केही समयअघि चितवनस्थित मेरो घरको टेबलमा एउटा निम्तो आइपुग्यो।
त्यसको शीर्षक थियो- महायज्ञ जाऔं, पूण्य कमाऔं।
मैले निम्तो पत्र ध्यानसँग पढें।
श्री हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश्वर श्री १००८ स्वामी ज्ञानानन्दजी महाराज एवं नेपालका पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा वाचन शिरोमणि पं दीनबन्धु पोखरेलज्यूबाट संयुक्त रूपमा समुद्घाटन हुने श्रीमदभागवत एवं पितृउद्धार धनधान्यचल भक्तिज्ञान महायज्ञमा उपस्थित भई कार्यक्रमको गरीमा बढाइदिनुहुन हार्दिक निमन्त्रणा गर्दर्छौं।
बुवाआमा घरमै हुनुहुन्थ्यो। मैले कुराको मेसो सुरू गरें- महायज्ञका लागि प्रचण्डलाई नै किन बोलाएका रैछन्?
बुवाले कुरा बुझ्नुभएन। मैले थपें, ‘प्रचण्डकै कारण १७ हजार मानिस मारिए। अब उनैबाट महायज्ञ उद्घाटन गर्नुपर्ने के त्यस्तो कारण आइलागेछ?’
‘जस्तोसुकै पाप गर्नेले पनि प्रायश्चित गर्न पाउनुपर्छ’ भनेर बुवाले मलाई स-सानो नैतिक पाठ नै पढाउनुभयो। मेरो चित्त बुझेन।
फेरि भनें, ‘पूर्वप्रधानमन्त्री नै चाहिएको भए युद्ध गरेर त्यति धेरै मान्छे नमार्ने अरू पनि त थिए होलान् नि।’
‘जसले पाप गर्छ, उसैले प्रायश्चित गर्न पाउनुपर्छ,’ बुवा पनि आफ्नो तर्कमा अडिग हुनुभयो।
मैले बहसको बिट मार्दै भनें- यही हो, हिन्दु धर्मको समस्या। एउटा गाई दान गरे सात जुनीको पाप नष्ट हुन्छ भनेर कुनै कुटिलले गरूड पुराणजस्ता शास्त्रमा लेखिदियो। फटाहाहरूलाई मोजमस्ती भयो। जीवनभर अर्कालाई थिचेर, मिचेर, मारेर मोजमस्ती गर्यो। सातौं पुस्तालाई पुग्ने सम्पत्ति जोड्यो अनि बुढेसकालमा दान गरेको एउटा बाच्छाको पुच्छरमा झुण्डिएर बैतरणी तर्दै स्वर्ग पुग्यो।
बुवा अवाक् हुनुभयो तर मेरो तर्कबाट भने खासै प्रभावित हुनुभएन।
हिन्दु धर्मलाई कसरी यति भ्रष्ट बनाए छट्टु पण्डितहरूले? न पाप र अपराध सकारेर दण्डित हुनुपर्ने, न त सही अर्थमा प्रायश्चित नै गर्नुपर्ने। न दु:खीको सेवा गर्नुपर्ने, न त शास्त्र पढ्नु वा ध्यानतपस्या नै गर्नुपर्ने। वैध-अवैध माध्यमबाट आर्जेको धन खर्चेर एउटा यज्ञ वा महायज्ञ लगायो। पण्डितलाई दान गर्यो। सारा अपराधबाट उन्मुक्ति!
स्वर्ग जाने यही सजिलो बाटोका कारण भारतीय उपमहाद्वीपमा हुनेखाने र उच्च जात–वर्गकाले लौकिक जीवनमा मस्ती गरिरहे। जो पिंधमा थिए, ती कुल्चिएमात्रै। समाजका हुनेखानेको उनीहरूप्रति कुनै उत्तरदायित्व भएन। जीवनभर दासदासी राखेर तिनलाई भौतिक–मानसिक यातना दिने, बलात्कार गर्ने र रखौटी बनाउने मुखिया–जमिन्दारलाई कुनै नैतिक दबाब र दोषबोधको अनुभव हुनै पाएन।
उता जो शोषित र उत्पीडित थिए, तिनलाई भनियो- कर्म गर, यो जन्ममा फलको आश नगर। ब्राम्हणहरूको सेवा गर तर तिनलाई नछोऊ। तिनका लागि मन्दिर बनाऊ, मुर्ति कुँद तर बनिसकेको मन्दिरमा छिरेर पूजा नगर। ब्राम्हणको साइतमा देखा परेर अलच्छिन नलगाइदेऊ, गाईबाच्छा मारिहालेको खण्डमा दशौं वर्ष जेल बस। तर ब्राम्हणका गोठमा गाईगोरु मरे तिनको सिनोचाहिँ पन्छाइदेऊ।
धर्मका नाममा चलेको यही पाखण्डका कारण यथास्थितिबाट दिक्दार भएर भारतीय उपमहाद्वीपमा ठूलो संख्यामा मानिसले हिन्दु धर्म नै छाडे। केहीले धर्म र सभ्यता परित्याग गर्नु हुँदैन बरू यसलाई सुधार्नुपर्छ भनेर अनेक अभियान चलाए। आजसम्म पनि चरम कर्मकाण्डीदेखि मानवतावादी सुधारवादीसम्म सबै रङका मानिस हिन्दु धर्ममा अटाएका छन्।
प्रचण्ड र उनको पार्टीले भने धर्मविरूद्ध अर्कै बाटो लियो।
‘कलियुग’ प्रारम्भ भइसकेपछि २०५२ सालमा साम्यवाद ल्याउन भनेर उनीहरूले बन्दुक पड्काउन सुरू गरे। धार्मिक रूढी र कर्मकाण्डको विरोध गर्नु ‘जनयुद्ध’को एउटा प्रमुख एजेण्डा थियो।
त्यसले मजस्ता सुधा धेरैलाई आकर्षित पार्यो। वा भनौं भ्रमजालमा पार्यो।
कसरी?
मेरै उदाहरण हेरौं।
२०५७ सालको कुरा हो। संकटकालले गाँज्नुअघिको त्यो समयमा पिंध तहका धेरै नेपालीझैं ममा पनि माओवादी आन्दोलनप्रति नजानिंदो सहानुभुति थियो। सँगै बस्ने एक माओवादका कट्टर विरोधी साथीसित बहस भइरहन्थ्यो।
एकदिन क्रुद्ध हुँदै उनले भने- संस्कृतका पुस्तक छन् भनेर सिंगो पुस्तकालय जलाउनेहरू समाजद्रोही र अपराधी हुन्। संस्कृतको यत्रो विधि विरोध गर्नु पर्ने किन? हाम्रो सभ्यताको जरो त्यही भाषा होइन? पुस्तकालयमा आगो लगाउनु हाम्रो सभ्यतामै आगो झोस्नु हो।
साथीको कुरा मैले ध्यान दिएर सुनें। जवाफमा भनें- ध्वंस नगरी निर्माण पनि त हुँदैन।
साथी झनै क्रुद्ध भएर तर्क गरे। तर उनका कुराले मलाई कतै छोएन। माओवादीले ल्याउन सक्ने सुन्दर बिहानीका लागि म केही पुस्तकालय र केही हजार पुस्तक बलिदान गर्न तयार थिएँ।
मेरा साथीसँगको त्यो विवाद सम्झँदा अहिले मलाई गहिरो पश्चात्ताप हुन्छ। आङनै सिरिङ हुन्छ।
आफ्नै विगतको त्यस्तो अन्धोपन सम्झेपछि बुवाले गरेको प्रचण्डको बचाउ मलाई अस्वभाविक लागेन।
बुवासित बहस सकिएपछि म कार्यालय पुगें। पत्रिका हेरें। लेखिएको थियो-राज्यबाट आजित भएर न्याय नपाएपछि द्वन्द्वपीडितहरू आफैं सहयात्री पीडितहरूको ‘सत्यको बयान’ बटुल्दै हिंडेका छन्।
द्वन्द्व सकिएको सवा दशक बितिसक्दा पनि तिनलाई न्याय दिनको सट्टा किन घाउमा नुनचुक छर्किंइदैछ?
फेरि न्याय दिने ठाउँमा यसो हेर्छु, उही मुनवादी ओली र मनुवादी प्रचण्ड छन्।
सत्यको बयानको पृष्ठभूमि खोतल्छु। झनै भयावह कुरा फेला पर्छ। वर्षौंसम्म न्यायको रटान लगाएर द्वन्द्वपीडितलाई थम्थम्याए। अहिले उनीहरूनै न्यायलाई मोलतोलको वस्तुमा स्खलित गर्ने कोशिस गरेछन्। जघन्य र मानवताविरोधी अपराधका दोषीलाई समेत उन्मुक्ति दिने प्रपञ्च हुँदैछ। धनको बलले न्यायको आवाज थुन्ने प्रयास बुझेपछि राज्यसित आशै मारेर द्वन्द्वपीडित सत्यको बयान लिन निस्केका रहेछन्।
कृष्ण, बुद्ध, अष्टवक्र, ओशोलगायत पूर्वीय दर्शनका लौकिक–अलौकिक अगुवाका सन्देश असाध्यै गहन र अर्थपूर्ण छन्। तिनमा एउटा साझा समस्या पनि छ। आधारभुत नैतिक दिशाचेत (मोरल कम्पास) भएका र मानववादमा विश्वास गर्ने मानिसका लागि ती अचुक दार्शनिक र सकारात्मक व्यावहारिक अस्त्र हुन्। त्यस्तो दिशाचेत र मानववाद नहुनेहरूका हातमा भने ती कुनैपनि बेला घातक र विध्वंशात्मक हतियार बन्न सक्छन्।
जस्तो कि, मान्छेमाथि जोरजुलुम वा ठगी गर्यो वा ज्यानै मार्यो अनि गीताको सहारा लियो। भन्यो- गीतामा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, तिमी त खाली माध्यममात्रै हौ, बचाउने र मार्ने सबै काम सृष्टिकर्ताले गर्छ। अरू कुनै जघन्य अपराध गर्यो अनि भन्यो- अष्टवक्र गीतामा मुनि अष्टवक्र भन्नुहुन्छ, तिमी कुनै पनि कामको कर्ता होइनौ, द्रष्टामात्रै हौ।
पछिल्लो समय जसरी सत्तारूढ नेकपा साविकको जिम्मेवारी पूरा गर्न छाडेर मुन र मनुतिर लहसिएको छ, त्यसले केही संकेत गरिरहेको छ।
त्यसका नेताहरूलाई आफैंले सिर्जना गरेका भीमकाय समस्याको लौकिक समाधान छ भन्ने कुरामा विश्वास उड्दै गएको छ। अनि ती समस्याको अलौकिक समाधानको खोजीमा उनीहरू लागेका छन्। विश्व शान्ति महासम्मेलनदेखि धनधान्यचल भक्तिज्ञान महायज्ञ त्यसैका परिणाम हुन्।
उनीहरूलाई आफैंले पढेको र जीवनभर मानेको राजनीतिक दर्शनमाथि पनि अब कुनै विश्वास छैनजस्तो देखिन्छ। त्यसैले, भित्तामा फोटो मार्क्स, एंगेल्स, लेनिन र माओको तर शिरमा आशीर्वाद सुन म्युङ मुन र मनुको छ। सिरानीको दराजमा कार्ल मार्क्स र माओत्से तुङका पुस्तक छन्, तर जीवन निर्देशित मनुस्मृतिले गरिरहेको छ।
यदि प्रचण्डले २०५२ सालमा कथित क्रान्तिबाट वशीभुत भएर हिंस्रक युद्ध सुरू गर्नुको सट्टा महायज्ञको उद्घाटन गर्दै हिँडेको भए त्यो नितान्त स्वभाविक हुन्थ्यो। किनकि एक जनाको सत्य अर्को मानिसका लागि मिथ्या वा भ्रम हुन सक्छ।
लोकतान्त्रिक समाजमा कसैलाई पनि कर्मकाण्ड वा जादु गरेरै संसार बदल्छु भन्ने स्वतन्त्रता छ। त्यसको एउटा शर्त भने छ- त्यो कर्मकाण्ड वा जादुका कारण अरू कसैलाई भौतिक चोट पुर्याउन वा मानसिक आघात पार्न पाइन्न।
०५२ सालपछि प्रचण्डको निर्णयका कारण जति मानिस मरे वा बेपत्ता पारिए, तीमध्ये कतिको अहिलेसम्म सद्गत भएको छैन। कतिको मृत्यु भएर पनि मृत्यु प्रमाणित भएको छैन। मर्ने त मरेर गए गए, बाँच्नेले अंशवण्डा गरेर सम्पत्तिको भोगचलन गर्न पाएका छैनन्।
जसलाई साँच्चिकै किरियाकर्म नभई मृत आफन्त स्वर्ग जान सक्दैनन् भन्ने विश्वास छ, उनीहरूले अहिलेसम्म किरिया गर्न पाएका छैनन्। मृतकको आत्मा अशान्त होला कि भनेर चिन्तित जीवितहरूको आफ्नै आत्मा अशान्त भएको दशक बितिसकेको छ। समय बितेर बालकबाट वयस्क बनिसकेकाहरूको जीवन अहिलेसम्म पनि बाल्यकालकै अक्करमा अड्केर बसेको छ। हजारौं परिवार न अघि बढ्न सक्ने न पछि फर्कन सक्ने अवस्थामा छन्।
बेपत्ता हुनेका बालबच्चा र आफन्तले अहिलेसम्म पनि बाटो हेरिराखेकै छन्। अंगभंग हुनेहरू अरूको दया भएमात्र पेट भर्ने अवस्थामा छन्।
जसले न्यायको खोजीमा रगतका आँशु बगाएर यी १२ वर्ष बिताए, जसका लागि प्रगति र समृद्धि त के रातभरको निद्रा सम्भव भएन, जसका आँखै अगाडि युद्धको बहानामा जघन्य अपराध गर्ने पीडक र अपराधीहरू सत्ता र मानको भर्याङ चढे, उनीहरूमाथि अहिले फेरि नुनचुक छर्ने काम भएको छ। सरकारी मानव अधिकारवादीहरू उनीहरूलाई भनिरहेका छन्- अलिकति लेनदेन गरौं र दोषीहरूलाई क्षमा दिँदै विगतलाई बिर्सेर अघि बढौं।
प्रचण्डको नामसहितको निम्तो पत्र मैले पढेको केही दिनपछि महायज्ञमा क-कसले करोडसम्म दान गरे भन्ने समाचारले स्थानीय पत्रपत्रिका भरिए। ती पढ्दा यस्तो भान पर्थ्यो, ‘अब चितवनमा आर्थिक अभावले कोही भोकैनांगै बस्नु पर्ने छैन।’
यी समचारले ०७२ को भूकम्पका बेला मेरो एउटा अनुभव ताजा बनायो।
भोकभोकै रहेका भूकम्पपीडितलाई खाद्यान्न र कपडा पठाउन हामी आर्थिक स्रोत जुटाउन लाग्यौं। त्यही प्रसंगमा हाम्रो टोलको मन्दिरका पदाधिकारीसम्म पुगियो।
केही समयअघिमात्रै धेरै जनाले मन्दिरलाई लाखौं दान गरेका थिए। मानिसलाई स्वर्गको मार्ग खोलिदिने त्यो मन्दिरको अपारदर्शी कोषबाट भोकानांगाका लागि एक कौडी पनि झरेन।
हामीले त्यसपछि ऋण खोजेर भए पनि खाद्यान्न र कपडाको जोहो गर्यौं।
जहाँ पाखण्डीले धर्मको मानवतावादलाई मारेर त्यसलाई मनुवादी कर्मकाण्डमा सीमित पार्छन्, जहाँ क्रान्तिकारीहरूले भ्रान्तिकारी धर्मगुरूका पाउमा शिर झुकाउँछन्, जहाँ मानव अधिकारवादीहरूले मानिसको पीडालाई मोलतोल गर्छन् र न्याय किनबेचको सहजीकरण गर्छन्, त्यो समाजमा धेरै भद्रगोल छ भन्ने बुझ्नुपर्छ।
त्यस्तै भद्रगोल र दिग्भ्रमले थिचिएको समय हो, अहिले।
त्यसैले प्रचण्डलाई प्रमुख अतिथि राखी महायज्ञ गएर पूण्य कमाउने निम्तो आइरहेको छ।