अचेल महिला र बालबालिकाविरुद्ध भएका हिंसा र बलात्कारजन्य अपराधका घटनाका दिनहुँजसो बाहिर आइरहेका छन्।
एउटा पुरुषलाई पुरुष हुँ भन्नै लाज लाग्ने गरी महिला र नाबालिकाविरूद्ध जघन्य प्रकृतिका घटना भएका छन्। बलात्कार गरी हत्या गरिएका बालिकाको सूची एक महिनामा दर्जनभन्दा बढी पुगिसकेको छ।
बलात्कारजन्य हिंसाविरूद्ध कडा कानुन र मृत्युदण्ड समेत माग हुन थालेको छ। बलात्कारको रोकथाम र नियन्त्रणका लागि जति अनुसन्धानमूलक खोजी र यथार्थपरक छलफल हुनु पर्थ्यो, त्यो हुन सकेको छैन। बलात्कारविरूद्ध प्रचलित कानुन, कानुन कार्यान्वयनमा संलग्न सरोकारवाला सरकारी निकायको सक्रियता र हिंसाविरूद्ध समाज एवं नागरिक तहको क्रियाशिलता प्रभावकारी हुन सकेको छैन।
समाजमा दिनहुँ भइरहेका हिंसाको प्रकृति, एकपछि अर्को बलात्कारपछि हत्याका घटना वृद्धि भइरहेका छन्। नेपाली समाज खास गरी पुरुषहरु किन यसरी हिंसात्मक र पाशविक हुँदै गइरहेका छन् भन्ने तथ्यको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजशास्त्रीय अनुसन्धानबाट खोजी हुनु जरुरी छ। केबल बलात्कारीलाई मृत्युदण्ड दिएर वा कारबाही गरेर मात्र समाजमा बलात्कारका घटनामा कमी आउने अनुमान तर्कसंगत छैन।
पुरुषलाई बलात्कारी बनाउने हाम्रो समाज र सँस्कृति हो। समाजशास्त्रीय आधारभन्दा समाज भनेको सामाजिक सम्बन्धको जालो हो, जन्मेपछि मानिस घरपरिवार, समुदाय, नातासम्बन्ध, संगठन, अर्थतन्त्र, राजनीतिजस्ता सम्बन्धको जालोमा जेलिएको हुन्छ। व्यक्ति कस्तो हुने भन्ने तथ्य त्यही सामाजिक सम्बन्धको जालोले निर्धारण गर्छ। किन नेपाली समाजमा बलात्कारी बढिरहेका छन्?
जुनसुकै उमेर, पद र व्यक्तित्वका पुरुष बलात्कारी रूपमा प्रकट भएको छ। विगत एक वर्षका घटना केलाउने हो भने १५ वर्षको किशोरले सत्तरी वर्षकी महिलालाई बलात्कार गरेको छ। सत्तरी कटेको पुरुषले सात वर्षकी बालिकाको बलात्कार गरेको छ। उमेर मिल्दो समूहमा भएका बलात्कारको हिसाब नै छैन। नेपाली समाजका पुरुषभित्र के तत्व छ जसले महिला देख्नेबित्तिकै पाशविक तवरले झम्टिन्छ?
नेपाली समाजमा महिलाविरुद्ध हुने खास गरी बलात्कारजन्य हिंसाको रोकथाम र नियन्त्रणका लागि प्राज्ञिक र अनुसन्धानमूलक बहस हुन सकेको छैन। एउटा पुरुषले किन बलात्कार गर्छ? एउटा पुरुषलाई कुन तत्वले जबरजस्ती गर्न प्रेरित गर्छ?
महिला र पुरुषको यौन अंगमा शारिरिक रूपले केही विशिष्ट भिन्नता छ। महिलाको यौनअंग स्वंय महिलाको इच्छाविरुद्ध पनि अरुले प्रयोग गर्न सक्छ तर पुरुषको यौन अंगको प्रयोग त्यतिबेला मात्र हुनसक्छ जति बेला स्वंय पुरुषले चाहन्छ। पुरुष मानसिकरुपले तयार नभएसम्म पुरुषको यौन अंग परिचालित हुन सक्दैन।
त्यसैले बलात्कारको प्राथमिक कारण शारिरिक संरचना होइन, बरु पुरुष मानसिकता र मनोविज्ञान हो। पुरुषको यो बलात्कारी मानसिकता परिवर्तन मृत्युदण्ड वा कारबाहीले मात्र सम्भव छैन।
बलात्कारी मानसिकता बोकेको एउटा पुरुष महिला देख्नेबित्तिकै बलात्कारीको अवतारमा प्रकट भइहाल्छ। बलात्कारी मानसिकताको सिर्जना किन भइरहेको छ भन्ने प्राथमिक प्रश्न हो।
समाजमा बलात्कार हुनुका मुख्य कारण र आधार बलात्कारी संस्कृति हो। बलात्कारी संस्कृति भनेको पुरुष प्रभुत्वमा हुने सामाजिकीकरण प्रकृया हो। नेपाली बालबालिकाको सामाजिकीकरण प्रकृयामा खोट छ, जसले गर्दा बालक बलात्कारी पुरुषको रूपमा प्रकट हुन्छ। बालिका आफूभन्दा कमजोर लुरे पुरुषसँग पनि भयभित र लल्याकलुलुक पीडितको रूपमा रुपान्तरण हुने अवस्था छ।
बलियो र सुगठित शरीर भएका महिला पनि शारिरिक रूपले कमजोर पुरुषसँग भयभित किन हुन्छन् र प्रतिकार गर्न सक्दैनन्? किन कमजोर पुरुष पनि बलियो सुगठित महिलालाई सहजै जबर्जस्ती गर्न तम्सिन्छ?
पक्कै पनि यो हाम्रा बालबालिकाको सामाजिकीकरण प्रकृयाको खोट हो। यो सामाजिकीकरण प्रकृया नफेरेसम्म प्रभावकारी रूपले बलात्कारका घटना न्यूनिकरण गर्न सकिने छैन। अर्को शब्दमा भन्दा नेपाली समाजमा बालबालिकाको पितृसत्तात्मक रूपले सामाजिकीकरण हुने गर्छ।
पितृसत्तात्मक सामाजिकीकरण प्रकृया भनेको पुरुषलाई प्राथमिक र प्रभुत्वशालीवर्गको रूपमा हुर्काइबढाई गर्ने तर महिलालाई मूल्यहीन र कमजोर वर्गको रूपमा हुर्काइबढाई गर्ने प्रवृति हो। यस किसिमको पितृसत्तात्मक सामाजिकीकरण प्रकृयालाई महिलावादीहरुले बलात्कारी संस्कृति मनेर परिभाषित गर्न रुचाउँछन्। बलात्कारी सँस्कृति रहेसम्म बलात्कार त हुन्छ नै। समाज र परिवारमा बलात्कारी संस्कृति बोकेर हिँड्ने अनि बलात्कारविरुद्ध कुरा गरेरमात्र बलात्कार न्यूनिकरण गर्न सकिन्छ होला त?
किन हाम्रा बाबुआमाहरु छोराकै चाहना गर्छन् र प्रतीक्षामा आधा दर्जन छोरीको भ्रुण हत्या गर्छन्। छोरीको भ्रुण हत्या गर्ने राजधानी र शहरका नर्सिङ होम र अस्पतालमा पढे लेखेका र सम्पन्न आमा होलान् कि अनपढ र गरिब आमा होलान्? एउटा महिलाको भ्रुणमै हत्या गर्नमा हामी कति संलग्न छौं? छोराको प्रतीक्षामा छोरीको भ्रुणमै हत्या गर्न तम्सिने र यस्तो प्रवृतिलाई जघन्य अपराध नमानी सहज रूपमा लिने परिपाटीले जन्मेपछि हुने छोरीको हत्यालाई प्रोत्साहित गरेको छ।
पितृसत्ता भनेको एउटा संरचना र प्रणाली हो जसमा देखिने भूमिका महिलाको होला तर प्रणाली र संरचना पुरुष प्रभुत्वमा आधारित हुन्छ। एउटा पुरुषको भूमिका महिलाको पक्षमा होला अथवा एउटा महिलाको भूमिका महिलाकै विपक्षमा होला तर सारमा सिंगो प्रणाली र संरचनाले पुरुष प्रभुत्वलाई प्रोत्साहन गरी राखेको हुन्छ। यही पितृसत्तात्मक प्रणाली नै बलात्कारको संरचनागत रक्षक हो। त्यसैले बलात्कारको रोकथामका लागि पितृसत्तात्मक प्रणाली, पितृसत्तात्मक सामाजिकीरण प्रकृया अझ भनौं– झ्याङ्गिदै गएको बलात्कारी संस्कृतिको चिरफार गरी नामेट पार्न ढिला भइसकेको छ।
एउटा बालकलाई बलात्कारी पुरुषको रूपमा रुपान्तरण गर्ने सामाजिकीकरण प्रकृयाका एजेन्सीहरू के के हुन्?
घर परिवार, छरछिमेक, विद्यालय, समुदाय, समाज, सोसल मिडिया, आमसञ्चार आदि। सामाजिकीकरणका यी एजेन्सीमा सुधार गर्नु पर्ने विषय केके छन्? यी एजेन्सीमा के कस्तो परिस्थिति र अवस्था छ, जसले बलात्कारजन्य हिंसालाई मलजल गरिरहेको छ। सोसल मिडिया र आमसञ्चार माध्यममा बलात्कारबाट नारी अस्मिता लुटिएको तथा नारीको सर्वश्व गुमेकोजस्ता शब्दावली किन प्रयोग भइरहेका छन? घर परिवार, समाज, सोसल मिडिया र आमसञ्चार माध्यममा भाषा, कला, विज्ञापन, साहित्य र अनेक प्रसंगमा हामीले महिलालाई चेतनाहीन उपभोग्य वस्तुको रूपमा चित्रण गर्ने गरेका छौं। यसले नेपाली समाजमा एउटा सानो बालक हुर्कँदै गर्दा महिलाप्रति उसको मानसिकता कस्तो निर्माण हुन जाला?
एउटा बालकको अवचेतन मनको तहले महिला केवल उपभोग्य वस्तुको रूपमा लिइसकेपछि त्यस्तो वस्तुप्रतिको आकर्षणमा उसले अभिव्यक्त गर्ने चेतन व्यवहार कस्तो हुन जाला? जन्मेपछि ६ वर्षसम्म बालबालिकाले घरपरिवार र समाजमा सिकेकादेखि भोगेका कुरा जीवनपर्यन्त अनुभूतिजन्य स्मरणको रूपमा अचेतन मनको तहमा जीवित रहने गर्दछ।
बालबालिकाको मानसिकता र व्यवहार निर्माणको ८० प्रतिशत आधार जन्मेपछि ६ वर्षसम्मको उमेरमा पूरा भइसक्ने गर्छ। हाम्रो नेपाली समाजमा जन्मेपछि ६ वर्षसम्मको सामाजिकीरण प्रकृयाबाट बालबालिकाको यौन र जेण्डरसम्बन्धी धारणा निर्माण हुने गरेको छ। सामाजिकीकरण प्रकृयामा घुसेको बलात्कारी संस्कृतिले गर्दा नेपाली समाजमा असन्तुलित लैंगिक सम्बन्ध रहने गरेको छ। यो असन्तुलित लैंगिक सम्बन्धले सधैँ महिलाविरुद्ध हिंसा र जबर्जस्तीलाई प्रेरित गर्ने गरेको छ।
जब नेपाली समाजमा बलात्कारको मुख्य र प्राथमिक कारण हाम्रा बालबालिकाको सामाजिकीकरण प्रकृया हो भने त्यसमा हामी आफैंको भूमिका कति होला? यो खोजी र अनुसन्धानको विषय होइन र? आन्दोलन र नाराबाजी एउटा पक्ष होला तर हामी आफैंले आफ्नो घर परिवारको सामाजिकीकरण प्रकृयाको समीक्षा कति गरेका छौं? एउटा पुरुषलाई बलात्कारी बनाउने हाम्रै समाज र सामाजिकीरण प्रकृया रहेछ भने यो समाज र सामाजिकीरण प्रकृया परिवर्तन गर्नका लागि हामी सबैको कुनै न कुनै भूमिका त पक्कै छ, त्यो भूमिकाको खोजी गर्न ढिला भैसकेको हो कि? आफ्नो घरपरिवार र समाजमा कतै हामी आफैंले पितृसत्तात्मक सामाजिकीरण प्रकृयालाई प्रोत्साहन गरिरहेका त छैनौं? कतै बलात्कारी संस्कृतिको संरचनागत पक्ष हामी आफैंले जोगाएर बलात्कारविरुद्ध आक्रोश मात्र पोखिरहेका त छैनौं?
यी प्रकृयालाई नरोकेसम्म अथवा नफेरेसम्म कडा कानुन वा मृत्युदण्डको सजायलेमात्र बलात्कार रोकिने छैन। बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्नुपूर्व हालसम्म भएका कानूनी प्रावधानको अधिकतम् प्रयोग भएको छ छैन, अनुसन्धान हुनु जरूरी छ। हाम्रा न्यायीक निकायबाट बलात्कारजन्य अपराधका कति वटा घटनामा अधिकतम् सजायको फैसला भएको छ। बलात्कारजन्य घटनामा अधिकतम् सजाय नहुनुका पछाडि हाम्रा न्यायीक निकायका केके कमजोरी र समस्या होलान्? हाम्रा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलका केके कमजोरी र सीमा होलान्? यथार्थ तथ्यको खोजी र अनुसन्धान जरुरी छ।
केही जिल्लामा गरिएको नमूना अनुसन्धानबाट के देखिन आएको छ भने बलात्कारजन्य अपराधमा दोषी प्रमाणित नब्बे प्रतिशत अभियुक्त गरिब र निम्न वर्गका छन्। के गरिब पुरुष मात्रै बलात्कारी हुने हुन् र? यसले अर्को डरलाग्दो तथ्य उजागर गर्छ कि बलात्कारजन्य अपराधमा यदि सम्पन्न र धनी बलात्कारी रहेछ भने अधिकांश घटना पीडितलाई ललाइफकाइ लोभ देखाई घर व्यवहारमै सामसुम पारेर लुकाउने गरिएको छ। कदाचित पीडितले अडान लिई उजुरी गरेमा अनुसन्धान गर्ने प्रहरी, अभियोग लगाउने सरकारी वकिल अनि लम्बेतान अदालती प्रकृया पार गरेर दोषी प्रमाणित हुने चरणसम्म धनी र सम्पन्न बलात्कारीले सबै प्रकृयालाइ प्रभावित गरी सक्छ। कमजोर तथा गरिब बलात्कारी रहेछ भने मात्रै सजायको भागी हुने अवस्था विद्यमान छ।
यो पनि पढ्नुस्:
बलात्कारीलाई छिटो पक्राउ गरी कानुनको दायरामा ल्याउनु पर्ने प्रहरीले बलात्कारको अनुसन्धानमा देखाउने निष्क्रियता अनि होटलका कोठामा हुने सहमतिको यौन सम्बन्धलाई पक्राउ गर्न देखाउने रूचि र सक्रियताबाट पनि धेरै अनुमान लगाउन सकिन्छ। बलात्कारजन्य अपराधमा हुने अनुसन्धान प्रकृया, अभियोजन प्रकृया र न्यायीक निर्णय प्रकृयाको निर्ममतापूर्वक समीक्षा गरिसकेपछि मात्र बलात्कारजन्य अपराधको सजाय वृद्धि सम्बन्धमा बहस हुँदा उपयुक्त हुने देखिन्छ।
(लेखक गृह मन्त्रालय अन्तर्गत उपसचिव पदमा कार्यरत छन्।)