केही दिन अगाडि एउटा रेडियोबाट पत्रकारले मलाई सोधेः विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको र्यापिड किट नेपालमा प्रयोग गर्नु नै सरकारको गल्ती त थिएन?
तबसम्म कोरोनाको मुख्य जाँच विधि पिसिआर र यो छरितो विधिका नतिजामा निकै फरक आइसकेकाले उनले त्यो प्रश्न सोधेका थिए।
'सरकारले त्यो विधि अहिलेको अवस्थामा प्रयोग गर्नु हुँदैनथ्यो' भन्ने उनको प्रश्नको सरल र सही उत्तर हुन्थ्यो।
तर यस्तो संकटका बेला आफू एकदमै प्रष्ट नभएसम्म दुविधाको सुविधा सरकारलाई दिनुपर्छ र उसको नियत सफा भएसम्म कमजोरीलाई माफी पनि दिन सकिन्छ भन्ने मेरो धारणा थियो।
विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि त्यस्ता किट प्रयोगबाट ठोस फाइदा हुने प्रमाणका आधारमा सरकारले त्यस्ता साधन प्रयोग गर्न पनि सक्छ। त्यो पनि यस्तो संकट बेला संसारका सबै देशले मानिसको ज्यान जोगाउने प्रयासमा अनेक अप्रमाणित माध्यम प्रयोगमा ल्याएका छन्।
त्यसैले मैले भनेको थिएँ, 'विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि हामीकहाँ पिसिआरसँग तुलना गर्दा त्यसले राम्रो नतिजा दिएको खण्डमा किटको प्रयोग गर्नु गलत होइन। तर त्यस्तो तुलनात्मक अध्ययनको नतिजा के हो भन्नेमा सरकारले पारदर्शिता नअपनाउँदा अन्योल र अविश्वासको अवस्था सिर्जना भएको छ।'
अब जेको डर थियो, त्यही भइरहेको छ। पछिल्ला दिनमा उदयपुरका १२ जनामा किटबाट नेगेटिभ र पिसिआरबाट पोजिटिभ आएसँगै किटसम्बन्धमा जनाइएका आशंकाले बल पाएका छन्।
पिसिआर र र्यापिड किटः कसरी फरक आउन सक्छ नतिजा?
पिसिआर भाइरसको मुख्य अंग आरएनए पत्ता लगाउने स्थापित विधि हो। हामीकहाँ आएको भनिएको र्यापिड किट भाइरसविरुद्ध मानव शरीरले बनाउने विशिष्ट खालका एन्टिबडी पत्ता लगाउने छरितो विधि हो।
संक्रमणका सुरूका केही दिनमा पिसिआर पोजिटिभ आउँदा शरीरले एन्टिबडी नबनाइसकेकाले किटले नेगेटिभ देखाउनु स्वभाविक हो।
त्यस्तै संक्रमणको केही सातापछि जब शरीरले भाइरसलाई निस्तेज पार्छ, पिसिआर नेगेटिभ र किटले देखाउने एन्टिबडी पोजिटिभ आउनु पनि स्वभाविक हो।
शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसमा रोगको उत्कर्षकै बेला पनि पिसिआर पोजिटिभ र किट नेगेटिभ आउन सक्छ।
के हुन् र्यापिड किटका फाइदा र सीमितता?
यस्ता किटको सबभन्दा ठूलो फाइदा, यसलाई अस्पतालदेखि समुदायसम्म जहाँ पनि प्रयोग गर्न सकिन्छ र तत्काल नतिजा आउँछ।
यसका सीमितताबारे यही अप्रिल ८ को 'साइन्टिफिक ब्रिफ'मा विश्व स्वास्थ्य संगठनले भनेको छ-
एक, शरीरले कोरोनाविरुद्ध एन्टिबडी बनाउने प्रक्रिया बिरामीको उमेर, पोषण अवस्था, रोगको गम्भीरता, लिइरहेका औषधी र एचआइभीजस्ता संक्रमण आदि अवस्थामा भर पर्छ। कोरोना भएका बिरामीमध्ये केहीमा कमजोर, ढिलो वा शून्य एन्टिबडी उत्पादन हुन सक्छ। अध्ययनहरूकाअनुसार धेरै जसो बिरामीमा संक्रमणको दोस्रो हप्ता मात्र त्यस्ता एन्टिबडी बन्छन्।
अर्कोतिर अन्य खालका कोरोना भाइरसका एन्टिबडी शरीरमा छन् भने तिनसँगको 'क्रस रियाक्सन'का कारण कोरोना नभएका बिरामीमा समेत एन्टिबडी परीक्षण गलत रूपमा पोजिटिभ आउन सक्छ।
त्यति हुँदा हुँदै पनि पिसिआरसित उचित रुपमा मिलाएर प्रयोग गर्दा समुदायमा वा अस्पतालका धेरै बिरामीमा एक साथ 'स्क्रिनिङ' गर्न यस्तो किट उपयोगी हुन्छ। पिसिआरले समेत शत-प्रतिशत संक्रमण नभेट्ने अवस्थामा किटको नतिजा शत-प्रतिशत अपेक्षा गरिनु हुँदैन।
तर व्यापक उपयोग हुनका लागि किट त्यस्तो हुनुपर्छ जसले सबै वा सबैजसो संक्रमितलाई पोजिटिभ देखाओस् वा संक्रमण भएकालाई नछुटाओस्।
अर्थात् गलत नेगेटिभ नतिजा न्यूनतम होस्, ताकि नेगेटिभ भनेर समुदायमा फर्केकाले ठूलो संख्यामा अरूलाई संक्रमित गर्ने अवस्था नआओस्।
अर्कोतिर संक्रमण नभएकाहरूलाई सीमित संख्यामा पोजिटिभ देखाउँदा वा गलत पोजिटिभ नतिजा आउँदा बरू त्यति फरक पर्दैन। किनकि ती सबैमा फेरि पिसिआर गरिने हुँदा किटको गलत नतिजाले खास फरक पर्दैन।
किटको विश्वव्यापी समस्याः
केही समयअगाडि स्पेनले चीनबाट किनेका यस्ता र्यापिड टेस्ट किटको सही नतिजा देखाउने दर ३० प्रतिशत मात्रै भेटिएको बताएको थियो। हालै बेलायतले पनि चीनबाटै लगेका २ करोड डलरका २० लाख किटले त्यसै गरी काम नगरेको बताएको छ।
हालै अमेरिकामा प्रयोगमा आएका अनेक खाले किटमध्ये एक थरीको सही नतिजा दिने दर २० प्रतिशत मात्रै भेटियो।
स्पेनमा प्रयोग गरिएका किटमा कम्पनीले ८० प्रतिशत सही नतिजाको दाबी गरेको थियो भने अमेरिकामा प्रयोग भएका किटको कम्पनीले ९३–९७ प्रतिशत।
हालै भारतको राजस्थानमा ९० प्रतिशत सफलता दर भनिएको किटले ५.४ प्रतिशत मात्रै सही नतीजा दिएपछि त्यहाँ किटबाट गरिने परीक्षण नै बन्द गरिएको छ।
यो अवस्थामा हामीकहाँ आइपुगेका किटको सही नतिजा दिने दर के हो?
यो प्रश्नको जवाफ खोज्न हाम्रो केन्द्रीय प्रयोगशालाले पिसिआरसँग तुलनात्मक अध्ययन पनि गर्यो। तर स्वास्थ्य मन्त्रालयले अहिलेसम्म त्यो अध्ययनको नतिजा सार्वजनिक गरेको छैन।
कमजोरी कि बदनियत?
यो पृष्ठभूमिमा केही दिन अगाडि उदयपुरका १६ बिरामीमध्ये पिसिआरले पोजिटिभ देखाएका १२ जनालाई किटले नेगेटिभ देखाएपछि एउटा गम्भीर प्रश्न उब्जिएको छ- के हामीकहाँ प्रयोगमा आएका किटको विश्वसनीयता प्रयोगै गर्न नमिल्ने गरी न्यून त होइन?
त्यसो भएको अवस्थामा किन ती किट अझै नियमित प्रयोगमा छन्?
होइन र तिनको विश्वसनीयता बढी हो भने, तुलनात्मक अध्ययनको नतिजा किन सरकारले लुकाइरहेको छ?
फेरि पनि संकटका बेला सरकारको मनोबल गिराउने मेरो आशय हैन। तर प्रश्न के हो भने, कुनै टोल वा अपार्टमेन्टमा संक्रमण आशंकामा सयौंको किटबाट परीक्षण गर्दा सबै नेगेटिभ आएका कारण तिनको पिसिआर गरिएन भने किटको कमजोरीका कारण छुट्न र फैलन सक्ने संक्रमणको जिम्मा कसले लिने?
पछिल्लो समयमा सरकारी स्वास्थ्य संस्थासँग सम्बद्ध र असम्बद्ध अग्रज चिकित्सकले समेत किटका व्यवहारिक सीमितताबारे मानिसलाई सुचित गरिरहेका छन्। त्यसले देशमा अहिले विद्यमान परीक्षण पद्धतिप्रति आमनागरिकको अन्योल कम गर्न र राज्यप्रतिको विश्वास बढाउनमा पक्कै काम गर्छ।
तर त्यो विश्वास कायम राख्न राज्यले अहिलेभन्दा निकै बढी पारदर्शिता देखाउनुपर्छ। किट निर्माताको सम्भावित कमजोरी वा बदमासी लुकाउन विज्ञहरूलाई जबर्जस्ती अघि सारिँदा विज्ञहरूकै विश्वसनीयता जोखिममा पर्न सक्छ।
महामारीको अन्योल र छिनाझप्टीबीच अरू देशले झैं नेपालले पनि भर पर्न नसकिने खालका किट किनेको हुन सक्छ। हो भने त्यो यथार्थ जस्ताको तस्तै जनतासामू राख्दा सरकार तल पर्दैन। होइन र तुलनात्मक अध्ययनले तिनको सही नतिजा दिने दर राम्रै देखाएको छ भने त त्यसको नतिजा लुकाउनु पर्ने झन् कुनै कारण नै छैन।
अन्तमा, ओम्नी समूहसँग चीनबाट उल्लिखित किट लगायत सामग्री मगाउँदा के कस्तो राजनीति र भ्रष्टाचार भयो भन्ने कुरामा यसअगाडि व्यापक सार्वजनिक विमर्श भइसकेको छ। अब ती किट के-कसरी प्रयोग गर्ने वा नगर्ने भन्ने कुरामा चाहिँ कसले किन र कसरी ती मगायो भन्दा पनि हामीकहाँ प्रयोग गर्दा तिनले हामीलाई संक्रमण पत्ता लगाएर रोक्ने काममा फाइदा गर्ने वैज्ञानिक आधार छ कि छैन भन्ने कुरा निर्णायक हुनुपर्छ।
गल्ती छैन भने सरकार पारदर्शितासँग डराउनु हुँदैन। छ भने, एउटा गल्ती ढाकछोप गर्न अरू कैयौं गल्ती गर्दै जानु बुद्धिमानी हुँदैन।
कोरोनाको परीक्षण र उपचारबारे डाक्टर सुमन आचार्य र डाक्टर विशद दाहालसँग गरिएको कुराकानीको पडकास्ट।