विप्लवले जनवादी क्रान्तिको निरन्तरताको उद्घोष गर्दा, प्रचण्ड भन्छन् , अरे जनवादी क्रान्तिको उद्धेश्य त सबै पुरा भइसके।
गणतन्त्र आइसक्यो ।
संविधान लेखिइसक्यो ।
संघीयता स्थापित भइसक्यो ।
के का लागि गर्ने अब जनवादी क्रान्ति?
मेरो एउटा प्रश्न छ प्रचण्ड जी , गणतन्त्र तपाईंले ल्याउनुभयो कि दरबारहत्याकाण्डले? २०६३ को आन्दोलनले स्थापना गरेको गणतन्त्र ज्ञानेन्द्रको नामर्दी हो तपाईंको मर्दाङ्गी होइन।
लोकतन्त्रको नयाँ संविधान लेखेर लोकलाई कुन नयाँ युगको आभास दिनुभएको छ जहाँ जनताले टिका थाप्दा घुँडा टेक्नु पर्दैन वा सवारी हुँदा घण्टौंको जाममा रोकिनु पर्दैन? अझ यस लोकमा त सत्याग्रहीले जनताको लागि भोको पेट राख्दा नेता मार्सी चामलले त्यै थैलो भर्छन् ।
संघीयता स्थापित गरेर नेपाली जनजातिको उत्थान भयो कि, सिके राउतजस्ता पृथकतावादी जन्मिए? प्राकृतिक धरातलमा भौगोलिक विभाजन हुनुपर्छ भन्ने राजाहरुको विवेक तपार्इंको राजनीतिक ज्ञान भन्दा धेरै उच्च छ।
त्यसो भनेर म यहाँ विप्लवको जनवादी क्रान्तिको समर्थनमा उत्रन खोजेको होइन। मैले तपाईंको जनवादी क्रान्तिमा सैद्धान्तिक असमर्थन व्यक्त गर्न खोजेको मात्र हो।
विपी, गणेशमान र मनमोहनले जुन मार्गबाट देशमा प्रजातन्त्रको स्थापना गरे तपाईंले त्यही मार्गबाट गणतन्त्र स्थापना गर्न सक्नुभएको भए त्यो सह्रानीय हुन्थ्यो होला। तर १७००० निर्दोष नेपालीको रगतले पोतिएको यो संविधानमा तपाईंले घमण्ड गरेको पटक्कै सुहाउँदैन।
मार्क्सको सिद्धान्तले पूँजिवाद चरम सिमामा पुगेपछि साम्यवाद आउँछ भनेको छ। त्यही मार्क्ससको सिद्धान्तमा उभिएर यो संसारमा ठूलाठूला साम्यवादी लहरहरु आए अनि सेलाए पनि। कति परिमार्जित रूपमा थेगिने कोशिस गरिरहेका होलान्। ती लहरहरू समयको अपरिपक्कताले सेलाए या पूँजिवादी षड्यन्त्रको शिकार भए त्यो भिन्न विषय हो। तर, त्यही सिद्धान्तको एउटा प्रकृतिले नेपालमा पनि ठूलो उथल पुथल नै ल्यायो।
क्रान्ति माओवादको नाममा भएको थियो। माओवाद साम्यवाद प्राप्तिको एउटा मार्ग हो जुन नेपालमा अवलम्बन गरियो। शान्तिप्रेमी नेपाली विप्लवलाई प्रचण्डपथले माओवादको स्वरूपमा नेपालमा साम्यवाद स्थापनाको सपना देखाएर हातमा बन्दुक समाउन उद्वेलित गथ्र्यो। तर, माओवादी क्रान्ति आज आएर समाजवादी संविधान अनि पूँजीवादी व्यवहारमा आएर अन्त भएको छ। यदि त्यो परिवेशले विप्लव जन्माउँछ भने दोष विप्लवको होइन प्रचण्पथको गन्तव्यहिनता हो।
यदि मार्क्ससको सिद्धान्तले पूँजिवाद चरम सिमामा पुगेपछि साम्यवाद आउँछ भनेको छ भने त्यो युगानुकुल छ। तर, जसरी कलीयुग पछि द्वापर र त्रेता भएर मात्र सत्य युगमा प्रवेश गर्न सकिन्छ, त्यसै गरी समाजवादको बाटो अविलम्वन नगरी साम्यवादमा प्रवेश गर्न सकिँदैन। कलियुगमा पूँजीवादी अमेरिका शक्तिशाली हुन सक्छ भने सत्ययुगमा साम्यवादी नेपाल पनि शक्तिशाली हुन सक्छ। तर त्यसको लागि दिशा र गति सही हुनुपर्छ।
समाजवादी संविधान समयको दायरामा छ । युगानुकुल छ। चेतनासंगत छ ।
सामान्य भाषामा परिभाषित गर्नुपर्दा, समाजवाद जहाँ साम्यवाद र पूँजीवादका राम्रा पक्षहरुको समायोजन गरेर समाजको निर्माण गरिन्छ। बाबुरामले शायद यो समायोजनको पक्षमा अभिमत जाहेर गरिसकेका छन्।
तर, आजको व्यवहार समाजवादी भए पनि भोलिको योजना साम्यवादी नै हुनुपर्छ ।
प्रचण्डले भोलिको साम्यवादी सपनाको खाका तयार गर्न सक्नुपर्छ।
अनि विप्लवले भोलिको प्रतिक्षा ।