ठ्याक्कै आधा शताब्दीअघि सत्यमोहन जोशीको समूहमा कर्णाली सांस्कृतिक अध्ययनका लागि बिहारीकृष्ण श्रेष्ठ जुम्ला पुगेका थिए। जुम्लामा गाउँलेहरू मिलेर परम्परागत कुलो बनाउने र सञ्चालन गर्ने मौलिक पद्धति देखेर उनीहरू निकै प्रभावित भएका थिए।
सरकारी नीति निर्माणतहमा लामो समय काम गरेका श्रेष्ठले त्यसैबाट सिकेर तीस दशकयता सरकारले उपभोक्ता समूह बनाइ समुदाय परिचालन गर्ने रणनीति बनाएको पटकपटक भनिरहेका छन्। वन उपभोक्ता, आमा समूह जस्ता विश्वमै सफल मानिएका पद्धति जुम्ली समाजमा प्रचलित समूह कार्यमा आधारित अवधारणा हुन्।
यस्तै एउटा कुलोबारे गत कात्तिक २८, २९ र ३० गते जुम्ला, लाम्रागाउँमा आयोजित 'लाम्रा संवादः गाउँका कुडा २०७७' मा चर्चा गरिएको थियो। 'कुलोको सवाई' (कुलोको कथा)सत्रमा गाउँमा जानेबुझेका अघिल्लो पुस्ताका सदस्यले आफ्रनो ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न यो संवाद गरेका थिए।
लाम्रा गाउँ अघिल्तिर तिलानदी फाँटमा मार्सीधान फलाउने नुंग्र्या ज्यूलामा रहेका खेतमा चलेको सेसनमा गाउँकै नन्द चौलागाईंले स्थानीय वक्ता कुलाचन्द्र चौलागाईं, धनप्रसाद चौलागाईं, पूर्णप्रसाद चौलागाईं र सिंह सार्कीसँग कुलाको कथा कोट्याए।
पूर्खाहरूले यो कुलो कहिले बनाए, कोको संलग्न भए, कसरी चलाइन्छ र कस्ता चुनौती छन् भनी विविध पक्षको बहस गरे।
जुम्लातिर बर्सेनि कुलो मर्मतसम्भारका लागि चाहिने श्रमका लागि समुदाय परिचालन गर्ने विशिष्ट, मौलिक र वैज्ञानिक परिपाटी छ। अचेल यस्ता महत्वपूर्ण सामाजिक परम्परा आधुनिक विकासको आगमनसँगै हराउँदै गएका छन्।
मानव वस्ती स्थापना र विस्तार पानी र खेतीको उपलब्धतासँग जोडिएको हुन्छ। सभ्यताको विकास नदी किनारमा भएको पाइन्छ। जुम्ला क्षेत्रमा विकसित सभ्यता कर्णाली, हिमा र तिला नदीले बनाएको फाँटमा विकसित तथा विस्तारित भएको हो। यसबारे गरिने अध्ययनले आधुनिक विकास र समृद्धिका बहसमा महत्वपूर्ण समाजशास्त्रीय आयाम थप्छ।
आधा शताब्दीअघि कर्णाली सभ्यता र संस्कृति अध्ययन गर्न गएको प्राज्ञ टोलीले त्यहाँको भाषा, भूगोल, इतिहास, लोकसंस्कृति लगायत स्थानीय जीवनका विविध आयाम अध्ययन गर्दा सिंजा उपत्यकामा रहेको 'जचौरी कुलो' को सञ्चालन व्यवस्था अध्ययन गरेको थियो।
लाम्रा संवादमा गाउँलेहरू आफैंले उँठिल्या-ऐरेनी कुलोको चर्चा गरेका थिए।
कर्णाली क्षेत्रमा सिँचाइ गर्न सकिने ठाँउमा बसेका बस्तीहरू (कतिपय अध्येताले यी बस्तीलाई ज्युलेल भनेका छन्) तुलनात्मक रुपमा समृद्ध मानिन्छन्। जुम्लामा हिमनदीबाट कुलो खनेर सिञ्चित हुने ज्युला (खेत भएको ठाउँ)मा मार्सीधान फल्छ। मार्सीधानको जति नै यहाँ कुलोको पनि इतिहास र महिमा छ।
तिलानदीको उँठिल्याबाट सुरू भएर लाम्राको ऐरेनीसम्म पाँच हजार एक सयभन्दा बढी खेत सिञ्चिने ५ किलोमिटर लामो कुलो निर्माण र विस्तारको इतिहास, बर्सेनि गरिने मर्मतसम्भार तालिका र यससँग जोडिएका सामाजिक परिपाटी विशिष्ट छन्।
यो ज्यूलामा सिँचाइका लागि उँठिल्याबाट पानी ल्याउन कुलो खन्नुअघि पश्चिमतर्फको हियाँखोला र पूर्वतर्फको उमखोलाबाट ल्याएको कुलोबाट रोपाइँ हुन्थ्यो। तर ती खोलामा पानी घट्दै जान थाल्यो र खेत सुख्खा पर्न थाले। साह्रो खेत गोड्दा नङले कोट्याउन पर्ने हुन थालेपछि यो भागलाई नुंग्र्या ज्युलो भनिन थाल्यो।
ती खोला सुक्नुमा जलाधार क्षेत्रको वन अतिक्रमण प्रमुख कारण हो। तर केही पुराना जनश्रुतिअनुसार एउटा ठूलो भुइँचालोपछि डाँडाको दक्षिणतर्फ बग्ने सबै खोला सुक्न थाले र उत्तरतर्फ पानीको आयतन बढ्यो।
पुरानो कुलो सुक्न थालेपछि गाउँलेले उमगाडदेखि अहिलेको मुहान उँठिल्यासम्म कुलो खन्ने निर्णय गरे। तर मुहान नजिकको गाउँ श्रीदुस्काका केही मानिसले बिरोध गरे। अनि हाँकु, लाम्रा, नुवाघर र बयालकाटियाँ गाउँका थरीथानीहरू मिलेर रातारात बिरोधीलाई थाहै नदिई कुलो खन्न बाध्य भए।
कुलो त बन्यो तर बर्सेनि गरिने मर्मतमा श्रीदुस्का गाउँकाले असहयोग र अवरोध गरिरहे। यही विषयमा मुद्दा लड्न गाउँलेहरू जुम्ला, डोटी र सल्यानका अड्डासम्म धाउनु परेको थियो। अन्ततः बि.सं. १९५४, फागुन १० मा तत्कालीन जुम्ला गौंडाले यसको छिनोफानो गरी कुलो सञ्चालनमा कोही कसैले बाधा नगर्ने निर्णय गरेको थियो। (सो निर्णयको दस्तावेज चित्रमा हेर्नुहोस्)
गाउँघरमा त्यतिबेलाको परिस्थिति, डोटी र दांग गौंडामा तारिक बोक्न जाने तयारी, यात्रा, जटिलता, तत्कालीन जुम्ला गौंडाका बडाहाकिमलाई चिरापरेका खेत देखाउँदा तथा न्याय माग्दाका दृष्टान्त जोडेर बनाइएका सवाई (कथा) हरू प्रचलित छन्।
मार्सीधान धानको बीउ राख्ने दिन चैत १२ गतेको ठीक एक महिनाअघि फागुन १२ गतेबाट कुलो फाल्ने (जमेको माटो, ढुंगा र बालुवा फाल्ने र ठाँउठाउँमा आवश्यक मर्मतसम्भार गर्ने) काम सुरू हुन्छ। पाँच किलोमिटर लामो यो 'कुलो फाल्ने' काम सक्न करिब एक महिना लाग्छ।
यसलाई मर्मत गरी बीउ उमार्ने, सबैका खेत रोपाइँ गरेर पहिलोपल्ट खेत गोड्नेबेलासम्म कुलोमा नियमित पानी ल्याउन गरिने सम्पूर्ण व्यवस्थामा समुदाय परिचालनको सन्तुलित, समावेशी र वैज्ञानिक परिपाटी उदाहरणीय अभ्यास हुन्। यसैको चर्चा संवादमा गरिएको थियो।
कुलो सञ्चालनको नेतृत्व लिने व्यक्तिलाई 'अडै' भन्छन्। सामान्यतया समुदायमा प्रभाव राख्ने, सक्रिय र वरिष्ठ मान्छेले अडैको भूमिका पाउँछ।
कुलोको पुछारमा खेत भएका गाउँलेले फागुन १२ गतेबाट कुलो फाल्न सुरू गर्छन्। पहिलोखण्डमा पुछारको ऐरेनीबाट लाम्रा गाउँको घडा भन्ने ठाउँसम्म आफ्ना खेत हुने हरेक घरधुरीबाट एक जना कुलारो आउनुपर्छ।
घडादेखि जसै गाउँ थपिँदै जान्छन् हरेक पन्ध्र मुरी खेत हुने घरधुरीबाट एक जनाका दरले मान्छे पठाउनु पर्छ। दस मुरीसम्म खेत हुने घरधुरीबाट लगातार दुई दिन जाने र तेस्रो दिन विश्राम लिन्छन् भने पाँच मुरीसम्म मात्र खेत हुनेहरू एकदिन गएपछि अर्को दुई दिन विश्राम पाउँछन्।
अडैले हरेक कुलारालाई छ फिट जति निगालोको लौरोले नापेर कुलो सफा गर्ने जिम्मा दिन्छन्। कुलाराको सीप, शक्ति र क्षमता हेरी अप्ठ्यारो वा जटिलता भएको ठाउँमा थप जनशक्तिसहित परिचालन गर्छन्। यदि कोही आफ्नो पालोमा नआएमा वा कसैले अटेरी गरे उसलाई सजाय हुन्छ। अडैले त्यस्ता व्यक्तिको भाँडा हात हाल्छन् अर्थात घरमा पुगेर भेटेको भाँडा उठाउँछन्। अटेरीले आफ्नो पालो पुर्यापछि मात्र भाँडा फिर्ता पाउँछन्।
यसरी बनाएको कुलामा पहिलो पानी ल्याएको (रिटाएको) दिन उत्सव झैं हुन्छ। सो वर्ष घर बनाउने, परदेशमा रहेका, विहे, मृत्यु, बिरामी वा मुद्दामामिलाको कारण कुलो फाल्ने काममा सरिक हुन नसेका घरधुरीले आफ्नो गच्छे अनुसार टाट्या (पुरी), च्यूडा (च्यूरा), अर्सा, फिनी, अचार, फलफुल आदि ल्याएका कोसेली सबैले बाँडिचुँडी खान्छन्।
त्यसै मौकामा हरेक गाउँका तर्फबाट केही कुलारा छानिन्छन्। उनीहरूलाई सबै पाँच हजार बढी खेतको रोपाइँ सकेर पहिलो चरण गोड्ने बेलासम्म कुलाको रेखदेख गर्ने गरी जिम्मा दिइन्छ। उनीहरूले आवश्यक परेका बेला बन्द गर्ने, सामान्य मर्मत गर्ने तथा समुदायको सहयोग चाहिएका् बेला समन्वय गर्छन्। कुलाराले उनीहरूको पारिश्रमिकवापत सबै घरधुरीबाट पहिलोचोटि साउने संक्रान्तिमा दुई माना चामल र दोस्रोचोटि कात्तिकमा धान काटी सकेपछि दुई पाथी धान दिनुपर्छ।
सदियौंदेखि निरन्तर चलिरहेको यो परम्परा केही दशकयता संकटमा पर्न थालेको अनुभव लाम्रा संवादका वक्ताले गरेका छन्।
विशेषगरी गाउँमा खुलापन बढेर बाह्य प्रभाव बढेपछि मानिसमा सामूहिक भावनामा आँच पुगेको छ। आधुनिक विकासको प्रभाव सुरू भएसँगै सामुदायिक काममा श्रमदान गर्ने परिपाटी घटेको छ। गाउँको राजनीति नेतृत्वमा भाग लिनेले सक्रियतामा कुलोको नाउँमा टुक्रे विकासका काम ल्याउँदा स्थानीयमा आफ्नै काम पनि बिना पैसा नगर्ने बानी बढ्दो छ।
राजनीति गर्ने एउटा खेमाको पहलमा ल्याइएको कुनै निर्माण योजनामा अर्को पक्षले रूचि नदिने चलन पनि देखिन्छ। त्यसैले संवादमा भाग लिने स्थानीय कि विस्तृत योजना ल्याएर यसलाई व्यवस्थित गर्नुपर्छ, नत्र पुरानै परिपाटीबाट चलाउनु उत्तम हुन्छ भन्छन्। तथापी समुदाय परिचालनको विशिष्ट परम्परा भने आधुनिकताको आयातित संक्रमणबाट विस्तारै क्षयीकरण भएर दीर्घकालसम्म नचल्ने देखिन्छ।
देशकै सबैभन्दा ठूलो क्षेत्रफल ओगट्ने कर्णाली प्रदेशको केवल १२ प्रतिशत जति जमिन मात्र उत्पादनशील छ। त्यसमध्ये केवल एक चौथाइजति (२३ प्रतिशत) जमिनमा सिँचाइ उपलब्ध छ। यस प्रदेशका तीन चौथाइ (७७ प्रतिशत) घरधुरीमा वर्षभरी खाने अन्न पुग्दैन। उनीहरूले बेसाहा गरेर (किनेर, साटेर) आफ्नो परिवारको भोक मेट्नु पर्छ।
सबै सरकार र उनीहरूका योजनाले कृषि क्षेत्र हाम्रो प्राथमिता हो त भन्छन्, तर व्यवस्थित विकासको भरपर्दो आधार कसैले बनाउन सकेका वा चाहेका छैनन्।
जस्तो, यही शताब्दीको दोस्रो दशकदेखि सिँचाइ क्षेत्रको आधुनिक विकासका लागि नीति ल्याएको नेपाल सरकारले तराइबाहेक पहाडमा सिँचाइ कुलो वा नहर विकासबारे अझै सोच्न सकेको छैन।
त्यस्तै, नयाँ बनेको प्रदेश सरकारले गत वर्ष ९६ वटा सिँचाइ आयोजनाहरूमा रकम वितरण गरे पनि उँठिल्या-ऐरेनीजस्ता ऐतिहसिक कुलोको दीगो विकास प्राथमिकतामा पर्न सकेको छैन।
लाम्रा संवादः गाउँका कुडा-२०७७ को पहिलो सत्र 'कुलोको सवाई (कथा)' को पूरा भिडिओ हेर्नुहोस्ः
(लेखक माधव चौलागाईं जुम्ला, तातोपानी गाउँपालिका, लाम्रागाउँका बासिन्दा हुन्।)