केही समययता मानिसहरू काठमाडौं आउने क्रम तीव्र गतिमा बढेको छ।
लकडाउनअघि सुनसान काठमाडौंमा बिस्तारै मानिसहरूले आवतजावत बढ्दै गइरहेको छ।
लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। यो मानिसबाट मानिसमा सर्ने र काठमाडौं सबभन्दा बढी जनघनत्व भएको क्षेत्र भएकोले कोरोनाको जोखिम बढ्दै गइरहेको छ।
काठमाडौंमा यो अति सूक्ष्म अदृश्य शक्ति 'कोरोना भाइरस' र मानिसबीच युद्धभूमिमा परिणत हुनसक्छ। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमण छ/छैन भनेर पुष्टि गर्न आउने दैनिक आठ सयदेखि एक हजारसम्म आउने गरेका छन्।
यो संख्याले पनि काठमाडौंमा मानिसहरूको प्रवेश चाप बढेको देखिन्छ। त्यसरी जाँच गर्न आउने अधिकांश लक्षणविहीन हुन्छन्। त्यसैले कसैको पनि प्रयोगशालाले जाँच गर्दैन। हालको निर्देशिकाले नै लक्षण नभएमा ल्याब परीक्षण नगर्न भनिएको छ। तर नेपालमा संक्रमित भएकाहरू लगभग सबैमा लक्षण नै नदेखिने विशिष्ट/भिन्न प्रकृतिको कोरोना देखिने गरेको छ।
त्यस्ता संक्रमितहरू थाहा नपाइकन काठमाडौंको समुदायसम्म पुगिरहेको हुनसक्छ। यो नै नेपालको लागि सबभन्दा ठूलो चुनौती पनि हो।
ती ‘साइलेन्ट’ कोरोना संक्रमितहरूसँग जो कोही जहाँ पनि कुनै बेला आमनेसामने हुनसक्छ।
तपाईं हामी कसैको पनि चिनजान, साझेदार वा आफ्नै परिवारको सदस्य पनि हुनसक्छ। केही हप्ताअघिसम्म कोरोना संक्रमितहरू अधिकांश भारतबाट आएका नेपालीहरू हुन्थे।
उक्त समयमा भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै थियो। भारतबाट नेपाल आउने क्रममा विभिन्न स्थानहरूबाट आउनेहरूसँग समूह-समूहमा आउँदा, सीमामा धेरै दिन रहँदा वा अव्यवस्थित क्वारेन्टिनमा रहँदा धेरै जना संक्रमित भएको देखिन्छ।
ती संक्रमितहरू आफ्ना गाउँ टोलमा होम क्वारेन्टिनमा समेत नबस्दा आफन्तलाई कोरोना सरेको पनि देखिएको छ।
उदयपुर, बाँकेको नरैनापुरमा देखिएको कोरोनाको ‘क्लस्टर’ यसका केही उदाहरण हुन्।
केही समययता भारतबाट आउनेको संख्या घट्दै गइरहेको छ। भारतमा हाल पनि संक्रमण निरन्तर बढिरहेको हुँदा भारतबाट आएकाहरू तत्काल उतै जाने सम्भावना छैन।
जसमा धेरै जना रोजगारका लागि काठमाडौं आउन सक्छन्। यदि ती मानिसहरू कोरोना ‘हटस्पट’ ठाउँबाट आइपुगेको हो भने संक्रमित हुने जोखिम उच्च हुन्छ। तर परीक्षण निर्देशिकाका कारण लक्षण नदेखिएका त्यस्ता व्यक्तिहरूको परीक्षण गरिँदैन।
यसले आगामी दिनमा काठमाडौंमा भित्रभित्रै संक्रमण फैलिनसक्ने जोखिम ह्वात्तै बढ्ने देखिन्छ। हाल काठमाडौंमा विभिन्न रोगहरूको उपचार वा सुत्केरी गर्न अस्पताल जानेहरूको क्रम बढ्दो छ।
काठमाडौं बाहिर नेपालका विभिन्न जिल्लाहरूबाट उपचार हुन नसक्ने गम्भीर प्रकृतिका रोगहरूको उपचार वा जटिल सुत्केरी गराउनु पर्नेहरू पनि काठमाडौं आउनु पर्ने बाध्यता छ।
काठमाडौंमा कोरोना संक्रमितहरूको संख्या बढ्दो क्रम रहेको र स्वास्थ्यकर्मीहरूमा पनि संक्रमणको जोखिम रहेकोले कोरोना परीक्षणको नतिजा अनिवार्य गरिदिएको छ।
सघन उपचार वा सुत्केरी आकस्मिक हुने भएकाले पिसिआरको रिपोर्ट कुर्न नसकिने र रिपोर्ट आउनु अगाडि नै उपचार/व्यवस्थापन गर्नुपर्ने हुन्छ।
त्यही क्रममा कतिपय स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित भएका छन्। यसले काठमाडौंमा स्रोत थाहा नभएका कोरोना संक्रमितहरू तथ्यांकमा देखाइएकाभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ।
कतिपय अवस्थामा रिपोर्ट ढिलो आउँदा ती स्वास्थ्यकर्मीमार्फत् आफ्ना अरू सहकर्मीलाई सर्नसक्ने जोखिम पनि रहन्छ।
काठमाडौंका विभिन्न निजी तथा सरकारी कार्यालयहरू, व्यापारिक केन्द्रहरू खोल्ने क्रम जारी छ। सेवा दिने र लिने दुबैले न्यूनतम बच्ने उपायहरू व्यवस्थापन अपनाएको भने देखिँदैन।
सेवा लिनेहरूले भौतिक दूरी, सही तरिकाले मास्क लगाएको देखिँदैन। सेवा दिने ठाउँहरूमा पनि सेवा लिनेहरूको लागि सही व्यवस्थापन गरेको देखिँदैन।
यसले गर्दा संक्रमण फैलने सक्ने सम्भावना देखिन्छ। सरकारले सार्वजनिक सवारी साधन चल्न दिने निर्णय पनि गरिसकेको छ।
सावधानी र सजकता अपनाएर सवारी साधन चलाउन पनि सकिन्छ। यसमा बस चालक, सहयोगी तथा यात्रु दुवै पक्ष उत्तिकै जिम्मेवार हुनु जरूरी हुन्छ।
दूरी कायम गर्ने, मास्क सही तरिकाले लगाउने (नाक मुख पूरा छोप्ने) र सेनिटाइजरको व्यवस्था गर्नुपर्दछ। चालक सहयोगी होस् वा यात्रु दुबैले ठूलो स्वरमा कराउनु वा कुरा गर्नु हुँदैन।
यस्तो अवस्थामा संक्रमितको मुखबाट संक्रमण फैलन सक्छ। हाल विश्वका वैज्ञानिकहरूले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने सम्भावना रहेको बताएका छन्।
मानिसहरूको काठमाडौंमा तीव्र आगमन हुनु र सोही अनुसार परीक्षण नहुनु, व्यापार व्यवसाय, निजी तथा सरकारी कार्यालय खुल्दै जानु, यातायात सुचारु हुनु र बिनाकारण सार्वजनिक स्थलहरूमा भेटघाट गर्नुले यहाँ संक्रमण फैलने र इपिसन्टेर बन्नसक्ने सम्भावना बढ्दै गएको छ।
यस्तै, भौतिक दूरी काम नगरी र मास्कको सही प्रयोग नगरी बेलाबेलामा हुने नाराबाजी वा आन्दोलनले पनि संक्रमण फैलिने जोखिम बढाएको छ।
हालको तथ्यांकले देशका अरु विभिन्न भागहरूमा कोरोनाको ग्राफ ओरालो लागेको देखाउँदै गर्दा भने काठमाडौंमा उकालो लाग्ने क्रम जारी छ।
भारतबाट आउने क्रम रोकिए र कोरोनाको दोस्रो लहर नआएमा काठमाडौंमा कोरोनासँग हुने आगामी दिनको जम्काभेट अन्तिम तर निर्णायक हुनसक्ने छ।
काठमाडौं बाहिरबाट आएकाहरूलाई (लक्षणविहीन भए पनि) परीक्षण गर्ने, शंकास्पद व्यक्ति वा समूहलाई परीक्षणको दायरामा ल्याउने, कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिने र सर्वसाधारणमा देखिएको कोरोनासम्बन्धी भ्रम र त्रासलाई हटाउन पहल गरे कोरोनालाई नियन्त्रण गर्न सकिने छ।
(लेखक क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक हुन्)