सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरूबीच केही समयदेखि नै आरोप-प्रत्यारोपको क्रम सुरू भएको थियो। त्यही बेलै मैले सोचेको थिएँ- हामी जनताले फेरि दु:ख पाउने भयौं। लामो समय लडेर 'केही हुने' आशमा ल्याएको लोकतन्त्र र बनाएको संविधानले 'केही गर्न' नसक्ने भए।
मेरो त्यो चिन्ता नभन्दै सत्यमा परिणत भयो। प्रतिनिधि सभा विघटन भएको छ। नेताहरू झन् बढी आरोप-प्रत्यारोपमा उत्रिनुभएको छ।
अहिले एकातिर, अर्थतन्त्र कोरोनाले थिलोथिलो भएको छ। आमनागरिकका पेशा व्यवसाय चौपट भएका छन्। कति जनालाई सधैंका लागि पलायन हुनु पर्ने अवस्था आएको छ। यस्तो बेला सरकारले चुनाव गर्ने भनेको छ। २०७४ सालको आम चुनाव गर्न सात अर्ब रुपैयाँ खर्च भएको थियो रे। कोरोनाको भ्याक्सिन किनेर सबैलाई पुग्ने गरी लगाइदिएर ढुक्कसँग पेशा, व्यवसाय गर्ने वातावरण बनाइदिनु पर्ने बेला सरकार त्यत्रो पैसा चुनावमा खर्च गर्छु भन्दै छ।
सरकारले हामीलाई भ्याक्सिन त दिने भयो तर कोरोनाको होइन राजनीतिको भ्याक्सिन। निको हुने होइन, रिएक्सन हुने राजनीतिको भ्याक्सिन हामीलाई लगाइसक्यो।
अर्कातिर, २०४६ सालको जनआन्दोलन, २०६२/०६३ सालको आन्दोलनमा हामी पनि सहभागी भएका थियौं। अरूलाई जस्तै हामीलाई पनि देशमा प्रजातन्त्र ल्याए, गणतन्त्र आए, संविधान सभाले संविधान बनाए स्थिरता हुन्छ, विकास हुन्छ, नागरिकले सुख सुविधा पाउँछन् भन्ने आशा थियो।
आम नागरिकको त्यो आशामा अहिले तुषारापात भयो। राजनीति उल्टो दिशामा हिँड्यो। अहिले जे भइरहेको छ त्यो देशका लागि दुर्भाग्य हो।
अवस्था यस्तो आयो कि हामीले मुख लुकाएर हिँड्नु पर्ने भयो। मानिसहरू 'तिमीहरूले पनि आन्दोलन गरेका थियौ होइन, आखिर यस्तो हुने रै'छ' भनेर खुच्चिङ गर्न थालेका छन्। यस्तो सुन्दा एकातिर दु:ख लाग्छ, अर्कातिर लाज।
यो परिस्थिति आउनुमा सबै नेताहरूको भूमिका छ, सकरात्मक होइन नकारात्मक। कसैको धेरै होला कसैको थोरै तर सबै नेताहरू दोषी छन्। हाम्रो पुस्तामात्र होइन हामी पछिको पुस्तालाई पनि अनिश्चितताको भूमरीमा फसाएर नेताहरू अहिले एक-अर्कालाई चर्का गाली गरिरहनु भएको छ। उपस्थितलाई हँसाउन जोक सुनाइरहनु भएको छ।
उहाँहरूलाई लाग्दो हो जनता हाँसिरहेका छन्, हामीलाई स्याबासी दिइरहेका छन्। त्यही भएर एक-अर्कालाई जति सकिन्छ नंग्याउन लाग्नुभएको छ। उहाँहरूले आफू नांगिएको चाल पाउनु भएको छैन। अहिले नेताहरूले प्रस्तुत गरिरहेको हाँस्य कुनै गहिराइ र अर्थ भएको होइन, नांगा कलाकारहरूले प्रस्तुत गरिरहेको अश्लील प्रहसन हो।
प्रधानमन्त्री केपी शर्मा ओली र अरू नेताहरूको भाषण सुनेर म पनि हाँसें। हुन त हसाउँने भाषण गर्नसक्नु नेताहरूको खुबी हो। तर मलाई यस्तो भाषण सुनेर हाँस्नु नपरे हुन्छजस्तो लाग्छ। यस्तो हाँसोले देशलाई फाइदा गर्दैन। बरू एकछिन पछि आफैंलाई धिक्कार्न मन लाग्छ।
(सेतोपाटीका भानुभक्तसँगको कुराकानीमा आधारित।)