पृथ्वीलोकका सम्पूर्ण मानव जाति आज एउटा निर्जीव विषाणुको प्रकोपमा प्रलयको सामना गर्दैछ। मानव जातिको अस्तित्व डगमगाउँदो छ। विश्व राजनीतिलाई मृततुल्य निश्चल बनाइदिएको छ। विश्व आर्थिक संरचना ढल्ने अवस्थामा छ। मानव सभ्यता विकास क्रममा हासिल भएका ज्ञान, विज्ञान र प्रविधि एक निर्जीव विषाणु 'कोरोना भाइरस' सामु घुँडा टेकेको निरीह अवस्थामा छ।
चौबीसै घन्टा मानव सागरमा सदा कम्पनसहित चहलपहलमा रहने नगर र महानगरहरू, विमानस्थलहरू एवं समुद्री तटहरू सबै मुर्दाशान्तिमा निर्जन छन्। कहीँ चहलपहल छैन। मान्छेले मान्छेलाई स्पर्श गर्न मिल्दैन। आ–आफ्नो दुलोमा मुसा लुकेझैं लुकेर बस्नुपरेको छ। अधिकांश देशले मानव चहलपहल वर्जित गर्दै 'लकडाउन' गरेका छन्। नेपालले पनि चैत ११ बाट लकडाउन गरेको छ। हामी आ–आफ्नै घरभित्र गृहबन्दी बनेका छौं।
सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनमा प्रकट भएको 'कोभिड–१९' नामक भाइरसले हालसम्म (अप्रिल ६, २०२०) विश्वका २०८ राष्ट्रलाई आफ्नो संक्रमणको चपेटामा ल्याइसक्यो। त्यसबाट १२ लाख ८४ हजार ७ सय ५४ व्यक्तिलाई रोगले समातिसक्यो। तीमध्ये ७० हजार ३ सय २० जनाले ज्यान गुमाइसकेका छन्।
यो रोगको महामारीमा सबभन्दा डरलाग्दो पक्ष यसको सरुवा प्रवृत्ति हो। मानिसबाट मानिसमा सर्ने र संक्रमित मानिसको पहिचान नहुने भएकाले सबै जना सबैसँग डराउनुपर्ने अवस्था छ।
चीनको वुहान प्रान्तमा सर्वप्रथम प्रकट भएपछि ६७ दिनभित्र एक लाख संक्रमित भए। त्यसको ११ दिनभित्र अर्को एक लाखमा फैलियो। त्यसपछि त मात्र चार दिनमा नयाँ एक लाख रोगग्रस्त भए। संक्रमित संख्या दिनदिनै होइन, छिनछिनमा बढ्दो छ।
कोभिड–१९ मानव मात्रमा केन्द्रित छ। अरू कुनै प्राणी, जलचर, स्थलचर वा नभरमा यो रोग एकाधबाहेक खासै देखिएको छैन। पृथ्वीमा मानव प्रजाति 'होमो सेपियन्स' लगायत १४ लाख जीव र वनस्पतिका प्रजाति वैज्ञानिकले पहिचान गरेका छन्। मानिसजस्तै स्तनधारी जीवको प्रजाति पनि चार हजारभन्दा धेरै छ। ती कसैमा कोरोना भाइरसले रोग लगाउँदैन। बरू तिनकै शरीरभित्र क्षेप्यास्त्रका रूपमा मानिसलाई प्रहार गर्ने अस्त्र बनेर बसेको पाइयो।
हालको कोभिड–१९ भाइरस चमेरो प्रजातिमा रहेको रहस्य खुलेको छ। त्यो भाइरस चमेरोबाट सालकमा प्रवेश भयो। सालकको मासु र कत्ला चीन लगायत विभिन्न देशमा अत्यधिक प्रयोग हुने गरेकाले मान्छेमा सरेको आशंका छ।
सालक विश्वको सबभन्दा धेरै बेचबिखन हुने र अवैध व्यापारमा ठूलो हिस्सा ओगट्ने जनावर हो। चमेरो र सालक पनि मान्छेजस्तै स्तनधारी जनावर हुन्। चीनको एक वन्यजन्तुको आलो बजारबाट कोरोना फैलिएको थियो।
मानिसले गरेको अत्यधिक खपतले सालक लोपोन्मुख प्राणीमा दाखिल छ। 'साइटिस' नामक अन्तर्राष्ट्रिय महासन्धिले सालकका सबै प्रजाति बेचबिखन र ओसारपसारमा सन् २०१७ बाट निषेध गरेको छ। तै पनि अवैध व्यापारले वन्यजन्तुको आलो व्यापारमा सालक पुग्न छाडेको छैन।
कोरोना भाइरसको वर्तमान प्रकोपपछि चीनले वन्यजन्तुको व्यापार र वन्यजन्तुका मासु खान तथा खुवाउन पूरा प्रतिबन्ध लगाएको छ। कतिपय मानिस कोरोना भाइरसलाई सालक र यस्तै वन्यजन्तुको प्रतिशोध त होइन भनेर प्रश्न पनि उठाउँछन्।
ढोलक बजाइ-बजाइ प्रारम्भ भएको सन् २०२० को नयाँ वर्षले चार महिना नकट्दै पृथ्वीको वातावरणमा नवीन स्वच्छता छर्न थालेको छ। मनोरञ्जनमा उछलकुद मानिसै-मानिसको छालमा उर्लिने समुद्री तटमा जलचर कछुवा, गंगटा, गोही, शिल र सार्क निर्भीक देखिन थालेका छन्। नदीनाला, ताल र झरनाबाट स्वच्छ पानी बग्न थालेको छ। लन्डन, पेरिस, म्याड्रिड, न्यूयोर्कजस्ता सहरमा पनि चराको चिरबिर सुनिन थालेको छ। मृग, स्याल, जंगली बिरालो, निर बिरालो र पुमासमेत महानगरका सडकमा निर्वाध हिँड्न थालेका उदाहरण छन्।
नासाको अध्ययनले पनि चीनको आकाशमा नाइट्रोजन–डाइ–अक्साइडको प्रदूषण ह्वात्तै घटेको देखाएको छ। विश्वका अधिकांश सहरमा हावा स्वच्छ हुन थालेको अनुभव हुँदैछ। हाम्रो आफ्नै कुरा गर्दा पनि आकाशमा चैते तुँवालो छैन। टाढा–टाढाका दृश्य घरकै छानाबाट देखिन थालेको छ। बिहानी मिर्मिरेमा चराचुरुंगीका आवाज प्रस्ट सुनिन थालेको छ। बगैंचामा पुतली अधिक देखिन थालेका छन्।
समग्रमा भन्नुपर्दा, पृथ्वीको प्रदूषित वातावरणलाई कोरोनाले बडार्दै स्वच्छ बनाउँदो छ।
आज विश्वका सात अर्ब ६० करोड मानव प्रजातिको मन, मस्तिष्क र मुखभरि कोरोनाको बास छ, कोरोनाको त्रास छ। सबै आक्रान्त छन्। सभ्यता विकासमा मानव अस्तित्व संकटमा पार्ने विश्वव्यापी संक्रमण कहिल्यै भएको थिएन।
यस संक्रमणकारी भाइरसको आफ्नै ज्यान छैन। तसर्थ अरू जीवाणु (ब्याक्टेरिया) मार्ने औषधिले यसलाई छुँदैन। यसको प्रतिरोधात्मक खोप पनि हामीसँग छैन। यसबाट बच्ने उपाय भनेको, एक व्यक्तिबाट अर्कोमा सर्न नदिनु नै हो। यस विषाणुको प्रवेशद्वार हाम्रो मुख, नाक र आँखा हुन्।
धेरै मानिसको आँखा, नाक, मुख र कान हातले छुने, मिच्ने र कोट्याउने बानी हुन्छ। हातले नछोइ कुनै काम हुँदैन। कोरोना विषाणु सार्न हातको अग्रणी भूमिका रहन्छ। त्यही भएर बारम्बार हात धुनुपर्छ भन्ने विज्ञहरूको भनाइ छ।
यो विषाणुलाई एक प्रकारको चिल्लो पदार्थले ढाकेको हुन्छ। यसको रक्षा कवच त्यही चिल्लो पदार्थ हो। चिल्लो पदार्थ नष्ट गर्ने गुण साबुनपानीमा हुन्छ। साबुनपानीले बारम्बार हात धोइपखाली गर्नाले यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्न सक्दैन।
त्यस्तै, नाकमुख छोप्ने 'मास्क' लगाएर बस्यौं भने आफ्नो शरीरभित्र भाइरस छ भने पनि अरूमा सर्न सक्दैन। मानिसबाट मानिसमा सर्ने विषाणु भएकाले व्यक्ति–व्यक्तिको दुरी दुई मिटर कायम गर्ने तथा अरूको सम्पर्कमा नआउन सामाजिक दुरी बनाइराख्ने रणनीति सबैले अवलम्बन गर्न थालेका छन्। विश्व स्वास्थ्य संगठन एवं विभिन्न सरकारले रोगबाट बच्ने उपायको तौरतरिका व्यापक गर्दै छन्।
तर, प्रश्न एउटै छ– यो कहिलेसम्म?
नेपालमा लकडाउन सुरू भएको दुई साता बितेको छ। थुप्रै सावधानीका उपाय सार्वजनिक हुँदैछन्। गृहबन्दी बनेर बस्दा धेरै हितैषी मित्रवन्धु एवं नाता–कुटुम्बबाट टेलिफोन सद्भावहरू प्राप्त हुँदैछन्।
म र मेरी पत्नीजस्ता ज्येष्ठ नागरिकहरू बढी सतर्क हुनुपर्ने कुरा सर्वत्र सुनिन थालेका छन्। केही दिनअघि चैत १७ गते कान्तिपुर टेलिभिजनमा चीनको वुहानबाट फर्केका एक नेपाली युवा डाक्टर आफ्ना अनुभव र भावना सुनाउँदै थिए। युवाहरू तर्सिन पर्दैन भन्ने सन्देश दिन खोजेको मैले अनुभूत गरेँ।
निर्भीक हुनु युवाको स्वभावै हो। कोभिड–१९ मान्छेबाट मान्छेमा र त्यो पनि स्पर्श र संसर्गका कारण सर्ने प्राणघातक रोग हो। महामारी फैलाउन सक्रिय भूमिकामा युवा वर्ग अग्रपंक्तिमा देखिनु पनि स्वाभाविक हुन्छ। इटालीको महामारीमा युवाको लापरबाहीलाई धेरैले औंल्याउन थालेका छन्। युरोप र अमेरिकाका महानगर संक्रमणका नयाँ केन्द्र बन्दै जानुमा मानिसको आवतजावत र भीडभाड विशेष कारक बनेको छ।
यो संक्रमणले संसारभरिका मानिसलाई कुनै भेदभाव गरेको छैन। चैत १६ का दिन प्रसारण भएका समाचारमा स्पेनकी राजकुमारीको मृत्यु भएको सुन्नुपर्यो। उनी ८६ वर्षकी थिइन्। मानिसको सामान्य आयु सय वर्ष मान्ने हो भने उनको १४ वर्षको जिन्दगी (आयु) ले मृत्यु वरण गर्यो।
कुनै किशोर वा किशोरी १४ वर्ष उमेरमा कोरोनाबाट मर्छ भने उसको ८६ वर्षको जिन्दगानी मृत्यु भएको ठहर्छ। एउटा लामो भविष्यको निधन हुन्छ। लामो भविष्य बोकेका युवावर्गले यसतर्फ ध्यान दिनुपर्छ। कोरोनाबाट बच्ने र बचाउने सबै उपाय अवलम्बन गर्नुपर्छ। नजरअन्दाज गर्ने बेला यो होइन।
आज विश्व अत्तालिएको अवस्थामा छ। इटालीका प्रधानमन्त्रीले गहभरि आँसु झारेर जनतालाई सम्बोधन गरेको हामीले देख्यौं। जर्मनीका चान्सलर स्वयं कोरोना संक्रमणमा परेर निन्याउरो अनुहार लिँदै क्वारेन्टाइनको गुप्तवास बसिन्। जर्मनीका एक प्रदेश मन्त्रीले हतासमा आत्महत्या गर्न पुगे। बेलायतका प्रधानमन्त्री जनतालाई सतर्क बनाउँदा बनाउँदै आफैं कोरोना संक्रमणमा परेका छन्।
अमेरिकाका राष्ट्रपति कोरोनालाई केही दिनभित्रै कँजाएर इष्टर (अप्रिल २२) सम्म अमेरिकालाई यथावत् स्थितिमा ल्याउने बाचा गर्दै थिए। एक साता बित्दा नबित्दै कर्कलो ओइलाएजस्तो निहुरिएको अनुहारमा देखा पर्न थालेका छन्।
हाम्रो निकट छिमेकी भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सुरूमा १३० करोड जनतालाई 'जनता कर्फ्यू' मा उतारे। त्यसपछि सम्पूर्ण भारतलाई २१ दिन लकडाउन गरेर उत्साहित बनेकोमा केही दिनपछि नै लत्रेर जनतासँग माफी माग्न थाले। र, चैत २३ का दिन सम्पूर्ण देशवासीलाई एकजुट बनाउन अँध्यारोमा बत्ती बाल्न आग्रह गरे।
यसबीच हाम्रो नेपालमा राज्य व्यवस्था सम्हालेर बसेका प्रधानमन्त्री, उपप्रधानमन्त्री र अन्य मन्त्री कोरोना औषधोपचार सामग्री खरिदमा कमिसन र भ्रष्टाचारको जनआरोप थेगेर बसेका छन्।
राष्ट्रका नाममा राष्ट्रपतिबाट 'बक्स' भएको सम्बोधनले जनआरोपको त्यो धब्बा कति पखालियो, आफ्नै ठाउँ छ। तर, भारतमा रोजीरोटी गर्न गएका हजारौं नेपाली मजदुर सीमामा अलपत्र छन्। भर्खरै एउटा सामाजिक सञ्जालमा तिनका कथा र व्यथाबारे रमेश अधिकारीद्वारा रचित कविता भाइरल भएको छ।
'आज आएर बल्ल बुझ्दैछु हजुर, मजदुरको कुनै देश छैन' शीर्षकको कविताले हाम्रो आँखाबाट निश्चय आँशु झर्छ। तर आँशु नभएका आँखा के गर्दा हुन्, त्यो थाहा हुने कुरा भएन।
सन् २०२० ले ल्याएको कोरोना भाइरसले भूमण्डलीकरणको वर्तमान विश्वलाई कुन स्वरूप दिने हो, त्यसको लेखाजोखा समयमै हुनुपर्छ। विश्वभरिका सबैले घोत्लिनुपर्छ, हामी कस्तो दुनियाँ बसाल्दै छौं। आगामी पुस्ताका लागि निश्चय पनि एउटा नौलो संसार जिम्मा लगाएर जानुपर्ने अवस्थामा हामी पुगेका छौं। विश्वको राजनीतिक व्यवस्था र त्यसको शक्ति सन्तुलन अहिलेभन्दा पृथक हुनेछ। सामाजिक व्यवस्था नौलो हुनेछ। आर्थिक व्यवस्था सर्वथा फेरिएको हुनेछ।
त्यस संसारमा मानव प्रजातिले पृथ्वीका अरू जीवप्राणी र वनस्पतिका प्रजातिसँग सहअस्तित्वको बाटो रोज्नुपर्ने हुन्छ। मानिसको असीमित चाहनालाई पृथ्वीको सीमित स्रोतसाधनले धान्न सक्दैन भन्ने प्रमाणित हुँदैछ। मानिसको अस्तित्व प्रकृतिको अन्य तत्वसँगको सहअस्तित्वमा निर्भर हुन्छ। र, सहअस्तित्वको सिद्धान्तमा विश्व राजनीति, विश्व अर्थव्यवस्था, विश्व सामाजिक व्यवस्थाको विकास गर्नुपर्ने हुन्छ।
कोभिड–१९ ले यही पाठ सिकाउनेछ।