यात्राले मानिसमा उमंग, स्वास्थ्य र सन्तुष्टि बढाउँछ भनिन्छ। त्यसैले कतिपय देशमा मानिसहरू रहरले यात्रा गर्छन्। तर, कर्णालीमा बाध्यताले लामो यात्रा गर्ने चलन छँदैछ।
नुनतेलका लागि कहिले भोट त कहिले मधेशका लामालामा हाटयात्रा गरिने चलन पुरानै हो। यसरी यात्रा गर्ने हटारूका कथाहरू मार्मिक हुन्छन्।
कर्णालीका बासिन्दाले कालापहाडको र हाटको यात्रासँगै गर्छन्। कालापहाडमा कमाएका तोडा अर्थात् धनले घर फर्किँदा हाट गर्ने चलन छ। गाडी आउनुअघिसम्म कर्णाली क्षेत्रका लागि राजापुर हाट, कोइलाबास हाट तथा नेपालगञ्ज हाट निकै प्रचलित थिए। महिनौं हिँडेर हाट गर्ने पुस्ता उसै छन्।
तीर्थयात्रा अर्को परम्परा हो। यो बाध्यता कम, रहर बढी भएको यात्रा हो। आफ्नो होस् वा पितृका लागि, तीर्थयात्राले मानिसमा आत्मिक सन्तुष्टि दिन्छ। कर्णालीबाट टाढाको चारधाम, मुक्तिनाथ र कैलाशनाथको तीर्थयात्रा प्रख्यात छ भने नजिकका विभिन्न मालिका, कुण्ड, त्रिवेणी, थान, मन्दिरहरू लगायत शक्तिपीठ प्रचलित छन्। छायानाथ, ऋणमोक्ष, खेस्म मालिका, चिमारा मालिका, भुरिचुला मालिका, बाँसी मालिका, हलढुंगा मालिका आदि केही जुम्ला, मेरो गाउँतिरका मानिसहरू जाने नजिकका तीर्थस्थल हुन्।
यस्ता यात्राका कथाले समुदायका अलिखित जानकारीलाई नयाँ पुस्तामा हस्तान्तरण गरिरहेका हुन्छन्। यात्रासँगै मानिसका सम्बन्धमा नयाँ आयाम थपिएका पनि हुन्छन्। कसैकसैले मीतमितिनी वा सम्धिसम्धिनी बन्ने टुंगो पनि यस्तै तीर्थयात्रामा गर्थे। तीर्थारू र हटारूका कथा रोचक हुन्छन्। ती कथामा विगतका बाध्यता, कठिनाइ, जोखिम र चुनौती अनि समर्पण, सहकार्य, सन्तुष्टि र सहिष्णुसहितको जीवनशैली झल्किन्छ।
तीर्थयात्राबारे भेटिने केही प्राचीन तथा मध्यकालीन तथ्यहरूले यसको विकासक्रम र अन्तरसम्बन्ध बुझ्न मद्दत गर्छ।
खस साम्राज्यकालमा यो क्षेत्र हिमाल वारपारको साम्राज्य अर्थात 'ट्रान्स-हिमालयन इम्पाएर' थियो। अहिले सुन्दा अपत्यारिलो लागे पनि छदेखि नौ सय वर्षपहिलेको अवधिमा उत्तरमा तिब्बतको गुगे, गांग्री र पुरांगसम्म, दक्षिणमा बोधगयासम्म, पूर्वमा गण्डकी र पश्चिममा उत्तराखण्ड भूभागसम्म विस्तार भएको खस साम्राज्यको शासनकेन्द्र कर्णाली क्षेत्र थियो।
यही भूगोलभित्र हिमवत्खण्डका ठूला हिन्दु र बौद्ध तीर्थस्थलहरू छन्। जस्तो तिब्बतको कैलाश र मानसरोवर, उत्तराखण्डका बद्रीनाथ र केदारनाथ, बोधगयाको सारनाथ, गण्डकीको मुक्तिनाथ आदि।
उबेलाका राजाहरूले जारी गर्ने लिखतहरूमा 'बदरीनाथ जयति, मुक्तिनाथ सहाय' उल्लेख गरेको पाइन्छ। यसलाई आफ्नो शासन क्षेत्रका देवहरूको सम्मानका रूपमा इतिहासकारहरूले अर्थ्याएका छन्।
बि.सं. ११५० ताका शासन गरेका अनुमान गरिएका खस साम्राज्यका पहिलो राजा नगराजले तिब्बतमै दीक्षा लिएका थिए। सम्राट नागराजले मानसरोवर तीर्थयात्राबाट फर्किँदा खारी प्रान्तको मेखम् गाउँबाट साठी जना भोटे व्यापारी साथ ल्याएर हालको मुगु गाउँमा बसालेका थिए भनिन्छ।
इतिहासकार सूर्यमणि अधिकारीका अनुसार बि.सं. १२५० आसपास दशकमा उत्तरभारतमा मुसलमान आक्रमण तीव्र भयो। त्यतिबेला उत्तरभारतमा निकै शक्तिशाली मानिएका अजमेरका राजा पृथ्वीराज चौहान, दिल्लीका राजा गोविन्द राय, बंगालका राजा लक्ष्मण सेन, कन्नौजका राजा जयचन्द मारिए।
त्यसको आधा शताब्दीभित्रै बि.सं. १३०० को सुरूआती दशकबाट शासन गरेका जुम्ली सम्राट अशोकचल्लका नाउँमा बोधगयामा कीर्तिस्तम्भ बनेको छ। उनले उत्तराखण्डको गढवालमा त्रिशूल गाडेका थिए। उनका छोरा जितारी मल्ल नेपाल उपत्यका अर्थात काठमाडौंसम्म पुगेका थिए भने नाति रिपुमल्लका अभिलेख लुम्बिनी र कपिलबस्तुमा भेटिएका छन्।
बि.सं. १३४४ देखि १३९१ मा कर्णालीका जितारीमल्ल, रिपुमल्ल, आदित्यमल्ल र पुण्यमल्ल गरी चार राजाले आक्रमण र तीर्थयात्राको सिलसिलामा सातपटक नेपाल उपत्यका भ्रमण गरेका थिए। पटकपटक उनीहरूले उपत्यकामा पशुपतिनाथ, स्वयम्भूनाथ चैत्य र बुंगमतिको रातो मच्छिन्द्रनाथ दर्शन पूजा गर्ने गरेको जानकारी धनबज्र बज्राचार्यले अनुवाद गरेको 'गोपाल बंशावली' मा उल्लेख छ।
यो क्षेत्र प्राचीन रेशममार्गको अंश थियो। गंगाक्षेत्रबाट साधुसन्तहरू कैलाश दर्शन गर्न यही बाटो हिँड्थे। तिब्बततिरको व्यापारका लागि पनि यही मार्ग प्रयोग हुन्थ्यो। यही कालखण्डमा चन्दननाथ बाबा मानसरोवर तीर्थयात्रामा यही बाटो हुँदै आएर यतै बस्न थाले भन्ने अनुमान छ।
खस साम्राज्यकालमा राजाहरू बौद्ध धर्ममा विश्वास गर्थे भने हिन्दु धर्ममा पनि उत्तिकै श्रद्धा गर्थे। चौधौं शताब्दीताका खसशासनको केन्द्रीय भूमि कर्णाली क्षेत्रमा हिन्दु पञ्चदेवल र बौद्ध चैत्यहरूको सम्मीश्रण विकास भएको पाइन्छ। जस्तो सुर्खेतको काँक्रेबिहार, डोटीक्षेत्रमा अजमेरकोट तथा अछाम, दुल्लू र जुम्ला क्षेत्रमा भेटिने देवलहरू। खस साम्राज्य टुक्रिन थालेपछि राजकीय संरक्षण अभावमा कर्णाली क्षेत्रमा बौद्ध धर्मको प्रभाव हराउँदै गएको थियो।
यही समय आसपास कर्णालीका आम मानिसहरूमा पनि टाढा-टाढासम्म तीर्थयात्रा जाने परम्परा बढ्यो।
कालापहाड वा हाट जानुपर्ने बाध्यता भने निकै पछि आएको हुनुपर्छ। सामाजिक र राजनीतिक उथलपुथलसँगै तिब्बत र भारतबीच हुने आवातजावत अवरूद्ध हुन थाल्यो। आर्थिकमन्दी र अभाव टार्न मानिसहरू कामको खोजीमा निस्किन थाले। ब्रिटिश-भारतको ग्रीष्मकालीन राजधानी सिमला आसपासका क्षेत्रमा मौलाउन लागेको विकास निर्माणले कर्णालीबासीलाई समेत कामको अवसर दियो। मिल्दो हावापानीका कारण पनि मानिसहरू हिमाञ्चल र उत्तराखण्डका पहाडमा जाने चलन सुरू भयो।
बाइसे राज्यकालमा राजाहरूको चारधाम यात्रा गर्ने परम्परा थियो। आपसमा लड्ने भिड्ने रजौटाहरू तथा कष्टपूर्ण जीवन बिताइरहेका आम मानिस सबैको श्रद्धा र भक्ति जोडिएका पूजास्थल एकै हुन्थे।
बि.सं. १६८८ सम्म जुम्लाका राजा रहेका विक्रम शाही जगन्नाथजीको दर्शन गर्न भनी आफ्ना छोरा बहादुर शाहीलाई लिएर गोर्खाको बाटो हुँदै गोर्खाली राजा राम शाहका दरबारमा पाहुना बसेका थिए। राम शाहले जुम्लामा राज्य खाली नछोड भनी सल्लाह दिएपछि छोरालाई फिर्ता पठाएर आफू एक्लै तीर्थ गएका थिए भनी सूर्यमणि अधिकारीले लेखेका छन्।
बि.सं. १८०० मा जाजरकोटका राजा हरि शाह काशी तीर्थयात्रा जाँदा उहीँ गोर्खाका राजा पृथ्वीनारायण शाहसँग भेट भयो। उनीहरूबीच मणिकर्णिकाघाटमा धर्मसन्धि भयो। यसले उनीहरूमाझ परिवारिक सम्बन्ध पनि कायम भयो। यसको फाइदा चालीस वर्षपछि गोर्खालीको पश्चिम विजय सहज भयो भने जाजरकोटले माफी पाएर सुरक्षित भयो।
राजकाजमा शक्तिपूजाको महत्व छ। गोर्खाली सैन्य आक्रमणमा परेका जुम्लाका बस्तीहरू नासिए तर शक्तिपीठहरूको परम्परा निरन्तर भयो।
जस्तोः डोल्पाको त्रिपुरासुन्दरीका लागि खानीगाउँ र बैजिवाडामा गुठी राखेका थिए भने नित्य वेद चण्डी पाठ गर्ने ब्राह्मणलाई वार्षिक ४४ रूपैयाँ दक्षिणाको सरकारी व्यवस्था थियो। त्यस्तै, जुम्ला सिंजाको कनकासुन्दरी मन्दिरका लागि सिम्पाटी गाउँका ब्राह्मणले नित्य पूजापाठ गर्ने, देयारगाउँका घर्तीले मन्दिरमा रुजु रही टहलुवा गर्ने, सातघर दमाईले नियमित साँझ नगारा बजाउने गरी गुठी व्यवस्था गरेका थिए। यहाँ नित्य वेद चण्डीपाठ गर्नेले वार्षिक ४१ रूपैयाँ सरकारी दक्षिणा पाउने व्यवस्था थियो।
कर्णालीतिरका शक्तिपीठ अर्थात देवी भवानी मन्दिरहरूमा सामान्यतयाः मूर्ति हुँदैन। यहाँ प्राकृतिक शिलालाई नै आदिशक्ति मानेर पूजा गर्छन्।
हाल बाजुरामा पर्ने बडिमालिका जुम्ली राजाको प्रमुख शक्तिपीठ थियो। गोर्खाली आक्रमणपछि सरकारी तवरबाट पूजाको सरजाम बोकी बर्सेनि यहाँ जाने परम्परा कायमै रह्यो। तीन-चार दिन लगाएर जानुपर्ने ठाउँ लेकमा भएकाले नित्य पूजाका लागि राजाका दरबारमै मालिका स्थापना गरिएको थियो। अहिले जुम्ला जिल्ला प्रशासनले त्यसको निरन्तरता दिएको छ। बडीमालिकाको महत्व अचेल पनि उस्तै छ। बर्सेनि पूजामा सरकारी प्रतिनिधित्वसहित गाउँगाउँबाट मानिसहरू जान्छन् वा अक्षता पठाउँछन्।
यस्तै तीर्थका कथाहरू सुनाउने सत्र गत कात्तिकमा आयोजित 'लाम्रा संवादः गाउँका कुडा-२०७७' मा राखिएको थियो। संवादको तेस्रो सत्र 'तीर्थयात्रा र हाटयात्राका कुडा' मा सञ्चालक रामलाल हमालसँग गाउँकै देवीलाल चौलागाईं, कृष्णलाल चौलागाईं, बिजलाल सार्की र एकमाया चौलागाईंले आआफ्ना तीर्थ र हाटयात्राका अनुभव सुनाएका थिए।
सामान्यतया देवकार्य र पितृकार्यका लागि तीर्थधाम जान्छन्।
देवकार्यमा जस्तैः मष्टोका धामीहरू आफूमा देउता औतिए (चढे) पछि वा कोहीकोहीले देउताको छापविदो माग्न तीर्थ जान्छन्। मष्टो वा अन्य देवीदेउताका थानमा भएका पूजा सामग्री (भारा) नुहाउन पनि तीर्थ लिनुपर्छ।
यो पनि पढ्नुस्ः कसरी सुरू भयो मष्टो चलन?
आममानिसहरू जीवनकालमा पुण्य कमाउन भनेर पनि तीर्थ जान्छन्। यस्तै पितृकार्यका लागि तीर्थ जानेहरू श्राद्धकर्म गरेर फर्किन्छन्।
भारतका केही तीर्थहरू जस्तै जगन्नाथ, काशी, हरिद्वार आदि दर्शनमा जानेहरूले त्यहाँ पैसा तिरेर ढड्डाहरूमा आफ्ना पूर्खा र सन्तानका नाउँ टिपाउने चलन थियो। यस्तै ढड्डामा हेरेर आफ्ना पूराना पुस्ताका बाजेको नाउँ थाहा पाएको कुरा लाम्रा संवादका वक्ता देवीलाल चौलागाईंले सुनाएका थिए।
बाटो, सञ्चार, गाडी र पैसाजस्ता सुविधा उपलब्ध हुनुअघि यात्रा गर्ने गाउँलेहरू हुल बाँधेर हिँड्थे। मानसरोवर वा मुक्तिनाथ यात्रा जानेहरूले कैयौं दिन बस्तीविहीन बाटोमा हिँड्नुपर्थ्यो, ओडारमा बास बस्नु पर्थ्यो। बाटोमा आइपर्ने आपतविपतसँग भिड्दै जान समूहमा हिम्मत जुट्थ्यो। संकटमा आडभरोसा मिल्थ्यो। भोटको उचाइयुक्त निर्जन पठार र मधेसको औल जंगलसँग संघर्ष गर्दै कैयौं मानिसको ज्यान समेत जान्थ्यो।
घर फर्किँदा भारी बोकेर आउने हटारूहरू महिनादिनसम्म आफूलाई पुग्ने खाना अर्थात सामल घरबाटै लग्थे। बाटोमा बास पर्ने निश्चित ठाउँमा फर्किँदा खाने सामल छोड्दै छोड्दै जान्थे। फर्किने बेला खानेकुरा बोक्न नपरे त भारीमा नासो बाँड्ने मिस्री, गुड, जीरा वा कपडा थप्न पाइयो।
सञ्चार सुविधा नहुने ऊबेला घर फर्किनेहरू साँझ परेपछि मात्र गाउँ पस्थे। रातभर परिवारका सदस्य मार्फत गाउँको गतिबिधि र हालखबर बुझेपछि अर्कोदिन ढोगभेट र सोधखबर सजिलो हुन्थ्यो। औलोलाग्ने मधेसको बाटो फर्किनेहरू केही दिन आराम र एकान्तवासपछि मात्र अरू मानिसको संसर्गमा आउँथे। अहिले गरिने 'होम क्वारेन्टिन' जस्तै चलन थियो।
तीर्थयात्राबाट फर्किनेहरूले उत्सव नै मनाउँथे। गाउँ पुग्नेबेला उनीहरूलाई बाजागाजा र टिकाटालोसहित स्वागत गर्थे। ठूला तीर्थबाट फर्किनेहरूले तीर्थेभोज गर्थे। यस्तोबेला गाउँले तथा इष्टमित्रहरू तीर्थारूको घरमा पीठाहा लगाउन आउँछन्। उनीहरूलाई तीर्थको जल र प्रसाद दिएर पठाइन्छ।
यस्ता कथाहरू प्रसंग मिलेमा गाउँका जमघट, मेलापात, फुर्सद समयमा एकआपसमा साटिन्छन्। यसले ग्रामीण जीवनलाई रोमान्चक र जिवन्त बनाएको हुन्छ। यसरी नै यस्ता कथाहरू सकेसम्म पुस्तान्तरण हुँदै पनि गएका हुन्छन्।
अचेलका पुस्ता हामी व्यापार, अध्ययन, जागिरका सिलसिलामा अनेकौं यात्रा गर्छौं। कतिपय लेखिन्छन् र तस्वीरमा पनि उतारिन्छन्। तै पनि, गाउँमै जिवन्त रहने सामुदायिक परिपाटी भने विस्तारै हराउँदै गएको छ।
(लाम्रा संवादः गाउँका कुडा- २०७७ तेस्रो सत्रको पूरा भिडिओ हेर्नुहोस्)
(लेखक माधव चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका, लाम्रागाउँका बासिन्दा हुन्।)
माधव चौलागाईंका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्ः