विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले 'कोरोना भाइरस तीन फिटभन्दा परबाट सर्दैन र हावामा धेरै बेर रहँदैन' भनेको छ। अमेरिकाको मेरिल्यान्ड स्कुल अफ पब्लिक हेल्थ विश्वविद्यालयका सरूवारोग विशेषज्ञ डा. डोनाल्ड मिल्टन भने सहमत छैनन्। उनी अहिले नै यस्तो निष्कर्ष निकाल्न नमिल्ने भन्दै डब्ल्युएचओको सूचनालाई 'गैरजिम्मेवारपूर्ण' मान्छन्।
डब्ल्युएचओको मास्कसम्बन्धी निर्देशिकामा पनि विवाद छ। ऊ 'स्वस्थ मान्छेले शंकास्पद बिरामी हेरचाह गर्दाबाहेक मास्क प्रयोग गर्नु पर्दैन' भन्छ। सिंगापुर, हङकङ, ताइवान लगायत एसियाली मुलुकले भने संक्रमण राम्ररी नियन्त्रण गर्न सक्नुको श्रेय मास्क लगाउने संस्कृतिलाई पनि दिएका छन्। साधारण मास्कले समेत संक्रमण बढ्न नदिन केही हदसम्म काम गरेको उनीहरूको ठम्याइ छ।
यी यस्ता उदाहरण हुन्, जसले नयाँ भाइरस (सार्स-सिओभी-२) बारे वैज्ञानिक बुझाइ पूर्ण छैन भन्ने देखाउँछ।
केही कुरा भने विज्ञान ठोकुवासाथ भन्ने स्थितिमा छ। जस्तो, यो भाइरस चमेराबाट सरेको भन्नेमा वैज्ञानिकहरू सर्वसम्मत छन्। चमेराबाट सालक हुँदै मानिसमा सल्केको उनीहरूको अनुमान छ।
चिनियाँहरू सालकको मासु र कत्ला खुब मन पराउँछन्। उनीहरूको यही रूचिले सालक लोप हुने अवस्थामा छ। महामारी फैलाउने भाइरस सालकबाट सरेको पुष्टि भए मानव जातिमाथि त्यो सानाे जीवको गज्जबको बदला हुनेछ।
अहिले सालकको बदलालाई यहीँ छाडौं र यो भाइरसबारे थाहा भएका अरू कुराबारे चर्चा गरौं।
कोरोना भाइरसले मान्छेको श्वासप्रश्वास र पाचन प्रणालीमा असर पार्छ। चीनको वुहानमा देखिएको यो भाइरस अहिलेसम्म जानकारीमा आएको सातौं कोरोना भाइरस हो। सन् २००३ अघि वैज्ञानिकलाई दुईखाले कोरोना भाइरसबारे जानकारी थियो। यी दुवैले रुघाखोकी ल्याउँथे। ज्यान लिने गरी खतरनाक भने थिएनन्।
सन् २००३ मा देखिएको सार्स तेस्रो कोरोना भाइरस हो। त्यसपछि वैज्ञानिकले राम्ररी खोजी गर्दा अरू दुईखाले पनि पत्ता लागेको थियो। थाहै नभई मानिसमा रहेकाले ती खतरनाक नहुने नै भए। सन् २०१२ मा मध्यपूर्वमा देखिएको 'मर्स' छैठौं कोरोना भाइरस हो भने अहिले वुहानमा देखिएको सातौं।
यो भाइरसको सतहमा च्याउजस्तो 'क्याप' हुन्छ, जुन फोक्सो र मिर्गौलाजस्ता अंगमा सार्स भाइरसभन्दा १० गुणा राम्ररी 'फिट' हुन्छ। श्वासप्रश्वासको माध्यमबाट मिर्गौलामा पुग्न नसक्ने भएकाले फोक्सोमा आक्रमण गर्छ।
यो भाइरसले हाम्रो शरीरमा प्रचुर पाइने 'फ्युरिन' भन्ने रस प्रयोग गरेर आफ्नो सतहको च्याउजस्तो क्याप र डाँठ छुट्याउँछ। यसबाट भाइरस हाम्रो कोषिकामा प्रवेश गर्छ। सार्स र मर्स भाइरसमा यस्तो गुण थिएन। यही कारणले यति धेरै संक्रामक भएको वैज्ञानिकहरूको निष्कर्ष छ।
साधारण रुघाखोकीको भाइरसले प्राय: श्वासप्रश्वास प्रणालीको माथिल्लो भाग, अर्थात् नाक र घाँटीमा संक्रमण गर्छ। सार्स र मर्सले फोक्सोसम्म असर गर्छ। यो भाइरसले भने श्वासप्रश्वास प्रणालीको सम्पूर्ण भागमा संक्रमण गर्छ र पूरै भागमा फैलिन्छ।
यो भाइरस कुन उमेर समूह र लिंगमा बढी फैलिन्छ भन्ने पनि अनुसन्धान भइरहेको छ। अहिलेसम्मको तथ्यांकले वृद्ध-वृद्धा, मुटुरोग, श्वासप्रश्वास, डायबेटिज र अरू खालका रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा घातक हुने देखाएको छ। रोगसँग जुधिरहेका स्वस्थ युवा स्वास्थ्यकर्मीलाई पनि भाइरसले मृत्युको मुखसम्म पुर्याएको छ। उनीहरू लगातार धेरै परिमाणको भाइरससँग सम्पर्कमा आउनुलाई कारण मानिएको छ।
त्यस्तै, महिलाको तुलनामा पुरुष धेरै संक्रमित छन्। सिकिस्त र मृत्यु हुनेहरू पनि धेरै पुरूष छन्। यसको कारण यकिन छैन, तर महिलाभन्दा पुरुष धेरै धूमपान गर्ने भएकाले श्वासप्रश्वासको समस्या धेरै हुन्छ। त्यही भएर यो भाइरसले पुरुषलाई धेरै हानी गरेको अनुमान छ।
हर्मोनका कारण पनि यस्तो भएको हुन सक्छ। सन् २०१७ मा आयोवा विश्वविद्यालयका शोधकर्ताले मुसामा सार्स भाइरस संक्रमण गर्दा धेरै भाले मरेका थिए। पोथी मुसाको अंडाशय झिकेपछि पोथीको पनि मृत्युदर बढेको थियो। यस आधारमा पोथीमा हुने 'इस्ट्रोजेन' हर्मोनले भाइरसबाट जोगाउन सक्छ भनेर शोधकर्ताले 'जर्नल अफ इम्युनोलोजी' मा लेखेका छन्।
यो भाइरसबारे त्यस्तो शोध भएको छैन। त्यसैले, हर्मोनकै कारण भएको मान्न सकिन्न। पुरुषका तुलनामा महिला धेरै सफासुग्घर रहने र हात राम्ररी धुने भएकाले पनि यसो भएको हुन सक्छ।
यो लेख लेख्न सुरू गर्दा कोरोना भाइरसले संसारभर झन्डै ३३,८०० को ज्यान लिएको थियो, लेखिसक्दा ३४,००० नाघिसकेको छ।
अमेरिकी सरकारको सरूवारोगसम्बन्धी मुख्य विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा मात्र एक लाखभन्दा बढीको मृत्यु हुने अनुमान गरेका छन्।यसले त्रास अझ बढाएको छ। अमेरिकाजस्तो देशमा त त्यत्रा धेरै मर्छन् भने हाम्रोमा के होला भनेर डर हुनु स्वाभाविकै हो।
अब यसबाट कसरी बच्ने त?
दुइटा मात्रै उपाय छन्- पहिलो, औषधि वा खोप पत्ता लगाउने र अर्को यसलाई सारा जनसंख्यामा फैलिन दिने।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन 'हर्ड इम्युनिटी' (सबैमा प्रतिरोधात्मक क्षमता) भनिने दोस्रो उपाय अवलम्बन गर्ने सोचेर बसेका थिए। भाइरसको उद्देश्य हामीलाई मार्ने नभएर सकेसम्म धेरै फैलिने भएकाले अन्त्यमा यो परिस्कृत हुँदै जान्छ। हाम्रो शरीर र ऊ आफूलाई फाइदा हुने गरी कम खतरनाक हुन्छ र अझ धेरै फैलिन्छ।
वैज्ञानिकहरूका अनुसार, भाइरस परिस्कृत भएर झन् खतरनाक हुने भनेको सिनेमा र उपन्यासमा मात्र हो। परिस्कृत भएर झन् खतरनाक भए पनि त्यो आफैं नाश भएर जान्छ र कम खतरनाक प्रकृतिको मात्र बाँकी रहन्छ भन्ने उनीहरूको भनाइ छ। यही आधारमा बेलायती प्रधानमन्त्री जोन्सन केही डाक्टर र वैज्ञानिकको सल्लाहमा दोस्रो उपाय पर्खेर बसेका थिए।
इम्पेरियल कलेज अफ लन्डनले त्यसो गर्दा एकदमै धेरै मानिसको मृत्यु हुने प्रक्षेपण गरेपछि उनी पछाडि हटे। अहिले बेलायतले पनि कडा कदम चालेको छ। जोन्सन आफैं कोरोना लागेर आइसोलेसनमा छन्।
उनको स्वभाव हेर्दा उनी सजिलै निको भए अझै पनि दोस्रो उपाय सही भन्न सक्छन्। तर, एनएचएस (नेसनल हेल्थ सर्भिस) जस्तो राम्रो स्वास्थ्य सेवा भएको बेलायतमा जोन्सनले त्यो बाटो रोजेनन् भने हामीले पनि त्यसो गर्ने कुरा नसोचे हुन्छ।
हामी आफैं दुवै उपाय अवलम्बन गर्न सक्दैनौं। त्यसो भए के हाम्रो विनाश अवश्यम्भावी छ त?
छैन। हामी आफ्नै बुतामा यो कहरबाट जोगिन सक्छौं। सबै घरभित्रै बसेर र संक्रमण फैलिन नदिएर भाइरसबाट जोगिन सक्छौं। स्पष्ट शब्दमा भन्ने हो भने, योभन्दा अर्को उपाय हामीसँग छैन। अरू देशले औषधि वा खोप पत्ता नलगाउञ्जेल वा अन्त फैलिएर यो भाइरस आफैं कमजोर नहुञ्जेल हामी जोगिएर बस्नुमै भलाइ छ।
अहिलेको समय सय वर्षअघिको स्पेनिस फ्लु वा त्योभन्दा अगाडिको महामारीजस्तो छैन। विज्ञानले धेरै तरक्की गरेको छ। सूचना प्रविधिले फड्को मारेको छ। पहिलेजस्तो एक-दुई व्यक्तिले एक्लै-दुक्लै नभएर संसारभरका डाक्टर-वैज्ञानिक यो भाइरसविरूद्ध सहकार्य गर्न सक्छन्।
डब्ल्युएचओ आफैंले संसारभरका डाक्टर एकैठाउँ जोडिन सक्ने माध्यम बनाएको छ। अरू बेला औषधि परीक्षणको विधि लामो हुन्थ्यो। यसपटक भने विभिन्न ठाउँका डाक्टरले बिरामीमा प्रयोग भइरहेका औषधि र त्यसको प्रभाव आपसमा बाँडेका छन्। डब्ल्युएचओले कुन ठाउँमा कुन-कुन औषधि बढी प्रभावकारी भइरहेको छ हेर्न सक्छ। त्यसैअनुसार डाक्टरहरूलाई बढी प्रभावकारी औषधि प्रयोग गर्न सुझाउन सक्छ।
अहिलेसम्म 'रेमडेसिभिर' भन्ने औषधिमा धेरैको आस छ। यो औषधि सार्स, मर्स र भविष्यमा आउन सक्ने नयाँ कोरोना भाइरसका लागि बनाइएको थियो। मलेरियाविरूद्ध प्रयोग हुने क्लोरोक्विन र एचआइभी-एड्सविरूद्धका औषधि पनि प्रयोग भइरहेका छन्।
कोरोना भाइरस लागेर निको भइसकेका व्यक्तिको रगत झिकेर बिरामीलाई दिने विकल्प पनि छ। निको भएका व्यक्तिको एन्टिबडी (रोगविरूद्ध शरीरले प्रयोग गर्ने अस्त्र) ले बिरामीलाई मद्दत गर्छ। यो ठूलो परिमाणमा गर्न सम्भव नभए पनि कुनै सहर वा निश्चित क्षेत्रभित्र प्रभावकारी हुन सक्छ।
आइतबार साँझ मात्रै चीनको राष्ट्रिय अंग्रेजी दैनिक 'ग्लोबल टाइम्स' ले चिनियाँ वैज्ञानिकले यो भाइरस सोसेर यसलाई ९६.५-९९.९ प्रतिशतसम्म निस्क्रिय पार्ने पदार्थ पत्ता लगाएको दाबी गरेको छ।
चिनियाँ वैज्ञानिकले भाइरसको 'जिनोम' (अणुवांशिक पदार्थको संरचना) सार्वजनिक गर्नेबित्तिकै संसारभरका वैज्ञानिक यसको अध्ययन सुरू गरी औषधि र खोप बनाउन जुटे। नेपालमा भाइरस संक्रमित दोस्रो किशोरी दोहाबाट जहाज चढेर काठमाडौं आएको दिन अमेरिकामा यसविरुद्ध खोपको पहिलो परीक्षण सुरू भयो।
अरू पनि धेरै खोप र औषधिमा काम भइरहेको छ। खोप निरोगी मान्छेमा लाउने भएकाले यसले कुनै दुष्प्रभाव वा नोक्सान नहुने प्रमाणित भएपछि मात्र प्रयोगमा ल्याइन्छ। सिकिस्त बिरामीमा औषधि प्रयोग गर्न भने त्यत्रो कुर्नु पर्दैन।
यसको जिनोमबारे पनि धेरै अध्ययन भइरहेका छन्। भाइरसलाई हाम्रो शरीरमा पाइने 'फ्युरिन' भन्ने रस प्रयोग गर्न नदिन फ्युरिन उत्पादनमै रोक लगाउने औषधि वा अरू कुनै माध्यमबाट यसको वृद्धि नियन्त्रण गर्ने औषधि बनाउन सकिन्छ। संसारका सारा डाक्टर र वैज्ञानिक यसैमा केन्द्रित भएकाले चाँडै नै औषधि पत्ता लाग्ने आस गर्न सकिन्छ।
हाम्रो सरकार वुहानबाट भाइरस फैलिन थालेको तीन महिनाभन्दा बढी सुतेर बस्यो। गत सातादेखि देशव्यापी लक-डाउन, सीमानाकाहरू बन्द र अन्तर्राष्ट्रिय उडानमा रोक लगाएर जागेको छ। अझै पनि स्थिति हाम्रो नियन्त्रणबाहिर गएको छैन।
हाम्रोमा जति गरिनुपर्ने हो, त्यति परीक्षण नभएकाले पक्कै पनि पाँच जनाभन्दा धेरैमा रोग लागिसकेको हुनपर्छ। अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गर्नुभन्दा केही साता अघिदेखि संक्रमित मुलुकबाट आएकालाई क्वारेन्टाइनमा राख्न र संक्रमण पुष्टि भइसकेपछि पनि उनीहरूसँग सम्पर्कमा आएकालाई अलगथलग राख्नबाट सरकार चुकेको छ।
संक्रमितको संख्या पक्कै धेरै होला, तर अहिलेसम्म कसैको मृत्यु भएको छैन। दुबईबाट फर्केर आइतबार बुटवलको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ३४ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ। यस अर्थमा हामी अझै भाइरसले कहर मच्चाएको अरू देशका तुलनामा राम्रो स्थितिमा छौं।
अब हामीले घरबाट बाहिर ननिस्किएर भाइरसलाई परास्त गर्ने हो। यो अवधिमा स्वास्थ्य, सुरक्षा र अरू अत्यावश्यक सेवामा संलग्नबाहेक सबै घरमै बसौं। साबुनपानीले निरन्तर हात धोऔं र सरसफाइमा ध्यान दिऔं। ज्वरो आयो र रोगका लक्षण देखिए परिवारका अरू सदस्यसँग छुट्टिएर आइसोलेसनमा बसौं। ८० प्रतिशतभन्दा बढी बिरामी आफैं निको हुन्छन्। सास फेर्न अप्ठयारो भयो भने मात्र अस्पताल जाऔं। घर साँघुरो छ र आइसोलेसनमा बस्न मिल्दैन भने सरकारलाई भनौं।
सरकारले घरमै आइसोलेसन वा क्वारेन्टाइनमा बस्न नमिल्नेलाई बस्ने व्यवस्था गर्नुपर्छ। उनीहरूको खानपिनको जिम्मा लिनुपर्छ।
चीनबाट 'टेस्टिङ किट' आइसकेकाले सरकारले अब परीक्षणको दायरा विस्तार गर्नुपर्छ। संक्रमितलाई अरूको सम्पर्कबाट अलग्गै राखेर आवश्यक परीक्षण गर्नुपर्छ। अरू पनि लक्षण देखिएका गम्भीर बिरामीको परीक्षण गर्नुपर्छ।
सरकारले दैनिक ज्यालादारी काम गर्नेलाई आइतबार राहत घोषणा गरेको छ। पर्याप्त सावधानीसहित राहत बाँड्यो भने उनीहरु पनि घरमै सुरक्षित बस्न सक्छन्। यो रोगसँग अग्रपंक्तिमा रहेर जुधिरहेका स्वास्थ्यकर्मीलाई आवश्यक पिपिई लगायत सुरक्षा सामग्री उपलब्ध गराउन पनि ढिला गर्नु हुँदैन। आफैं गुणस्तरीय सामग्री उत्पादन गरेर हुन्छ कि बाहिरबाट किनेर, सरकारले उनीहरूलाई उपलब्ध गराउनैपर्छ। आफू घरमा बसेर स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीबिना युद्धको अग्रपंक्तिमा जाओ भन्नु गम्भीर अपराध हो।
घर बस्दा पनि व्यर्थको तनाव नलिऔं। सकेसम्म सन्तुलित खाना खाऔं। घरबाट काम गर्न मिल्छ भने गरौं। मिल्दैन भने आफूलाई मन पर्ने काम गरेर बसौं। पढ्न-लेख्न, गीत सुन्न, सिनेमा हेर्न, नाच्न वा घरका सदस्यसँग समय बिताउन- जे गर्दा खुसी हुन्छ त्यही गरौं। अनि मस्त सुतौं।
हामी घरमै बसौं, सरकारले अत्यावश्यक सामग्री आपूर्तिको जिम्मा लेओस्। यतिञ्जेल सरकार सुतेर बस्यो, अब हामी सुतौं र सरकारलाई काम गर्न लगाऔं। काम गर्दा बदमासी या भ्रष्टाचार गर्छ कि भनेर निगरानी भने गरौं।
उसै पनि यी सबै गर्न हामीसँग अरू बेला समय हुन्न। तनाव र अनिद्राले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा छोटो समयमै ठूलो नोक्सान गर्छ। हामीलाई यो भाइरससँग लड्न रोग प्रतिरोधात्मक क्षमता दुरुस्त चाहिन्छ। सन्तुलित भोजन गर्यौं भने त्यसले अझ सघाउँछ।
त्यो सालक पनि चीनको वुहानमा मान्छे खोज्दै पक्कै गएको थिएन। यो भाइरस पनि हामीलाई खोज्दै हाम्रो घरभित्र पक्कै आउँदैन!