उनी आफ्नो फेसबुक वालमा सधैंजसो युवायुवतीहरू डाँडापाखामा लामोदूरी दौड तालिम गरिरहेका, देशविदेशका ट्रयाकहरूमा दौडिरहेका, जीतको उल्लाससहित देशको झण्डा र पदक उचालेका जस्ता रमाइला र आशावादी फोटाहरू पोष्ट गरिरहन्थे।
गत शनिबार उनले एउटा स्टाटस लेखे। त्यसको भावले झसङ्ग बनायो।
उनको पोस्ट थियो - 'खेलाडी भएर देशकाे लागि मरिमेटेँ। अाज यसरी बिरामी अपहेलित भएर बस्नु परेकाे छ। यदि म कुनै पार्टीको खेलाडी भएकाे भए मैले धेरै सहयाेग पाउथेँ हाेला। विदेशकाे उपचार हुन्थ्याे हाेला।'
यी स्टाटस हो हरि गुरुको, अर्थात कीर्तिमानी धावक हरि रोकायाको।
उनलाई 'हिउँ चितुवा' को उपाधि दिइएको छ।
यिनै 'हिउँ चितुवा' अचेल बिरामी छन्। एउटा बिरलै देखापर्ने नशा र मांशपेशीको समस्यासँग जुधिरहेका छन्। चार दशकभन्दा बढीदेखि सक्रिय रुपले दौडिरहेका धावकको जीवनमा हठात् ब्रेक लागेको छ। उपचार तथा फिजियोथेरापीको लामो प्रक्रियाबाट गुज्रनु परिरहेको छ।
झन्डै ६ दशकअघि विकट कर्णालीमा जन्मेका हरि रोकायाले पूर्वाधारविहीन भूगोलमा अनेक प्रतिकुलतालाई चिर्दै केवल दृढ इच्छाशक्तिको भरमा आफूलाई विश्वमै लामोदूरीको अब्बल र 'कीर्तिमानी' धावक सावित गरे। यो एक असाधारण प्रतिभा हुनुको परिचय हो।
उनका नाममा एभरेष्ट म्याराथनमा ह्याट्रिक गरेको गिनिज विश्व कीर्तिमान छ। त्यस्तै अन्नपूर्ण सर्किट सबभन्दा छिटो (२४ घण्टा ५ मिनेट)मा सम्पन्न गर्ने कीर्तिमान पनि छ। नेपाली झण्डाको प्रतिनिधित्व गर्दै ओलम्पिक लगायत अन्य लामोदूरीका प्रतियोगितामा उनले करिब ३ दर्जनपटक विदेशमा दौडिएका छन्। रेकर्डहरु तोडेका छन्। सन् ८० दशकको उत्तरार्धदेखि ९० दशकभर नेपालमा भएका लामोदूरीका लगभग सबैखाले दौडहरू उनले जितेका छन्।
उनी विदेशमै प्रशिक्षक बनी बस्न सक्ने अवसर र काठमाडौं सहरमा हराउन सक्ने सम्भावनालाई लत्याएर त्यही विकट कर्णाली भूमीमै क्रियाशील छन्। नवयुवाहरूलाई आफूसँगै निरन्तर जुम्ला मुगुका डाँडाकाँडा दौडाएर प्रशिक्षण दिन्छन्। प्रतियोगितामा भाग लिन प्रेरित गर्छन्। हारगुहार गरेर उनीहरूको लागि खर्चको जोहो गर्छन्।
गाउँबाट कहिल्यै घर नछोडेका, कहिल्यै सहर नदेखेका, कहिल्यै जहाज नचढेका ठिटाठिटीहरू चुनौती बोकेर बिराना ठाउँमा लड्न जान्छन्। हरि गुरु'का चेलाचेलीहरू एकपछि अर्को गर्दै देश-विदेशका प्रतियोगितामा अब्बल प्रदर्शन गर्न थाल्छन्। उच्च शानका साथ देशको झण्डा फहराउँछन्। अनि, गर्वले छाती चौडा पार्दै यता गुरु आफ्नो फेसबुक वालमा लेख्छन् - बधाई लक्ष्मी!! बधाई विश्वरुपा!! बधाई सुनमाया!! बधाई पूर्णलक्ष्मी!! बधाई दुर्गा !!
यी सब देख्दा खुसी लाग्थ्यो।
तर शनिबार उनको स्टाटसले निकै सोचमग्न बनायो। समग्र देशले गर्व गरिरहेको, समग्र कर्णालीको एकमात्र कीर्तिमानी खेलाडी एकाएक थला पर्दा आम शुभचिन्तक तथा अरु खेलाडीहरू सोधपुछ गर्छन्। तर सरकार?
'रोल मोडल' खेलाडीप्रति राष्ट्रले ध्यान दिन्न भने उसले जीवनभर 'चन्द्र-सूर्य' अंकित झण्डा बोकेर कसको लागि र किन मरिमेटेर पसिना बगायो?
उनीहरूलाई पछ्याउँदै देशको शिर उच्च पर्ने महत्वकांक्षा बोकेका युवायुवतीले के आशले संघर्ष गर्ने?
यतिबेला देशलाई योगदान पुर्याएका खेलाडीको उपचार, सहयोग र हौसलाको लागि सरकार र सरोकारवालाको दायित्व के र किन हुने भन्ने प्रश्न मुखरित छ।
समृद्ध समाजमा विविध क्षेत्रका 'रोल मोडल' हुन्छन्। उनीहरूका संघर्ष, उपलब्धी, योगदान र लोकप्रियताका गाथाले अरुलाई सधैं प्रेरित गरिरहेको हुन्छ। खेलकुद, कला, संगीत जस्ता क्षेत्रमा उल्लेखनीय क्षमता प्रदर्शन गर्नेको सफलताले त्यसमा रुचि राख्ने आम मानिसलाई लोभ्याउँछ। र, तीमध्ये कतिजना आदर्श व्यक्तिको रुपमा उदाउँछन्। जो अनुयायीहरूको लागि प्रेरणा प्रदायक मात्र नभई समग्र समाजको शान बनेर रहन्छन्। नव-आगन्तुक लागि एक सफल खेलाडी प्रेरणाको स्रोत हुन सक्छ।
सबै खेलाडी 'रोल मोडल' भने हुन सक्दैनन्। रोल मोडल बन्न युवा, किशोर र बालबालिकाले आदर्श व्यक्ति मान्न सक्ने हैसियत बनाउन सक्नुपर्छ।
यस अर्थले हरि गुरु साँच्चिकै रोल मोडल हुन्। अत्यन्त सरल स्वभावका धनी उनी प्रायः युवा खेलाडीमाझ घुलमिल हुन रुचाउँछन्। हौसला प्रदान गरिरहन्छन्। उनमा सफलताको कुनै दम्भ वा आडम्बरको रत्ति पनि संकेत देखिन्न। उनी राजनीतिको खेलबाड सधैँ टाढा रहे। चाकडी, चाप्लुसी जानेका छैनन्। बनावटी कुरा बोल्न जान्दैनन्। सत्यकुरा बोल्न डराउँदैनन्। यिनका अन्तर्वार्ता सुन्दा बोलीमा जुन असली 'जुम्ली' लवज सुनिन्छ उनी त्यस्तै 'अर्ग्यानिक' मन भएका गज्जब मान्छे प्रतीत हुन्छ। अनेकौं अभावबीच उनले गरेको योगदान अतुलनीय छ। सचेत र सभ्य समाजमा यस्ता कुराको कदर गर्ने परिपाटी हुनु आवश्यक छ।
हरि रोकायालाई चिकित्सकीय भाषामा 'गुलिएन-बेर्रे सिन्ड्रोम (जिबिएस)' भनिने बिरलै देखापर्ने अवस्थाको रोग लागेको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीले हातखुट्टातिर प्रवाह हुने स्नायुलाई आक्रमण गर्छ। हातखुट्टाको चाल, दुखाई, तापक्रम र स्पर्श संवेदना नियन्त्रण गर्ने स्नायु अवरुद्ध हुन्छ। फलस्वरूप मांशपेशीहरु कमजोर र लाटा हुन्छन्।
यदि सम्भावित जटिलताको समय मै नियन्त्रण भएन भने स्थायी प्यारालाईसिस हुन सक्छ। समयमै समस्याको उचित उपचार, स्याहार र फिजियोथेरापी माध्यमबाट हरेक दसमध्ये नौ बिरामीहरू निको भएको पाइन्छ। निको हुने प्रक्रिया भने निकै ढिलो हुन्छ।
हरिलाई जुम्लामा हुँदा एकाएक समस्या देखा परेपछि अर्को दिनमै काठमाडौंको सुविधायुक्त अस्पताल पुर्याइएकोले अप्रिय जोखिम टरेको थियो। दुई साताबढीको अस्पताल बसाइमा जुन सुधार देखियो त्यसले निकै आशावादी बनाएको छ। तापनि 'रिकभरी' प्रक्रिया निकै जटिल र खर्चिलो हुनसक्ने छ।
केही साताअघि यो लेखकको हरि रोकाया र उनका छोरासँग भेट भएको थियो। त्योबेला उनीहरूले एउटा चिन्ता व्यक्त गरेका थिए- यसरी एकाएक कमजोर परेको गुरूलाई देखेर उनको प्रेरणामा दौड प्रशिक्षणमा लगनशील युवायुवतीमा डर पस्ने पो हो कि? अभिभावकले नै उनीहरूलाई दौडिन निरुत्साहित गर्ने हुन् कि? भावी पुस्ताका खेलाडीमा रुचि घट्ने पो हो कि?
उनीहरूको यो भ्रम निवारण गर्न आवश्यक छ।
हरि रोकायालाई लागेको यो 'जिबिएस' रोग प्रतिलाख जनसंख्यामा १-२ जनालाई देखापर्छ। यो समस्याको वास्तविक कारण भने अज्ञात छ। तर प्रायः कुनै व्याक्टेरिया वा भाइरल संक्रमणपछि यस्तो लक्षण देखा पर्ने गरेको पाइन्छ। जस्तै: व्याक्टेरियाको कारणले हुने झाडापखाला।
हरि रोकायाको हकमा सायद उनी निरन्तर अत्यधिक दौडने तर खानपिन (डाइट) मा ध्यान नपुर्याएकाले शरीरको प्रतिरक्षा प्रणाली मजबुत राख्न चाहिने पोषकतत्वहरुको कमि भयो ।अनि यसको दिर्घकालीन अभावले प्रतिरक्षा प्रणालीमा गडबड गर्यो र यो सिन्ड्रोमको विकास भयो ।
यो समस्या जुनसुकै उमेर समूहका मान्छेलाई हुनसक्छ। नेपालमा बिसं २०६८ सालमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएका ३६ जना बिरामीमा गरिएको अध्ययनमा १२ वर्षदेखि ८० वर्षसम्मका बिरामी थिए। त्यसअघि बिसं २०६२-६४ तिरको अध्ययनमा ३ वर्षदेखि १४ वर्षसम्मका ३० बिरामी बालबालिका थिए। नेपालमा गरिएका अध्ययनले पश्चिमा देशमा देखिएका बिरामीको विशेषतासँग कति मिल्छ भन्ने विषयमा केन्द्रित थिए। जसअनुसारको नतिजाले करिब ९० प्रतिशतसम्म मिल्दोजुल्दो पाइएको थियो।
त्यसैगरी यो खेलाडीलाई मात्र हुन्छ भन्ने होइन। जसलाई पनि हुनसक्छ। भर्खरै सकिएको फिफा विश्वकप फुटबलमा वैसाखी टेकेर हरदम खेलाडीलाई हौस्याइरहेका उरुग्वेका ७१ वर्षीय कोच ओस्कार ताबरेजले धेरैको ध्यान खिचेका थिए। उनलाई पनि 'गुलियन-बेर्रे सिन्ड्रोम' देखापरेको हो। त्यस्तै पूर्व अमेरिकी राष्ट्रपति रुजवेल्ट, अभिनेता एन्डी ग्रिफिथ, जापानी रकब्याण्ड भोकलिस्ट अरिमुरा लगायत चर्चित व्यक्तित्व पनि यो सिन्ड्रोमबाट प्रभावित भएका थिए।
नेपालमा जिबिएस समस्या भोगिरहेकाको हेरचाह र सहयोगको लागि ठोस सरकारी नीति छैन। जिबिएस प्रभावितहरू र उनीहरूको पारिवारका सदस्यहरूको रुचि र प्रयासमा केही सञ्जाल सक्रिय छन् जसले केही गैरसरकारी प्रयास मार्फत अन्तराष्ट्रिय समन्वयमा सूचना र जानकारी उपलब्ध गराइरहेको पाइन्छ।
जुन खेलाडीले जीवनका उर्जाशील समय देश र समाजको शीर उच्च पार्न पसिना बगायो उसलाई अप्ठ्यारो पर्दा सरकारको दायित्व के? उसलाई आवश्यक पर्दा राज्य अग्रसर हुनु पर्छ ताकि भविष्यका खेलाडीमा आशा जागोस् र भन्न सकून्- 'म मरिमेटेर देशको नाम उज्ज्वल गर्छु। मेरो राज्यले मलाई परेको बेला त्यो गुन सम्झिनेछ।
सहयोगनिम्ति कुनै राजनीतिक पार्टीको सदस्य बन्नुपर्ने भाव नआओस्। कुनै अमुक पार्टीको नेताको सिफारिसको गुन्जाइस नरहोस्। र, त्यसैकारण जीवनभर जोगाएको आत्म-सम्मानमा ठेस नपुगोस्।
आगामी फागुनमा नेपाल मै हुन गइरहेको तेह्रौं साग खेलकुदको तीव्र तयारी चलिरहेको छ। त्यसअघि आठारौं एसियाली खेलकुदमा भाग लिन कैयौं खेलाडी इन्डोनेसिया जाँदैछन्। राम्रो खेल्ने खेलाडीले अझ उत्कृष्ट प्रदर्शन गरून् भन्ने चाहना हुन्छ।
त्यसले तमाम अरु युवाहरूलाई प्रेरणा मिलोस्, उनीहरूमा पलायन र दिक्दारीपनको सोच निर्मूल होस्, उत्साह थपियोस्। उत्कृष्ट प्रदर्शन गर्नेको आर्थिक जीवनको भविष्य सुनिश्चित गरिनुपर्छ। नेपालमा अधिकांश खेलाडी युवावयको जोश रहुन्जेल खेल्छन्। जिविकोपार्जनका विकल्प खोज्दै तिनका बाटा मोडिन्छन्। 'सिकारु' खेलाडीबाट देशको इज्जत जोगिदैँन। खेलकुदलाई 'फुर्सद समयको सदुपयोग' गर्ने माध्यम नभई एउटा 'पेशा'को रुपमा लिन सकेमात्र यसको विकास हुन्छ।
यतिबेला देशमा खेलकुदको विकासको अभिभारा लिएको परिषद, खेलकुदका संगठनहरू हाँक्ने भेट्रानहरू, खेलप्रेमी राजनेता, जनताका प्रतिनिधि सबैले मनन गर्न जरुरी छ, कि 'खेलाडी राष्ट्रको हो कि कुनै राजनीतिक पार्टीको? कुनै पार्टी सदस्य भएको भरमा सिफारिस पाएर देशविदेशमा सुविधासम्पन्न अस्पतालमा उपचार पाउने कि देशलाई दिएको योगदानको कदर स्वरुप नागिरकलाई परेकोबेला आवश्यक उपचार सहयोग दिएर असल संस्कारको स्थापना गर्ने?
अन्तमा,
कर्णालीमा क्षमतावान युवाहरू जन्मिन सक्छन्। असल कोचिङ्ग र तालिम मिलेमा विश्वस्तरीय खेलाडी पनि उत्पादन गर्न सकिन्छ भन्ने कुरा सिमित श्रोतसाधनको बाबजुद नै हरि रोकायाले प्रमाणित गरिसकेका छन्। यिनको संघर्ष र सपना कर्णालीमा 'हाई-अल्टिच्युड ट्रेनिंग सेन्टर' खोल्ने छ। यस दिशामा प्रदेश सरकारको नीति र कार्यक्रम मार्फत केही रुचि झल्किएको छ। यसलाई यथाशक्य मूर्तरुप दिन पहल आवश्यक छ।
योभन्दा जरुरी सरकारको पहल हरि 'हिउँ चितुवा'लाई आवश्यक पर्ने सबै उपचार व्यवस्था मिलाएर निको पार्नुछ।
हामी कर्णालीवासीको इच्छा उनी फेरि त्यो जुम्ला र मुगु-राराको डाँडाकाँडामा उसैगरी दौडिएको हेर्ने छ। ती युवायुवतीको खुट्टामा जोश भरेर काँधमा चन्द्र-सूर्य अंकित झण्डा बोकाएर देश विदेशका ट्रयाकमा दौडन पठाएको हेर्ने उत्कट् चाहना छ।
अनि भन्न मन छ- खेलाडी सधैँ राष्ट्रको हुन्छ!!
लेखमा प्रयोग गरिएका सबै फोटा हरि रोकायाको फेसबुक पेजबाट लिइएका हुन्।
(लेखक कर्णाली प्रदेश, तातोपानी गाउँपालिकाका बासिन्दा हुन्।)