मैले गालीबारे न विद्यालयस्तरको पाठ्यपुस्तकमा पढेँ न कलेज वा विश्वविद्यालयको शोधपत्रमा। घर परिवारमा तल्लो स्तरका मानिने गालीका शब्द प्रयोग गर्नु हुँदैन भन्ने नैतिक शिक्षा नै दिइन्थ्यो। तर आफ्नै जीवनकाललाई फर्किएर हेर्ने हो भने बाल्यकालदेखि आजसम्म गाली नसुनेको दिन सायदै होला।
गालीको सामाजिकीकरणमा मैले यति धेरै विरोधाभाष देखेकी छु, समाजले गालीको प्रयोग शिल मान्दैन। तर गाली गर्न नजानेको व्यक्ति र प्रयोग नहुने ठाउँ भेटाउन गाह्रो छ। घर, छिमेक, मेलापात, विद्यालय, कलेज, सार्वजनिक यातायात, सिनेमा घर, कार्यालय, सांसद भवन; सबै ठाउँ गाली सुन्न पाइन्छ।
विद्यालय पढ्ने समयमा कालो पाटी, कक्षाकोठाको भित्ता, बेन्च र ढुंगामा लेखिने गालीका शब्द अहिले सामाजिक सञ्जालका भित्तामा सरेका छन्। गाउँघरमा पानी पँधेरो, मेलापात, जात्रापर्वमा प्रयोग गरिने गालीको भाषा अहिले टेलिभिजन कार्यक्रम र युट्युबका भिडिओसम्म पुगेका छन्।
मैले यो लेखमा गालीको लैंगिक र सामाजिक पक्ष केलाउने प्रयास गरेकी छु। यो लेख कुनै समाजशास्त्रीय सिद्धान्तमा आधारित छैन। मात्र दैनिक जीवनमा देखे-भोगेका समाज विश्लेषण गर्ने सानो प्रयास हो।
गाली मननपरेका व्यक्ति वा समूहलाई तुच्छ देखाउन प्रयोग गरिने भाषा हो। व्यक्ति वा समूहलाई कुन स्तरको तुच्छ देखाउने भन्नेले गालीको भाषा निर्धारण गर्छ। हाम्रो समुदायमा प्रचलित गालीलाई विश्लेषण गर्दा यसका लागि प्रयोग गरिने शब्दका श्रोत विविध छन् जसलाई वर्गीकरण गर्न निकै गाह्रो छ।
मानव समुदायले फोहोरी, एकोहोरो, बुद्दू, डुलाहाको प्रतीक मान्ने गिद्द, भेडो, गधा, कुकुर गालीका लागि बढी प्रयोग हुने शब्द हुन्। ठूलो ज्यान भएकालाई भैंसी, धेरै खानेलाई सलह भनेर गाली गर्ने चलन पनि प्रचलित छ। राजनैतिक वृत्तमा नेताका अतार्किक दलीय भक्तलाई हनुमान, अरिंगाल भनेको दिनहुँजसो सुन्छौं। झारपात, तोरी जस्ता शब्द फ्याँकिएका मूल्यहीनको प्रतीक स्वरूप गाली गर्न प्रयोग गरिन्छ।
जात र क्षेत्र विशेषका नाममा बनेका गाली शब्द पनि उत्तिकै छ। दुर्गम भूगोललाई तुच्छ मानेर त्यहाँ बसोबास गर्नेहरुलाई गँवार, पाखे, काँठे जस्ता शब्द प्रयोग गरिन्छ। पढाइ सिलसिलामा सहर छिरेपछि मैले म जस्ता गाउँले विद्यार्थीका लागि गाली गर्दा सबभन्दा धेरै सुनेको गाली हो पाखे।
समाजले घृणा गर्ने विभिन्न रोग, रोगसँग जोडिएका, मृत्यु र मृत शरीरसँग सम्बन्धित गाली पनि सुन्न पाइन्छः यमराज, लास, मुर्दार आदि। बोक्सी, छौंडाजस्ता हाम्रो समुदायमा प्रचलित विभिन्न कुप्रथासँग सम्बन्धित शब्द पनि गालीका रुपमा अधिक प्रयोग भएको पाइन्छ।
गालीका धेरै शब्द मानव शरीरका अंगसँग पनि सम्बन्धित छन् जुन अंगलाई कथित संस्कारले लज्जासँग जोडेको छ। यौन र यौनिकतासँग जोडिएका शब्द सबभन्दा धेरै गालीका लागि प्रयोग गरिने शब्द हुन्। सार्वजनिक स्थलमा यस्ता शब्द उच्चारण समेत वर्जित मानिन्छन्। कति गाली श्रापका रूपमा पनि प्रयोग गर्ने चलन छः भ्रष्टाचारीलाई किरा परोस् भन्ने अभियान नेपालमा निकै समय चर्चामा रह्यो।
गाली भाषाकै एउटा पाटो हो, समुदायले भाषालाई शिलता र अश्लिलतासँग जोडेको छ। समाजको परिभाषाअनुसार गाली अश्लिल भाषामा पर्छ। अश्लिलताका मापदण्ड पनि समाजले नै निर्धारण गरेको छ, जुन मापदण्ड समाजको शक्ति संरचनासँग प्रत्यक्ष जोडिएको छ।
समाजले गालीको भाषा प्रयोग गर्ने स्वतन्त्रता सबैलाई समान दिएको छैन। गालीको लैंगिक पक्ष असाध्यै पक्षपाती छ। हाम्रो समाजमा महिलाहरू सबभन्दा कम गाली गर्ने र सबभन्दा धेरै गाली खाने वर्ग हो। समाजले महिलाका लागि निर्धारण गरेको यौनको मापदण्ड त्यत्तिकै पक्षपाती छ। त्यसकारण पनि महिलालाई गरिने गाली प्रायः यौन र यौनिकतासँग जोडिएका हुन्छन्।
स्कुल पढ्दा दिउँसोको छुट्टी सकिएको जनाउ घन्टी लागेपछि कालो पाटी, छात्रा बस्ने बेन्च र भित्तामा कथित अश्लिल शब्द लेखेको हेर्ने हिम्मत नभएर कक्षाकोठामा सबभन्दा अगाडि छिर्न डर लाग्ने मनोविज्ञानले अझै पनि मलाई झस्काउँछ। सबै कक्षाकोठामा छिरेपछि जताततै लेखिएका त्यस्ता शब्दचित्रले केटा साथीहरूको हाँसो कक्षाकोठामा थर्कन्थ्यो। केटीहरू आफूले कुनै अपराध गरे झैं टाउको निहुर्याएर बस्थ्यौं। अनौठो पक्ष के भने, त्यस्ता शब्द लेख्ने र चित्र कोर्ने केटाहरू नै हुन्थे।
अहिले सामाजिक सञ्जालमा त्यस्ता दृष्य दिनहुँ देखिन्छ।
नेपालले नयाँ नक्सा सार्वजनिक भएसँगै त्यसको समर्थनमा मनीषा कोइरालाले गरेको ट्विटमा भारतीयले गरेको गाली होस् वा सीमा विवादको समाधान दुई देशबीचको उच्चस्तरीय वार्ता माध्यमबाट खोजिनुपर्छ भन्ने आशयको वर्षा राउतको अन्तरवार्ताका लागि नेपालीले बनाएको ट्रोल- दुवैका लागि प्रयोग भएको गालीको भाषा समान थियो।
सबभन्दा धेरै गाली 'स्लट शेमिङ' सँग जोडिएका थिए। पितृसत्तात्मक समाजले महिलाको अश्लिलता सहजै स्वीकार गर्दैन। जो महिला पितृसत्तात्मक मूल्यमान्यताका आधारमा अश्लिल मानिन्छन्, उनीहरू खराब महिलाको कोटीमा पर्छन्। समाजको नजरमा यो छाडापन हो। यो छाडापन महिलालाई गाली गर्ने सबभन्दा तुच्छकोटीको गाली हो र यस्ता गालीको प्रयोग पुरुषले धेरै गर्छन्।
जब महिलाले गालीको भाषा प्रयोग गर्छन् उनीहरूलाई खराब महिलाको कोटीमा राख्ने काम तिनै पुरुषको हुन्छ। उनीहरूलाई त्यो यति अपाच्य हुन्छ, महिला भएर यस्तो शब्द लेख्न-बोल्न हुँदैन भन्दै नैतिक 'पुलिसिङ' गर्न आइपुग्छन्। मानौं, गालीको भाषामा उनीहरूको एकाधिकार छ र शिलताको ठेक्का महिलाको मात्र हो। अर्को अनौठो पक्ष के भने, महिलाले प्रतिवाद गरेमा तिनै नैतिक पुलिस स्लट शेमिङको गालीमा उत्रिन्छन्।
गालीको जातीय र वर्गीय पक्ष पनि समाजको शक्ति संरचनाले निर्धारण गरेको छ। जाति विशेषका लागि गरिने गालीका भाषा जातजाति शक्ति संरचनाको कुन तहमा राखिएको छ भन्नेले तय गरेको छ। हाम्रो समाजमा कथित तल्लो जातका लागि बनेका गालीको भाषा अति तुच्छ छन्। त्यस्तै जनजातिलाई गालीको भाषा सहजै प्रयोग गर्न सक्ने स्वतन्त्रता भएको जातजातिमा राखिएको छ।
यो कथित मान्यता यति सामान्यीकरण गरिन्छ, यसले हरेक जात र वर्गभित्र विद्यमान व्यक्तिगत विविधताका पक्ष गौण बनाइदिएको छ। कथित माथिल्लो जातहरू शिल भाषा प्रयोग गर्ने सभ्य वर्गमा गनिन्छन्। जब कथित माथिल्लो जातकाका बीचमा गालीको प्रयोग गरेर भनाभन हुन्छ, कस्तो फलानो जस्तो कराएको भनेर कथित तल्लो जातलाई दोषारोपण गर्ने चलन सामान्य जस्तै छ।
यसमा पनि विरोधाभाष कहाँ छ भने, बोलिचाली र सामाजिक सञ्जालमा हेर्दा समाजले तल्लो स्तरको मानेको गालीको भाषा प्रयोग गर्नेमा कथित माथिल्लो जातका युवा पुस्ता अगाडि नै देखिन्छन्। रुकुमपश्चिमको चौरजहारीमा भएको अमानवीय घटनामा कथित माथिल्लो जातकाले दलितका लागि प्रयोग गरेका गालीका शब्दले समानता र सामाजिक न्यायमा विश्वास गर्ने हरकोहीलाई स्तब्ध बनाएको छ।
हालसालै क्षेत्रीयताका आधारमा मधेसी समुदायलाई लक्षित गरी बनाइएका टेलिभिजन कार्यक्रम र टिकटक भिडिओमा प्रयोग गरिएका गालीको भाषा हामी धेरैलाई जानकारी नै छ। कर्णाली प्रदेश सांसद माननीय झोवा विकले संसदमा बोलेका बोलीको विषयमा आएका नकारात्मक टिप्पणी र ट्रोलमा प्रयोग भएका भाषाले गालीको सम्बन्ध शक्ति संरचनासँग कसरी जोडिएको छ भन्ने स्पष्ट देखाएको छ।
हाम्रो समाज र राज्य संरचना पितृसत्तात्मक, सामन्तवाद, पुँजीवाद र अन्य धेरै वादको सम्मिश्रण हो। हामीलाई शासित हुने बानी परेको छ। त्यसकारण हामी नेता होइन, शासक चाहन्छौं र शासकको चरित्र नभएका जनप्रतिनिधिलाई माननीय झोवा विकलाई जसरी होच्याएर र गाली गरेर सन्तुष्ट हुन्छौं।
हाम्रो समाजमा प्रयोग गरिने विभिन्न श्रापमध्ये कति शक्ति हिनताका उपज जस्ता लाग्छन् भने केही भाग्यवादबाट प्रभावित छन्। भष्ट्राचारीलाई कीरा परोस् भन्ने अभियान भाग्यवादको उपज मान्न सकिन्छ। यति मात्र कहाँ हो र?
समाजले पेशा र स्थानको आधारमा समेत गालीको सम्बन्ध स्थापित गरेको छ। सार्वजनिक यातायात, भट्टी पसल, निर्माण स्थल, जुवाघर जस्ता स्थान अश्लिल गालीका लागि प्रचलित मानिन्छन्। यी स्थान यस्ता छन्, कतिपय ठाउँमा महिलाको उपस्थिति नै कम छ र जुन ठाउँमा महिला छन् उनीहरू समाजको नजरमा खराब हुन्।
समाजमा यो गालीवाद रातारात स्थापित भएको अवश्य होइन। सदियौंदेखि कमजोरलाई तुच्छ देखाउन गालीलाई हतियारका रूपमा प्रयोग गरिएको देखिन्छ। गाली साँच्चै खराब र अश्लिल भाषा हो भने यसको मापदण्ड सबैका लागि किन समान हुन सकेन?
शिलता र अश्लिलताको मापदण्ड पनि समाजका शक्तिशालीले आफ्नो पक्ष बलियो बनाउनका निर्धारण गरेको रणनीति हो भने यसको पालन महिलाले मात्र किन गर्ने? गालीवाद पनि समाजमा पछि पारिएका लिंग, जात र वर्गलाई निकृष्ट देखाउन स्थापित वाद हो भने यसमा बहस किन नगर्ने?