नेपालयका किरणकृष्ण श्रेष्ठले केही दिनअघि ट्विट गरे- फिल्म गुन्जन सक्सेनाः द कारगिल गर्ल, एक पिताका नजरबाट हेरेँ। राम्रो लाग्यो।
दुई छोरीका बुवा उनले यो पनि भनेका थिए- कसैले छोरी भएर हेर्लान्, कसैले दाइ। जुनै भूमिकामा बसेर हेरे हुन्छ!
उनको ट्विटपछि फिल्म हेर्न तत्काल हौसिए पनि समय मिलेन। मंगलबार साइत जुराएँ। छोरी त म छँदै थिएँ, बहिनी पनि बनेर हेरेँ।
आज बुवाको मुख हेर्ने दिनमा सबै बुवालाई भन्छु, 'गुन्जन सक्सेना' हेर्नुस्। अनि बुवाको भूमिकामा उभिएका दाइहरूलाई पनि भन्छु, यो फिल्म हेर्न नछुटाउनुस्।
फिल्म बुवा–छोरीको र अलिकति दाइको कथामा केन्द्रित छ। तर यो कथा नाता-सम्बन्धको मात्र होइन, हाम्रोजस्तो समाजमा हुर्किएकी एउटी छोरीको सपनाको पनि हो। जसको सपनालाई आफ्नै मानेर पूरा गर्न एक बुवा डटेर लाग्छन्।
गुन्जन सक्सेना भारतीय वायु सेना पाइलट थिइन् जो कारगिल युद्धमा सेनाहरूको उद्धारमा खटिन्। फिल्मका तथ्यहरूका बारेमा अहिले भारतमा निकै बहस र विवाद भइरहेको छ। यसको छिनोफानो उतै होस्।
हामी यो फिल्मलाई वास्तविकता केलाउनतिर नलागी एक कल्पना वा आख्यान सम्झेर हेरौं। किनकी यो फिल्मको 'डोज' ले धेरै छोरीहरूका सपना साकार पार्ने बाटो देखाउन सक्छ।
खुला आकाशमा उड्ने सानैदेखिको सपना हुन्छ गुन्जनको। त्यो सपना पाइलट बनेर पूरा हुने थाहा पाएदेखि त्यसैबारे कल्पिरहन्छिन्। यतिसम्म कि जतिखेरै पाइलटजस्तै कालो चस्मा लगाएर बस्छिन्।
सपना देख्नु र पूरा हुनुबीच ठूलो दुरी हुन्छ भन्ने उनले बुझेकी छैनन्। त्यो दुरी अझै तन्काउन खोज्दै उनका दाइले भन्छन्, 'केटीहरू पाइलट बन्दैनन्।'
बुवाले भने गुन्जनलाई हौसला दिँदै दाइलाई हप्काउँछन्, 'प्लेन केटाले उडाओस् वा केटीले, उडाउनेलाई पाइलट नै भनिन्छ। प्लेनलाई कसले उडाएको फरक पर्दैन भने तिमीलाई किन परेको?'
गुन्जनका बुवाजस्ता एकाध मात्र हुन्छन्, जसले अरूले 'सक्दैनौ' भनिरहेका बेला ऊर्जा थप्दै भन्छन्, 'तिमीले सक्छेऊ।'
हाम्रा कति बुवाले यस्तो भन्दा हुन्?
हामी त आफ्ना बुवासँग सपनाबारे खुलेर बताउनु परको कुरा, आँखा जुधाएर हेर्न पनि धेरैले सक्दैनौं।
'केटी भएर यतिको सीमामा बस्नुपर्छ', 'तिमीले यस्ता सपना देख्नु हुँदैन', समाजले बनाएका र भनेका संकुचित संरचनाले हामीलाई वर्षौंदेखि दबाएको छ। जरा गाडेर बसेका पुरूषप्रधान मूल्यमान्यता अझै टसमस छैनन्।
'फिल्म राम्रो लाग्यो' भन्ने सहकर्मी साथीलाई मैले यसबारे लेख्न सुझाएकी थिएँ। उनले अस्विकृति जनाउँदै भनिन्, 'मैले लेख्ने हो भने त बाले गाली खान्छन्।'
किन?
'चित्रकार, कवि बन्न नदिएका हुन् मलाई। इन्जिनियर बन्न नि दिएनन्। अनि बालाई गाली नगरेर भयो?' उनले हाँस्दै भनिन्।
साथी सानै छँदाको कुरा हो यो। उनी सपना देख्न थालेकी थिइन्, हुर्काउन पनि। तर उनका हरेक सपना निमोठिए। उनका बाले 'पढ्नुपर्छ' मात्रै भने जुन मेरी सहकर्मी समाजले गुथिदिएको 'पगरी' मान्छिन्।
उनले त्यो पगरी धानेरै भए पनि जीवन सफल बनाइन्। तर कताकता उनलाई आज पनि लाग्छ- मेरा सपना बाले बुझिदिएका भए...
हामी कतिले यस्तै सोच्दा हाैं। हाम्रा कति सपना डर, संकोच र अविश्वासको धारमा दिनहुँ रेटिँदा हुन्। धैयपूर्वक तिनलाई अगाडि बढाउन धकाएकै कारण पानीका फोकाझैं बनेका होलान्। अनि पुक्कपुक्क फुटेर कहीँ बिलाउँदा हुन्।
कति समय त हामी तिनलाई खुलेर अरूसँग 'सेयर' गर्न पनि सक्दैनौं। किनभने हामीलाई लाग्छ- त्यो मान्छेले बुझ्दैन।
गुन्जनले आफ्नै दाइलाई भन्न धकाइन् किनकि दाइ महिला हुनुको दायरा बताइरहन्छन्। आफ्नी आमालाई भन्न सकिनन्, किनभने आफू जुन सामाजिक दायराबाट गुज्रिइन् त्यही दायरा छोरीको हुनुपर्छ भन्ने उनलाई थियो।
मेरी साथीले आफ्ना सपनाबारे खुलेर बुवालाई भन्न नसक्नुको कारण यही थियो, 'बाले बुझ्थेनन्।'
गुन्जनका बा भने भिन्न छन्। त्यसैले त उनी आफ्ना सपना व्याख्या गर्न हरेक पटक बुवालाई नै खोज्छिन्। उनलाई थाहा छ- अरूले नबुझे पनि बुवाले बुझ्छन्। साथ दिन्छन्।
कहिलेकाहीँ आफ्नो सपनासँग कोही भइदिनु मात्रैले पनि धेरै फरक पार्छ। अलमलमा पर्दा 'तेरो सपना यो हो है' भनेर सम्झाइदिनुले पनि आड दिन्छ। गुन्जनका बुवा त्यस्तै थिए।
एयर फोर्समा आफ्नो उचाइ र मोटो शरीरका कारण 'रिजेक्ट' हुँदा उनी निराश हुन्छिन्। बुवाले आशा जगाइदिन्छन्। शरीर घटाउन सँगसँगै कुद्छन्, करेलाको जुस पिउँछन्।
यसले सन्तानको सपना पूरा गर्न बुवाको सहभागीताको महत्व बताउँछ।
सपना पूरा हुन एउटा चरण पार गरेर पुग्दैन। गुन्जनको परिवार र समाजसँगको एक चरण सकिएपछि अर्को चुनौती तब सुरू हुन्छ जब एयर फोर्समा उनी 'सेलेक्ट' हुन्छिन्।
उनकै दाइले ११ एयरफोर्स अफिसरको तस्बिर देखाउँदै भन्छन्, 'हेर्नेले १० एयरफोर्स अफिसर र एउटी महिला मात्र देख्छन्। तैंले सोचेभन्दा भिन्न छ यो संसार।'
हुन्छ पनि त्यही। पुरुष मात्रै अफिसर रहेको ठाउँमा गुन्जनको प्रगति देख्दा 'म्याडम सर बन्लिन्' भन्ने डर पुरुष सहकर्मीलाई हुन्छ।
उनलाई बारम्बार महिलाका दायरा बताइन्छ। पुरुष 'इगो' ले झम्टिइन्छ। आफ्नो सपनाको घरलाई बालुवा-महलझैं लात हानेर हिँड्न बाध्य पारिन्छ।
कहिलेकाहीँ हामी यस्तै उल्झनमा फस्छौं। हार मान्दै 'मैले देखेको सपना त गलत पो हो कि' भन्छौं। अनि आफ्नै सपनाको डोरी थुतेर अरूको सपना बुन्न थाल्छौं।
हामीलाई 'तेरो भविष्य यो हो है' भनेर पहिल्याइदिने मान्छे एकपटक मात्र भएर पुग्दैन। हरेक पटक हामी लर्खराउँदा, डगमगाउँदा भनिदिनुपर्छ- तैंले सक्छेस् है।
जसरी गुन्जनले 'अब प्लेन उडाउने सपना छाडेर बिहे गर्नुपर्ला' भनेर आफ्नाे सपनासँग डगमगाउँदा उनकाे बुवाले झक्झकाइदिए– तिमीले आफ्नो सपनाबाट हार खानु भनेको मैले पनि हार्नु हो।
हाम्रो सपना देखिदिने दुई जोडी आँखा भइदिए, त्यसले कहिल्यै हार्दैन।
त्यो मान्छे बुवाकै रूपमा आउनुपर्छ भन्ने छैन। आमा, दाइ, दिदी, गुरू, साथी- जुनै रूपमा आउन सक्छन्।
कथा संग्रह 'कुमारी प्रश्नहरू' की लेखक दुर्गा कार्कीलाई आफू लेखक बन्छु भन्ने थिएन रे। उनले 'म लेखक बनेकी होइन, बनाइएकी हुँ' भनेर सेतोपाटीमा लेखेकी पनि छन्। त्यहाँ उनी कसरी लेखक बनिन् भन्ने वर्णन छ।
उनलाई बुवाले कथा लेख्न सुझाए। उत्कृष्ट १० मा परेर धुलिखेलको वर्कसपमा पुग्दा उनको भेट लेखक केदार शर्मासँग भएको थियो। त्योबेला सुषुप्त रुपमा रहेको लेखक दुर्गालाई केदारले पहिल्याए।
उनले लेखेकी छन्, 'केदार शर्मालाई नभेटेको भए सायद मभित्रको लेखक उतिबेलै मरिसकेको हुन्थ्यो। उहाँले मेरा काँचा लेख केलाएर तिनमा मसलाको मात्रा मिलाउन मलाई हरसम्भव सिकाउनुभयो।'
मैले पनि गुन्जन सक्सेना हेरिरहँदा बुवालाई भन्दा बढी दाइलाई सम्झिएँ।
आमाबाको समर्थन नपाएर अलमलिरहेका बेला 'तेरो सपना यो होला है' भनेर मेरा रूचिका विषयबारे दाइ छलफल गर्थ्यो। हौसला दिन्थ्यो। र भन्थ्यो, 'तैंले सक्छस्।'
त्यसैले, मैले यो फिल्म बहिनी भएर हेरेँ।
हाम्रा धेरै सपना हौसला नपाएरै बिलाउँछन्। त्यसलाई 'देखिदिने' अर्को जोडी आँखा नभएरै मर्छन्। हाम्रा कति मृत सपनाका आत्मा वरिपरि भड्किरहेका होलान्!
तिनै सपना जीवित राख्न तपाईंहरूलाई यो फिल्मले उक्साउला। किनकी हरेक परिवारमा गुन्जनका बुवाझैं कोही हुन जरुरी छ जसले भनोस्, 'तेरो सपना, मेरो पनि सपना हो। त्यो मर्नु भनेको मेरो सपना मर्नु हो।'
पञ्जाबी कवि पासले त भनेकै छन्, 'सबसे खतरनाक होता है, सपनोंका मर जाना!'
(सबिना श्रेष्ठका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)