किताब चर्चा
हिरामनले दुइटा कसम खाइसके।
उनी बीस वर्षदेखि गोरूगाडा हाँक्दै छन्। नेपालसँग साँध जोडिएको भारतीय गाउँ ‘पूर्णिया’ मा, जसलाई स्थानीय लवजमा ‘पुरनिया’ भनिन्छ।
मोरङबाट धेरैचोटि धान र काठ–दाउरा ओसारेका हिरामनले एकरात नराम्रो हन्डर खाए।
उनी फारबिसगन्जबाट सिमेन्टका बोरा र कपडाका गाँठी लादेर विराटनगर जाँदै थिए। चार खेप भइसकेको थियो। पाँचौं खेप अफाप भयो। तस्करी मालले भरिएका बीसौं गोरूगाडा प्रहरीले कब्जामा लियो।
हिरामनले जसोतसो प्रहरीका आँखा छलेर आफ्ना जोडी गोरू फुकाए। कानमा खासखुस गरे। काउकुती लगाइदिए। गोरूहरू पुच्छर हावामा लहराउँदै रफूचक्कर भए। तिनकै पछिपछि धोतीको फेर समातेर हावाकै गतिमा कुदे, हिरामन।
त्यस दिन हिरामनले पहिलो कसम खाए– हेराफेरीको माल हाँकेर कहिल्यै हिँड्दिनँ।
अर्कोचोटि उनी बाँसको भारी खेप्दै थिए। गाउँको धुलाम्मे घुम्तीमा सहरिया ‘बाबू’ बोकेको घोडागाडीसँग जम्काभेट भयो।
बाटोमा खाल्डाखुल्डी थिए। पाङ्ग्रा खाल्डोमा फस्यो। जोडी गोरूले बाँसको भारी थाम्न सकेनन्। हिरामनले सन्तुलन मिलाउन नभ्याउँदै गाडाले बल्ड्याङ खाइहाल्यो। घोडागाडी त्यसैमा लपेटियो।
गाडीवाला रिसले आगो भए। घोडालाई हिर्काउने चाबूक हिरामनकै ढाडमा बजारे।
त्यस दिन हिरामनले दोस्रो कसम खाए– अबदेखि बाँसको भारी कहिल्यै बोक्दिनँ।
हिन्दी साहित्यका चर्चित लेखक फणीश्वरनाथ रेणुको कथा ‘मारे गए गुलफाम’ को सुरुआत यिनै दुई कसमबाट हुन्छ।
कथा भने तेस्रो कसममाथि हो।
के हो हिरामनको तेस्रो कसम? कुन परिस्थितिमा उनले जिन्दगीको तेस्रो कसम खाए? त्यसबाट के पाठ सिके?
सन् साठी दशकमा लेखिएको यो कथा मैले असी दशकको सुरूमा पढेको हुँ। केही वर्षपछि यही कथामाथि गीतकार शैलेन्द्रले निर्माण गरेको फिल्म ‘तीसरी कसम’ पनि हेरेँ।
कथाका धेरै भाव जुन शब्दमा गुजुल्टिएका थिए, तिनलाई सिनेमाका दृश्यले उधिनेर छर्लंग पारिदिए। कथामा प्रयुक्त गीत, संगीत, दृश्य र देहाती तुक्काको ठेट अर्थ पनि मैले फिल्म हेरेरै बुझेँ।
रेणु र शैलेन्द्र दुवै बिहारका हुन्। भारतीय अभिनेता राज कपुरले मुम्बईको रेल्वे स्टेसनमा आयोजित एक ‘मुसायरा’ (कविहरूको जमघट) मा पहिलोचोटि शैलेन्द्रलाई देखेका थिए। कम्युनिस्ट विचारधारा र फकिर स्वभावका शैलेन्द्र आफूलाई ‘सडकका कवि’ मान्थे। सार्वजनिक समारोहहरूमा कविता सुनाउनु उनको रहर र रोजीरोटी थियो।
रेल्वे स्टेसनको ‘मुसायरा’ मा शैलेन्द्रले सुनाएको ‘जलता है पञ्जाब’ कविताले राज कपुरको काँडा उमारिदियो।
बलिउडमा ‘शो–म्यान’ को खिताब पाएका राज कपुरसँगको यही जम्काभेटले पछि शैलेन्द्रलाई स्थापित गीतकारको मुकाममा पुर्यायो। उनले राज कपुरका थुप्रै सिनेमामा कालजयी गीत लेखे।
जब शैलेन्द्रलाई आफैं फिल्म बनाउने धून सवार भयो, उनले रेणुको कथा छाने। कथाको सिने–रूपान्तरण र संवाद पनि रेणुलाई नै लेखाए। निर्देशन वासु भट्टाचार्यले गरे। राज कपुर र वहिदा रहमान नायक–नायिका।
यो फिल्ममा शैलेन्द्रले जिन्दगीभरको जम्मापुँजी लगाएका थिए। टन्नै ऋण पनि लिएका थिए।
भनिन्छ नि, बलिउडमा हरेक शुक्रबार मान्छेको भाग्य बदलिन्छ। कोही तारा बनेर चम्किन्छन्, कोही भुइँमा खस्छन्।
गीति दुनियाँमा प्रतिष्ठा र पैसा कमाएका शैलेन्द्र ‘तीसरी कसम’ मा नराम्ररी पछारिए।
उनको सिनेमा ‘फ्लप’ भयो। पुँजी गुम्यो, ऋणले थिच्यो। भावुक कविले रक्सीको सहारा लिए, उल्टै रक्सीले उनलाई खाइदियो।
फिल्म रिलिज भएकै वर्ष ४३ को उमेरमा उनको निधन भयो।
चमत्कार के भइदियो भने, सन् १९६७ मा संसारकै प्रसिद्ध ‘मस्को अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा ‘तीसरी कसम’ छानियो। त्यसपछि रातारात फिल्म चर्चामा आयो। भारतको ‘नेसनल अवार्ड’ पनि जित्यो।
यो सबै ख्याति हेर्न शैलेन्द्र जीवित थिएनन्।
‘तीसरी कसम’ लाई आज एक उत्कृष्ट ‘क्लासिक’ सिनेमाको दर्जा दिइन्छ। र, यसका लेखक फणीश्वरनाथ रेणुलाई हिन्दी साहित्यमा प्रेमचन्दपछिकै उत्कृष्ट लेखक मानिन्छ।
रेणुको साहित्यसँग साक्षात्कार हुँदा म यस्तै १०–११ वर्षको थिएँ।
हामी भैरहवाको पक्लिहवा क्याम्पमा बस्थ्यौं। घरमा लेखपढको वातावरण थियो। राम्रो कथा, कविता वा लेख छ भने एक जनाले परिवारका सबै सदस्यलाई बाचन गरेर सुनाउने चलन थियो।
एकदिन आमाले भन्नुभयो, ‘दिनमान (भारतीय पत्रिका) मा नेपालसम्बन्धी लेख छापिएको छ, वरिपरि बसेर पढौं।’
त्यो लेख नेपाली क्रान्ति–कथाको एउटा भाग थियो। रेणुले ‘दिनमान’ मा नेपाली क्रान्ति–कथाको धारावाहिक शृंखला लेख्ने गरेको मैले त्यही बेला थाहा पाएँ। मलाई ‘फणीश्वरनाथ’ भन्ने नाउँ त याद भएन, ‘रेणु’ चाहिँ पछिसम्मै सम्झिरहेँ।
त्यो धारावाहिकका अरू भाग पनि हामीले खोजीखोजी पढ्यौं। त्यसैको संगालो सन् १९९९ मा राजकमल प्रकाशनबाट पुस्तकका रूपमा प्रकाशित भयो। रेणुले सात सालको क्रान्तिमा विराटनगर मोर्चाबाट भएका गतिविधि वर्णनात्मक शैलीमा लेखेका छन्, जसलाई ‘रिपोर्टाज’ भनिन्छ।
उनी क्रान्तिका ‘जनसम्पर्क अधिकृत’ थिए। त्यही भएर उनको लेखनमा क्रान्तिको मिहीन वर्णन छ। विराटनगर मोर्चामा पहिलो दिन मुक्तिसेनाले कसरी आक्रमण गर्यो? वीरगन्ज हमलामा थीरबम मल्लले कसरी सहादत प्राप्त गरे? क्रान्तिमा महिलाको कस्तो भूमिका रह्यो? यस्ता यावत् विवरण क्रान्ति–कथामा समेटिएका छन्।
धारावाहिकको अन्तिम भाग र किताबको अन्तिम पृष्ठमा उनी लेख्छन्ः
‘आज विराटनगर छोड्नुअघि म सान्दाजु (बिपी कोइराला) को नाममा एउटा चिठी लेखेर जान चाहन्छु– सान्दाजु! म तपाईंको अनुमतिबिना फर्केर जाँदैछु, माफ गर्नुहोला।
‘तर, लेख्दिनँ। लेख्ने नै हो भने त एउटा महत्वपूर्ण चिठी भारतका प्रधानमन्त्रीलाई पनि लेख्न चाहन्छु– प्रधानमन्त्रीजी! केही सातादेखि काठमाडौंस्थित भारतीय दूतावासमा वायरलेसबाट हुने बातचित हामी ‘इन्टरसेप्ट’ गरेर सुनिरहेका छौं। एउटा धोत्रो–धोत्रो आवाज हामीले राम्ररी चिन्यौं। यो निश्चय पनि हाम्रो राजदूत महोदयको हो।
‘म आफू बिहारी भएकाले बिहारका ‘खूसट’ जमिन्दारको बोली र तुक्काहरू राम्ररी बुझ्छु। आफूलाई नेपालको ‘किंगमेकर’ र ‘किंग्स केयरटेकर’ मान्ने यी महानुभावको चालढाल कुटिल र बोली कर्कश सुनिन्छ। उनी भारतीय राजदूतका रूपमा आफूलाई नेपाली जनताकै भाग्यविधाता ठान्न थालेका छन्।
‘उनको धोत्रो र कर्कश आवाजले छिट्टै नेपालमा भारतविरोधी स्वर उराल्नेछ भन्ने मलाई लाग्छ। नेपालका महाराजाधिराजलाई सकुशल देशबाट बाहिर भगाउने र फेरि सकुशल फिर्ता ल्याउने काम गरेका हाम्रो राजदूत महोदय आफैंलाई ‘महाराजाधिराज’ मान्न थालेका छन्।
‘उनी नेपाली जनता र नेपालका नेताहरूलाई पाइला–पाइलामा अपमान गर्छन्। नेपाल भनेको बिहारको एउटा जिल्ला मात्र हो भन्ने उनलाई भ्रम हुँदै गएको छ।
‘प्रधानमन्त्रीजी, कतै तपाईंलाई पनि यस्तै भ्रम त छैन ? ... महोदय, कुनै कर्मचारी वा ‘सर’ वा ‘रायबहादुर’ लाई होइन, विशाल हृदय भएका उदार व्यक्तित्वलाई नेपालको राजदूतका रूपमा पठाउनुहोला ...’
‘तर, म कसैलाई चिठी लेख्दिनँ। खाली नेपाललाई सम्बोधन गरेर नमस्कार भन्न चाहन्छु– नेपाल मेरी सानी आमा ... मेरी मौसी अम्मा, मेरो नमस्कार ग्रहण गर।’
‘भारत–नेपाल सीमामा रहेका प्रहरी साथी कुलदीप झालाई ‘लाल सलाम’ गर्दै भन्छु– डाक्टर साहब, म गएँ। तपाईं राम्ररी निगरानी गर्नुहोला– भारत–नेपाल मैत्रीको बिरुवा सुकेर नजाओस्! यसलाई कुनै जनावरले करप्प नपारिदेओस् ...’
रेणुको यो टिप्पणीले उनी नेपाल र नेपालीप्रति कस्तो अनुभूति राख्थे भन्ने छर्लंग पार्छ। हुन त बिहारी भएका नाताले नेपालसँग उनको सँधियार सम्बन्ध छँदैछ। त्यसमाथि भावनात्मक रूपले जोड्नमा बिपी कोइरालाको हात छ।
रेणु करिब १५–१६ वर्षको उमेरबाट कोइराला परिवारसँग जोडिएका हुन्। लामो समय विराटनगरको कोइराला निवासमै रहे। बिपीका बुबा कृष्णप्रसाद कोइरालाले खोलेको आदर्श विद्या मन्दिरमा प्रारम्भिक शिक्षा लिए।
बिपीका भाइ तारिणीप्रसाद र रेणुको उमेर लगभग उस्तै थियो। दुवैको साहित्यप्रति अनुराग पनि उस्तै। त्यही भएर उनीहरू एकअर्कासँग खुब मिल्थे।
‘नेपाली क्रान्ति–कथा’ को विशेषता के भने, यसको सुरुआत बिपी कोइरालाको लेखनबाट हुन्छ — रेणु और मैं। सन् १९७७ अप्रिल ११ मा रेणुको निधनपछि बिपीले उनलाई सम्झँदै ‘दिनमान’ पत्रिकामा लेखेको ‘अबिच्युरी’ हो यो।
हिन्दी भाषामा लेखिएको चार पृष्ठको उक्त ‘अबिच्युरी’ ले बिपी र रेणुको पहिलो भेट, गहिरो सम्बन्ध, क्रान्तिमा उनको भूमिका र उनको साहित्यिक व्यक्तित्व चित्रण गर्छ।
बिपी लेख्छन्ः
‘कुरा सन् १९३७ को हो। महिना मलाई याद छैन। म सुशीलासँग विराटनगर जाँदै थिएँ। हाम्रो भर्खरै बिहे भएको थियो। हामी कटिहारबाट जोगबनी जाने गाडीमा सफर गर्दै थियौं।
‘धुन्धान पानी पर्दै थियो। एउटा स्टेसनमा जब गाडी रोकियो, मैले एक जना किशोर हाम्रो डब्बाबाहिर डन्डी समातेर उभिइरहेको देखेँ। एकछिनमा गाडी छुक–छुक गर्दै द्रुत गतिमा दौडन थाल्यो। त्यो किशोर मुसलधारे पानीमा निथ्रुक्क रुझेर उसैगरी डन्डीको भरमा उभिइरहेको मैले देखेँ।
‘हाम्रो डब्बा ‘सेकेन्ड क्लास’ थियो। त्यति बेलाको राजसी सेकेन्ड क्लास। त्यो डब्बामा हामी लोग्ने–स्वास्नी मात्र थियौं। पानीमा मुसाझैं भिजिरहेको त्यो नितान्त अपरिचित व्यक्तिलाई डब्बाभित्र आउन दिने कि नदिने भनेर हामी दुवै उधेडबुनमा थियौं। कहीँ चोरफटाहा पो हो कि? हुन पनि सक्छ! हामी दुई जनालाई मात्र डब्बामा देखेर निरीह बन्दै भित्र छिर्ने उपाय पो गरेको हो कि! भित्र छिरेर हाम्रो हत्या गरी सामान चोर्ने दाउ पो छ कि!
‘सुशीलाले भने धेरै समय उनको अवस्था हेर्न सकिनन्। हाम्रो सहानुभूति जित्न रचिएको नाटक नै किन नहोस्, सुशीलाले दया देखाउँदै डब्बाको ढोका खोलिदिइन्।
‘डब्बामा प्रशस्त ठाउँ खाली थियो। हामीले उसलाई आरामसँग बस्न बारम्बार अनुरोध गर्दा पनि ऊ एउटा सिटको छेउमा कक्रक्क परेर बस्यो।
‘अलि बेरमा जब ऊ स्थिर भयो, उसले आफ्नो परिचय दियो, हाम्रो परिचय पनि सोध्यो। पारस्परिक परिचयपछि ऊ हामीसँग यति घुलमिल भयो, कहाँ जान हिँडेको मान्छे हामीसँगै विराटनगर आयो। हाम्रै घरमा बस्न थाल्यो।
‘ऊ थियो, हिन्दी साहित्यको यशस्वी कथाकार फणीश्वरनाथ रेणु।’
बिपी अगाडि लेख्छन्ः
‘रेणु मेरो सानो भाइ थियो। उसको क्रान्तिकारी प्रवृत्ति र अन्याय–दमनको विरोध गर्ने उग्रता मेरैजस्तो थियो। उसको विचार मलाई आफ्नैजस्तो लाग्थ्यो। वास्तवमा ऊ मेरै थियो।
‘ऊ स्वतन्त्रताको प्रचण्ड योद्धा थियो। प्रजातन्त्रका निम्ति हाम्रो संघर्षमा उसले काँधमा काँध मिलायो। राणा शासन अन्त्य गर्न नेपाली कांग्रेसले सुरू गरेको सशस्त्र क्रान्तिमा रेणु पनि सरिक भयो। र, मसँगै मुक्तिसेनाको वर्दीमा बन्दुक बोकेर मोर्चामा हाम्फाल्यो।’
बिपीले रेणुलाई हिन्दी मात्र होइन, बंगाली साहित्यका पनि उम्दा लेखक भनेका छन्। उनी रेणुलाई आफ्नो ‘साहित्यिक सहायक’ मान्थे। बिपीका केही नेपाली कथा रेणुले हिन्दीमा अनुवाद पनि गरेका थिए।
रेणुलाई हिन्दी साहित्यमा आञ्चलिक पहिचान दिने लेखकका रूपमा चिनिन्छ।
आञ्चलिक साहित्यले ग्रामीण परिस्थिति, परिवेश, लवज, स्थानीय संस्कृति, किम्बदन्ती, भेषभूषा, इतिहास र धरोहरलाई स्थानीय आँखाबाट हेर्ने प्रयास गर्छ भन्ने साहित्यकारहरूको भनाइ छ।
रेणुका साहित्यमा आञ्चलिक स्वाद हुन्छ। उनी सामाजिक परिवेशलाई आफ्नो विषयवस्तुको ‘क्यानभास’ मा उतार्छन्। स्थानीय उखानटुक्का र भाषाभाषीका झर्रा शब्द प्रयोग गर्छन्।
पात्रको वर्ग र पृष्ठभूमि उसले बोल्ने भाषाशैलीमा झल्किनुपर्छ भन्ने रेणुको मान्यता थियो, जुन उनको लेखनमा प्रशस्त पाइन्छ।
उनका पात्र हामीले हिन्दी सिनेमामा प्रायः सुन्नेजस्तो ठेट हिन्दी भाषा बोल्दैनन्। कोही मैथिली घुसाउँछन्, कोही बंगाली मिसाउँछन्। कोही भोजपुरी, कोही नेपाली।
साहित्यमा स्थानीय लवजको प्रयोग नै रेणुको हस्ताक्षर हो।
अझ उनको साहित्यमा पात्रभन्दा परिवेश प्रधान हुन्छ। जस्तो परिवेश, उस्तै पात्र। जस्तो पात्र, उस्तै बोलीचाली।
भन्नुको मतलब, रेणुका कथा एउटा पात्र विशेषमा आधारित हुँदैनन्। कथा जुन परिवेशमाथि छ, त्यो परिवेशमा उपलब्ध बहुआयामिक पात्रहरूलाई उनी समेट्छन्।
उनको उपन्यासमा संवाद एकोहोरो हुँदैन, बहुआयामिक हुन्छ। उनी व्यक्तिगत मनोदशाको कुरा गर्दैनन्, परिवेशको कुरा गर्छन्। कथा अघि बढ्दै जाँदा पात्रहरू जुन परिवेशबाट गुज्रेका छन्, त्यो खुल्दै जान्छ।
‘मारे गए गुलफाम’ वा ‘तीसरी कसम’ आञ्चलिक साहित्यको कोटीमा पर्ने रेणुका प्रतिनिधि रचनामध्ये एक हो।
पुरानो उखान छ– कि पढेर जानिन्छ, के परेर। सामान्य मान्छे, जसले लेख्न–पढ्न पाएन, उसले आफ्नो दैनिक व्यवहारबाटै जीवनको पाठ सिक्छ। आफ्नै अनुभवबाट खारिँदै उसले जीवनमा लक्ष्मणरेखाहरू खिच्दै जान्छ।
हिरामन सीमाको देहात गाउँ ‘पूर्णिया’ उर्फ ‘पुरनिया’ का त्यस्तै एक सीधासाधा पात्र हुन्, जसले गोरूगाडा हाँक्ने अनुभवका आधारमा दुई–दुईचोटि कान समातेर कसम खाँदै लक्ष्मणरेखा खिचिसके।
त्यसपछि उनको जिन्दगीमा प्रवेश गर्छिन्, हिराबाई।
सहरको ‘नौटंकी’ कम्पनीमा काम गर्ने हिराबाई गाउँको मेलामा नाच्न आएकी छन्। उतिबेला गाउँमा रातको समय देखाइने ‘नौटंकी’ मा महिला दर्शक हुन्थेनन्। उत्तेजक नृत्य र द्विअर्थी बोलीको भरमार हुन्थ्यो।
हिराबाईलाई रेल्वे स्टेसनबाट दुई दिनको गोरूगाडा दुरीमा रहेको मेलास्थल पुर्याउने जिम्मा हिरामनले पाउँछन्।
हिरामनलाई सुरूमा त सवारी को हो भन्ने पनि थाहा हुँदैन। हिराबाईलाई स्टेसन छाड्न आएका व्यक्तिसँग जब उनी मोलमोलाइ गरिरहेका हुन्छन्, उनको आँखा गाडा चढ्दै गरेको एकजोडी महिला पाउमा सुटुक्क जान्छ।
साडीको फेर माथिसम्म सरेर झुलुक्क देखिन्छ, नांगो पिँडुला। तल कुर्कुच्चानिर पाउजूको छनछन।
सानैमा बिहे भएर ‘गौना’ हुनुअघि नै विधुर भएका हिरामनको ‘कुमार’ पुरुष मन झंकृत हुन्छ। उनी आँखा फारेर टुल्टुल्ती हेरिरहन्छन्।
यात्रा सुरु हुन्छ।
पर्दाभित्र छेलिएर बसेकी हिराबाईको शरीरबाट बहेको मादक स्त्री सुगन्धले हिरामन लठ्ठिन्छन्।
रातको समय स्यालको हुइँया, उल्लूका तीखा आँखा र बाघभालूको भयले तर्सिंदै जब उनी जंगलको बाटो अघि बढ्छन्, उनलाई त्यही नांगो पिँडुला, पाउजू छनछनिएका कुर्कुच्चा र मादक स्त्री सुगन्धले पिरोल्न थाल्छन्।
पुरुष आँखाले देखेका महिला अंगलाई भयभीत मनले सम्झँदा उनी संशय मान्छन्– ती पिँडुला र कुर्कुच्चा कतातिर फर्किएका थिए हँ?
उनी एउटा मन्दिरसामु गाडा रोकेर शिवजीलाई सवा रुपैयाँको प्रसाद चढाउने भाकल गर्छन्।
जब गाडाको पर्दा खुल्छ, हिरामनको संशयको पर्दा हट्छ।
हिराबाईको मोहनी रूपले उनी भुतुक्कै हुन्छन्। अघिसम्म जसलाई ‘प्रेत’ ठाने, अब उही ‘परी’ लाग्छ।
हिराबाई उनको नाउँ सोध्छिन्। अनि भन्छिन्, ‘म तिमीलाई ‘मीता’ भन्छु है। जसको नाउँ एउटै हुन्छ, उसलाई ‘मीता’ भनिन्छ।’
जवाफमा हिरामनको मुखबाट एउटै शब्द निस्कन्छ– ‘इस् ...!’
हिरामन उनको ठेगाना सोध्छन्।
‘कानपुर’
जिन्दगीमा पूर्णियाबाट गोरूगाडाले पुर्याउने ठाउँभन्दा परको संसार न देखेका, न सुनेका हिरामन अचम्म पर्छन्।
‘कानपुर? नाकपुर पनि होला उसो भए!’
हिराबाई खुलेर हाँस्छिन्। हिरामन पनि लजाउँदै खितखिताउँछन्।
‘को–को छ तपाईंको घरमा?’ हिरामन सोध्छन्।
‘जसको सारा संसार आफ्नो हुन्छ, उसको आफ्नो भन्ने कोही हुँदैन,’ हिराबाईको जवाफले हिरामन जिल पर्छन्।
अर्को दृश्यमा हिरामन आफ्ना जोडी गोरूलाई विश्राम दिन कजरी नदीकिनार गाडा रोक्छन्। थाकेकी हिराबाई नदीमा नुहाउन जान्छिन्।
उनी नुहाउँदा लुछुप्प भिजेको साडीबाट पोखिएका शरीरका बान्की र लामा कपालबाट तर्तर्ती चुहिएका पानीका धारा लुकिछिपी निहार्छन्, हिरामन।
थकान र स्नानले जब हिराबाई गाडामा झपक्क निदाउँछिन्, फेरि उनको नांगो पिँडुलामा हिरामनका आँखा दौडन थाल्छन्। त्यहाँ एउटा कमिला खुर्रर हिँडिरहेको हुन्छ।
हिरामन कमिला टपक्क टिप्न चाहन्छन्। यसो गर्दा पिँडुलाको स्पर्स पाइने लालसा उनको मनमा आउँछ। तर, उनी डराउँछन्। फू फू गर्दै कमिलालाई फुक्छन्।
हावाले साडी अलिकति फुर्रर उचालिन्छ।
इस् ... ! हिरामन लाजले भुतुक्क हुन्छन्।
हिराबाई झस्केर ब्युँझन्छिन्। सायद उनलाई हिरामनको मनोदशा थाहा हुन्छ, तर प्रतिक्रिया जनाउँदिनन्। यति भन्छिन्, ‘के भो मीता?’
इस् ... !! हिरामन झनै रातोपिरो हुन्छन्।
हिरामन र हिराबाईबीच सम्बन्धको डोरी बाट्ने यी सुरुआती दृश्य कथा र सिनेमामा हुबहु छन्। जसले दुई पात्रको पृष्ठभूमि झल्काउँछ, गहिराइ बुझाउँछ, मनोदशा देखाउँछ र हामीलाई आगामी परिस्थिति भाप्न सघाउँछ।
हिरामनको चरित्रमा देहातको घुर्मैलो छवि छ। स्वभावमा अबोधपन छ। भाषामा देहाती बासना। स्त्रीप्रति तानिने पुरुष मन पनि छ।
‘नौटंकी’ नाच्ने हिराबाईले भने संसार देखिसकिन्। मान्छेलाई तौलिसकिन्। उनको भाषामा सहरी ‘लेहेजा’ झल्किन्छ। बोली बोझिला छन्। बेलाबेला दार्शनिकझैं उपमा पनि दिन्छिन्।
रेणुका कथा वा उपन्यासमा स्थानीय गीत–संगीत, नाच र लोककथाको प्रशस्त प्रयोग हुन्छ, जुन हामी ‘मारे गए गुलफाम’ मा पनि पाउँछौं।
शैलेन्द्र आफैं नामी गीतकार भएकाले उनले सिनेमामा दसवटा गीत राखेका छन्। एक सय ३८ मिनेटको सिनेमामा ४० मिनेटभन्दा बढी समय गीतहरूले नै पाएको छ।
तीमध्ये चारवटा गीत (सजन रे झूट मत बोलो, सजनवा बैरी हो गए हमार, लाली लाली डोलिया र मारे गए गुलफाम) यस्ता छन्, जसको सुरुआती पंक्ति रेणुको कथाबाटै लिइएको हो।
अन्य गीतमा ‘चलत मुसाफिर मोह लिया रे पिञ्जरेवाली मुनिया’ र ‘पान खाए सैयाँ हमारो, साँवली सुरतिया होँठ लाल लाल’ आज पनि सुन्नेका जिब्रोमा झुन्डिएका छन्।
पहिलो गीत हिरामनले पहिलो कसम खानुअघि आउँछ, जसले उनको निश्छल स्वभाव चित्रण गर्छः
‘सजन रे झूट मत बोलो,
खुदाके पास जाना है,
ना हाथी है ना घोडा है,
वहाँ पैदल हि जाना है’
दोस्रो गीत हिरामन र हिराबाईबीच संशयको पर्दा हटेपछि उनीहरूको मनोदशा झल्काउने भावको छ।
‘सजनवा बैरी हो गए हमार,
चिठियाँ हो तो हर कोई बाचे,
भाग न बाचे कोई,
करमवा बैरी हो गए हमार’
कथामा सबभन्दा गहिरो अर्थ बोकेको गीत यही हो, जसमा हिरामन र हिराबाईबीच विस्तारै प्रेमले सास फेर्न थालेको भेउ पाइन्छ।
उनीहरूको प्रेम निःशब्द छ, किनकि दुवैले आफ्नो सीमा बुझेका छन्।
गीतका शब्द अर्थ्याउँदै जाने हो भने हिरामन र हिराबाईको प्रेम कसरी अन्त्य हुन्छ भन्ने अनुमान गर्न सकिन्छ।
यो कथाको अर्को विशेषता के भने, यसमा हिरामन र हिराबाईको प्रेमसँगै ‘महुआ घटवारिन’ भन्ने किशोरीको लोककथा पनि जोडिएको छ।
कजरी नदीमा नुहाउन तम्सिएकी हिराबाईलाई रोक्दै हिरामन भन्छन्, ‘यहाँ ननुहाउनू, यो ठाउँमा महुआ घटवारिनको श्राप लागेको छ। यहाँ कुमारी केटीहरू नुहाउन हुँदैन।’
उनले ‘कुमारी केटी’ भन्दा हिराबाईले लामो सास तान्दै त्यही शब्द दोहोर्याएको दृश्य अर्थपूर्ण छ।
त्यसपछि हिरामन उनलाई महुआ घटवारिनको कथा सुनाउँछन्ः
महुआ यही गाउँकी थिई। सातगुणले युक्त। हरिणको जस्तो आँखा। चन्द्रमाजस्तो चम्किलो मुहार। कुर्कुच्चासम्म लहराउँदो रेशमी कपाल। जब ऊ हाँस्थी, यस्तो लाग्थ्यो आकाशमा बिजुली चम्किँदैछ। भगवानले नै यस्तो रूप भर्न सक्छन् माटोको पुतलीमा!
ऊ जति रंगिली थिई, उसको जिन्दगी भने बेरंग थियो।
उसको बाबु रक्सी र ताडीको नसामा रातदिन बेहोस रहन्थ्यो। सौतेनी आमा ‘साक्षात् राकसनी’ थिई। गँजडी, अफिमचीदेखि दारूबाजहरू सबैसँग उसको हेलमेल थियो।
महुआ कुमारी थिई। बिहेको उमेर भइसकेको थियो। तै सौतेनी आमाले घरमा कहिल्यै बिहेको कुरा उठाइन। बरू जतिसक्यो उसलाई घरकै काममा पेलाएर राख्न चाहन्थी।
महुआ दिनरातको टोकसोले गलिसकेकी थिई। ऊ राति–राति आफ्नी आमालाई सम्झेर आँशु खसाल्थी र विरह गीत गाउँथी। बेलाबेला मरेकी आमासँग रिसाउँदै भन्थी, ‘यही दिन देखाउन मलाई आफ्नो कोखमा राख्यौ? मलाई जन्माउनु नै थियो भने किन एक्लै छाडेर आफू मरेर गयौ?’
एकदिन सौतेनी आमाले कुस्त पैसा लिएर महुआलाई ‘सौदागर’ (व्यापारी) कहाँ बेचिदिई। सौदागरले उसको कपाल समातेर तान्दै त्यही नदीमा ल्याए। र, डुंगामा राखेर माझीलाई खियाउन आदेश दिए।
डुंगा नदीमा अघि बढ्यो।
चारैतिर पानीको कलकल, त्यो कलकल चिर्ने महुआको चित्कार।
महुआ रातभरि रोई। कराई। फड्फडाई।
सौदागरका नोकरले रिसाउँदै भने, ‘धेरै कराइस् भने यही नदीमा फाल्दिउँला।’
महुआको दिमाग झिलिक्क भयो। ऊ नोकरहरूको आँखा छलेर नदीमा छप्ल्यांग हाम्फाली।
एक जना नोकर भने महुआलाई मन पराउन थालेको थियो। ऊ महुआलाई बचाउन सँगसँगै नदीमा हाम्फाल्यो।
पानीको धार चिर्दै, कहिले त्यही धारमा हुत्तिँदै महुआ माछाझैं तैरिँदै तैरिँदै गई। पछाडि सौदागरको नोकर कराउँदै थियो, ‘महुआ, मलाई पर्ख। म तिमीलाई समात्न होइन, बचाउन आएको हुँ। हामी जिन्दगीभर साथ रहौंला।’
महुआ भने उसको कुरा सुन्दिन। फर्केर पनि हेर्दिन।
ऊ आफ्नै अन्तरआत्माले ठेलिएर पर, झन् झन् पर हुत्तिँदै गई। र, पन्ध्र–बीस वर्षको दासत्वबाट उम्केर स्वतन्त्र संसारमा अलप भई।
विशाल नदी तरेर किनारमा आउँदा महुआ थकाइले चूर थिई, तर उसलाई यस्तो लाग्दै थियो, उसको जिन्दगीभरको थकाइ मेटिएको छ।
‘महुआ घटवारिन’ को कथा सुनेर हिराबाई लामो सास फेर्छिन्।
हिरामन महुआको भाव टिपेर गाउँछन्ः
‘दुनियाँ बनानेवाले क्या तेरे मनमें समाई
काहेको दुनियाँ बनाई तुने काहेको दुनियाँ बनाई’
उनी महुआको सुन्दरता बखान गर्दै भन्छन्ः
‘काहे बनाए तुने माटीके पुतले,
धरती ऐ प्यारी प्यारी, मुखडे यह उजले,
काहे बनाया दुनियाँका खेला,
जिसमे लगाया जवानीका मेला,
गुपचुप तमासा देखे, वाह रे तेरी खुदाई,
काहेको दुनियाँ बनाई’
महुआको कथा कहने यो लोकगीत रेणुको रचनामै आधारित छ।
गीत सुनेपछि हिराबाई भन्छिन्, ‘तिमी त उस्ताद हौ मीता!’
हिरामान लजाउँदै जवाफ दिन्छन्, ‘इस् ... !’
कथामा हिराबाई र महुआ दुवैको प्रेमको अन्त्य समान देखाइएको छ।
गाउँमा ‘नौटंकी’ हेर्ने क्रममा हिराबाईमाथि एक जमिन्दारको आँखा लाग्छ। नौटंकी सकिएपछि केही रात आफूसँग बिताउन ऊ हिराबाईलाई प्रस्ताव राख्छ।
हिराबाई मान्दिनन्।
ऊ जबर्जस्ती गर्न खोज्छ।
हिराबाई विद्रोह गर्छिन्।
‘मेरो मनको कुरा तपाईं बुझ्नुहुन्न जमिनदार साहब,’ हिराबाई भन्छिन्।
जमिन्दार भन्छ, ‘आजकाल तिम्रो मनको कुरा गोरूगाडा चलाउनेले नै बुझ्छन्।’
हिराबाई जवाफ दिन्छिन्, ‘कहाँ जमिन्दार साहब! तपाईंजस्तै ऊ पनि मलाई गलत सम्झन्छ। तपाईंको नजरमा म बजारिया केटी, उसको नजरमा देवी। तर, उसको भ्रममा पनि एउटा नशा छ, जुन तपाईंको ऐयाशी र बेलायती रक्सीमा छैन।’
उनी अगाडि भन्छिन्, ‘तपाईंजस्तो मान्छे सतीसावित्रीलाई पनि बजारिया केटीको नजरले हेर्नुहुन्छ। कोही यस्ता पनि छन्, जो बजारिया केटीलाई सतीसावित्रीको दर्जामा राख्छन्।’
हिराबाईको यो जवाफमा उनको मनमा हिरामनप्रति पलाएको प्रेम झल्किन्छ। उनी कसैगरी पनि आफूलाई जमिन्दारको पञ्जामा पर्न दिन्नन्।
उनी अब मेला छाडेर पुरानै कम्पनीमा फर्कने निधो गर्छिन्। अन्तिमचोटि हिरामनलाई भेट्न रेल्वे स्टेसन बोलाउँछिन्। र, उनको बाँकी ज्याला हातमा थमाउँदै रेलको डब्बामा चढ्छिन्।
हिराबाईका आँखा भिजेका छन्। अनुहार मलिन छ। तर, उनको भावनालाई दृढताले छोपेको छ।
रेल गुड्छ।
गाडाको पर्दापछाडि छेलिएर कालो बाक्लो धुवाँको मुस्लो छाड्दै रेल कुदेको हेरिरहन्छन् हिरामन।
रेणुको यो कथाले व्यक्तिगत निर्णय र स्वतन्त्रताको वकालत गर्छ।
यहाँ हिराबाई र महुआ दुवैमा आत्मनिर्णयको चेत छ। उनीहरू बन्धनबाट मुक्त हुन चाहन्छन्। त्यही भएर मनपासो बन्न आँटेका हिरामनलाई पन्छाउँदै हिराबाई रेलमा अलप हुन्छिन्, जसरी वर्षौंको दमन छल्दै महुआ नदी किनार बिलाउँछिन्।
हिरामन पनि आत्मनिर्णयको सोच राख्छन्। उनी अनुभवका आधारमा आफ्नो निर्णय आफैं गर्न सक्षम छन्। पीडाले चूर छन्, तर विरहले चकनाचूर भइसकेका छैनन्।
बरू त्यस दिन हिरामन तेस्रो कसम खान्छन्– कम्पनीको बाईलाई कहिल्यै बोक्दिनँ।
कसम खानु भनेको दृढताको परिचय नै हो। म पनि कोही हुँ भन्ने भावनाको अभिव्यक्ति।
आत्मनिर्णय र व्यक्तिगत स्वतन्त्रताको यस्तो वकालत कता–कता बिपी कोइरालासँगको सानिध्यबाट प्रभावित देखिन्छ।
यो कथा रेणुको आत्मवृत्तान्तजस्तो पनि लाग्छ। उनी व्यक्तिगत जीवनमा आत्मनिर्णयका पक्षधर थिए। साहित्यमा ‘पद्मश्री’ पाएका उनले ‘इमरजेन्सी’ को विरोध गर्दै उक्त सम्मान फिर्ता गरे।
जुन बलले उनलाई ‘इमरजेन्सी’ को विरोध गर्न उक्सायो, ‘पद्मश्री’ फर्काउन प्रेरित गर्यो, त्यो नै आत्मनिर्णयको चेत हो।
फणीश्वरनाथ रेणुका अन्य साहित्य सिर्जनामा पनि हामी ‘मारे गए गुलफाम’ जस्तै आञ्चलिक स्वाद पाउँछौं।
चाहे त्यो पहिलो उपन्यास ‘मैला आँचल’ होस् वा ‘परती परिकथा’ वा ‘पन्चलाइट’, ‘दस गजाके इस पार और उस पार’, ‘पोल्टुबाबा रोड’, ‘जुलुस’ जस्ता कथाहरू।
आज मैले रेणुका हिन्दी साहित्यबारे चर्चा गर्नुको कारण छ– नेपालको बदलिँदो राजनीतिक स्वरुप।
हामी संघीय प्रणालीमा गएका छौं। संघीयता भनेको विभिन्न जातजाति र भाषाभाषीले आफ्नो पहिचान सुरक्षित राख्न र अभ्यास गर्न पाउने अधिकार हो। नेपालका जातीय संस्कृति मौलिक रूपमा संरक्षण गर्नुपर्छ भन्ने आवाज उठेको हामी सुन्छौं। त्यो आवाज संघीयताले दिएको अधिकार हो।
संघीयताको यही भावना र मर्म साहित्यमा पनि झल्किनुपर्छ।
हामी संघीयता र विविधताको कुरा गर्छौं भने स्थानीय भाषा, भाव, भंगिमा, गीत, संगीत, संस्कृति, इतिहास, किम्बदन्ती, उपमा र धरोहरले साहित्यमा बढीभन्दा बढी स्थान पाउँदै जानुपर्छ।
धनुषचन्द्र गोतामेको ‘घामका पाइला’ र नयनराज पाण्डेको ‘उलार’ लाई म यस्तै आञ्चलिक उपन्यासका रूपमा लिन्छु। दुवैमा पात्रभन्दा परिवेश प्रधान छ। पात्रहरू जनजीवनबाट टपक्क टिपिएका छन्। बोलचालीमा भाषिकाहरूको मिश्रण छ।
पछिल्लो समय स्थानीय विषय र संवेदनशीलताले पहिलेभन्दा बढी स्थान पाउन थालेका पनि छन्। यस सन्दर्भमा फणीश्वरनाथ रेणुका साहित्यिक रचना हाम्रो निम्ति मार्गदर्शक हुनसक्छन्।
रेणुलाई सम्झँदै बिपी कोइरालाले आफ्नो ‘अबिच्युरी’ मा लेखेका छन्ः
‘राजद्रोहको अभियोगमा मलाई सर्वोच्च अदालतमा पेस गरिँदै थियो। अदालतमै मैले ‘दिनमान’ को एक प्रति देखेँ, जसको आवरणमा रेणुको तस्बिर छापिएको थियो। उसको तस्बिर देख्नासाथ मैले लम्केर पत्रिका उठाएँ। जब समाचार पढेँ, म खङरङ्गै भएँ। त्यो खबर रेणुको मृत्युको विषयमा थियो।
‘उसको मृत्युले मलाई यस्तो लाग्यो, मैले आफ्नो जिन्दगीको एउटा ठूलो चिज गुमाएँ। अरू समय भइदिएको भए म त्यो दुःखको घडी मौन बसेर झेल्थेँ। तर, म अदालतमा थिएँ, जहाँ मैले आफ्नो सफाइ दिनु थियो। आफ्ना वकिल र सरकारी पक्षका वकिलको बहस सुन्नु थियो। नचाहँदा नचाहँदै पनि मलाई स्वाभाविक देखिन कर लाग्यो। त्यो समय मैले कतिविधि आत्मसंघर्ष गर्नुपर्यो भन्ने जसले पनि कल्पना गर्न सक्छ।’
बिपी अगाडि लेख्छन्ः
‘मेरो लागि रेणु मरेको छैन। ऊ मेरो हृदयमा जीवित छ। हामी कोइराला परिवारका सदस्यहरूको हृदयमा जीवित छ। प्रजातन्त्रका लागि समर्पित नेपाली र भारतीय सिपाहीहरूको हृदयमा जीवित छ।’
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्: