा २० वा २५ हजार तलब खाएर कसरी सेवा दिन सक्छन्? अथवा स्वास्थ्य संस्थाको अहिलेकै हालत रहने हो भने तिनले काम पो कहाँ पाउँछन्?
कतै गुणस्तरीय भनेर खोटो डिग्रीको पो व्यापार त भइरहेको छैन? कार्कीलाई सुनेपछि यो प्रश्नले मेरो मथिंगल खल्बलाइरह्यो।
घरजग्गा र सुन बेचेर, वर्षौंसम्म नयाँ कपडा नहालेर, छाक काटेर छोराछोरीलाई डाक्टर बनाउने बाबुआमाको हालत के होला जब डिग्री लिइसकेका सन्तानलाई महिनौं तलबै नदिई काम गर्न वा बेरोजगार बस्न बाध्य पारिन्छ?
अहिले धमाधम नयाँ निजी मेडिकल कलेज खोल्न हतार परेको सरकारलाई केसम्म हिसाब गर्ने फुर्सद छैन भने अहिले देशमा वर्षेनी थपिने (नेपाल भित्र र बाहिर एमबिबिएस र बिडिएस पढेका) चानचुन २५ सय चिकित्सकको संख्यालाई देशका जिल्लाको संख्याले भाग गर्ने हो भने प्रतिजिल्ला ३२ चिकित्सक पुग्छन्। त्यो भनेको पाँच वर्षका उत्पादनले प्रति जिल्ला १६० चिकित्सक पुग्नु हो।
त्यो संख्यालाई पुग्ने अस्पताल कहाँ कसरी खुल्ने हुन्? पत्तो छैन तर सरकार खुल्न लागेका मेडिकल कलेजको दुःख देखाएर वर्षेनी प्रतिजिल्ला ५० चिकित्सक उत्पादन हुने गरी चिकित्सा शिक्षा ऐन ल्याउन तयार छ।
सरकारलाई अहिले माथेमा कार्यदलको प्रतिवेदन अर्घेलो लाग्न थालेको छ तर विज्ञहरूले महिनौं लगाएर बनाएको त्यो प्रतिवेदनमा चिकित्सा क्षेत्रमा आवश्यक र उपलब्ध जनशक्तिबारे प्रस्ट हिसाब गरिएको छ। प्रतिवेदनका अनुसार सन् २०३१ वा अहिलेको १३ वर्षपछि नेपालमा विश्व स्वास्थ्य संगठनको सिफारिशअनुसार ३५ हजार चिकित्सक आवश्यक हुनेछन्। अहिलेकै दरको उत्पादन रहने हो भने त्यो बेला विदेश पलायन हुने वा अन्य कारणले सेवाबाट विस्थापित हुने संख्या छाडेर पनि नेपालमा झण्डै ५५ हजार चिकित्सक उपलब्ध हुनेछन्।
अर्थात् सरकारले देशभर स्वास्थ्य संस्थाहरुको विकेन्द्रीकरण गरेर दार्चुलादेखि ताप्लेजुङसम्म बराबर चिकित्सक खटिने अवस्था ल्यायो भने पनि आवश्यकताभन्दा २० हजार बढी चिकित्सक हुनेछन्। अहिले झैं काठमाडौं र त्यस वरपर मात्रै ठूला अस्पताल हुने हो भने त बेरोजगार डाक्टरको संख्या ३० हजारभन्दा बढी हुनेछ।
तिनले ट्याक्सी चलाउने या च्याउ खेती गर्ने वा अरु केही गर्ने? ती काम गर्नका लागि तिनको पचासौं लाख धन र दशौं वर्षको समय किन नष्ट गरिदिने?
सुशीला कार्कीका कुरा सुनेपछि लाग्यो अब निजी मेडिकल कलेज खोल्न नहुने बरु थोरै खर्चमा डाक्टर बनाएर दुरदराजसम्म पुर्याउन सक्ने सरकारी मेडिकल कलेज मात्रै खोल्नु पर्ने डा केसीको अडान अतिवादी वा अव्यवहारिक हैन त्यसको ठ्याक्कै उल्टो पो हो। त्यो अडानले बजारमाथि अनावश्यक हस्तक्षेप गर्ने नभई डाक्टरी लाइसेन्स लिएका ट्याक्सी चालक हुने विकृत अवस्था रोक्ने पो हो।
देशमा यसरी बर्सेनी दशौं अरबको ठगी रोक भनेर सत्याग्रहमा बस्ने डा केसीलाई उपचार गरेर बचाउनुभन्दा बरु अस्पताललाई नै निषेधित क्षेत्र गरेर छिटो मर्न दिनु अहिलेको सरकारलाई ठिक लागिराखेको छ। शायद यही अवस्था जनाउन भनिएको होः चोरलाई चौतारो साधुलाई शूली।
सुशीला कार्कीले हामी सबैलाई लज्जित पारिदिएको अर्को विषय गंगामायाको न्यायको लडाइँ हो।
माओवादी युद्धताका भएका ज्यादतीबारे उचित छानविन र न्याय बृहत् शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय व्यवस्थाबाट हुने भनेर हामी चैनले सुत्यौं। जवाफदेहिता खोज्नेहरूलाई शान्ति भाँड्नेदेखि डलरको खेती गर्ने भनेर धब्बा लगाइदियौं।
तर मुक्तिनाथ अधिकारीलाई रुखमा बाँधेर गोली हान्नेदेखि कृष्णप्रसाद अधिकारीलाई अपहरण गरेर हत्या गर्नेहरु छाती फुकाएर नीति निर्माण गर्ने तहमा पुगे र शुरुमा आफ्नो उन्मुक्तिको बाटो खोले। उज्जन श्रेष्ठलाई रिसइबी साँध्न मार्नेहरू विधिको शासनलाई नै हाँक दिंदै उन्मुक्त भए। उता दोरम्बादेखि भैरवनाथ गणसम्म युद्ध अपराध गर्नेहरु उन्मुक्त मात्रै नभई पुरस्कृत भए।
दुवै पीडक पक्षलाई लाग्यो, एउटाको उन्मुक्तिले अर्कोको उन्मुक्तिको औचित्य पुष्टि गर्यो। देशमा शान्ति आयो, अर्को युद्ध नहुने भयो, बहुसंख्यक मानिस यसैमा खुशी भए। यसैबीच दुवै पक्षका पीडकहरु दण्डहीनता कायम गर्नमा एक भएर लागे।
तर मुक्तिनाथ, उज्जन र कृष्णप्रसादका आफन्तहरुको घाउमा दोरम्बा वा भैरवनाथ गणका बधकारी मानिसहरुले पनि उन्मुक्ति पाए रे भन्ने समाचारले नुनचुक छ¥यो मात्रै। संसारमा कतै छोरा मारिएकी आमालाई अर्की आमाको छोरा पनि मारियो रे भन्ने समाचारले सान्त्वना दिएको छ? कतै आफ्नो छोरालाई मार्नेहरु उन्मुक्त भएर हिंडेको देख्दा मरेतुल्य भएको बाबुलाई अरुको छोरा मार्नेहरु पनि उन्मुक्त भएर हिंडेका छन् भन्ने समाचारले राहत दिएको छ?
तिनै पीडित नागरिकहरु न्यायका लागि अदम्य साहसका साथ लडिरहे तर हामी बहुसंख्यक मानिसहरु रमिते भएर हेरिरह्यौं। मानवीय संवेदना किनारा लाग्यो। नेताका परिवार रुघाखोकीको उपचारलाई सिंगापुर जान चाहे हामीले गाँस काटेर उठाएको करबाट करोडौं तिरेर पठायौं, तिनका छोरा कालगतिले मर्दा तुरुक्क आँशु झार्यौं तर न्यायका लागि अनेक ठक्कर खाँदै लडिरहेका नागरिकले कहिले न्याय पाउँछन् भनेर सोधेनौं। हामीलाई हाम्रो शान्ति र विकास नै प्यारो भयो, छिमेकीको न्यायको लडाइँ चाहिं अर्घेलो भयो।
वर्ष बिते। दशक बिते। चुनाव आयो। मताधिकारको नाममा बुथमा गएर तिनै पीडकहरुलाई भोट हाल्यौं। त्यसपछि जे हुनु पर्थ्यो, अहिले त्यही भइरहेछ। गंगामायाका सास कहिले जाला र चैनको सास फेर्न सकिएला भनेर पीडकहरु सिनो कुरोको ब्वाँसोको मुद्रामा बसिरहेका छन्। र उन्मादी मुद्रामा न्याय र विधिको शासनलाई गिज्याइरहेछन्। हामी किनाराको रमिते बनेर हेरिरहेछौं।
दुई तिहाइ बहुमतको यो रामराज्यमा निहत्था नागरिकका पक्षमा बोल्ने अब हामी आफैंबाहेक अरु कोही रहेन। त्यसैले सकिन्छ भने आउनोस्, मुक्तिनाथ अधिकारी, कृष्णप्रसाद अधिकारी र उज्जन श्रेष्ठका आफन्तहरुको न्यायको लडाइँमा हाम्रा केही आवाजहरु पनि मिसाएर लडौं। नत्र कम्तीमा लज्जा र ग्लानिभावमा शिर लत्राएर त हिंडौं, अब पनि पीडकहरुको क्रीडामा रमिते बन्यौं भने मानवता भन्ने शब्दले आफैं लाज मान्नेछ।