आज मार्च ८, १११ औं अन्तर्राष्ट्रिय नारी दिवस। नारीहरूका लागि सार्वजनिक बिदा पनि दिइन्छ। कार्यालयमा काम गर्ने मजस्ता महिलाका लागि यो बिदा निकै महत्वपूर्ण छ। एकदिन भए पनि घरमा मज्जाले सफा गरेर बिताइन्छ, लुगा धोइन्छ, मिठो मिठो पकाएर परिवारका सदस्यलाई खुवाइन्छ, आफू खाइन्छ।
बिहानको खाना बनाउन हतार गर्नुपर्दैन भने बेलुकाको खाना पनि चाँडै बनाएर खान पाइन्छ। बच्चाहरूसँग समय बिताउन पाइन्छ। यिनै अर्थमा नारी दिवस मजस्ता कामकाजी महिलाका लागि निकै नै महत्वपूर्ण छ।
नारी दिवसको कुरा चल्दै गर्दा चर्चामा रहेको प्रसंग जोड्न चाहन्छु, चर्चित अभिनेत्री मिथिला शर्माले हालै एक अन्तर्वार्तामा दिएको अभिव्यक्ति।
त्यो अभिव्यक्तिलाई धेरैले भिन्नभिन्न तरिकाले लिएर आ-आफ्ना राय दिए, दिइरहेका छन्। अन्तर्वार्तामा मिथिलाले भनेकी छन्, 'हामीले घरका साना–साना कुरामा लैंगिक समानता खोज्न थाल्यौं भने घरमा अशान्ति सिर्जना हुन्छ।'
मिथिलाले खेलेको 'फूलबुट्टे सारी' गीतमा लैंगिक समानता देखिएन भन्ने कुरा उठिरहेकोबारे प्रस्तोताले सोधेको प्रश्नमा उनले यो जवाफ दिएकी हुन्।
मिथिलाको भनाइ केलाउने हो भने घरमा शान्ति कायम गर्ने ठेक्का महिलाको मात्र हो र उक्त ठेक्का पूरा गर्न महिलाले घरमा समानता खोज्नु ठीक होइन। साथै घरमा शान्ति कायम गरौं र त्यसका लागि साना–साना कुरामा लैंगिक समानताको कुरा नगरौं।
घर जोडेर राख्ने उपमा पाएका महिलालाई घर तोड्ने अधिकार सायद छैन। अतः खाना बनाउने, लुगा धुने, घरआँगन सरसफाइ गर्ने, तरकारी रोप्ने, बच्चालाई खुवाउने जस्ता साना–साना कुरामा लैंगिक समानता खोज्न थाले पितृसत्तात्मक सोच भएका मानिस बस्ने घरमा अशान्ति बाहेक के नै होला? अनि त्यसको अपजस महिलामाथि जान्छ।
मिथिलाले भनेझैं आफू बस्ने घरमा अशान्ति र कलह मच्चाउन कुन महिलालाई रहर होला? तर लैंगिक समानता खोज्दा घरमा अशान्ति आउँछ भनेर चुप लागेर बस्नु ठीक हो त? के घरमा शान्ति कायम गर्ने दायित्व महिलाको मात्र हो?
जसले जे अभिव्यक्ति दिए पनि लैंगिक समानता मलाई चाहिएको छ र तपाईंलाई पनि। अनि त्यसका लागि घर सबभन्दा उत्तम स्थान हो। घरमा भएका हाम्रा आफ्ना मान्छेसँग नै हो लैंगिक समानता खोज्ने।
यदि घरमा आफ्नाले समानतालाई गलत रूपमा लिएर हामीसँग झगडा गर्न आइलाग्छन् भने समानता खोज्न अन्त झन् कहाँ जाने? घरमा नपाइएको समानता अन्त पाइएला? त्यो पनि पित्तृसत्तात्मक सोच र व्यवहारले भरिएको यो समाजमा।
मिथिला शर्मा ज्यू, सानो–सानो कुरामा, आफ्नै घरमा त नपाएको समानता ठूलो ठाउँमा झन् पाइँदैन। समानताको लडाइँ घरबाटै सुरू गर्नुको विकल्प महिलासँग छैन।
वर्तमान अवस्थामा लैंगिक समानताको बहस मुद्दा विश्वव्यापी रूपमा सबभन्दा जल्दोबल्दो हो। यही मुद्दा बोकी धेरै व्यक्ति ठूला र वरिष्ठ बनिसकेका छन्। नारी समानता, समान कामका लागि समान ज्याला, राज्यका हरेक तह र तप्कामा ३३ प्रतिशत महिला सहभागिता, महिला आरक्षण लगायत धेरै कुरामा लैंगिकतालाई ध्यान दिइएको छ। नारी भएका कारण मलाई यी उपलब्धिप्रति खुसी लाग्नुपर्ने हो तर अपसोच, हुन सकिरहेकी छैन। किनकी व्यावहारिक रुपमा राज्यका केही तहमा बाहेक न नारी समानता छ, न सहभागिता।
संविधानमा भएको महिलासम्बन्धी हकले, राज्यका हरेक तहमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व हुने प्रावधानले, महिला आरक्षण व्यवस्थाले, श्रम ऐनमा भएको समान कामका लागि समान ज्याला व्यवस्थाले मात्र यथार्थमा महिलाको अवस्था फेर्न सकेको छैन। मजस्ती पढे-लेखेकी, आफ्नो खुट्टामा उभिएकी महिलाले त लैंगिक विभेद भोग्नुपरिरहेको छ भने दुरदराजमा, शिक्षाबाट विमुख नारीको अवस्था कल्पना समेत गर्न सक्दिनँ।
महिलाको यो स्थिति र महिला पुरुषबीचको विभेद तबसम्म हुनेछ जबसम्म हामीमा पित्तृसत्तात्मक सोचको हाबी रहन्छ। पृत्तिसत्तात्मक सोच भएको दिमागले जहिल्यै आफू मात्र सर्वोपरी ठान्छ, घरका ठूला–ठूला निर्णय पुरुषले लिनुपर्छ भन्ने ठान्छ र महिलालाई सधैं आफूभन्दा तलै राखेर सोच्छ।
महिलाले जब समान अधिकारको कुरा गर्छे, पुरुषले सोच्छ- हरे कसैलाई नचाहिएको अधिकार यिनीहरूलाई चाहिएको छ। अधिकारका नाममा संस्कार मास्ने, घर भाँड्ने, उत्ताउली बनेर हिँड्ने, श्रीमानको सम्मान नगर्ने, छोटा र पारदर्शी कपडा लगाएर केटा मान्छेलाई उत्तेजित बनाउने!
अनि यो पित्तृसत्तात्मक दिमाग पुरुषमा मात्र होइन, महिलामा पनि हाबी छ।
सदियौंदेखि यस्तो सोचाइले ग्रस्त भएका मानिस बस्ने समाजमा बसेर नारीहरू समानताको लडाइँ लडिरहेका छन्। तर एकाधबाहेक कसैको पनि सोच परिवर्तन भएको व्यावहारिक रूपमा महशुस गर्न सकिएको छैन।
यस्तो पित्तृसत्तात्मक सोच र मानसिकता पूर्ण रूपमा नहटेसम्म यति कुरा त पक्का छ- भोलि संस्कार र संस्कृतिका नाममा नारीका आवाज र स्वतन्त्रता झनै दबाइनेछ। किनकी ‘संस्कार बोकेका र संस्कारी महिला’ भनेर महिलालाई संस्कार र संस्कृति बचाउने ठेक्का दिइएको छ। पित्तृसत्तात्मक समाजले भोलि यसकै आडमा संस्कार र संस्कृतिमाथि हमला भयो भनी महिलामाथि, उनीहरूको स्वतन्त्रतामाथि हमला गर्नेछन्।
यहाँहरूलाई यति पढिरहँदा मैले उठाएका विषयहरु व्यर्थ र अतुक पनि लागिरहेको होला। अझ जो पित्तृसत्तात्मक सोचबाट आक्रान्त छन्, उनीहरूलाई त झन् नारीलाई यति अधिकार दिँदा पनि अझ कति चाहिएको हो जस्तो पनि लागिरहेको होला। तर मैले यथार्थको धरातलमा उभिएर यो कुरा लेखिरहेकी छु।
एकपल्ट तपाईं आफ्नो घरमा हुने दैनिकी व्यवहार सम्झनुहोस् त? के तपाईंको घरमा खाना बनाउने काम दैनिक रूपमा पुरुषले गर्छन्? वा खाना बनाउने भन्नेबित्तिकै तपाईंको दिमागले आफ्नो बुवा, दाजु, भाइ सम्झन सक्छ?
पक्कै सक्दैन।
खाना बनाउने भन्नेबित्तिकै महिला आकृति अर्थात् तपाईंको आँखामा आफ्नी आमा, दिदीबहिनी वा श्रीमतीकै आकृति आउँछ। तपाईंलाई मात्र किन मेरै आकृतिमा पनि महिला नै आउँछ।
अरू त अरू, मेरो ३ वर्षकी छोरीमा पनि खाना बनाउने कसले भन्दा मामूले हो भन्ने पित्तृसत्तात्मक सोच विकास भइसकेको छ। केही दिनअघि मात्र मेरा श्रीमानले खाना बनाइराख्नुभएको थियो भने म छेउमा बसेर हेरिरहेकी थिँए। छोरी आफ्नो बाबाले खाना बनाएको देखेर पहिला खिसिक्क हाँसी अनि भनी, 'बाबा खाना बनाउने काम हजुरको होइन के, मामू र मेरो हो।'
उसको कुरा सुनेर मनै खिन्न भयो। तीन वर्षको कलिलो दिमागमा जे सोच नआओस् भन्ने लागेको थियो, त्यही आएको देखेर नमज्जा लाग्यो। उसलाई काम भनेको काम हो, यसको उसको भन्ने हुन्न, सबै काम सबैले गर्दा हुन्छ भनेर सम्झाएँ। तर मैले जति सम्झाए पनि एकपटक उसको दिमागमा आइसकेको सोच मेटिन धेरै गाह्रो छ। उसले दिनदिनै देख्ने कुराका आधारमा आफ्नो धारणा बनाउन सिकिसकेकी छ। अधिकांश समय भान्छामा खाना बनाउने काममा आफ्नो मामूलाई देखेकी उसले कुनै एकदिन अचानक बाबालाई देख्दा छक्क पर्नु स्वभाविक हो।
अब कुरा गरौं, गायिका एवम् नेपाल कम्युनिष्ट पार्टीतर्फबाट सिफारिसमा राष्ट्रियसभा सांसद बनेकी कोमल वलीको।
कोमल वलीलाई उनकै पार्टीका अर्को खेमाका नेता रघुजी पन्तले अभद्र टिप्पणी गरे। उनी क्षमता भएर नभई आफ्नो शरीर देखाएर र केही नेताको चाकडी गरेर सांसद बनेको आशयको टिप्पणी रघुजी पन्तको थियो। उक्त टिप्पणीविरूद्ध केही आवाज उठे।
यथार्थमा भन्ने हो भने कोमल वलीमाथि गरिएको यो अभद्र टिप्पणी उनीजस्ता छोटो समयमै सफल बनेका नारीप्रति गरिने आम टिप्पणी हो। रघुजी पन्तले महशुस गर्ने गरेका कुरा बोलेर सबैलाई सुनाए तर नबोली र मनमनै यही सोच बोकेर बसेका धेरै पुरुष र महिला यही समाजमा छन्।
उनै कोमल वलीको अन्तर्वार्ता ऋषि धमलाले लिए। अन्तर्वार्तामै कोमल वलीमाथि विभेदपूर्ण, अभद्र तथा बदनीयतपूर्वक प्रश्न सोधे। धमलाले घुमाउरो पारामा रघुजी पन्तले गरेको टिप्पणी सही हो भन्ने आशय साथ वलीलाई प्रश्न गरे- नेकपामा तपाईंभन्दा बढी योगदान दिएका अरू पनि छन्। उनीहरू सांसद नहुने, तपाईं चाहिँ बन्नुभयो। कसरी हुनुभयो? मलाई थाहा छ, तपाईंले कसकसलाई भेट्नुभयो, के के गफ गर्नुभयो।'
उनले गरेको प्रश्नमा अनेक आक्षेप लगाई कोमल वलीको चरित्रमाथि प्रश्न उठाइएको थियो। कोमल वली भने जवाफ दिइरहेकी थिइन्, आफूले गरेको योगदानबारे कुरा गरिरहेकी थिइन्।
हिजो ठूला-ठूला धनाढ्य व्यापारीलाई समानुपातिक सांसद बनाउँदा, न ऋषि धमलाले न अरू कसैले ‘तपाईंले नेकपा एमाले वा नेपाली कांग्रेस पार्टीलाई यहाँसम्म ल्याउन के योगदान गर्नुभयो?’ भनेर प्रश्न गर्ने हिम्मत गरेनन्। तर आज गीत-संगीतमा, सञ्चार जगतमा योगदान दिएकी कोमल वलीलाई महिला भएकै आधारमा यति ठूलो अपमान, यति ठूलो गाली र चरित्रहत्या गरियो।
हिजो कहिले वल्लो त कहिले पल्लो पार्टीबाट सांसद बनेका ती व्यापारीको योगदान सोध्न हिम्मत नगर्ने अनि सारा जनतालाई मनोरन्जन दिएकी कोमल वलीलाई सांसद बनाएकै भरमा यति धेरै अपमानजनक प्रश्न र टिप्पणी?
हो यही विभेद गर्ने मानसिकता हो पित्तृसत्ता। पुरुषले जे गरे पनि सही, महिलाले अलिकति अघि बढे मात्र पनि गलत देख्ने मानसिकता हो पित्तृसत्ता। घरमा सानो–सानो कुरामा लैंगिक समानता खोजी कलह सिर्जना नगरौं भन्ने सोच हो पित्तृसत्ता। खाना बनाउने, लुगा धुने, बच्चा हेर्ने भन्नेबित्तिकै महिलाको आकृति आउने सोच हो पित्तृसत्ता। कोमल वली नेताहरूसँग निकट भएर सांसद बनेकी हुन् भन्ने सोच हो पित्तृसत्ता। महिलाले घर सम्हाल्नुपर्छ भन्ने सोच हो पित्तृसत्ता।
यही पित्तृसत्तात्मक सोच रहेसम्म कागजी रूपमा जति नै लैंगिक समानताका कुरा लेखिए पनि यर्थाथमा न मैले, न तपाईंले, कसैले पनि लैंगिक समानताको व्यावहारिक जीवन भोग्न सक्दैनौं। आजको त कुरा पर राखौं, भोलिका दिनमा पनि सक्ने छैनौं।
अन्त्यमा, मिथिला शर्माले कुन मानसिकतामा त्यस्तो अभिव्यक्ति दिइन्, त्यो मलाई थाहा छैन। तर उनले दिएको उक्त अभिव्यक्तिका लागि उनीसँग केही प्रश्न राख्न चाहन्छु।
तपाईंले भनेजस्तो सानो-सानो कुरामा लैंगिक समानता खोजेर घरमा अशान्ति ल्याउन कसैलाई रहर छैन। तर नारीहरूले लैंगिक समानता खोज्ने ठूलो ठाउँ कहाँ हो? अनि कोसँग माग्ने हो? घरकै आफ्नाले नदिएको लैंगिक समानता बाहिरको कसले दिन्छ?
यसको जवाफ तपाईंबाट पाएँ भने म मेरो घरमा मेरो श्रीमानसँग, मेरो बुवाआमासँग, दाजुभाइसँग घरको कुनै कामका लागि सहयोग माग्ने छैन। सहयोग त के कुरा, सहयोगको अपेक्षा समेत गर्ने छैन।
अन्त्यमा, सम्पूर्ण नारीहरूमा नारी दिवसको शुभकामना।