गत नोभेम्बरको अन्तिम साता उत्तरपूर्वी भारतको भ्रमण गरिरहेको थियौं। पश्चिम बंगालको सिलगुडी, आसामको गुवाहाटी हुँदै मेघालयको शिलोंग पुगेपछि तीन दिन उतै बितायौं।
मेघालयमा नेपालको भित्री मधेस र पहाडी भूबनोटसँग मिल्दोजुल्दो पर्यावरणीय परिवेश र हावापानी छ। ग्रामीण क्षेत्रमा घुम्न मिल्ने केही आकर्षक प्याकेजहरू छन् जसले गर्दा हामीले पूर्वयोजना गरेभन्दा धेरै दिन बितायौं।
यो दशकमा हरेक वर्षको एकचोटी भारत घुम्न गइरहेको छु। हरेक यात्रामा नयाँनयाँ राज्य घुम्छु। तर यसपालि मेघालयको ग्रामीण भेगको यात्रामा त्यहाँ भेटिएका स्थानीय मान्छेहरूसँगको बातचितबाट पर्यटन विकासमा समुदाय सहभागिताको महत्वबारे बुझ्न पाइयो।
हामीले उत्तरपूर्वी भारतको प्रख्यात हिलस्टेशनको रूपमा परिचित मेघालयको राजधानी शिलोंग पुगेपछि मात्र त्यहाँका ग्रामीण बस्ती घुम्ने निर्णय गर्यौं। प्रायः बादलले ढाकिरहने उच्च भूभाग, दृश्यावलीको कारण यसलाई पूर्वको स्कटल्यान्ड भनेर पनि चिनाइने रहेछ।
पहिलो दिन शिलोंग पुग्नेबित्तिकै सहरको मुटुमा अवस्थित पुलिस बजार र आसपासका ठाउँ जस्तै मानव निर्मित उमियम ताल, चिया बगान, तीनतहको झरना भएको ठाउँ (एलिफेन्ट फल) लगायत स्थल घुम्यौं।
अर्को दिन एसियाकै सफागाउँ भनेर दाबी गरिएको मावोंलिंनोंग, सुन्दर डाँडाकाँडा र खोंचहरू, एउटै रबरप्लान्ट रुखको जराबाट बनेका गाउँ जोड्ने पुल, कन्चन पानीमा डुंगा सयर गर्न मिल्ने बंगलादेशको सीमामा रहेको डाउकी नदी घुम्यौं।
त्यसपछि प्रसिद्ध चेरापुञ्जी गयौं जसलाई स्थानीयहरू सोहरा क्षेत्र भन्छन्। ब्रिटिसहरूले सोहरालाई चेरा भनिदिँदा अपभ्रंश भई चेरापुञ्जी बनेको रहेछ। पुञ्जी भनेको गाउँ जनाउने शब्द हो।
बाटोमा चुनढुंगाले बनेका डाँडा, मैदान, जंगल र फाँटहरूमा बग्दै एकाएक खोंचहरूमा झर्ने खोल्साहरू र त्यसबाट बनेका सुन्दर झरना जस्तै नोहस्गिथियांग जसलाई सेभेन सिस्टर्स फल पनि भनिन्छ तथा नोहकलिकाईको चित्ताकर्षक दृश्यावली भेटिन्छन्।
तिनै चुनढुंगाबाटै बनेका ओडारजस्तै मावोस्माई गुफा पनि छन्। ती सबै पर्यटकीयस्थल तिरको बाटोमा पर्ने प्रायः सबै बस्तीमा होमस्टे व्यवस्था छ।
घना जंगल, राष्ट्रिय निकुन्ज र आरक्षहरू रहेका खासी पर्वत क्षेत्रमा केही यस्ता वन छन् जसलाई स्थानीयहरू पवित्र आत्माहरू बास गर्ने वृक्षहरू छन् भन्ने विश्वास गर्छन्। त्यसैले त्यहाँ विचरण गर्ने पशुपंक्षी, वन्यजन्तु र पर्यावरणलाई हानी गर्ने गतिविधि निषेध छ। त्यहाँ रुद्राक्षका रुख पनि पाइन्छन्।
बातचितक्रममा एक स्थानीय पर्यटन व्यवसायीले मेघालयको पर्यटन विकास अवधारणालाई यसरी प्रष्ट्याए, 'हामीले स्थानीय समुदायको संगठन र परिचालनसँग जोडेर पर्यटन विकास गरेका छौं।'
हुन पनि हामी जताजता घुम्न गयौं, सबै ठाउँ स्थानीयले नै प्रवर्द्धन र संरक्षण गरेका थिए। हाम्रो यात्रा प्याकेज मिलाउने, पथप्रर्दशन गर्ने सबै स्थानीय थिए। अझ सबैजसो महिला थिए।
समुदाय परिचालनको अवधारणाबाट पर्यटन विकास गरी समुन्नतिको लक्ष्य हासिल गर्नु आफ्नो राज्यको सोच रहेको भन्दै ती स्थानीयले भने, 'जसरी महात्मा गान्धीले समाजलाई संगठित र परिचालित गरेर बेलायती साम्राज्यबाट स्वतन्त्र हुने लक्ष्य हासिल गरे, त्यसरी हामी पर्यटन विकासको लक्ष्य हासिल गर्छौं।'
उनको यो सोचले मलाई आफ्नो देशबारे सोच्न लगायो। मलाई समावेशी पर्यटन विकास अवधारणाको महत्व सम्झायो।
सायद नेपालको पर्यटन विकास बहसमा यो अवधारणा चर्चा हुनु निकै आवश्यक छ। नेपाल भ्रमण वर्ष २०२० को परिप्रेक्षमा झन् सान्दर्भिक हुन्छ।
तीव्र आर्थिक समाजिक विकासको आकांक्षासँगै विकास सन्तुलन पनि आवश्यक हुन्छ। प्राकृतिक आकर्षणको प्रचुरता र सांस्कृतिक सम्पदाको बहुल ठाउँहरू पर्यटकलाई आकर्षक गर्न सक्षम हुन्छ।
हाम्रा हिमश्रृंखला, उपत्यका, जंगल र जैविक विविधता, नदी र ताल पर्यटन विकासका श्रोत हुन्। यिनै श्रोत उपभोग गर्दै पर्यटकीय गतिविधि मार्फत स्थानीय समुदायलाई आर्थिक अवसर प्रदान गर्न सकिन्छ। यसका लागि पर्यावरणीय प्रणाली र स्थानीय पहिचानको रक्षा गर्दै वातावरणमैत्री र सांस्कृतिक दिगोपनसहितको पर्यटकीय विकास गर्नुपर्छ।
भारतको स्वतन्त्रतापछि सन् १९७० सम्म हालको मेघालय क्षेत्र आसामअन्तर्गत थियो। सन् १९५५ सम्म विदेशीलाई मेघालय क्षेत्र घुम्न विशेष पास चाहिन्थ्यो। यद्यपी पूर्वोत्तर भारतमा विभिन्न आदिवासी समूहले छुट्टै पहिचानका लागि गरेका आन्दोलनले पटकपटक हिंसाको रूप लियो। यसका कारण यहाँका राज्यमा अस्थिरता कायम रहिरह्यो भने यी राज्य केन्द्रको नजरबाट पनि प्रायः एक्लै र टाढै रहे। आजसम्म पनि पूर्वोत्तर भारतका धेरै ठाउँ, त्यहाँको जनजीवन र संस्कृति रहस्यमय छ। अब विस्तारै भारतीय मिडियाहरू पुग्न थालेका छन्।
छुट्टै राज्य बनेपछि पनि सन् २००८ सम्म अस्थीिर सरकार झेलेको मेघालय त्यसयता भने शान्ति र स्थिरता उन्मुख छ। अझै पनि बंगलादेशसँग जोडिएका सीमा क्षेत्रतिरका घना जंगलमा उल्फा र बोडो राष्ट्रिय लोकतान्त्रिक मोर्चाको गतिविधि हुने र सीमा आरपार आतंकवादी संगठन लुकेर बस्न सक्ने आशंकाले यहाँको पर्यटन प्रभावित पाइन्छ।
विद्रोह नचलेको र शान्ति भएको अवस्थामा राज्यको भित्री स्थलमा पर्यटकीय सम्भावनाको खोज र विस्तार भइरहेको छ। मेघालयको प्रशासनिक संरचना मुख्यतः तीन पर्वतीय क्षेत्रमा विभाजित छ। खासी जातिको बाहुल्यता भएको खासी पर्वत क्षेत्र यहाँको मध्य भाग हो। यहाँ राजधानी शिलोंग पनि पर्छ। पूर्वी जयन्तिया जाति बहुल पर्वत क्षेत्र र पश्चिमको गारो जाति बहुल गारो पर्वत क्षेत्र।
यी सबै क्षेत्रमा स्थानीय समुदायको संगठन, संलग्नता र परिचालनबाट पर्यटनका पहलले मूर्तरूप लिइरहेका छन्।
हामीले यात्रा गरेका प्रायः सबै ठाउँ स्थानीयले सञ्चालन गरेका पर्यटकीय स्थल थिए। ती सबै स्थलमा प्रवेश शुल्क भारू १० देखि ४० सम्म तिर्नुपर्छ। धेरैजसो ठाउँमा क्यामराको भारु २० तोकिएको हुन्छ। त्यसरी प्रवेश गरेपछि पनि पर्यटन स्थलभित्र शौचालय प्रयोग गर्दा हरेक पटक भारु १० लाग्छ। सिधै गाउँलेको हातमा पर्ने भएर होला सबै ठाउँको शुल्क तिर्न हामीलाई खुसी नै लाग्यो।
यहाँका हरेक पर्यटन स्थलमा सरसफाइ कायम छ। मेघालयका बासिन्दामा सरसफाइप्रतिको जागरुकता तारिफयोग्य छ। सबै बस्ती र गोरेटा साँच्चै सफा देखिन्छन्। प्लाष्टिक प्रयोग दुरुत्साहन गरिएको छ भने कतिपय स्थानमा निषेधित छ। मावोंलिंनोंग त १३० वर्षदेखि नै सफागाउँ भनेर चिनिन्छ। हामी यही सुनेकाले कस्तो रहेछ भनेर हेर्न गएका थियौं।
यसबारे एउटा कथा रहेछ। १३० वर्षअघि हैजा फैलिएर गाउँले आक्रान्त भएछन्। अनेक पूजाआजा र ओखतीमूलोले पार लागेनछ। एउटी इसाई गुरुआमा आएर गाउँलेलाई सम्झाइ छन्- फोहोरले यो व्याधी फैलिएको हो। सफाइ गरे मात्र नियन्त्रण हुन्छ।
त्यसपछि गाउँले आआफ्नो घर, बाटो, खोला, किनार, सबै सफा गरे र रोग नियन्त्रण भयो। फेरि महामारी दोहोरिन नदिन गाउँलेहरू मुखियाको नेतृत्वमा मिलेर सफाइ अभियान नै सुरू गरे। यो अभियान संस्कार बन्यो र पुस्तान्तरण हुँदै आज पर्यन्त कायम छ।
त्यसैले यो कुनै सरकारी वा गैरसरकारी परियोजना बिना स्वतस्फूर्त समुदायको स्वचेतनाबाट भएको सरसफाइको उदाहरण भएको छ।
प्रवेश पास दिने काउण्टरमा बस्ने गाउँलेका अनुसार त्यहाँ सिजन बेला दैनिक ७०० सम्म पर्यटक भित्रिन्छन्। अफ-सिजनमा पनि प्रतिदिन ३०० जति आउने रहेछन्। हामीसँगै यात्रा गर्नेहरू नेपाली, भुटानी, बंगलादेशी र भारतका मध्यप्रदेश, पश्चिमबंगाल र आसामबाट आएका थिए। थोरै मात्रामा अमेरिकी-युरोपेली पनि थिए।
यहाँ प्रमुख भने भारतीय पर्यटक नै हुन्। आसामको गुवाहाटीमा रहेको तीर्थस्थल कामाख्या दर्शन गरेपछि चेरापुञ्जी पनि घुमौं भनेर आउनेहरू।
उनीहरूको मेघालय बसाइ लम्ब्याउन सरकार र उद्यमीहरूले समुदायसँग मिलेर विविध प्याकेज र आकर्षण बनाइरहेका हुन्छन्। पर्यटनका विविधता विकास गरिएको छ। जस्तैः सांस्कृतिक, प्राकृतिक, पर्यावरणीय, ग्रामीण, साहसिक, वन्यजन्तु र वनजंगल, आरामी र स्वास्थ्यलाभ जस्ता अनेक उद्देश्यले पर्यटक आउन सकून्।
मेघालयको दीगो पर्यटन योजना समग्र आर्थिक उत्पादकत्वकमा सुधार ल्याउन चाहिने द्रुत लगानी र कच्चा पदार्थको लागि कृषि र सो सम्बन्धित क्रियाकलाप जस्ता प्राथमिक क्षेत्र र उद्योग तथा खानी जस्ता क्षेत्र समेतलाई सुदृढ बनाउने गरी तयार गरिएको छ।
सन् २०११ को जनगणनाअनुसार २९ लाख ६४ हजार जनसंख्या भएको मेघालय राज्य २२,४२९ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ। क्षेत्रफल हिसाबले नेपालको प्रदेश ५ बराबर छ भने जनसंख्या गण्डकी र सुदूरपश्चिम प्रदेशभन्दा केही बढी छ।
नेपालको एक प्रदेश जत्रै आकारको मेघालयको पर्यटन विशेषता हाम्रा कतिपय ग्रामीण परिवेशसँग मिल्दोजुल्दो छ। ग्रामीण पर्यटन प्रवर्द्धननिम्ति हामीले केही अवश्य सिक्न सक्छौं। कम्तिमा सरसफाइको चेतना र संस्कार त अवश्य अनुसरण गर्न सक्छौं।
हामीसँग मात्रात्मक रूपमा अनगिन्ती सम्भवनायोग्य पर्यटकीय स्थल छन्, कतिपय पहिचान हुनेक्रममा छन्। धेरैजसो हचुवा विकासको मारमा परेका छन्। पर्यटकीय स्थल आसपास मौलिक परिवेश हराउने र पर्यावरणीय सन्तुलन बिगार्ने गतिविधि फस्टाइरहेका छन्।
स्थानीय समुदायलाई संकुचित राजनीति र स्वार्थको घेराबाहिर बसेर इमान्दारीपूर्वक आफ्नो क्षेत्रको पर्यटन विकासमा सामेल गराउनुपर्छ। पर्यटनका योजना, अवधारण विकास गर्न लागि परेका नीति निर्माता र विज्ञहरूमा समावेशी पर्यटन विकासको सोच आउनुपर्छ।
समावेशी पर्यटन विकासका लागि पर्यटन सचेतना, प्रचारमार्फत ब्राण्ड निर्माण र विकास, पर्यटक र सिटी केन्द्र बनाउने, रोडसाइड सुविधा बनाउने, आवास थप्ने, सहरी भ्रमण र यात्रा प्याकेज बनाउने जस्ता काममा स्थानीय समुदाय परिचालनलाई नै प्राथमिकता दिइनुपर्छ।
(लेखक माधव चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका-५, लाम्रा गाउँका बासिन्दा हुन्।)