काठमाडौं मेयर विद्यासुन्दर शाक्यले पाँचवर्षे कार्यकालको आधा समयमा सम्झनलायक केही गरेनन्। बरू नगर्नुपर्ने काम गरेर बढ्ता विवादमा घेरिए।
रानीपोखरी मासेर स्विमिङ पुल बनाउन तम्तयार भए। खुलामञ्च ढलान गरेर बसपार्क चलाए। पुरानो बसपार्कलाई पुरानै ठाउँमा व्यवस्थित गर्न सकिन्थ्यो, उनले त्यहाँ २९ तले 'भ्यू-टावर' उभ्याउन खोजे।
सुन्धारा र धरहरा क्षेत्रलाई प्राचीन स्वरूपमा जीवित राख्नु त कता हो कता, त्यहाँ २२ तले ‘झिल्के टावर’ को जग खनिँदा पनि चुइँक्क बोलेनन्।
सबभन्दा बढी त, काठमाडौंको धूलोधुवाँ नियन्त्रण गर्न माखो मारेनन्। काठमाडौंका प्राचीन सम्पदालाई पुनर्जीवन दिएर ‘सम्पदा नगर’ का रूपमा ब्युँताउन पनि उनी ठ्याम्मै असफल भए।
रैथाने भएर काठमाडौं सभ्यताको मर्म नबुझ्नु र यसलाई माया गर्न नसक्नु उनको सबभन्दा कमजोर पक्ष रह्यो।
कालो बादलमा चाँदीको घेरा भनेझैं ‘नयाँ पत्रिका’ दैनिकमा बिहीबार प्रकाशित एउटा समाचारले उनी आफ्नो बाँकी कार्यकाललाई सम्झनलायक बनाउन चाहन्छन् कि भन्ने आशा जगाएको छ।
‘नयाँ पत्रिका’ संवाददाता तीर्थराज बस्नेतको उक्त रिपोर्टले भन्छ– महानगरले ठमेलदेखि असन, इन्द्रचोक, धर्मपथ, पाको हुँदै न्यूरोडमा समेत सवारी रोक लगाएर पैदलमार्ग विकास गर्ने तयारी सुरू गरेको छ।
यो योजना कार्यान्वयन भयो भने काठमाडौंको साँच्चिकै कायाकल्प हुनेछ। काठमाडौं सभ्यताले कम्तिमा पन्ध्र सय वर्ष पुरानो स्वरूप पाउनेछ, जुन संसारमै दुर्लभ हो।
यो काठमाडौंलाई पुनर्जीवन दिन अहिलेसम्म कसैले नगरेको काम पनि हो। पञ्चायतदेखि बहुदल हुँदै आजसम्म जति पनि नेता सत्तामा पुगे, तिनले यो सहरलाई मान्छे थुपार्ने खाल्डोका रूपमा मात्र हेरे। यहाँको पुरातात्विक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको दोहन त गरे, तर संरक्षणको कुरा आउनेबित्तिकै पर सरे।
कुनै नेताले मान्छेको उठिबास लगाएर सडक फराकिलो पारे। कोही मौलिक पहिचानहरू धराशयी पार्न अग्रसर भए। कोही यस्ता नेता आएनन्, जसले हजारौं वर्ष पुरानो काठमाडौं सभ्यताको विनाशलीला रोकेर यसलाई पुरानै स्वरुपमा फर्काउने आँट गरेको होस्।
विद्यासुन्दर शाक्यले अब दायाँबायाँ आँखा नझिम्क्याइकन यो एउटा योजना कार्यान्वयनमा ल्याए उनी काठमाडौंको निम्ति त्यही कदका नेता हुनेछन्।
यसले उनको बिग्रेको छवि मात्र सपार्दैन, काठमाडौंले सदापर्यन्त सम्झिने गरी कीर्ति छाडेर जान सफल हुनेछन्। जसको फल उनी र उनको पार्टीले साढे दुई वर्षपछि हुने अर्को स्थानीय निर्वाचनमा पक्कै चाख्न सक्छ।
काठमाडौंको रूपै फेर्ने महानगरको योजना के हो त?
मैले ‘नयाँ पत्रिका’ मा छापिएको उक्त समाचार विस्तारमा बुझ्न महानगरको सहरी योजना आयोगका अध्यक्ष सरोज बस्नेतसँग कुरा गरेँ। उनले सबभन्दा पहिला न्यूरोडलाई पुनर्जीवन दिने योजना सुनाए।
विक्रम सम्बत् १९९० सालको भुइँचालोपछि सहर पुनर्निर्माण क्रममा तत्कालीन शासक जुद्धशमशेरले न्यूरोड, अर्थात् नयाँसडक निर्माण गरेका हुन्।
जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको बाटोमा लश्करै पसलहरू निर्माण गरिएको त्यही बेला हो। तपाईंले विशाल बजारको झ्यालमा उभिएर हेर्नुभयो भने, कतिपय पुराना घरहरू आज पनि उही स्वरुपमा जस्ताको तस्तै देख्नुहुन्छ।
न्यूरोडलाई काठमाडौंको व्यापार केन्द्रका रूपमा विकास गर्ने जुद्धशमशेरको सोच थियो। त्यही भएर उनले न्यूरोड हुँदै काठमाडौंको मध्यबस्ती छिर्न कलात्मक गेट बनाए र गाडी गुड्न मिल्ने फराकिलो सडक खनाए।
त्यसयता बागमतीमा धेरै पानी बग्यो। वा, भनौं, बग्नै छाड्यो। न्यूरोड अब त्यो न्यूरोड रहेन, जहाँ पाइला नटेकी काठमाडौं घुमेको धोको मेटिन्थेन।
सडकले धान्नै नसक्ने गाडीको घुइँचोले यहाँ अचेल मान्छेलाई समेत पाइला टेक्ने ठाउँ हुन्न। काठमाडौंको यो पुरानो बजार विरुप छ। र, त्योभन्दा विरुप छ, प्राचीन गल्ली र बाटोहरू।
न्यूरोडलाई पुरानो स्वरुप नमासिने गरी नयाँ ढंगले विकास गर्ने महानगरको योजना हो। बस्नेतका अनुसार न्यूरोड गेटबाट सवारी साधनहरू भित्र पस्न दिइने छैन। सडक र पेटी सराबरी हुने गरी परम्परागत इँटा वा ढुंगा बिछ्याएर पूरै क्षेत्रलाई पैदलमार्गमा परिणत गरिनेछ।
उता, भूगोल पार्क वरिपरिको पर्खाल भत्काइनेछ। पर्खाल भत्काउनेबित्तिकै पार्कको क्षेत्रफल अहिलेभन्दा फराकिलो हुन्छ। त्यसपछि नेपाल बैंकको अग्रभागसम्म फैलाएर ‘सानो र सुन्दर बगैंचा’ विकास गरिनेछ। बगैंचाकै छेउछाउ र न्यूरोडका विभिन्न ठाउँमा पैदलयात्रुलाई सुस्ताउन काठका बेन्चहरू राखिनेछन्।
‘यहाँका घरलाई कलात्मक ढाँचामा पुनर्निर्माण गराउने पनि सोच छ,’ बस्नेतले भने, ‘पैदलमार्ग, घरको ढाँचा र बगैंचाको डिजाइन तयार पार्दैछौं।’
यो योजनालाई वसन्तपुर, काष्ठमण्डप, इन्द्रचोक, असन, नरदेवी, किलागल हुँदै छत्रपाटी, ठमेल र थँहितिसम्म विस्तार गर्ने योजना रहेको उनले बताए।
यी सबै क्षेत्रलाई चरणबद्ध रूपले सवारीमुक्त गर्दै केही वर्षभित्र पूरै मध्य–काठमाडौंमा सवारी निषेध गरिनेछ। सडकमा परम्परागत इँटा वा ढुंगा बिछ्याएर पैदलमार्ग बनाइनेछ। स्थानीयलाई कम्तिमा घरको बाहिरी मोहडा परम्परागत शैलीमा पुनर्निर्माण गर्न प्रेरित गरिनेछ।
‘अभ्यासका रूपमा साताको एकचोटि सवारी निषेध गरेर यो अभियान सुरू गर्ने हो कि भन्ने सोचेका छौं,’ बस्नेतले भने।
महानगरको योजनामा सबभन्दा ठूलो चुनौती स्थानीय र व्यापारीहरूलाई विश्वासमा लिनु हो।
सवारी निषेध गर्दा मालसामान ढुवानी गर्न अप्ठ्यारो हुने र ग्राहक नआएर व्यापार चौपट होला भन्ने धेरैलाई चिन्ता छ। त्योभन्दा ठूलो चिन्ता, मध्य–काठमाडौंमै बसोबास गर्नेहरूले आफ्नो सवारी कहाँ राख्ने भन्ने हो।
सबभन्दा पहिला व्यापारीको चिन्तालाई हेरौं।
के उनीहरूले भनेजस्तै सवारी निषेध गर्दा न्यूरोड, असन, इन्द्रचोक लगायत मध्य–काठमाडौंको व्यापार पुतलीसडक वा नयाँबानेश्वरतिर सर्ला?
संसारभरिका अध्ययन र अनुभवले भन्छ– मान्छे तिनै ठाउँमा बढ्ता घुम्न रुचाउँछ, जहाँ गाडीको घन्चमन्च हुँदैन। जहाँ मान्छे बढ्ता घुम्छन्, कारोबार फस्टाउने त्यहीँ हो।
व्यवसायीले लाख कोशिस गर्दा पनि ग्राहक तान्न नसकेका ठाउँमा एउटा सुविधाजनक सडकले पासा पल्टाइदिएका अनेक उदाहरण छन्। गाडीको घन्चमन्च र भिडभाडबीच सुकेको आर्थिक कारोबार मान्छेको निर्वाध घुमफिरले चम्काइदिएको छ।
अस्ट्रेलिया हार्ट फाउन्डेसनले सन् २०११ मा गरेको अध्ययनअनुसार पैदल आउजाउ बेसी हुने ठाउँमा व्यवसायीहरू पसल थाप्न आकर्षित हुन्छन्। त्यस्ता ठाउँमा नयाँ-नयाँ व्यवसाय फस्टाएका छन्। त्यहाँको भाडादर उच्च छ। साइकल चलाउन सजिलो भए कारोबार अझ बढी हुन्छ।
सान फ्रान्सिस्को यातायात प्राधिकरणको अध्ययन नतिजा अझ रोचक छ।
‘पैदल हिँड्ने मान्छेको मासिक किनमेल कारमा हुइँकिनेको भन्दा बढी हुन्छ,’ अध्ययनले भन्छ, ‘कारमा आउजाउ गर्नेहरू दिनहुँ बजार जाँदैनन्। महिनाको एकाधपटक मात्र छिर्छन्। हिँड्नेले भने दिनहुँ त्यही बजारलाई आफ्नो रूट बनाएका हुन्छन्।’
‘कारमा हिँड्नेको आर्थिक क्षमता बढी हुनसक्छ। उनीहरूले एकैचोटिमा धेरै मूल्यका सामान किन्न सक्छन्। हिँड्नेले दिनहुँ थोरै थोरै किन्दा पनि समग्रमा उसको खर्च बढी हुन्छ। पैदलयात्रु नै बजार गतिशील बनाउने र आर्थिक कारोबार बढाउने माध्यम हुन्,’ अध्ययनको निष्कर्ष छ।
हामीले आफ्नै वरिपरिका सडक हेर्दा पनि ती ठाउँमा बढी किनमेल भइरहेको देख्छौं, जहाँ आउजाउ बेसी हुन्छ। जहाँ मान्छे पसल–पसल चहार्दै, सामान ओल्टाइपल्टाइ गर्दै, मोलतोल गर्दै हिँड्न सक्छन्।
सहरको कुनै चल्तीको बजार जानुस्, जहाँ चारैतिर पसल छन्, रेस्टुरेन्ट छन् र मान्छेको भिडभाड छ। अब हेर्नुस्, त्यहाँ किनमेल गर्नेहरू को हुन्? उनीहरू कसरी आउँछन्? एउटा पसलबाट अर्को पसल कसरी चहार्छन्? कुनै फेन्सी स्टोरमा कपडा छानिरहेको परिवार कसरी एकैछिनमा खाजा खान रेस्टुरेन्ट छिर्छ? हिँडन गाह्रो भइदिएको भए के उनीहरू त्यो ठाउँमा किनमेल गर्न आउँथे?
मान्छेले जुन ठाउँमा हिँड्न सुविस्ता ठान्छ, उसले त्यही ठाउँमा बढी समय बिताउने गरेको पनि अध्ययनले देखाएको छ। यसको मतलब ऊ बिनाप्रयोजन सडकमा बरालिने होइन। ऊ माथि भनेजस्तै कहिले फेन्सी स्टोर छिर्छ, कपडा किन्छ। त्यहाँबाट रेस्टुरेन्ट छिर्छ, खाजा खान्छ। फेरि केही बेर किनमेलमा अलमलिएला, अनि क्याफे छिर्ला।
अब आफैं भन्नुस्, बजारको आर्थिक कारोबार बढाउनु छ भने गाडीको सुविधा हेर्ने कि पैदलयात्रुको?
हिँड्नु राम्रो शारीरिक कसरत हो भन्ने मान्यताले पनि यहाँ काम गर्छ। एकछिन हिँड्दा कसरत हुन्छ र किनमेल गर्न पाइन्छ भने किन गाडी चढ्नु?
गाडी बढी ओहोरदोहोर गर्ने ठाउँमा साना पसल त्यसै छेकिन्छन्। पैदल हिँड्ने यात्रुको आँखा जाँदैन। जब सडक शान्त हुन्छ र मान्छे निश्चिन्त भएर हिँड्न पाउँछन्, छेकिएका पसल आँखामा पर्छन्।
त्यसैले, गुजमुज्ज बजारमा आर्थिक कारोबार बढाउनुछ भने गाडीलाई होइन, मान्छेलाई हिँड्ने सुविधा दिनुपर्छ भन्ने अध्ययनको निष्कर्ष छ।
अध्ययनले के पनि देखाउँछ भने, जुन ठाउँमा गाडीभन्दा पैदलयात्रुलाई प्राथमिकता दिइन्छ, त्यहाँ सार्वजनिक लगानीको प्रतिफल उच्च छ। यसका तीन कारण छन्:
पहिलो, बढीभन्दा बढी गाडी अट्ने फराकिलो सडकभन्दा हिँड्न सुविस्ता सडक कम खर्चिलो हुन्छ।
दोस्रो, ट्राफिक चिह्न, प्रहरी परिचालन लगायत खर्च कम हुन्छ। ठाउँ–ठाउँमा रूख रोप्न र पैदलयात्रुको आराम निम्ति कुर्सी व्यवस्था गर्न पनि ठूलो लागत पर्दैन। लागतको तुलनामा आर्थिक कारोबारबाट हुने प्रतिफल उच्च हुन्छ।
तेस्रो, सडक मर्मतसम्भार लागत कम हुन्छ। गाडी आउजाउ बढी हुने सडक धेरैपटक मर्मत गर्नुपर्छ। पैदलयात्रु बढी हिँड्ने सडक कम मर्मत गरे पुग्छ। त्यहाँको आर्थिक कारोबारको तुलनामा यो मर्मत लागत नगन्य हो।
भन्नुको मतलब, पैदलयात्रु हिँड्ने सामान्य सडक पनि थोरै मर्मतसम्भारले दशकौं टिक्नसक्छ। दशकौंसम्म त्यहाँको कारोबारलाई टेवा पुग्छ। जबकि, गाडी ओहोरदोहोर धेरै हुने सडक मर्मतसम्भारमा सरकारले बर्सेनि करोडौं खर्च गरे पनि स्थानीय आर्थिक कारोबार खासै फस्टाउँदैन।
यिनै विभिन्न कारणले पछिल्लो समय संसारभरका ठूला सहरहरूले भित्री बस्तीमा गाडीभन्दा मान्छेलाई प्राथमिकता दिन थालेका छन्। ती सहरले आफ्नो सडक पूर्वाधारको स्वरूप परिवर्तन गरी पैदलयात्रु अनुकूल निर्माण गरिरहेका छन्। बढीभन्दा बढी साइकल लेन बनाइरहेका छन्।
डेनमार्कको कोपनहेगन, बेलायतको लन्डन लगायत विकसित देशका सहरहरूले भित्री बजारमा सवारी निषेध गरेको छ। नर्वेको राजधानी ओस्लोका भित्री भाग लगभग सबै सवारीमुक्त छन्। स्पेनको मेड्रिड पनि अर्को वर्ष यो लक्ष्य भेट्ने कोशिसमा लागेको छ।
भारतले नयाँदिल्लीको पुरानो व्यस्त बजार करोलबागमा केही महिनादेखि सवारी छिर्न रोक लगायो। त्यहाँ बिहान ७ देखि बेलुकी १० बजेसम्म गाडीहरू छिर्न दिइँदैन। यसले करोलबागको व्यापारमा कुनै असर पारेको छैन। उल्टै पैदलयात्रु बढेको र व्यापार फस्टाएको बिक्रेता बताउँछन्।
विदेशको मात्र कुरा होइन, काठमाडौंकै अनुभव हेर्ने हो भने पनि ठमेलको सवारीमुक्त क्षेत्रले यो साबित गरिसक्यो।
ठमेलको एउटा सानो भाग करिब दुई वर्षदेखि सवारीमुक्त छ। यसले त्यहाँको व्यापारमा कस्तो असर पार्यो भनेर स्थानीय पस्मिना व्यवसायी सुदिन मानन्धरलाई सोधेँ।
‘ठमेलमा अचेल गाडी चल्ने ठाउँमा भन्दा नचल्ने ठाउँमा व्यापार बढी छ,’ उनले भने, ‘ग्राहकले त्यहाँ आरामले सामान हेर्न र किन्न पाउँछन्। हिँड्न गाह्रो पर्ने ठाउँमा धेरै पर्यटक किन्नै आउँदैनन्।’
दुर्भाग्यले उनको पस्मिना पसल गाडी निषेधित क्षेत्रबाहिर छ। उनी लगायत त्यहाँका बिक्रेताले केही समयदेखि पूरै ठमेललाई सवारीमुक्त गर्न वडा कार्यालयसँग माग गर्दै आएका छन्। कि पूरै ठमेललाई सवारीमुक्त गर्नुपर्यो, होइन भने सबै ठाउँमा गाडी चल्न दिनुपर्यो भन्ने उनीहरूको भनाइ छ।
‘दुवैतिर उस्ता-उस्तै पसल छन्, तर एक ठाउँमा व्यापार फस्टाउने, अर्कोतिर डुब्ने हो भने हामी कसरी बाँच्ने?’ मानन्धरले भने, ’हामीले पटक–पटक वडा कार्यालयमा गएर आफ्नो समस्या राखेका छौं।’
गाडी निषेध गरे ग्राहक भड्किएलान् भन्ने चिन्तामा सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर दसैं-तिहार बजारको उदाहरण दिन्छन्।
दसैं वा तिहारको किनमेल उत्कर्षमा पुगेका बेला हरेक वर्ष न्यूरोडमा सवारी आवागमन नियन्त्रण गरिन्छ। धेरै गाडीलाई गेटबाटै छिर्न दिइँदैन। उता भीमसेनस्थान हुँदै काष्ठमण्डपतिर उक्लिने सवारी पनि टंकेश्वर, विष्णुमती किनारमै रोकिन्छ।
‘यसले दसैं–तिहार बजारमा असर पार्दैन,’ तुलाधरले भने, ‘बरू यस्तो सिजनमा व्यापारीहरूले सडक ढाकेर पसल थापेको हामीले देखेका छौं।’
‘मान्छेहरू हिँडेरै आउनुपरे पनि किनमेल गर्न असन, इन्द्रचोक र न्यूरोड नै आउँछन्। गाडी चल्न नदिने हो भने सहर डुल्न आउनेको संख्या बढ्छ। सजिलै घुम्न पाइयो भने उनीहरूले पनि किनमेल गर्नेछन्,’ उनले भने।
मध्य–काठमाडौंमा सवारी घुइँचो लाग्ने भनेको किनमेल गर्न आउने ग्राहकले मात्र होइन। मध्यसहर छिचोलेर काठमाडौं वारपार गर्नेका गाडीले पनि चाप बढाउँछ।
उदाहरणका लागि, कान्तिपथबाट कालिमाटी जाने मान्छे टुँडिखेल घुमेर सुन्धारा, त्रिपुरेश्वर, टेकु हुँदै जानुको साटो कमलाक्षीबाट असनतिर छिर्छ र त्यहाँबाट वसन्तपुर हुँदै कालिमाटी झर्छ। यो पक्कै सोझो बाटो हो, तर यसले मध्यसहरको सवारी चाप धान्नै नसक्ने गरी बढाइदिएको छ।
अब हामी सहरभित्रै बस्नेले आफ्नो सवारी कहाँ राख्ने भन्ने कुरा गरौं।
स्थानीयहरूका लागि यो पक्कै ठूलो चासो र चिन्ता हुनसक्छ। तर, सबैले साथ दिने हो भने हल नभएको होइन।
यसमा दुइटा उपाय हुनसक्छः
पहिलो, वडा कार्यालयहरूले आफ्नो क्षेत्रका प्रत्येक घरधुरीमा कतिवटा मोटरसाइकल र कतिवटा गाडी छ भन्ने तथ्यांक निकालेर त्यसैअनुसार पासको व्यवस्था गर्ने।
पासमा गाडी नम्बर उल्लेख हुनेछ। सम्बन्धित सवारीधनीलाई त्यस्तो पास सवारीमै टाँस्न अनिवार्य गराउन सकिन्छ।
यसरी सवारी चलाउन पनि निश्चित समय–सीमा तोक्नुपर्छ। पासका गाडी दिनैभरि घाइँघुइँ गर्न थाले निषेधित क्षेत्रको मर्म रहँदैन। उनीहरूलाई बिहान ९ देखि बेलुकी ९ बजेसम्म सवारी चलाउन पाइँदैन भन्न सकिन्छ। स्थानीयसँग परामर्श गरेर उपयुक्त समय–सीमा निर्धारण गर्न सकिन्छ।
दोस्रो उपाय हो, सहर वरिपरि विभिन्न ठाउँमा बहुतले पार्किङहरू निर्माण गर्ने।
सहरी विकास योजनाकार पद्मसुन्दर जोशीले काठमाडौंको मध्यसहरलाई कसरी सवारीमुक्त गर्न सकिन्छ भनी केही समयअघि विस्तृत अध्ययन गरेका थिए।
मध्यसहर आउने गाडीहरू राख्न वरिपरि पार्किङ निर्माण गर्न सकिने उनको सुझाव छ। खासगरी विष्णुमती किनार र टुँडिखेलमुनि ‘अन्डरग्राउन्ड’ पार्किङ राम्रो विकल्प हुनसक्ने उनी बताउँछन्। स्थानीय बसोबासीका लागि पनि यी पार्किङ सहज हुनेछन्।
‘टुँडिखेलमाथि हराभरा पार्क बनाएर मुनि पार्किङ बनाउन सकिन्छ,’ उनले भने, ‘विष्णुमती किनारमा पनि नदीको सौन्दर्य नमासिने गरी व्यवस्थित पार्किङ निर्माण हुन सक्छ।’
महानगरका सहरी योजनाकार बस्नेतले पनि टुँडिखेलमा ‘अन्डरग्राउन्ड’ पार्किङ भरपर्दो विकल्प हुनसक्नेबारे छलफल भइरहेको जानकारी दिए।
पुरानो बसपार्कमा बन्न नसकेको टावरको साटो बहुतले पार्किङको योजना अघि बढाउन सकिन्छ। कल्पना गर्नुस् त, त्यहाँ गाडी रोकेर टुँडिखेलको हराभरा पार्क छिचोल्दै मध्यसहर छिर्न कम्ता आनन्द होला र!
महानगरले सुन्धाराको ‘झिल्के टावर’ लाई पनि पार्किङ स्थलका रूपमा पहिचान गरेको बस्नेतले बताएका छन्। तर, यो ‘झिल्के टावर’ हाम्रो प्राचीन सभ्यता ब्युँताउने उद्देश्यको मर्मविपरीत छ। यसले सुन्धारा र धरहरा क्षेत्रको सौन्दर्य मासेर सहरलाई कारोबार स्थलमा परिणत गर्नेछ। महानगरले यहाँ पार्किङ बनाउने त कुरै छाडौं, यो टावर बनाउनमै रोक लगाउनुपर्छ।
हामीले गाडी चल्न नदिए के–के न होला भनेर जुन चिन्ता गरिरहेका छौं, त्यो भ्रम मात्र हो। सवारीमुक्त गर्ने भनिएको काठमाडौंको मध्यसहर ठूलो होला भन्ने हामीलाई लाग्छ, तर बढीमा आधा घन्टा हिँड्यौं भने यो पूरा बजार वारपार हुन्छ। त्यो पनि अहिलेको सवारी घन्चमन्चमा। गाडी हट्ने हो भने त्यति पनि लाग्दैन। तपाईं वसन्तपुरबाट सुइँसुइँ हिँडेर ठमेल जानुस्, कति समय लाग्छ आफैं अन्दाज हुन्छ।
यति छोटो दुरीको सहरमा पैदल हिँड्ने बानी बसाल्नु हाम्रै शारीरिक स्वास्थ्यका लागि फाइदाजनक छ। शारीरिक कसरतको अभाव र अस्वस्थकर आहारले पछिल्लो समय मान्छेहरू रोगग्रस्त हुँदै गएका छन् भन्ने पनि विभिन्न वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ।
एक अध्ययनअनुसार, हजारौं वर्षसम्म प्रकृतिमा चलायमान हाम्रो शरीरभित्रको ‘जिन’ ले सिमेन्टका चार घेराभित्र घ्याच्च परेर बसिरहने सहरिया जीवनशैली चिन्न सकेको छैन। हाम्रो त्यो ‘जिन’ रनभुल्ल छ, तनावमा छ। जुन रफ्तारमा हाम्रो जीवनशैली बदलिएको छ, हाम्रो ‘जिन’ ले त्यो बुझ्न र त्यहीअनुसार आफूलाई ढाल्न सकेको छैन।
यसले शरीरमा रोग संक्रमण बढेको छ। हिजो फरक जीवनशैलीमा नदेखिएका रोग आज देखिएका छन्। हिजो फरक जीवनशैलीमा खुसी मान्छेको मन आज हरबखत तनावले भरिएको छ।
यी दुवै सुधारेर स्वस्थ जीवनयापन गर्न र अहिलेभन्दा लामो समय बाँच्न सवारीमुक्त सहर नै एक मात्र विकल्प हो।
सवारी निषेध गर्दा बूढाबूढी, अशक्त र शारीरिक अपांगता भएकाहरूका निम्ति विद्युतीय गाडीको विकल्प दिन सकिन्छ। गल्फ कोर्समा चल्नेजस्ता एकचोटिमा छ–सात जना अट्ने विद्युतीय गाडीले आवश्यक यात्रु ओसार्नेछ।
‘यसले सहरको वातावरण पनि बिथोलिँदैन, हिँड्न नसक्नेलाई पनि सजिलो हुन्छ,’ जोशीले भने।
काठमाडौंको प्राचीन सभ्यता, संस्कृति र सहरी स्वरुप कसरी पुनर्जीवन दिन सकिन्छ भन्नेबारे मैले सेतोपाटीमै ‘कथार्येँ’ शृंखलाअन्तर्गत लामो लेख लेखेको थिएँ। (हेर्नुहोस्: आऔं बनाऔं हामी हाम्रो काठमाडौं मण्डल)
हाम्रो सुझाव छ, लिच्छविकालीन कोलिग्राम र दक्षिण कोलिग्राम मिलेर बनेको काठमाडौं सहर बचाएर राख्न सुरूमा यसको चारकिल्ला तय गरौं। चार किल्लाभित्रको पुरानो बस्तीलाई ‘काठमाडौं मण्डल’ वा ‘कान्तिपुर मण्डल’ नामकरण गरी सहरी व्यवस्थापनको छुट्टै योजना लागू गरौं।
भक्तपुर नगरपालिकाले सहरको मौलिक स्वरुप जोगाउन मूलसडकमा ढुंगा छाप्ने र सडकछेउका घरको बाहिरी मोहडा पुरानै ढाँचामा पुनर्निर्माण गराउने निर्णय गरेको छ। यी दुवै योजना कार्यान्वयन चरणमा छन्। भक्तपुरको यो कदम काठमाडौंका लागि उदाहरण हुनसक्छ।
काठमाडौंको चार किल्लाभित्र पनि मूलसडकदेखि सहायक सडकहरू सबैमा इँटा छापेर प्राचीन अनुभूति गराउन सकिन्छ। ढुंगा पनि छाप्न सकिन्छ, तर बर्खाको पानी भूमिगत जलभण्डारमा सञ्चित गराउन इँटा नै बेस।
जस्तो न्यूरोड गेट छ, टेकुबाट वन्देनारायण उक्लिने बाटोमा त्यस्तै कलात्मक गेट होस्। वन्देदेखि वसन्तपुर हुँदै छत्रपाटीसम्म तन्किएको मूलसडकमा जम्मै इँटा छापियोस्। वन्देबाटै काठमाडौंको पूर्वी कुना समातेर ब्रह्मटोल, लगन, झोछेँ हुँदै इन्द्रचोक, किलागल, नघल र छत्रपाटीसम्मको अर्को समानान्तर सडकमा यसैगरी इँटा छापियोस्।
यता थानकोट–साँखु किराँतकालीन राजमार्ग जुन विन्दुबाट काठमाडौं सहर छिर्छ, त्यहाँ पनि प्रवेशद्वार होस्। त्यो बाटो वसन्तपुर हुँदै इन्द्रचोक, असन र कमलाक्षीसम्मै इँटा छापियोस्, सोच्नुस् त कस्तो देखिएला?
यी सबै भित्री सडक दायाँबायाँका घरमा जथाभाबी आधुनिक ढाँचा बनाउन रोक पनि लगाइयोस्। कम्तिमा बाहिरी मोहडालाई मौलिक नेपाली ढाँचामा फर्काउन पाए सुनमा सुगन्ध!
घरको मोहडा फेर्न सबैको क्षमताले नधान्नसक्छ। तिनलाई आर्थिक सहायता गर्ने काम महानगरको। महानगरले लगानी गर्ने ठाउँ नपाएर बैंकमा जम्मा गरेको पैसा यहाँ काम लाग्छ।
त्यही पैसाले वसन्तपुर, इटुम्बहाल, टेबहाल लगायत चोक र डबलीहरू पुनर्निर्माण गर्न सकिन्छ। काठमाडौंका धेरै पुराना डबली गाडी र मोटरसाइकल पार्किङ गर्ने थलो बनेका छन्। कतिपय ठाउँमा स्थानीय बासिन्दाबाटै अनधिकृत संरचना बनाएर मिचिएका छन्।
महानगरले ती सबै संरचना भत्काएर, पार्किङ हटाएर यहाँका चोक, डबली र बहालहरूलाई खुला सार्वजनिक स्थलमा परिणत गर्न सक्छ, जहाँ केटाकेटीले खेल्न पाऊन्, बूढाबूढीहरू आपसमा गोलो परेर भलाकुसारी गरून्। जहाँ सामाजिक कर्म होस्, पूजापाठ होस्, जात्रापर्व चलोस्।
काठमाडौंका स्थानीयले के कुरा बुझ्नुपर्यो भने, सहरलाई सवारीमुक्त गर्दा सबभन्दा बढी आर्थिक लाभ हुने उनीहरूलाई नै हो।
पुराना बस्तीभित्र गाडी छिर्न नदिने हो भने हाम्रो प्राचीन सभ्यताको स्वाद लिन कति पर्यटक झुम्मिएलान्! अनि ती पर्यटकबाट हाम्रो आम्दानी कति बढ्ला?
अमेरिकाका विभिन्न सहरमा गरिएको अर्को अध्ययनले पैदलयात्रुलाई ध्यान दिइएका ठाउँमा घर भाडादर उच्च रहेको पाइएको छ।
त्यस्ता ठाउँका केही खास विशेषता हुन्छन्। जस्तो– सडक साँघुरो हुन्छ। पैदलयात्रु हिँड्न फुटपाथ बनाइएको हुन्छ। सडकमा ठाउँ–ठाउँ रूख रोपिएका हुन्छन्। पसलहरूले आफ्नो कारोबार फुटपाथसम्मै फैलाउँछन्। फराकिलो ठाउँ छ भने रेस्टुरेन्टले बाहिरै छाता हालेर खानेकुरा बेच्छन्।
घरको दोस्रो तल्लाभन्दा माथि विभिन्न अफिस खुल्न सक्छन्। गाडीले व्यस्त सडकको तुलनामा पैदलयात्रुले भरिएका सडक बढी शान्त हुन्छन्, अफिस खोल्न। यसले घरभाडा महँगो भएर स्थानीयको आम्दानी बढी हुन्छ।
यति मात्र होइन, काठमाडौंका थुप्रै मिसाः पुचः, अर्थात् महिला समूहहरू सामाजिक तथा आर्थिक क्रियाकलापमा सक्रिय छन्। केही समूहले बेला–बेला सहरका मुख्य चोकमा परम्परागत नेवार परिकार बिक्री गर्दै आएका छन्।
गाडी निषेध गरेर सहर खुकुलो पार्यौं भने उनीहरूको आर्थिक क्रियाकलाप अझ बढ्नेछ। साँझको समय बाटोमै परिकार पकाउने र पस्कने अनुमति दिन सकिन्छ।
हाकुपटासीमा सजिएका आमा, दिदी, बहिनीका हातबाट नेवार परिकार कति स्वादिलो होला! त्यो दृश्य विदेशी पर्यटक र हाम्रै लागि पनि कति लोभलाग्दो देखिएला!
सवारीमुक्त खुला सडकमा हाम्रा परम्परागत जात्रा र सांस्कृतिक झाँकीहरू विशेष आकर्षण हुन सक्छन्।
त्यसै पनि काठमाडौं यस्तो सहर हो, जहाँ हरेक दिन कुनै न कुनै चोक वा गल्लीमा धिमे घन्केकै हुन्छ, जात्रा चलेकै हुन्छ। इन्द्रजात्रा, गाईजात्राजस्ता ठूला पर्वमा त सहर यसै गुल्जार हुने भइहाल्यो, अरू बेलाका साना–साना जात्रालाई पनि मूल सडकमै ल्याउन सक्यौं भने कस्तो होला?
कल्पना गर्नुस् त, तपाईं पन्ध्र सय वर्ष पुरानो बाटोमा हिँड्दै हुनुहुन्छ। छेउमा घरि लाखे नाच्दै आउँछ, घरि देवी नाच चल्छ। कहिले पुलुकिसी गुटुटुटु कुद्दै आउँछ, कहिले ‘होए होए’ गर्दै रथ तानिन्छ। उतिन्खेरै ‘जीवित देवी’ कुमारी झ्यालमा हामीलाई दर्शन दिन आउँछिन्। अनि पृष्ठभूमिमा गुञ्जिन्छ, धिमेका धमधम र ताका छ्याइँछ्याइँ।
मूर्त र अमूर्त सम्पदाको यस्तो संयोजन काठमाडौंबाहेक संसारको अरू कुनै सहरमा देख्न पाइएला? सोच्नुस् त?
यसको आर्थिक लाभ र यी जात्रापर्वसँग जोडिएको सांस्कृतिक मर्म स्थानीयले भन्दा बढ्ता कसले बुझ्छ?
एकातिर हामी सम्पदा र संस्कृति जोगाउनुपर्यो भन्ने, अर्कातिर गाडीमै गनगन गरिरहने हो भने हाम्रो हजारौं वर्ष पुरानो काठमाडौं सभ्यताले कसरी पुनर्जीवन पाउला?
विद्यासुन्दर शाक्य आफ्नो यो योजनाबाट पछि नहटून्। काठमाडौंका बासिन्दाले पनि उनलाई साथ दिऊन्। यति गर्यौं भने काठमाडौंलाई सांस्कृतिक र पुरातात्विक रूपले सम्पन्न प्राचीन नगरमा पुनर्जीवन दिने योजनाले पक्कै मूर्तरूप लिनेछ।
बाँकी साढे दुई वर्षको कार्यकालमा सहरको रूप फेरेर अरू कसैले गर्न नसकेको कीर्ति राख्ने कि, यसलाई अझ विरुप पार्दै आफ्नो छवि बिगारेर जाने? यो मेयर विद्यासुन्दरकै हातमा छ।