लकडाउनमा बसेका बेला कर्णालीले भोगेका महामारीबारे खोजी गर्न मन लाग्यो। मेरो पढाइ पनि जनस्वास्थ्य भएकाले उहिल्यैदेखि चासो थियो।
केही किताबमा खोजेँ र केही स्थानीय जानकारलाई उनीहरूले सुने, देखे, भोगेका कुरा सोधेँ। महामारी बेला के भयो, कस्तो असर पर्यो? त्यसबाट सिक्न मिल्ने केही छ? यो आलेख त्यसैको चर्चा हो।
कर्णालीमा आठ सय वर्षअघि लेख्यशैली भए पनि अहिले ती इतिहासका दस्तावेज भेटिँदैनन्। धेरै उहिल्यै नष्ट भैसके, केही टाठाबाठाले लगे, लुटे, जलाई पनि सके। स्थानीयरूपमा लेखिने परम्परा हराइसकेकाले पुराना घटना अज्ञात बनेका छन्।
मैले भेटेका श्रोतअनुसार कर्णालीमा विभिन्न महामारीको १२५ वर्षे इतिहास भेटिन्छ। यहाँ विक्रम सम्बत् १९५१ यता लगभग सबै दशकमा कुनै न कुनै मानव तथा पशुजन्य महामारी फैलिएको पाइन्छ।
धेरैजसो महामारीका अगाडि र पछाडि समुदायले अभाव र अनिकाल भोग्छ। अनिकालले भोकमरी र कुपोषण ल्याउँछ। सामाजिक विभेद बढाउँछ। श्रम तथा यौन शोषण बढ्छ। समाज पछाडि धकेलिन्छ।
बुढापाकाले सुनाएअनुसार महामारीबाट बाँच्नेले तंग्रिएर सामान्य जीविकामा फर्किन निकै संघर्ष गर्नुपरेको थियो। त्यति बेला सामाजिक सन्तुलन बिग्रियो। अर्थव्यवस्था खस्कियो। जनशक्ति अभावले कृषि तथा उत्पादन प्रत्यक्ष प्रभावित भयो र जनजीविकामा मार पर्यो। कर्णालीक्षेत्र अहिलेसम्म गरिब र पछौटे रहनुमा यस्ता प्राकृतिक घटना पनि कारण हुन्।
कर्णालीमा प्लेग, बिफर, हैजा, झाडापखाला, रुघाखोकी, ठेउला र ज्वरोको महामारी थियो। धेरैजसो महामारी स्थानीय खोला, दरा र भेगमा केन्द्रित थिए। केहीले भने ठूला आकारका र धेरै क्षति पुर्याए।
१९५१ सालमा ठूलो हैजा फैलिएको थियो। कर्णालीका जनतामा हैजा सरसफाइको कमीले हुन्छ भन्ने ज्ञान नै थिएन। किनकी त्यसको एक सय वर्षपछिसम्म हैजा महामारी चलिरह्यो। खानेपानी सफा थिएन। खुला धारा, नाउला र खोलाको पानी खान्थे। चर्पी प्रयोग गर्ने बानी थिएन। खोल्साखाल्सी र बाटोघाटोमा दिशा हुन्थ्यो। झिँगा भन्किन्थ्यो। त्यसले हैजा, झाडावान्ता र जुकाको संक्रमण फैलिन्थ्यो। वर्खामा धेरै केटाकेटी मर्थे। दुई-चार बच्चा नमरेका घरै हुन्थेन। एक-दुइटा बाँच्छन् कि त भनेरै धेरै बच्चा जमिन्थे।
एउटा उखानै छ कर्णालीतिर- 'चार साउन खायाको छोरो, चार माघ खाएको थोरो।'
अर्थात् साउन-भदौमा धेरै केटाकेटी कुपोषण, झाडावान्ता, ज्वरो, गाला सुन्निने रोग र संक्रमण झेल्थे। कुपोषणले समेत थलिएर मृत्यु हुन्थ्यो। त्यस्तै, हिउँदको जाडो र घाँसपात अभावले भैंसीको दूध घट्थ्यो, खान नपुगी पाडापाडी मर्थे। अर्थात् सन्तान चार वर्ष पुग्दा बल्ल ढुक्क हुन्थे।
केही दशकयता हैजा र झाडापखाला प्रकोप कम भएको छ। स्वास्थ्यप्रतिको चेतना बढेको छ। खानेपानीका धारा बनेका छन्। चर्पीमा दिशा गर्ने र साबुन-पानीले हात धुने बानी बसेको छ।
कर्णालीमा हालसम्मकै भयानक महामारी भने १९७५ सालको पुस-माघ महिनामा फैलिएको ज्वरोखोकी हो।
रत्नाकर देवकोटाको संकलन अनुसार यो महामारी कर्णालीका सबै दरामा फैलिएको थियो। झन्डै ८ देखि १० घन्टाको उच्चज्वरोले मान्छे भकाभक मर्थे। धेरै गाउँ त रित्तै बनेका थिए।
उति बेलाका बुढापाकाबाट जुम्लाका रमानन्द आचार्यले सुनेअनुसार महामारीको कहर यस्तो थियो, लाश बोकेर मसानघाट लाने मान्छे नहुँदा घरै भत्काएर जलाउनु परेको थियो। कति ठाउँमा हिउँ परेर विचल्ली बढ्यो। मान्छे नहुँदा कतिले एक्लै दोचा लगाएर सानो लाशलाई गादोमा र ठूलोलाई डोकोमा बोकेर फाल्नुपरेको थियो। त्यसै फालिएर सडेका लाश गिद्ध र स्यालले खाएका थिए। काजकिरिया समेत गर्न सकेनन्।
त्यो समय पहिलो विश्वयुद्धको अवधि र सन् १९१८ मा फैलिएको स्प्यानिश फ्लुको विश्वव्यापी महामारीको समयसँग मिल्छ। अध्येता बेरी सि. बिसपले आफ्नो किताबमा कर्णालीका व्यापारमार्ग हुँदै भारतबाट त्यो महामारी जुम्ला पुगेको र त्यसले तिला उपत्यका सबभन्दा बढी आक्रान्त भएको लेखेका छन्।
महामारीले कतिपय गाउँ सखाप भए भने बचेका पनि अरूको स्याहार गर्नै नसक्ने गरी ग्रसित थिए।
मानवीय आउजाउ निकै कम हुने कालखण्डमा अन्य संसारसँग एक्लिएको कर्णालीसम्म त्यो महामारी पुगेको थियो भने, अनुमान गरौं- अहिले कोरोना भाइरस कति सहजै पुग्न सक्ला?
२०३४ सालमा बिफर रोग उन्मूलन हुनुअघि कर्णालीमा पटकपटक स्थानीय प्रकोप फैलिइरहन्थ्यो। स्थानीय भाषामा 'गेडा आउने रोग' भनिने यसको २०१४ सालमा महामारी थियो। यसलाई निको पार्ने भनेर 'भेद खोप्ने' चलन थियो। भेद खोप्नेलाई 'भेदी' भनिन्थ्यो।
उनीहरूसँग भेद खोप्ने सियोको मुठो हुन्थ्यो। गाउँदेखि केही पर ठाउँ बनाएर पूजा गरी नाडीमा खोप्थे। खोपेको ठाउँबाट अलिअलि रगत चुहिन्थ्यो। केही ओखती लगाएर फुकफाक पनि गर्थे। केही दिनमा पाप्री नपरेमा भेदले काम नगरेको भनि दोहोर्याइन्थ्यो।
उतिबेलाका बुढापाकाको नाडीमा भेदको खत देखिन्छ, बिसिजी खोपको जस्तो। मैले कुरा गरेका रमानन्द आचार्यको नाडीमा पनि छ। बिफरबाट बाँचेकाहरूको अनुहारमा बिफर निको भएको खतैखत हुन्छ।
कर्णालीमा २०२९, असोजदेखि बिफर उन्मूलन कार्यक्रम सुरू भयो। २०३० मा मुगुको गम्था र सुकाढिकमा बिफरका अन्तिम रोगी भेटिएका थिए। त्यति बेला एउटा रोगी फेला पारेर खबर गर्नेलाई हजार रुपैयाँ इनाम घोषणा गरिएको थियो।
कर्णालीका बुढापाकामा डरलाग्दो स्मरण भएको अर्को महामारी 'कालामात' हो। हनहनी ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, जिब्रो कालो हुँदै बिरामी निस्लोट बनेर मर्थे।
यो मुसा वा पशुबाट सर्ने एकप्रकारको प्लेग हो। २०२० दशकको मध्यसम्म यो रोगबाट धेरै मान्छे मरेका ६८ वर्षीय मेरी आमा भन्नुहुन्छ। छिमेक गाउँतिर निकै मान्छे मर्न थालेपछि आफ्ना गाउँले मिलेर तिलानदी छेउको कालिका थानमा रातदिन आराधना गरेको स्मरण सुनाउनुहुन्छ।
त्यति बेला जुम्लाबाट काठमाडौं पढ्न आएका विद्यार्थी घर फर्किँदा यस्तै रोगले भटेर मर्ने गरेका जुम्लाकै शंकर आचार्य बताउँछन्। कालिकोटका दुर्गाप्रसाद पण्डित पनि पटकपटक कालामात रोग फैलिएर धेरै मान्छे मरेका स्मरण गर्छन्।
यस्तो सरुवारोगले मरेका लाश कसैले नछुने तथा किरियाकर्म पनि ६ महिनापछि गरिन्थ्यो। महामारी फैलिँदै जाँदा परिवारबाहेक अरू मान्छेलाई नछुने, बाटो-पानी अलग्गै गर्ने, पूजापाठ गर्ने र सफाचोखो खाने गरिन्थ्यो।
त्यस्तो प्रयोग अहिले कोरोना रोकथामका उपाय जस्तै हो। उति बेला पनि गाउँहरू 'लकडाउन' गरिन्थे। शंकास्पद मान्छे 'क्वारेन्टाइन' वा 'आइसोलेसन'मा राखिन्थे। त्यति बेला रोग गराउने जीवाणुको स्वभाव थाहा हुन्थेन, रोग फैलिरहेको पूर्वसूचना हुन्थेन। त्यसैले महामारी फैलिनु अगावै त्यस्ता उपाय गर्न सकिन्थेन। अहिले विज्ञानले हामीलाई धेरै सुविधा र अवसर दिएको छ। त्यसैलै हामी क्षति बिनै महामारी नियन्त्रण गर्न सक्छौं।
२०२६ सालतिर नेपाल, तिब्बत र भुटान भ्रमण गर्ने विदेशी लेखक जे. बर्निस्टेनले गाईवस्तुबाट मान्छेमा सर्ने महामारी फैलिएर पश्चिम नेपालको एउटा गाउँमा १५० चौपाया र २७ मान्छे मरिसकेपछि हेलिकप्टरबाट डाक्टर गाउँ पुग्दा बिरामीको घरमा झन्डा गाडिएको देखेका थिए। सद्दे मान्छेहरू यसलाई नाघेर गए देउता लाग्छ भन्ने ठान्थे।
यसरी बिरामीलाई क्वारेन्टाइन गरेकाले धेरै जीवन बचेको थियो। डाक्टरहरूले सुरूमा त्यो महामारी पशुजन्यरोग 'एन्थ्र्याक्स' भएको सोचेका थिए। तर त्यहाँको नमूना अमेरिकामा रोग नियन्त्रण विभागको ल्याबमा परीक्षण गर्दा 'बुबोनिक प्लेग' रहेछ। गाईवस्तुमा भने रेन्डरपेष्ट महामारी चलेको रहेछ।
२०२६ सालकै माघमा रुघाखोकीले कैयौंको मृत्यु भयो। धेरैजसो बुढाबुढी मरे। सरकारको स्वास्थ्य सेवा प्रणाली मजबुत थिएन। सञ्चार सुविधा थिएन। प्रशासनको सहयोग माग्दा स्वास्थकर्मी आउने बेलासम्म महामारीले ठूलै रूप लिइसक्थ्यो। उति बेला 'मर्ने अघि, डाक्टर पछि' भन्ने आहान समेत बन्यो।
२०२० चतमा राजा महेन्द्रको भ्रमण हुने भएपछि जुम्लामा अस्पताल बनाइयो। पन्ध्र शैयाको अस्पताल बन्ने भने पनि २०२१ सालदेखि आठ शैयामात्र चल्यो। २०३६ मा बल्ल १५ शैया बन्यो। पूरै चालु नभए पनि त्यहाँ अहिले तीन सय शैया क्षमताको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। महामारी फैलिँदा यो संस्थाले कसरी काम गर्छ, हेर्न बाँकी नै छ।
२०४३ सालतिर हुम्लाको दक्षिणी भाग मकै, तुम्च र श्रीनगरतिर हैजा र औलोसँगै फैलिएको थियो। मान्छे गाउँ छोडी लेकतिर भागेको अनुभव उति बेला फिल्डमा खटिएका देवीलाल चौंलागाईले सुनाए।
महामारी फैलिएको खबर पाएपछि सात जना स्वास्थ्यकर्मीको टोली पुग्दा गाउँ रित्तै थिए। गाईवस्तु जताततै घुमिरहेका थिए। गाउँमा लाश उसै भेटिन्थे। बाँचेका डेढ-सय जति मान्छे लेकतिर भागिसकेका रहेछन्। सुरूमा त गाउँलेले स्वास्थ्यकर्मीलाई लेकतिर पस्नै दिएनन्। ती स्वास्थ्यकर्मी पनि काम सकेर सदरमुकाम फर्किँदा औलोले थला परेका थिए।
२०४५ सालतिर भोटक्षेत्रका किर्मी र लिमीमा पनि त्यस्तै प्रकोप फैलिएको थियो। तर आफैं सेलायो।
जाजरकोटमा २०६६ सालमा फैलिएको हैजा र झाडापखाला महामारीले सर्वत्र ध्यान खिचेको थियो। सरकारको सबै संयन्त्र सक्रिय भएर त्यसलाई नियन्त्रण गर्न केही महिना लाग्यो।
तर पछिल्लो पटक २०७१ सालमा जाजरकोटमा फैलिएको इन्फ्लुएन्जा महामारी अहिलेको कोरोना जस्तै थियो। भाइरसको प्रजाति फरक भए पनि यसको सर्ने चरित्र उस्तै छ। त्यो बेला करिब महिनादिन चलेको प्रकोपमा ३५ जना मरे। त्यसमध्ये आधाजसो ६० वर्षमाथि उमेरका बिरामी थिए।
चैतको मध्यतिर स्कुले विद्यार्थी माझ देखिएको रुघाखोकीको लक्षण तीन हप्ताभित्र जाजरकोटका पैंक, साक्ला, नायकबाडा, टालेगाउँ, रामीडाँडा, रोकायागाउँ, लाह, कोरतागी र मझकोटसम्म फैलिएको थियो। समयमै नियन्त्रणका प्रयास भएकाले अन्यत्र फैलिनबाट रोकियो। यो महामारीको पनि सञ्चार माध्यममा निकै चर्चा थियो। तर लगत्तै आएको भुइँचालोले सबै ध्यान उतै गयो।
कर्णालीका अधिकांश मान्छेको जीविका पशुपालनसँग जोडिएको छ। त्यसैले पशुवस्तुबाट उब्जिने 'एन्थ्र्याक्स' र 'बुबोनिक प्लेग'जस्ता महामारी पनि फैलिने गरेको पाइन्छ। पशुवस्तुमा पनि महामारी कहर थियो।
इतिहासमा विक्रम सम्बत् १९८२, १९९२, २००८ र २०२३ मा पशुरोगको महामारीले धेरै गोठ रित्तो पारेको थियो।
चरिचरनको संकुचन र घट्दो पशुपालनका कारण अचेल पशुरोगको महामारी फैलिएको छैन। तर बथानमा हुने भेडामा फाट्टफुट्ट रोग फैलिएको समाचार सुनिन्छ।
अहिले जीवित कर्णालीको पहिलो पुस्ता थुप्रै प्रकोपका कहर काट्दै, भोग्दै, जोगिँदै आएको हो। विस्तारै खोप, व्यक्तिगत सरसफाई, पोषण, उपचार, शिक्षा र जीवनस्तरको सुध्रिँदै गयो र अहिले कैयौं महामारी कमजोर बने र केही हराए।
महामारीसँगै अब अलिकति अनिकालको कुरा गरौं।
कर्णालीमा प्रायः महामारीअघि वा पछि अनिकालले सताउने इतिहास छ। अनिकाल र अभावले कर्णालीको सामाजिक सन्तुलन प्रभावित र परिभाषित गरेको पाइन्छ।
सय वर्षभन्दाअघि अर्थात् १९७२ देखि १९७४ सम्म खडेरीले कर्णालीमा व्यापक अनिकाल परेको थियो। धेरै वस्ती कुलो सिँचाइ नहुने डाँडापाखामा छन्। सिंजा, जुम्ला, चिल्खाया, रास्कोट, दार्म जस्ता जीउलो हुने ठाउँका वस्तीबाहेक अरू ठाँउ निकै प्रभावित भए।
खाना अभाव यति चरम भयो कि बेसाहा गर्न आउनेलाई अन्न हुनेहरूले आर्थिक, श्रम र यौन शोषण समेत गर्न थाले। त्यति बेलाको अभाव चित्रण गर्न 'कैथा कैथा काँसा थाल, तीन पाथिउँदा गया बाल' जस्ता उखान र 'ढुटा रोटो, सिस्ना साग' जस्ता टुक्का बने।
त्यसपछि २००८, २०१७, २०२२, २०२९ सालको खडेरीले फेरि अभाव र अनिकाल निम्त्याएको थियो भने २००७ र २०१४ सालमा सल्यो (सलह) आएर बालीनाली सखाप पारेको थियो।
विपत्ति झेल्दै आएको समुदायले केही मौलिक जुक्ति अपनाएको हुन्छ। जस्तो सरकारी पहल र मानापाथी उठाएर जुम्लामा चन्दननाथ मन्दिर नजिक 'धरमभकारी' बनाएका थिए। रमानन्द आचार्यका अनुसार दियारका काठले बनेको भकारीमा अन्न भण्डार थियो जो अनिकाल पर्दा विपन्नलाई बाँडिन्थ्यो। अरुलाई चारपाथी लग्दा पाँचपाथी फिर्ता गर्नेगरी सापटी दिइन्थ्यो।
२०१४ सालको सलह आक्रमण बेला यसको खुब काम आएको रत्नाकार देवकोटाले लेखेका छन्।
विस्तारै कर्णाली परनिर्भर हुँदै गयो। सायद मान्छे सामुदायिकभन्दा आत्मकेन्द्रित हुन थाले। सरकार पनि उदासीन भइरह्यो र यस्ता कुरा हराउँदै गए।
२०२२ को खडेरीपछि सरकारले जुम्लामा पहिलोचोटी प्यारासुटबाट अन्न खसालेर बाहिरी खाद्यान्नको प्रवेश भयो। २०२९ को खडेरीपछि त खाद्यान्न राहत कार्यक्रम नै लागू भयो। योसँगै कर्णालीमा चामलको राजनीति विजारोपण भयो। अनिकाल र महामारीजस्ता विषमतासँग लड्न स्थानीयले सक्दो प्रयास गर्छन्। तर केही सीप नलागे देउताको शरण पुग्छन्।
यो शताब्दीका मान्छेका लागि कोरोना पहिलो विश्वव्यापी महामारी अनुभव हो। आफ्नै आँखाले प्रत्यक्ष बिरामी वा मृत्यु नदेखिन्जेलसम्म कुनै अदृष्य बैरीको औकात कमजोर नै लाग्छ। हाम्रो बानी यस्तै छ। हाम्रो संयन्त्रको पनि यस्तै व्यवहार देखिन्छ।
संसारभरका मान्छे र सरकार आत्तिएको देखेपछि केही सचेत बन्न खोज्दैछौं। तर नियम पूर्ण पालना गर्न सकेका छैनौं। बेलैमा नियन्त्रण गर्न नसकी महामारी विकराल बन्दै जाँदा दूरदराजका गाउँ सरकार र सहयोगीको पहुँच वा नियन्त्रण बाहिर जान सक्छन्।
सहज जीवनको अभिलाषा बोकेका अहिलेका मान्छेमा महामारी प्रहार सोचेभन्दा बढी निर्मम हुनेछ। सरकारले पनि दूरदराजलाई उत्तिकै प्राथमिकता दिनुपर्छ। अहिले कोरोनाको लडाइँमा सरकारलाई आमजनताको सहयोग र आमजनतालाई सरकारको आडभरोसा निकै जरुरी छ। जित अवश्य हुन्छ।
(लेखक चौलागाईं जुम्ला, तातोपानी गाउँपालिका, लाम्रा गाउँ निवासी हुन्।)