किताब चर्चा
तपाईं सिसाकलम वा कलमले कागजमा दुइटा गोलाकार चस्माको रेखा खिच्नुस्। सँगै एउटा लौरोजस्तो धर्सो तान्नुस्।
अब त्यो कागज समातेको हात अलि पर तन्काएर हेर्नुस्, के देखिन्छ?
त्यो कागज अरू कसैलाई लगेर देखाउनुस्, उनीहरू के जस्तो देखियो भन्छन्?
हो, यही हो हामी सबैको कल्पनामा अटाइसकेका महात्मा गान्धीको आकृति।
धरातलबाट माथि उठेपछि मान्छेको व्यक्तित्व बन्छ। जब व्यक्तित्व तस्बिर वा पेन्टिङजस्तै जोकसैको कल्पनामा अटाउनसक्छ, त्यसले आकृतिको रूप लिन्छ।
मोहनदास करमचन्द गान्धी, अर्थात् महात्मा गान्धीले पनि व्यक्तित्वबाट उठेर आकृतिको रूप लिइसकेका छन्।
हाम्रो कल्पनामा यो आकृति त्यसै कुँदिएको होइन। यो उनको त्याग, तपस्या, समर्पण, बलिदान, प्रतिबद्धता, आस्था, विश्वास, निडर, झुकाव, माया, प्रेम, भरोसा र सबभन्दा बढी उनको सत्यको जम्मापुँजी हो।
गान्धीको पहिलो किताब ‘माई एक्सपेरिमेन्ट विथ ट्रुथ’ पढ्दा म कक्षा १० मा थिएँ। मलाई ताज्जुब लागेको थियो, मान्छेले सबै कुरा यति खुलस्त कसरी भन्न सक्छ?
उनले स्त्रीसँगको सम्बन्ध र बुबा निस्लोट बिरामी हुँदा पनि श्रीमतीसँग संसर्ग निम्ति आसक्त भएको घडी जसरी वर्णन गरेका छन्, मलाई त्यति सत्यले नै गान्धी चिनाएको थियो। सत्यलाई यति नजिकबाट चियाउन सक्ने यी मानिस को होलान् भनी कौतूहल जागेको थियो।
पछि उनका बारेमा लेखिएका र उनले आफैं लेखेका थुप्रै किताब पढ्दै गएँ।
जति पढेँ, मलाई उनको जीवन नै खुला किताबझैं लाग्यो। उनी आफैंले पनि भनेका छन्, ‘मेरो जीवन खुला किताब हो। मलाई लुकाउनुपर्ने केही छैन। म सधैं सत्यको पक्षमा छु।’
रामचन्द्र गुहाले गएका छ वर्षमा गान्धीमाथि लेखेका झन्डै–झन्डै हजार–हजार पृष्ठका तीनवटा किताब — ‘इन्डिया आफ्टर गान्धी’, ‘गान्धी बिफोर इन्डिया’ र सबभन्दा पछिल्लो ‘गान्धीः द इयर्स द्याट चेन्ज्ड द वर्ल्ड, १९१४–१९४८’ को सार यही सत्य वरिपरि घुमेको छ।
जुन सत्यको गुरुबचन महात्मा गान्धी, अर्थात् बापूले भारतीय जनता र संसारभरिका अनुयायीलाई तथास्तु गरे।
के त्यो तथास्तुले भारतको तकदिर बदलियो?
बदलिएकै भए पनि गान्धीले चाहेकै गतिमा बदलियो? कि गान्धीका अनुयायीहरूले भारतको दुर्गति गरे?
यस्ता–यस्तै घटनाक्रम, उपक्रम, संगति, असंगतिको ठेलो हो, गुहाको ‘गान्धी ट्रिलोजी’।
‘गान्धी ट्रिलोजी’ मा गान्धीले रचना गरेको आदर्श ‘हिन्द स्वराज’ को वर्णनदेखि उनले छाडेर गएको स्वतन्त्र भारतको आन्तरिक राजनीतिक किचलोको वृत्तान्त छ।
गान्धीको अनुपस्थितिमा भारतको घरेलु राजनीति, सीमा विवाद, जात, धर्म, शासन, प्रशासन, सुशासन, सुरक्षा, द्वन्द्व, अशान्ति, अनिश्चय, त्रासदी, घात, प्रतिघातका तानाबाना कसरी बुनिए? कसरी फुकाइए?
गान्धी जीवन र उनीपछिको समग्र भारत जीवनका पत्र–पत्र गुँथेर गुहाले गान्धी गाथा रचेका छन्। यी पत्र फुकाउन गान्धीले लेखेका वा लेखाएका पत्रको सहारा लिएका छन्। जुन पत्र महादेवभाइको संग्रहमा सुरक्षित थिए।
महादेवभाइ, अर्थात् गान्धीका प्रिय सेक्रेटरी महादेवभाइ देसाई।
जस्तो सोक्रेट्सका लागि प्लेटो, जस्तो गौतम बुद्धका लागि आनन्द, त्यस्तै थिए गान्धीका लागि महादेवभाइ।
उनी सन् १९१७ देखि १९४२ मा आफ्नो मृत्युसम्म गान्धीको अविराम छाया बनेर बसे। ‘भारत छोडो’ आन्दोलन क्रममा गान्धीसँगै आगा खान जेलमा रहँदा उनको मृत्यु भयो।
महादेवभाइले गान्धीका राजनीतिक चिठीपत्र, लेख–रचना, अखबारका अंकदेखि व्यक्तिगत पत्राचारसम्म सुरक्षित राखेका थिए।
गान्धी सामान्यभन्दा सामान्य मानिसका चिठीपत्रको जवाफ दिन्थे। उनीकहाँ राजनीति र देशदुनियाँबारे सत्संग गर्न आउनेको धुइरो त लाग्थ्यो नै, आहारविहार, ओखतीमूलो, कुलोपैनी, घरबार र सामाजिक अन्तरद्वन्द्वमा पनि मान्छेहरू सल्लाह माग्न आउँथे।
दिनदिनै भेट्न आउने सयौं प्रशंसक वा आलोचक आफ्नो जिज्ञासा पोको पारेर दिनदिनै उनलाई चिठी पठाउँथे। गान्धी चिठीको जवाफ चिठीले दिन्थे।
गान्धी वाङ्मय भनेको उनले लेखेका वा उनका बारेमा लेखिएका किताब मात्र होइनन्, यस्ता चिठीपत्रको संग्रह पनि हो, जसलाई महादेवभाइले आफ्नो प्राणजत्तिकै प्यारो गरेर राखे।
गुहाले महादेवभाइको प्राणसम्म पहुँच पाए। उनले तिनै चिठीपत्रलाई आफ्ना यी किताबको मूलस्रोत बनाएका छन्। यसले उनको ‘ट्रिलोजी’ लाई गान्धीकै बारेमा लेखिएका अन्य असंख्य कृतिको दाँजोमा नयाँपन दिएको छ।
गुहाले चिनाएको गान्धीलाई चिन्नुअघि गुहालाई नै चिन्नु वाञ्छनीय हुन्छ।
गुहा मूलतः उदारवादी राजनीतिक सोचका व्यक्ति हुन्। तीनैवटा किताबमा उनको यो राजनीतिक छविको मनग्य प्रभाव छ।
उनको ट्रिलोजीमा गान्धीको सिद्धान्त र स्वभाव, आदर्श र आचरणको विश्लेषण छैन।
उनी एक सिद्धहस्त इतिहासकारले झैं गान्धीकाल र त्यसपछिका कालखण्डलाई तथ्य, प्रमाण र दस्तावेजमा टेकेर सिलसिलेवार वर्णन गर्छन्। एक सिर्जनात्मक गैरआख्यानकारले झैं तत्कालीन घटना र पात्रलाई सजीव ढंगमा उन्छन्।
उनले गान्धीमार्फत् अहिलेको पुस्तालाई भारतीय राजनीतिको परिवर्तन बुझाउने प्रयास गरेका छन्।
इन्टरनेट पुस्ता, जसले इन्दिरा गान्धीको आपतकाल देखेको छैन वा सुनेको छैन वा सुने पनि विस्मृत भइसकेको छ, तिनलाई गान्धीको सत्याग्रह र उनकै अगुवाइमा भएको अहिंसात्मक आन्दोलन, त्यसले बोकेको लक्ष्य, त्यसले उठाएको मुद्दा र आदर्श बुझाउने वा बुझेर पनि विस्मृत भइसकेको भए सम्झाउने वा सम्झेर पनि शिथिल रहेको भए पुनर्जीवित गराउने उद्देश्य लिएका छन्।
एक वाक्यमा भन्ने हो भने, गुहाले आफ्नो उदारवादी राजनीतिक दृष्टिले पर्गेलेर गान्धीको सकारात्मक इतिहास उतारेका छन्।
यस अर्थमा गान्धीप्रति आलोचनात्मक दृष्टिको अपेक्षा गर्ने पाठक उनको प्रस्तुतिबाट निराश हुन सक्छन्।
एक समय थियो, जब गान्धीको जीवनीमा भावनात्मक लेपको मात्रा बढी हुन्थ्यो। समय बदलिएको छ। बदलिएको समयले भावनाको भरमारभन्दा नैतिक केरकार माग गर्छ।
रञ्जीत गुहा, गायत्री चक्रवर्ती स्पिभाक, पार्थ चटर्जी लगायत बुद्धिजीवीले सन् सत्तरी दशकको उत्तरार्द्धमै भारतीय स्वतन्त्रता संग्रामलाई नयाँ आँखाबाट केलाए। आदिवासी, दलित, हेपिएका, थिचिएका, बोल्न नसक्ने वा बोले पनि आवाज नसुनिने वर्गको पक्षबाट इतिहास पुनर्लेखन हुनुपर्छ भनेर वकालत गरे।
इरफान हबिब, रुमिला थापर, सुमित सरकारजस्ता इतिहासकारले पनि मार्क्सवादी सिद्धान्तको कसीमा गान्धीलाई कसेका छन्।
केरकारको यस्तो युगमा केरकारमै चुकेर सकारात्मक सोच मात्र पस्कँदा गुहासँग धेरै पाठक चिढिने गुञ्जायस रहन्छ।
सन् २०१५ मा दक्षिण अफ्रिकामा गान्धीको शालिक तोडफोड गरियो। त्यही दक्षिण अफ्रिका, जहाँ उनी १८९३ देखि १९१४ सम्म बसे। जहाँ उनले सत्य र अहिंसात्मक आन्दोलनको पहिलो प्रयोग गरे। जहाँ उनले पहिलो आश्रम बनाएर ‘कम्युन’ जीवनयापनको अभ्यास थाले।
त्यसैको अर्को वर्ष घाना विश्वविद्यालयमा गान्धीविरोधी अभियान चल्यो। विश्वविद्यालय परिसरमा रहेको उनको शालिक हटाउने निर्णय गरियो।
गान्धीको सिद्धान्त र आदर्श आज उनकै देशमा पनि आसन्दर्भिक र असुरक्षित बन्दै गएका दृष्टान्त हामीसामु छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कट्टरवादी हिन्दु नेता विनायक दामोदर सवरकरलाई आफ्नो ‘राजनीतिक गुरू’ मान्छन्। उनको तस्बिर भारतीय संसद भवनको शोभा बनेको छ।
सवरकर तिनै व्यक्ति हुन्, जसलाई गान्धी हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप थियो। गान्धीमाथि गोली दागेका गोड्से सवरकरकै कार्यकर्ता थिए।
गुहाले सवरकरबारे बोलेका छैनन्, उनको शालिक तोडफोडबारे पनि लेखेका छैनन्।
उनको गाथा पढ्दा गान्धीको सिद्धान्तबाट एक सय असी डिग्रीले मुख फर्काएर बसेको भारतको झलक भने पाइन्छ।
गान्धी अंग्रेजी उपनिवेशभन्दा पश्चिमी सभ्यताले ल्याएको आधुनिकताका विरोधी थिए।
बेलायती संविधान र खुला समाजप्रति उनलाई भरोसा थियो। उपनिवेश सम्हाल्न ठाउँठाउँमा खटिएका केही व्यक्तिले गरेका अन्याय निम्ति उनी समग्र अंग्रेजी साम्राज्यप्रति वैमनस्य राख्दैनथे।
अंग्रेजसँग त बरु कचमच, ठाकठुक र धकेलाधकेल गरेर बस्न सकिएला, तर अंग्रेजी उपनिवेशसँगै भित्रिएको आधुनिकताले भारत वृक्षलाई सदियौं पुरानो सभ्यताको जडबाट उखेलेर, परम्परागत हावापानी खोसेर खिङरिङ्ग सुकाइदिन्छ भन्ने उनको विश्वास थियो।
आधुनिकताले भारतीय सभ्यताको नीब हल्लाइदिन्छ र जब नीब हल्लिन्छ, हाम्रो पहिचान उखेलिन्छ भन्ने उनको धारणा थियो।
‘उपनिवेश भनेको शासकीय स्वरूप हो। यसमा हामी ठेलठाल गरेर आफ्नो निम्ति समतापूर्ण स्थान बनाउन सक्छौं,’ गान्धी भन्छन्, ‘तर पश्चिमी आधुनिकता भनेको राक्षस हो, जसले हाम्रो समाजमा छिरेर हाम्रो सभ्यतालाई भित्रभित्रै खोक्रो बनाउँछ।’
यही विश्वासले हो, गान्धी स्वतन्त्रता संग्रामकै बीच पनि बेलाबेला अंग्रेजी उपनिवेशको पक्षमा बोल्न धकाएनन्।
‘भारत छोडो’ आन्दोलन उत्कर्षमा पुग्दा दोस्रो विश्वयुद्ध छेडियो। त्यो बेलायत कमजोर भएको बेला थियो।
गान्धीकै सहयात्रीहरू जवाहरलाल नेहरू, बल्लभभाइ पटेल, मोहम्मद अलि जिन्नाह लगायत नेता ‘फलाम तातो भएकै बेला हतौडा हान्नुपर्ने’ तर्क गर्छन्।
गान्धी मान्दैनन्।
उनी फलामलाई चिस्सिन ‘कुलिङ पिरियड’ दिने पक्षमा उभिन्छन्।
‘यतिका वर्ष हामी सँगसँगै बस्यौं। पानी बाराबार गर्यौं होला, तर एउटै मूलको पानी पनि पियौं। हामीबीच लाख समस्या होलान्, तर कति समस्यालाई सँगसँगै सपारेका पनि छौं,’ गान्धी भन्छन्, ‘आज उनीहरूलाई कष्ट पर्दा हामी आफ्नो कष्ट लिएर करकर गर्न जानु भनेको उनीहरूको कमजोरीको फाइदा उठाउनु।’
सुवासचन्द्र बोससँग गान्धीको विमति पनि यहीँनिर जोडिन्छ।
गान्धीलाई ‘आजाद हिन्द फोर्स’ सँग समस्या थिएन। बोसको राष्ट्रभक्तिमा शंका पनि गरेका होइनन्। दुवैको बाटो नै अलग।
बोस ठान्थे, शत्रुको शत्रु हाम्रो मित्र, त्यसैले हिटलर हाम्रो मित्र। उनी हिटलरलाई साथ दिन फौज लिएर गए।
गान्धीले इन्कार गरे।
उनी भन्छन्, ‘हामीले अहिंसा र सत्यको मार्ग छाड्नु हुन्न। एकदिन अंग्रेजहरू नै हामीलाई स्वतन्त्रता सुम्पेर फर्कन्छन्।’
बोस र गान्धीको यो वैचारिक रस्साकस्सीमा तपाईंको विचार के?
झट्ट सोच्दा बोसको कुरा ठिकै सुनिन्छ। शत्रुको साथी मेरो पनि शत्रु, शत्रुको शत्रु मेरो साथी — यो त सामान्य सिद्धान्त नै हो।
आधुनिक सभ्यताको दृष्टिले हेर्ने हो भने यसमा खराबी केही देखिन्न। गान्धीको स्वराज र सत्याग्रहको सिद्धान्तले भने यसलाई सही मान्दैन।
गान्धीले आफ्नो यो आदर्श दक्षिण अफ्रिकामा छँदा नै अनुसरण गरेका थिए।
दक्षिण अफ्रिकाका दुई साना बोर गणराज्यसँग ब्रिटिस सेनाको दुईचोटि घमासान युद्ध भयो। सन् १८९९–१९०२ को दोस्रो बोरयुद्ध बेला गान्धी दक्षिण अफ्रिकामै वकालत गर्थे।
उनले त्यहाँ बस्ने भारतीयलाई समान अधिकार माग्दै अंग्रेज शासकहरूसँग जोरी खोजे। बसोबास र कामकाजको परिचयपत्र जलाए। अवज्ञा आन्दोलन गरे।
जब युद्ध छेडियो, उनै गान्धी घाइते ब्रिटिस सेनाको उद्धार गर्न कस्सिए। लगभग एघार सय स्वयंसेवक एकत्रित गरेर ‘इन्डियन एम्बुलेन्स कर्प्स’ गठन गरे। मोर्चामा जुटे।
मान्छेले परिआउँदा विमति बिर्सेर भिन्न विचारधारालाई पनि सहयोग गर्न सक्छ कि सक्दैन?
जसका विरुद्ध मुठ्ठी कसेर बसेको छ, उही घाइते हुँदा मह्लम लगाउन सकिन्छ कि सकिँदैन?
गान्धीले सकिन्छ भने। गरेरै देखाए।
दक्षिण अफ्रिका र घानामा गान्धीको शालिक ढाल्नेहरूले त्यतिबेलाको त्यही रिस फेरेका हुन्। युद्धमा अंग्रेजी सेनाको उद्धार गरेकै भरमा उनलाई काला जातिविरुद्ध लागेको भनिएको हो।
यता, भारतमा त कट्टर हिन्दुहरू सुरुदेखि उनलाई अल्पसंख्यक मुसलमान समुदायप्रति नरम भएको आरोप लगाउँदै आएका छन्।
उनकै नरमपनले पाकिस्तान चोइटिएर गएको मान्नेहरू थुप्रै छन्। त्यही झोँकमा उनको छातीमा गोली दागियो। गोली दाग्ने गोड्सेको समर्थनमा आज पनि भारतमा कतै–कतै भुइँचम्पा बालिन्छ। पटाका फुटाइन्छ। गान्धीको पुत्ला बनाएर त्यसमाथि नक्कली गोलीका पर्रा चलाइन्छ।
दक्षिणपन्थीहरूले लगाउने यस्तो आरोपमा गुहाले गान्धीको बचाउ गरेका छन्।
विभाजनपछि जब भारत र पाकिस्तान दुवैतर्फ धार्मिक हिंसा भड्किन्छ, गान्धी एक्लै कलकत्ता हिँड्छन्। भोक हड्तालमा बस्छन्।
जुन स्वतन्त्रता उनको सपना थियो, त्यही स्वतन्त्रताको उत्सव मनाउने बेला उनी आफ्ना सहयात्रीहरूसँग थिएनन्, कलकत्ताको एक मुस्लिम घरमा अन्नपानी छाडेर बसेका थिए।
यहाँ गुहा गान्धीलाई ‘ट्रयाजिक हिरो’ का रूपमा चित्रण गर्छन्।
उनी जीवनभर सर्वधर्म मानेर बसे। ‘रघुपती राघव राजाराम ... ईश्वर–अल्लाह तेरो नाम’ र ‘वैष्णव जन तो तेने कहिए जे, पीड पराई जाने रे’ गाए।
उनै गान्धीका आँखाअगाडि धर्मको रेखाले देश चिरियो। हिन्दु–मुस्लिम दंगाको कहर बर्सियो।
भारत स्वतन्त्र त भयो, तर गान्धीले सोचेजस्तो स्वाधीन रहेन। धर्माधीन हुन पुग्यो। स्वराज रहेन, धर्मराज रह्यो।
देश बलिरहेको त्यो बेलाका चिठीपत्र हेर्ने हो भने गान्धीले आफू बूढो हुँदै गएको लेखेका छन्। उनको भाका निरीह छ।
जिन्दगीभर आङभन्दा वजनदार आत्मबल बोकेर हिँडे। विभाजनपछिको कालखण्डमा भने उनको आत्मबललाई शिथिल आङले डोर्याएझैं देखिन्छ।
कमजोर, दीनहीन, शुष्क, निष्प्राण।
जवाहरलाल नेहरू र बल्लभभाइ पटेलबीच त्यतिबेलाका चिठीपत्रले उनको अवस्था अझ छर्लंग पार्छ।
विभाजन रेखा खिच्दा पटेल र नेहरूबीच सम्बन्ध चिसिँदै गएको थियो। विभिन्न मुद्दामा उनीहरू फरक विचार राख्थे।
एउटा त, कश्मिर भारतकै हुनुपर्छ भन्ने नेहरूको धारणा थियो, पटेल भने मुसलमान बहुल कश्मिर पाकिस्तानतिरै मिसिए पनि हुन्छ भन्ने पक्षमा थिए।
कश्मिर विवाद ज्यूँका त्यूँ छ।
बेलाबेला विवादले बमको रूप लिन्छ। आतंकवादी घुसपैठहरू ‘धर्तीकै स्वर्ग’ मा असुरझैं जुर्मुराउँछन्। प्रकृतिको शान्ति बिथोल्छन्। फुसफुसे हिउँलाई रगतले लाल बनाउँछन्।
यही फेब्रुअरी १४ को घटनाले कश्मिर घाउ फेरि बल्झाइदिएको छ। भारत–शासित कश्मिरमा तैनाथ भारतीय सुरक्षाकर्मीमाथि आतंकवादी हमला भयो। अर्धसैनिक फौजका ४० जनाभन्दा बढी सिपाही मारिए।
छातीमा गोली नचलुञ्जेल त गान्धी थिए, घाउ बल्झँदा सत्याग्रहको मह्लम लिएर आइपुग्थे। उनले अन्नपानी छाडेपछि शुभचिन्तक वा आलोचकहरू पनि उनको पाउमा हतियार पसार्थे।
अब जतिसुकै घाउ बल्झियोस्, मह्लम लगाउन गान्धी आउनेवाला छैनन्।
दुवै देश पाखुरा सुर्कन सक्छन्, मुठ्ठी बजार्नसक्छन्, गान्धीगिरी देखाउन सक्दैनन्।
गुहा यही प्रसंगमा बडो मार्मिक ढंगले नेहरू र पटेलको चिठीपत्र उद्धृत गर्छन्।
एउटा चिठीमा पटेल लेख्छन्, ‘तिम्रो र मेरो धेरै कुरामा मतभेद छ। सँगै काम गर्न गाह्रो हुँदैछ। दुई–चार दिनमै भेटेर आपसी मुटाव सल्टाउनुपर्यो।’
त्यही बेला गान्धीको हत्या हुन्छ।
पटेल नेहरूलाई अर्को चिठी लेख्छन्– ‘प्रिय जवाहर, देशमा जटिल परिस्थिति जन्मियो। हामी सबैलाई एकसूत्रमा बाँध्ने मान्छे अब हामीबीच रहेनन्। उनको अनुपस्थितिमा अब तिम्रो र मेरो सम्बन्धको दुरीलाई यही रूपमा राख्नु मुलुकको हितमा छैन। हामी मिलेर जाउँ।’
आज भारतको इतिहासमा पटेलको कद कति होला? त्यो इतिहासकारहरूले नै जानून्!
उनका समर्थक वा आलोचकहरूले नै नापून!
प्रधानमन्त्री नरेन्द्र मोदीले भने गुजरातमा १८२ मिटरको संसारकै अग्लो प्रतिमूर्ति ठड्याएर पटेललाई भारतीय राजनीतिमा उँचो कद दिन खोजेका छन्।
उनको पार्टी भाजपा पटेलको कट्टर समर्थक छँदैछ। विपक्षी कंग्रेस भने विरासतले पनि नेहरूको पक्षमा उभिने भइहाल्यो।
पटेल–नेहरूको यो कसमकसमा गान्धी विचरा अलपत्र छन्। गान्धीगिरीको बेहाल छ।
गान्धीमाथि भारत–पाक विभाजनको बात लगाउनेहरूलाई यसरी गान्धीको पक्षमा उभिएर जवाफ दिएका गुहाले ‘गान्धी भर्सेस अम्बेडकर’ विवादमा पनि नयाँ ‘न्यारेटिभ’ जमाएका छन्।
गुहाको पछिल्लो किताब सार्वजनिक हुँदा भारतीय राजनीतिमा बीआर अम्बेडकर र उनको दलित आन्दोलन चर्चामा छ। गान्धी दलितप्रति अनुदार थिए भन्ने ‘न्यारेटिभ’ स्थापित गर्न खोजिँदैछ।
‘यी दुईबीच पक्कै मतैक्य थिएन,’ गुहा गान्धी–अम्बेडकर सम्बन्धलाई समन्वयकारी ढंगले व्याख्या गर्छन्, ‘तर आपसी विवादबाट दुवै परिवर्तित भए।’
गुहाको यस्तो निष्कर्षले 'गान्धी भर्सेस अम्बेडकर' विवादमा नयाँ आयाम दिन्छ।
एकथरी भन्ने गर्छन्, अम्बेडकर गान्धीसँग पूर्णतया विपरीत विचार राख्थे। उनीहरूबीच पानी बाराबारको सम्बन्ध थियो। गान्धी हिन्दुहरूको पक्षपोषण गर्थे। अम्बेडकरले वकालत गर्ने दलितहरूलाई होच्याउँथे।
यो किताबले भने अर्कै तर्क दिन्छ। दुईमध्ये एकलाई ठिक, अर्कोलाई बेठिक भन्नुभन्दा दुवैलाई एकअर्कासँग प्रभावित देखाउँछ।
गुहाका अनुसार गान्धी छुवाछुतका खिलाफ थिए। यसलाई हिन्दु धर्मकै सबभन्दा फोहोरी हिलो मान्थे।
समाधानको बाटो भने दुवैको अलग थियो।
गान्धी आत्मिक शुद्धीकरणमा हल खोज्थे।
आत्मिक शुद्धीकरण, अर्थात् नैतिक परिवर्तन। अर्थात्, आफूले आफैंलाई सुधार्ने।
‘मान्छेको शरीर, आचरण, मन र त्यसपछि ब्रह्म परिवर्तन हुनुपर्छ,’ उनी भन्छन्।
‘त्यसो त सदियौं बित्छ,’ अम्बेडकर तर्क गर्छन्, ‘सदियौंदेखि दलितहरू दबिएर आए, अब फेरि कति सदी कुर्ने?’
‘के गर्ने त?’
‘सदियौंदेखि दबिएर बसेकालाई पहिला बराबरी हैसियतमा ल्याउनुपर्छ।’
‘कसरी?’
‘आरक्षण र राजनीतिक प्रतिनिधित्वबाट।’
गान्धीलाई आरक्षण र राजनीतिक प्रतिनिधित्वमा उति विश्वास थिएन। उनले जिन्दगीभर जुन ‘हिन्द स्वराज’ को आदर्श पछ्याए, त्यसमा राजनीतिक प्रतिनिधित्वभन्दा सामूहिक सहभागितामा जोड दिए।
उनले कल्पेको ग्रामीण गणराज्यमा सामूहिक सहभागिताबाट शासन चल्छ।
समाजका सानाठूला सबै मुद्दामा जनताको सामूहिक सहभागिता।
गान्धी आफ्नो तर्क पुष्टि गर्दै भन्छन्, ‘कानुनले भेदभाव हुनुपर्छ भन्दैन, तै समाजमा भेदभाव छ। कानुनले नमाने पनि भेदभाव अन्त्य हुन सकेको छैन। यसलाई कसरी हेर्ने?’
‘दलितले छोएको खान हुन्छ भनेर राजनीति गर्ने तर खाने बेला सुत्त उम्कने,’ उनी थप्छन्, ‘आत्मिक शुद्धीकरण नभएसम्म यस्तै हुन्छ। मनले छुवाछुत नपखालेसम्म यो हिलो हट्दैन।’
‘सामूहिक सहभागिताबाट त्यहाँसम्म पुग्न समय लाग्छ,’ अम्बेडकर तर्क गर्छन्, ‘सदियौंदेखिको अवस्था फेर्न बलात् क्रमभंगको खाँचो पर्छ। आरक्षण र राजनीतिक प्रतिनिधित्व त्यो क्रमभंगको अस्त्र हो।’
यसैगरी बुद्धि माझामाझ र शान्त बाजाबाज गर्दागर्दै दुवै एकअर्काको नजिक आएको गुहा बताउँछन्।
निष्कर्ष के निस्क्यो त?
गान्धीले दलितको मुद्दा राजनीतिक रूपमा स्वीकारे। प्रतिनिधित्वको प्रस्तावमा सहमति जनाए।
अम्बेडकर संविधान मस्यौदा प्रक्रियामा सहभागी भए। ‘संविधान नै दलितहरूको सबभन्दा ठूलो शस्त्र हो’ भने।
यो दुवैले रोजेको मध्यमार्गी बाटो हो।
यही सन्दर्भमा गान्धीले अम्बेडकरलाई लेखेको चिठी गुहा उद्धृत गर्छन्, ‘म तिमीसँग असहमत हुँदाहुँदै तिम्रो विचारको सम्मान गर्छु। अबदेखि आफ्नो भाषा र प्रस्तुति सच्याउँछु र मनन् गर्छु।’
गुहाको अर्को महत्वपूर्ण खुलासा गान्धीको स्त्री सम्बन्धलाई लिएर छ।
एक थिइन्, सरलाबेन। लाहोर बस्थिन्। गान्धीसँग उनको घनिष्ठ सम्बन्ध गुहाले वर्णन गरेका छन्।
उनका चिठीपत्र हेर्दा, गान्धीले सरलाबेनसँग आफ्नो ‘आत्मिक सम्बन्ध’ रहेको खुलासा गरेका छन्। उनी बेलाबेला सरलाबेनलाई श्रीमतीकै रूपमा सम्बोधन गर्छन्। भन्छन्, ‘आई एम योर मास्टर। आई एम योर गड।’
सरलाबेनप्रति गान्धीको यस किसिमको अभिव्यक्ति यसअघि बाहिर आएको थिएन। यसले गान्धीको नैतिकता र स्त्री आसक्तिमा नयाँ आयाम थप्छ।
यसको अर्को पहलू पनि छ।
महादेवभाइ देसाइ र पछि भारतका प्रथम गभर्नर भएका चक्रवर्ती राजगोपालाचारी गान्धीको त्यो स्त्री आसक्तिको विरोध गर्छन्।
यस्तो कृत्यले उनको आफ्नै चरित्र मात्र होइन, भारतीय स्वतन्त्रता संग्रामको छविमै दाग लाग्छ भनेर सम्झाउँछन्। स्वतन्त्रताको मूलमुद्दाबाट भट्किएर आसक्तिमा नअलमलिन सल्लाह दिन्छन्।
आजको सन्दर्भमा, गान्धीजस्तो प्रभावशाली र उच्च कदका राजेनतालाई उनको इच्छाविपरीत सल्लाह दिने आँट कसैले गर्थे कि गर्थेनन्?
सल्लाह दिए भने पनि सर्वमान्य राजनेताले अदना कार्यकर्ताको सल्लाह सुन्थे कि सुन्थेनन्?
वा, सुने पनि यस्तो व्यक्तिगत प्रसंग कुनै दिन यस्तरी खुलासा हुने गरी सार्वजनिक लिखतमा राख्थे कि राख्थेनन्?
सरलाबेनसँगको सम्बन्धले दुइटा कुरा बुझाउँछ।
कुनै पनि व्यक्ति सर्वगुणसम्पन्न हुँदैन। एउटा मानेमा अग्लो आदर्श धारण गरेका व्यक्ति अर्को मानेमा कमजोर हुनसक्छ।
कुनै पनि राजनेता, शीर्षनेता, मझौला नेता वा साना नेता आफ्ना जनता र कार्यकर्ताप्रति जवाफदेही हुनैपर्छ।
हाम्रै वरिपरि हेरौं न। नेताले बिराम गरेको थाहा हुँदाहुँदै मुख थुन्ने, उल्टो पाखुरा सुर्कने कार्यकर्ताको भीड छ। कसैले आँटेर बोले पनि नेतालाई केही नाप्दैन, तब न नेता!
गान्धीको यति अटल शक्तिस्रोत के होला?
उनको शक्ति अहिंसा, सत्य र मानवता। सत्याग्रह नै शस्त्र।
गान्धी दर्जनचोटि सत्याग्रह बसे। सबै सफल भएनन्। धेरै त बीचमै फिर्ता लिए।
अहमदाबादमा सत्याग्रह बस्दा हिंसा भड्कियो। उनले तीन दिनमै फिर्ता लिए। पछि ‘भारत छोडो’ आन्दोलन चर्कंदा आन्दोलनकारीबाटै प्रहरीको हत्या भयो। आर कि पार हुन खोजेको आन्दोलन उनले फ्याट्टै फिर्ता लिइदिए।
अभियान सुरु गर्ने र त्यसलाई कुनै पनि क्षण रोक्न सक्ने शक्ति सत्यको आग्रहबाट आएको हो।
सत्यको आग्रह, अर्थात् सत्याग्रह।
यसलाई डाक्टर गोविन्द केसीसँग जोडेर हेर्न सकिन्छ। चिकित्सा शिक्षा शुद्धीकरण निम्ति पछिल्लो सत्याग्रहमा केसी पराजित भए र यसै अनसन तोडे भनिन्छ।
सत्याग्रह निरन्तर लडाइँको कडी हो। अनेक कडी जोडिएर साङ्लो बन्छ। एउटा कडीको जित वा हारले सत्याग्रहको साङ्लो न कमजोर हुन्छ, न डगमगाउँछ।
त्यसैले गान्धी भन्छन्, ‘सत्याग्रहमा हार वा जित हुँदैन।’
गान्धीले चाहेको स्वतन्त्रता अंग्रेजी उपनिवेशबाट मुक्ति मात्र थिएन। अज्ञानताबाट, अधर्मबाट, पश्चिमी आधुनिकताको प्रभावबाट मुक्ति थियो।
उपनिवेश त गयो, आधुनिकताले लपेट्यो। लोभ र इर्ष्याले दपेट्यो। आखिरमा गान्धीवाद नै अँचेटियो।
राजनीतिले निमुखालाई न्याय गर्नुपर्छ भनेर गान्धी भन्छन्। निमुखाप्रति करुणा नराख्ने राजनीति पनि के राजनीति!
के आजको राजनीति निमुखाको पक्षमा छ त?
गान्धीवाद नै आजको समयमा असान्दर्भिक भइसकेको हो कि?
गान्धी जुन सामूहिक सहभागिताको वकालत गर्छन्, त्यसले सिकाउने नै हरेक विषयलाई आलोचनात्मक ढंगले हेर्न हो।
आलोचना भनेकै प्रश्न। प्रश्न भनेकै गान्धी।
प्रश्नविना जीवनको अर्थ छैन। प्रश्नले हामीलाई सच्याउँछ। अगाडि पनि बढाउँछ।
फेरि अर्को प्रश्न– गान्धीले देखाएको बाटोले अहिलेको दुविधा चिर्न मद्दत गर्छ कि गर्दैन होला?
रामचन्द्र गुहा त गर्छ भन्छन्।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)