कर्णाली क्षेत्र विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो। केही दशक अघिसम्म यहाँका अधिकांश बस्ती मूलतः कृषि र पशुपालनमा निर्भर थिए। त्यसैले यहाँको स्थानीय परिपाटी र रितिथिति कृषि र पशुपालन चक्रसँग जोडिएका पाइन्छन्।
प्रायः एकै वंशपरम्पराका थरी र जातिको बाहुल्य भएको बस्तीमा पुरानो पुस्ताका सदस्यहरू मार्फत दैनिक कामकै सिलसिलामा नयाँ पुस्ताले जानकारी बटुलिरहेको हुन्छन्।
यहाँ एककोश हिँड्दा भाषिका र चारकोश हिँड्दा फरक रितिरिवाज भेटिन्छ भन्ने मान्यता छ। यसको मतलब यहाँका हरेक गाउँ आफैमा विशिष्टिकृत बस्ती हुन्। भौगोलिक, सामाजिक र राजनीतिक रुपमा सदियौंसम्म आइसोलेसनमा परेकाले हुन सक्छ, यहाँका हरेक दरा र खोलाका बस्तीमा सामान्य जीवनयापनका निम्ति आवश्यक मौलिक विधि र प्रकृयाहरू विकसित भएको पाइन्छ। यहाँको आध्यात्मिक तथा धार्मिक आस्थाको परिपाटी पनि देशको अन्य स्थानभन्दा भिन्न छ।
श्रुतिपरम्परामा आधारित यहाँको ज्ञान हस्तान्तरण गर्ने परिपाटीमा नयाँ जमानको विकासक्रम सँगै क्षयीकरण भइरहेको छ। केहीदशक यता परम्परागत बस्तीमा बहुल संस्कृतिको घुलमिल सुरू भएको छ भने एकल परिवारको चलन बढ्दो छ। सामूहिक प्रचलन हराउँदै छन्।
ज्ञानको पुस्तान्तरण सही ढंगले नहुँदा मौलिकता हराउने, बिर्सिइने वा बिग्रिने सम्भावना हुन्छ। आफ्नो इतिहासमा गर्व गर्न नसक्ने समाजको पहिचान संकटमा पर्छ। त्यसैले सकारात्मक सन्दर्भ र विषयको चर्चा र बहस मार्फत यस्ता विशेषताको उजागर गर्न सकिन्छ।
हाम्रो अनुभव साट्ने आधिकारिक परिपाटी निर्माण छैन। तर अहिलेको जमानामा पुरानो र नयाँ पुस्ता बीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धति मार्फत अभिलेखीकरण गर्न सकिन्छ। बाहिरबाट गएर गाउँको अध्ययन गरी गाउँका पुराना कुरा उजागर गर्ने केही प्रयास गरिए पनि ती कहिल्यै पर्याप्त हुँदैनन्। त्यसैलै यस्ता पहल स्थानीय तवरबाटै गर्नु अझ प्रभावकारी हुन्छ।
यस्तै प्रयास कर्णाली प्रदेश जुम्ला जिल्लाको लाम्रागाउँमा २०७७, कात्तिक २८, २९ र ३० गते हुँदैछ।
'लाम्रा संवादः गाउँका कुडा २०७७' नामले तीन दिनसम्म चल्ने यो कार्यक्रमले गाउँको समग्र परिवेश र विशेषता भएका १२ वटा सत्र मार्फत स्थानीय बयोवृद्ध, योगदानकर्ता र जानकारका कुडा समेट्ने छ। अर्थात, गाउँलेहरूले आ-आफ्ना ज्ञान र अनुभव साट्ने छन्।
यस्ता कार्यक्रममा गाउँकै बुढापाकाहरू वक्ताको रुपमा प्रस्तुत हुने, गाउँकै मनिसले उनीहरूलाई प्रश्न सोध्ने र अरु गाउँले उनीहरूलाई सुन्ने र मनमा लागेका कुरा सोध्न वा भन्न पाउने हुँदा सबैको चासो र रूचि बढ्छ।
सबै छलफल सत्रहरूको भिडिओ रेकर्डिङ गरी आवश्यक सम्पादन ‘गरेर विभिन्न समाजिक सञ्जाल र युट्युबमा प्रसारण गरी गाउँबाहिर बस्नेहरू तथा विषयमा रूचि राख्नेहरूसम्म सजिव ढंगले पुग्न सकिन्छ।
हरेक दिनका सेसनहरू हेर्दा यसले स्वाबलम्बी ग्रामीण जीवनका बहु-आयाम प्रतिनिधित्व गरेको पाइन्छ। जस्तै पहिलो दिन कात्तिक २८ गते शुक्रबारः 'कुडा सुन्नु बूढाका' शीर्षक अन्तर्गत चारवटा सेसन सुन्न सकिन्छ।
यसमा गाउँका जानकार बुढापाकाहरूले गाउँको इतिहासको कुरा गर्छन्। गाउँमा को, कताबाट, कहिले, कसरी आयौं र कहाँ कहाँसम्म फैलियौं? नाउँ कसरी रह्यो? बस्ती कसरी बस्यो? विशेषता के छ? भन्ने जस्ता प्रश्नमा चर्चा गर्छन्। बिम्वात्मकरुपमा यसलाई 'गाउँको जडो' सत्र नामाकरण गरिएको छ।
जुम्लामा मोटर बाटो पुगेको दुई दशक पनि भएको छैन। पहिलेका मानिसहरू हिँडेरै भोट मधेस गर्थे। ठूला समूहमा महिनौंको यात्रामा कति मानिस बिरामी परेर मर्थे। बाँचेकाहरू कहानी बोकेर फर्किन्थे।
'तीर्थ र हाटयात्राका कुडा' सुनाउने बुढापाकाले उनीहरू तीर्थ तथा हाट यात्रामा जाँदाको अनुभव सुनाउँछन्। यात्रा परम्परा, तयारी, समूह निर्माण, जटिलता, जोखिम र रोचकता आदिको यात्रा कहानी सुन्न रोमान्चक हुनेछ।
लाम्रागाउँ सहित हाँकु, नुवाघर, बयालकाटिंया र श्रीदुस्काका पाँच गाउँको मार्सिधान फल्ने जिउलामा सिँचाइ गर्न गरी बनेको उठिल्यादेखि अैरेनीसम्म ५ किलोमिटर लामो सिँचाइ कुलो यहाँका बस्तीहरूको जीवनरेखा हो।
यस निर्माणसँग जोडिएको आफ्नै इतिहास छ भने मर्मत गर्ने आफ्नै नै परम्परा पनि छ। कुलो निर्माणमा परेको विवाद सुल्झाउन यहाँका मानिसहरू बि.सं. १९५४ अघि पटकपटक डोटीदेखि सल्यानसम्मका अड्डा अदालत धाएको इतिहास छ। यसलाई 'कुलोको सबाई (कथा)' सत्रमा समेटिनेछ।
आधुनिक उपचार पद्धतिको उपलब्धता हुनुअघि यहाँका मानिसहरू कुनै पनि उपचारको निम्ति पूर्णतः घरायसी औषधी वा धामीझाँक्रीमा निर्भर हुन्थे। अहिले पनि परम्परागन पद्धतिमा उत्तिकै विश्वास गर्छन्। गाउँलेहरूले अपनाउने उपचार शैली र विश्वासको सकारात्मकता र जोखिमको चर्चा गरिन सान्दर्भिक हुन्छ।
गाउँमा जडिबुटीको उपलब्धता, तिनको नाउँ, पाइने, प्रयोगशैली, धामी परम्परा, विशेषता, विकल्प आदिको जानकारी हस्तान्तरण हुनसके नयाँ पुस्ता लाभान्वित हुनसक्त। 'ओक्तो र देउता' सत्रले सो चासो केही हदसम्म सम्बोधन गर्न सक्छ।
गाउँमा पुराना पुस्ताको कुरा गर्दा हामी प्रायः पुरुषहरूका कुरामा ध्यान दिन्छौं। तर गाउँका बयोबृद्ध महिलाहरू अर्थात हजुरआमासँग उनीहरूको बाल्यकाल र युवावस्थाका कथा सुन्ने तथा उनीहरू यस गाउँमा आएपछि हालसम्म देखिएका परिवर्तनका बारेमा जन्नुले अहम् दृष्टिकोण दिन्छ। त्यसले यसमा राखिएको 'बज्यूका कुडा' सत्र निकै नै महत्वपूण हुने विश्वास गर्न सकिन्छ।
जुम्लातिर वर्षभर मनाइने चाडवाड अन्यत्रको भन्दा मौलिक र पृथक पनि छन्। कतिपय चाडपर्व मनाउने तरिका पनि भिन्न पाइन्छन्। त्यस्तै गाउँका सार्की, दमाई र बाहुन जातिमा जन्मदेखि मृत्युसम्म गरिने संस्कारमा पनि विविधता पाइन्छ। यस्ता कुराको चर्चा 'संस्कृति र संस्कार' मा समेट्न सकिन्छ।
पुरानो बस्तीहरूमा स्वावलम्बनको विकास भएको पाइन्छ। त्यस्ता बस्तीमा विभिन्न सीप र कला भएका मानिसहरू जस्तै चाँद बुन्ने, सिलाउने, बनाउने, छिप्ने, कात्ने, कुँद्ने, पेल्ने, पकाउने आदि सीप भएका मानिसहरू हुन्छन्। यस्ता मानिसका कुरा जन्न बुझ्न 'श्रम र सीप' सत्र लाभदायक होला।
गाउँमा इतिहासदेखि वर्तमानसम्मका विविध प्रकारका सर्जकहरूको जन्म भएको हुन्छ। उनीहरूको यथेष्ट चिनारीको अभावमा उनीहरूको चर्चा हराएको पाइन्छ। उनीहरूका कृति र सृजन चर्चा गरेर जिवन्त बनाउन सकिन्छ। 'सर्जक र सृजना' सत्रमार्फत यस्ता कुराहरू उजागर गर्न सकिन्छ।
परम्परादेखि खेतिकिसानीमा आश्रित गाउँमा बन्दव्यापारको महत्व उति रहन्न। व्यापारको जोखिम लिन नसक्ने समुदायमा उद्यम फस्टाउन सक्दैन। उद्यमीका कुराले अरूलाई प्रेरणा र सजगता प्रदान गर्छ। त्यसैले गाउँमा बन्द-व्यापारको सुरूवात, विगत र वर्तमान अवस्था, सफल व्यवसायी र उद्यमीका प्रेरणाका कथा, व्यवसायिक चुनौती र युवाको निम्ति अवसरको खोजी बारे 'उद्यम र उत्पादन' सत्रले सम्बोधन गर्छ।
राजनीति कुनै पनि समाज र गाउँको अभिन्न पाटो हो। दलीय राजनीतिको सुरूवात हुनुअघि गाउँमा ठेकथितिको आफ्नै परम्परा थियो। इतिहासदेखि वर्तमानसम्मको राजनीतिक व्यवस्था, गाउँको राजनीतिक सहभागिता, राजनीतिक व्यक्त्तित्व र उनीहरूका योगदान, वर्तमान राजनीतिक परिवेश र युवा सहभागिताको सम्भावनाबारे विमर्श गनु लाभदायक हुन्छ। यसलाई 'ठेकथिति र राजनीति' सत्रले चर्चा गर्छ।
वर्तमान शासन प्रणालीमा चुनावमार्फत चुनिएर आएको स्थानीय सरकार गाउँको विकास र सुशासनका लागि मुख्य जिम्मेवार हो। सरकारले गाउँको सामाजिक आर्थिक विकासका लागि गरेका प्रतिबद्धता, नीति, हालसम्मका प्रगतिबारे स्थानीयको चासोबारे गाउँलेहरू माझ चर्चा गरिन पर्छ।
त्यस्तै गाउँको सुरक्षा र सुशासनको अवस्था अनि पूर्वतयारीबारे समेत सुसूचित बनाउन 'विकास र सुशासन' सत्रले बहस गराउन सक्छ।
जुम्लातिर जाडो बढ्दै गर्दा घाम ताप्दै गफिने यहाँको परम्परा नै हो। यसपालि चाडपर्व पछाडि धकेलिएकाले तिहारसम्म गाउँलेहरू प्रायः फुर्सदिला भइसकेका छन्। यही गफ गर्ने परिपाटीलाई केही व्यवस्थित बनाएर 'लाम्रा संवादः गाउँका कुडा २०७७' गरिनु एउटा नवीन र रोचक प्रयास हुन गएको छ।
यसबाट गाउँलेकै प्रयासमा गाउँको ज्ञान, भावना, सीप, विचार, आकांक्षाहरूको संरक्षण गर्ने तथा यसका विशेषतालाई उजागर गरी तीव परिवर्तन भइरहेको समाजमा सहिष्णु भावनालाई कायम राख्न योगदान गर्ने छ। वर्तमान कोरोना अवस्थाले यस्ता कार्यक्रम आयोजना गर्न केही चूनौतीपूर्ण भए पनि गाउँमा मात्र सीमित गरिने र खुला ठाउँमा भौतिक दुरी तथा सुरक्षाका अन्य मापदण्ड अपनाएर सञ्चालन गरिँदा यसले अपेक्षित सफलता प्राप्त गर्न सक्छ।
(लेखक चौलागाईं लाम्रा गाउँका बासिन्दा हुन्।)