दसैंको मुखमा तपाईं कहिल्यै दुर्घटनामा पर्नुभएको छ? वा अरू कुनै कारणले चोटपटक लागेको वा हड्डी भाँचिएको छ? वा नजिकको कसैको रोग वा मृत्युका कारण तपाईंको दसैं बिथोलिएको छ?
अब कल्पना गर्नुहोस्, दसैंको मुखैमा तपाईंको क्यान्सर पत्ता लाग्यो। त्यो पनि ढिलो भइसकेको उन्नत चरणको क्यान्सर। अरूले रमाइलो गर्ने बेला तपाईंको जटिल शल्यक्रिया गर्नुपर्ने भयो। अनि लगत्तै दुःसाध्य केमोथेरापी लिनुपर्ने भयो।
तपाईंको जीवनका सारा योजना चौपट भए, प्राथमिकताहरू बदलिए। तपाईंको बाँकी आयु महिना वा बढीमा वर्षमा नाप्न सकिने भयो।
प्याथोलोजिस्टको एउटा रिपोर्टका आधारमा तपाईंको जीवन उलटपुलट भयो। तपाईंको जीवनमा र घरमा दसैंसँगै शोक आयो।
यस्तो भोग्न कसैलाई नपरोस्।
यो पढ्ने तपाईंहरूमध्ये धेरैजसोले जीवनमा यस्तो विपत्ति कहिल्यै भोग्नुपर्ने छैन र दसैं शुभ रहिरहनेछ। दसैंबाहेकको अरू समयमा पनि तपाईंहरूले यस्तो विपत्ति भोग्नुपर्ने छैन।
तर सानो संख्याका जो मानिसलाई यस्तो विपत्ति पर्छ, तीमध्ये तपाईं, हामी जो पनि पर्न सक्छौं। जबकि सामान्यतः तपाईं हामी सबैलाई लाग्छ, क्यान्सरजस्ता विरल रोगहरू अरूलाई मात्रै लाग्ने गर्छन्।
व्यक्तिगत रूपमा मेरा लागि दसैं र क्यान्सरको विषय विशेष महत्वको छ।
म चितवनमा घर भएको र यहीँ काम गर्ने प्याथोलोजिस्ट हुँ। दसैंको घटस्थापना हाराहारी धेरैजसो जिल्ला बाहिर घर हुने प्याथोलोजिस्ट साथीहरू दसैं मान्न घर फर्कन्छन्। भरतपुरका धेरै अस्पतालहरूमा आउने फाटफुट कामको जिम्मा मेरो हुन्छ।
त्यसैले पछिल्ला केही वर्षदेखि म दसैंको मुखमा क्यान्सर पत्ता लाग्ने बिरामीहरूको साक्षी बनिरहेको छु।
पाँच वर्षअगाडि सुरू गरेको एउटा किताबलाई यही दसैंमा बिट मार्ने मेरो योजना थियो। अस्पतालको काम शून्यप्रायःमा झर्ने दसैंका केही दिनको एकाग्रता त्यसका लागि उपयुक्त हुन्थ्यो। अरू बेला त्यत्तिको फुर्सद जुटाउन हम्मे हुने हुँदा मेरो ध्यान छिटपुट आएका काम छिचोलेर कतिखेर पुस्तकको काममा लाग्ने भन्ने थियो।
तर यही बेला अनेकतिर ठोक्किँदै मसम्म आइपुगेका क्यान्सरका केही युवा बिरामीहरूको विडम्बनाले मलाई निकै विचलित बनायो। यो समय मैले रिपोर्ट दिएका झन्डै दर्जन क्यान्सरका नयाँ बिरामीमध्ये एक ४० दिने शिशु थियो अनि आधा जति बीसदेखि तीस वर्ष उमेर समूहका थिए। अनि धेरै जसो उन्नत चरणमा पुगिसकेका क्यान्सर थिए।
उसो त हामी चिकित्सकहरूलाई बिरामीहरूको पीडा देखेर भावनामा बहकिने सुविधा हुँदैन। अस्पतालबाट निस्केपछि बिरामीको जीवनमा के हुन्छ, सामान्यतः त्यसको सूचना पनि हामीसित हुँदैन। बिरामीबारे उपचारका क्रममा जानेका कुरा हामीले सार्वजनिक रूपमा बताउन पनि मिल्दैन।
तर बिरामी विशेषको पहिचान नखुल्ने गरी क्यान्सरजस्ता समस्याहरूबारे सबैले बुझ्ने भाषामा संवाद चलाउन भने आवश्यक भइसकेको जस्तो मलाई लाग्छ। त्यसैले यसपटक दसैंको मुखमा मैले देखेका क्यान्सरका आधा दर्जन युवा बिरामीमध्ये एक जनाबारे छोटो चर्चा गरेर क्यान्सर रोगका बृहत्तर आयामबारे चर्चा गरेको छु।
विवरणः ३० वर्षे सुत्केरी महिला। निदानः कलेजोको उन्नत क्यान्सर।
घरमा कोही सुत्केरी हुनु भनेको कति तनाव, संवेदना र खुसीको कुरा हो भन्ने कुरा तपाईं हामी सबैलाई थाहा छ। परिवारका लागि त्यो चाड पनि हो र अग्निपरीक्षा पनि।
त्यो चाडमा जब डाक्टरले आमाको पेटमा बच्चाबाहेक ठूलो भइसकेको क्यान्सर पनि छ भन्छन्, तब आफन्तजनलाई कस्तो लाग्ला? त्यो अशुभ समाचार उनीहरूले बिरामीलाई कसरी सुनाउलान्? नौ महिनासम्म सन्तान खेलाउने रहर पालेर पीडा सहेकी आमालाई जब बच्चा निकाल्ने शल्यक्रिया भएलगत्तै 'केमो' सुरू गर्नुपर्छ भनिन्छ, त्यो भन्ने र सुन्नेबीच प्रवाह हुने पीडाको गहिराइ संसारको कुन मेसिनले नाप्न सक्ला?
यो दसैंमा बिरामीको क्यान्सर देखेर म विचलित हुने अरू पनि दुई कारण छन्।
एक, मेरा लागि क्यान्सर अब अस्पताल आउने बिरामीहरूमा मात्र सीमित छैन। हाम्रै नातागोता र आफन्तमाझ क्यान्सरसित जुधिरहेका मानिसको संख्या आधा दर्जन हाराहारी छ। तीमध्ये एकको उमेर चार वर्ष पनि पुगेको छैन, अरू केही मेरै उमेर हाराहारीका युवा छन्।
उनीहरूले क्यान्सरको उपचार गराउँदा पाएको ताडना र हन्डर–ठक्करको साक्षी म बनेको छु। क्यान्सरका बिरामीका आफन्तहरूको जीवन नै उलटपुलट भएको, प्राथमिकता नै फेरिएको मैले देखेको छु। त्यसले मलाई क्यान्सरलाई रोग मात्रै भन्दा पनि परिवारमाथि आइलाग्ने विपत्तिका रूपमा बुझ्न सघाएको छ।
दुई वर्षअगाडि दसैंकै मुखमा एक सहकर्मीकी श्रीमतीको क्यान्सर पत्ता लागेको थियो। उनको उमेर मेरै हाराहारी थियो अनि रोग त्यति उन्नत भइसकेको पनि थिएन। तर पनि उनले यो दसैं देख्न पाइनन्।
केही वर्षदेखि क्यान्सरसित जुधिरहेकी एक वरिष्ठ प्याथोलोजिस्ट सहकर्मी पनि केही महिना अगाडि बित्नुभयो।
दुई, जीवनमा म आफैं केही नयाँ प्राथमिकताहरू तय गर्ने क्रममा थिएँ यो दसैंमा। किताबको काम सकेलगत्तै एउटा नाफारहित अस्पतालको अवधारणामा काम गर्ने योजना थियो। हामी केही जनाको सानो समूहले त्यसमा गृहकार्य गर्न थालेको महिनौं भइसके पनि त्यसमा खटेर लागिसकेका थिएनौं।
हामीलाई एउटा त्यस्तो अस्पतालको रहर थियो जुन स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने हुटहुटी भएका देशभित्र र बाहिर रहेका व्यक्ति र संस्थाहरूसित स्रोत जुटाएर खोल्न सकियोस्। अनि सञ्चालन खर्चका लागि न्यूनतम शुल्क लिएर सबै खाले बिरामीलाई सेवा दिन सकियोस्। उपचार खर्च नभएर कोही लखेटिन वा बन्धक बस्न नपरोस्। एउटै समस्याको उपचारका लागि बिरामी पाँचतिर धाउन नपरोस्। डाक्टर पनि हातमुख जोड्नलाई चारतिर दौडिन नपरोस्। सबैलाई महँगा निजी अस्पताल र भीडभाड हुने सरकारी अस्पतालको सहज तेस्रो विकल्प हुने गरी सेवा दिन सकियोस्।
तिलगंगा आँखा अस्पतालको मोडलमा त्यस खाले बहुविधाको अस्पताल खोल्न स्रोत जुटाउन हाम्रो तागत पुग्थ्यो वा पुग्दैनथ्यो भन्ने दोस्रो चरणको प्रश्न थियो। त्यसअगाडि यो परियोजनाको मियोका रूपमा म मानसिक रूपमा तयार भएर त्यसमा हाम फाल्नु अनिवार्य थियो।
तर पछिल्लो वर्षभरको मन्थन, अध्ययन र दसैंको क्यान्सर अनुभवले मलाई नेपालमा स्वास्थ्य सेवाको भूमिका र औचित्यबारे नै पुनर्विचार गर्न बाध्य पार्यो।
अघिल्लो वर्ष चैत २६ गते सेतोपाटीमा मेरो एउटा लेख प्रकाशित भएको थियोः अनि मलाई नेपाल छाड्ने इच्छा जाग्यो...।
नेपालमा वायु प्रदूषण इतिहासकै उच्च भएका बेला मसँगै नवजात छोरा पनि बिरामी भएर सास फेर्न सकस भएको थियो। त्यही बेला छिमेकमा घरैपिच्छेजस्तो फोहोर जलाएर धुँवाको कुइरीमण्डल बनाउने मानिसहरूसित आजित भएर मैले त्यो लेख लेखेको थिएँ।
यो वर्ष पनि पानी थामिएसँगै वायु प्रदूषण उकालो लाग्दो छ र आकाश घुर्मैलो हुन सुरू भइसकेको छ। अनि छिमेकीहरूले झारपात र प्लास्टिकदेखि पुराना टायरसम्म जलाउन थालिसकेका छन्।
नेपालीहरूको ठूलो दिल र महानतामा विश्वास गर्ने मानिसहरू पनि म कहिलेकाहीँ भेट्छु। नेता र व्यवस्थाको खराबीका कारण मात्रै हामी बर्बाद भएका हौं, नत्र नेपाली समाजले आकाश छोइसक्थ्यो भन्ने त धेरै मानिस भेटिन्छन्।
तर धेरै वर्षदेखि म के निश्कर्षमा पुगेको छु भने अरूलाई पीडा दिएर रमाउनु (परपीडन वा स्याडिजम) को अभ्यास धेरै गर्दा गर्दै त्यो प्रवृत्ति कम्तीमा पनि मध्यम र उच्चवर्गका नेपालीको डिएनएमै घुलेर बसेको छ। त्यस खाले 'स्याडिजम' पछिल्लो समय 'म्याजोकिजम' वा स्वपीडनसमेत मिसिएको देखिन्छ।
हिउँद लाग्दैछ। गाउँदेखि सहरसम्म दसैंमा लाखौंको संख्यामा किनिएका नयाँ पेट्रोलियम गाडी र दुईपांग्रेहरूको चकचकी छ। सडकमा धूलो उत्पादनका लागि खनेर छाडिएका प्रतित हुने खाल्डाहरूको बिगबिगी छ। हरेकजसो घर पछाडिको सानो करेसाबारीमा झार उखेल्नेहरूले तरकारी लगाउनुअगाडि त्यसलाई ओसिलो छँदै पोलेर धुँवाको मुस्लो छाड्दै छन्। झार उखेल्न अल्छी मान्नेहरूले घरअगाडिको झार मार्न 'विडकिलर' खन्याएर दसैंका लागि सरसफाइ गरेका छन्।
पसलेहरूले सबैखाले फोहोर मिसाएर सडकछेउमा जलाइरहेका छन्। एउटा झालमा एक मुठी बोडी फलाउन पनि मानिसहरूले मनग्गे विषादी छर्किरहेका छन्। पकाएको मासु खाँदाखाँदै दिक्क भएर पोल्दै मासु खाइरहेका छन्।
मासु पोल्दा वा उच्च तापक्रममा भुट्दा बन्ने हेट्रोसाइक्लिक अमाइन र पोलिसाइक्लिन एरोमेटिक हाइड्रोकार्बनहरूले घाँटीको खानानलीदेखि आन्द्रासम्मको भागमा क्यान्सर गराउन सक्छन्। डिजेल र पेट्रोल इन्जिनबाट निस्कने 'पर्टिकुलेट म्याटर'ले फोक्सो लगायत शरीरका धेरै अंगका क्यान्सर गराउन सक्छन्। तरकारीका कीरा वा झार मार्न छर्किएका विषादीले अनेक थरी क्यान्सर गराउन सक्छन्। प्लास्टिक लगायत मिश्रित फोहोर जलाउँदा निस्कने धुँवामा त अनेक खाले क्यान्सर गराउन सक्ने दर्जनौं विष एकसाथ वायुमण्डलमा पुग्छन्।
यी सबै काम हामी नेपालीहरूले जुन तन्मयका साथ गरिरहेका छौं, त्यो हेर्दा लाग्छ, हामीलाई आ-आफ्ना शरीरमा क्यान्सर भित्र्याउने हतारो छ।
यो पृष्ठभूमिमा यसपालिको दसैंभर मलाई एउटा प्रश्नले रन्थनाइरहेको छ- जुन समाज आफैंलाई र छिमेकीलाई क्यान्सर लगायत घातक रोग गराउने यति धेरै कर्ममा सामूहिक रूपमा लिप्त छ, जहाँ आजको मोजमस्ती र रमाइलो नै शाश्वत सत्य छ र भविष्यबारे कुनै चिन्ता छैन, जहाँ परपीडन र स्वपीडन मानिसको जीवनका मार्गदर्शक सिद्धान्तहरू छन्, त्यहाँ क्यान्सरजस्ता रोगको सहज उपचार हुने अस्पताल खोल्नुको कुनै तुक छ?
त्यसबाहेक, माथि उल्लिखित मानिसका कर्मको परिणाम क्यान्सर मात्रै होइन। दम लगायत एलर्जीजन्य रोग नेपालमा हरेक हिउँदमा आकासिन्छन्। सबै उमेर समूहलाई दमले गाँज्न थालेको त अब धेरै वर्ष भइसकेको छ। केही साताअगाडि सिजनल फ्लुका कारण अस्पतालका बच्चाका वार्डहरू भरिभराउ थिए। कति अस्पतालमा सघन उपचार आवश्यक पर्ने बच्चाहरूले बेडै नपाउने अवस्था आइसकेको थियो।
त्यसमाथि कोभिडको कहर अझै सकिएको छैन। कुनै पनि मौसमी रोगव्याधमा साविकभन्दा अलिकति बढी मानिस बिरामी परे भने धान्नै नसक्ने हाम्रो स्वास्थ्य प्रणाली छ। कोभिड महामारीका कारण अस्पतालहरूको सीमितता र भद्रगोलबारे अपरिचित नेपाली पनि कमै होलान्।
तर हामीभित्रको परपीडक–स्वपीडक प्रवृत्ति यति जब्बर छ कि परिवारको कुनै अरू सदस्य गम्भीर बिरामी परिसक्दा पनि हामीले चेत्दैनौं। हामीलाई स्वच्छ हावाको महत्व बुझ्न आफैं आइसियु र भेन्टिलेटरमा पुग्नुपर्छ।
त्यसो भएपछि हामीलाई प्राण दिने वायुमण्डललाई ग्यास च्याम्बर बनाउने गरी स्कुटर, मोटरबाइक वा कार चढ्दा हामीलाई अपराधबोध हुँदैन। हामीलाई लागिरहन्छ- यो धुँवा र धुलोले क्यान्सर गराउने त अरूलाई पो हो।
त्यसैले फोहोर व्यवस्थापनको झन्झट गर्नुभन्दा हामी त्यसलाई पनि दिनभर धुँवा पुत्ताउने गरी जलाइदिन्छौं। आँखाअगाडि नराम्रो देखिने कार्सिनोजन (क्यान्सर गराउने तत्व) लाई धुँवा बनाएर फोक्सोमा पुर्याएपछि त्यो देखिँदैन र हामी ढुक्क हुन्छौं। त्यसले क्यान्सर गराउने कहिले कहिले, हामीलाई सरसफाइ चाहिएको छ अहिले!
यस्तो छ हामी 'महान' नेपालीको दृरदृष्टि।
हाम्रो परिवारमा यो वर्ष शोक परेकाले दसैंको टीका थिएन। सौतेनी हजुरआमापट्टिका काका यही भदौमा बित्नुभयो भने त्यसको केही महिनाअगाडि असमयमै उहाँकै बुहारी बित्नुभएको थियो, सुत्केरी भएलगत्तै। त्यसको केही महिनाअगाडि उहाँकै ज्वाइँ बितेसँगै मभन्दा केही महिना कान्छी बहिनी विधवा भएकी थिइन्। यसरी कोभिडको वर्ष हाम्रो बृहत् परिवारमा वास्तवमै काल बनेर आएको थियो।
तै पनि व्यक्तिगत रूपमा मेरा लागि योजस्तो उमंगकारी दसैं अर्को थिएन। कारण, छोराको यो पहिलो दसैं थियो। घरमा ऊलगायत तीन जना केटाकेटी अघिल्लो दसैंलगत्तै जन्मेका थिए। हरेक दिनजसो केही न केही नयाँ कुरा सिक्ने उमेरका उनीहरूको अनुहारमा हेर्दा मात्रै अहिले जति खुसी मिल्छ, जीवनमा यसअगाडि मैले कहिल्यै अनुभव गरेको थिइनँ।
त्यसैले शोक र खुसी एकसाथ बोकेको यस्तो दसैं यसअगाडि कहिल्यै आएको थिएन।
म अझै बुढो भइसकेको छैन। तर मसित किशोरकालमा वा युवावयको सुरूमा झैं असीमित ऊर्जा छैन। अब प्राथमिकता तय गरेर त्यसमा तन, मन र धन दिनलाई दशकौंको समय पनि छैन। त्यसैले पनि बाँकी जीवनका योजना बनाउँदा होस पुर्याउनु पर्ने अवस्था छ।
एउटा चिकित्सकका रूपमा आफ्नो विज्ञताका हिसाबले अस्पताल खोल्नु मेरो स्वभाविक गन्तव्य हुनुपर्ने हो। तर मानिसलाई रोग लागिसकेपछि आवश्यक हुने अस्पतालको काममा डट्ने हो भने सन्ततिहरूको पुस्ताको बाँच्न पाउने अधिकारका लागि गर्नुपर्ने संघर्षमा पछि परिने हो कि? यो डरले यसपटक मेरो मनमा जरा गाडेको छ।
जुन समाजको आत्महत्याजन्य कामसित दुर्व्यसन नै भन्न मिल्ने लगाव छ, त्यहाँ अस्पतालहरूले मानिसको जीवनमा तात्विक अन्तर ल्याउँदैनन्। त्यसैले बरू हाम्रो पुस्तासम्मका परपीडक–स्वपीडकका कारण बर्बाद भइरहेको छोराको पुस्ताको भविष्यका लागि आवाज उठाउने हो भने त्यो बढी सार्थक हुन सक्छ, मलाई अहिले यस्तै लागिरहेको छ।
उसो त हामी वर्तमानको क्षणिक खुसीका लागि यति यत्नशील छौं कि भोलिका लागि के गर्न सकिएला वा गर्नुपर्ला भनेर गरिने बहसको खासै अर्थ छैन। कुनै विषयमा हामीले बहस गरे पनि अक्सर त्यसले हाम्रो व्यवहारमा कुनै परिवर्तन ल्याउँदैन। क्यान्सरका भुक्तभोगीबाहेक तपाईं पाठकमध्ये अरू कसैले यी पंक्ति पढेर संवेदित हुनुहोला वा कसैले आफ्नो जीवनशैली परिवर्तन गर्नुहोला भन्ने मलाई लाग्दैन। यसै पनि हामीलाई 'यसो गर, उसो नगर' भनेर कसैले उपदेश दिएको मन पनि पर्दैन।
यथास्थितिसित चित्त नबुझ्ने मजस्ता मानिससित यही गनगन गरेर बसिरहने वा अलि स्वच्छ हावा भएका ठाउँतिर पलायन हुने विकल्प छँदैछन्। त्यसैले मानिसलाई दोषबोध गराउने नियतसहितका यस्ता लेख पनि हामी नेपालीको आम चासो र रूचिका विषय छैनन्।
तै पनि जबसम्म लेखिन्छ, तबसम्म लेखनको धर्मअनुसार 'समस्या मात्रै देखाउने, समाधान नखोज्ने' भन्ने केही पाठकको आलोचना मत्थर पार्न म अब थोरै चर्चा त्यतापट्टि गरेर यो निराशा–पत्ररूपी लेखको बिट मार्छु।
हालै नौ देशका दसौं हजार मानिसको खुसी वा 'ह्यापिनेस' बारे एउटा बृहत् अध्ययन भएको थियो। त्यसको नतिजा अनुसार सबैजसो समाजमा आधाभन्दा बढी मानिस भौतिक सुख–सुविधाले लैश, सुख बढी र पीडा कम भएको 'हेडोनिक प्लेजर' चाहन्छन्।
त्यस्तै एक चौथाइ मानिस जीवनलाई अर्थपूर्ण बनाउने 'युडाइमोनिक ह्यापिनेस' चाहन्छन् जहाँ शारीरिक र मानसिक आराम वा निरन्तर मनोरञ्जनको सट्टा मेहनत वा तनाव र अभावसमेत इच्छित हुन सक्छ। तर खास लक्ष्य हासिल गर्ने र समाजलाई उज्यालोतिर अघि बढाउने व्यक्तिको लालसा यति बलियो हुन्छ कि त्यसका लागि संघर्ष गर्दा हुने दुःखहरूले उनीहरूलाई उल्टै खुसी प्रदान गर्छन्। अनि १०–१५ प्रतिशत मानिस विविध खाले अनुभवको धनी 'एक्स्पेरियन्सियल' जीवनशैली चाहन्छन्।
सबै समाजमा सबै किसिमका मानिस हुनु स्वभाविक हो। तपाईंको रोजाइमा तीनमध्ये कुनै पनि खालको खुसीले प्राथमिकता पाउँछ भने त्यसका लागि तपाईंले दोषबोध गर्नुपर्ने वा कसैको उपदेश सुन्नुपर्ने आवश्यकता छैन।
तर 'हेडोनिक' खुसीका लागि मरिमेट्नेहरूको नेपालमा अहिलेको जस्तै भारी बहुमत कायम हुने हो भने त्यही सुखसयल र सुविधा पनि क्षणिक प्रमाणित हुनेछ। जुन देशमा वर्षको छ महिनासम्म सासै फेर्न नमिल्ने हावा हुन्छ, जुन बस्तीको घरघरमा क्यान्सरका बिरामी हुन्छन्, जुन देशमा सहज समयमा धनाढ्यहरूले मात्रै सहज स्वास्थ्य सेवा पाउँछन्, त्यहाँ कार र घरमा जोडिएका एसीहरूले मात्रै कहिलेसम्म मानिसलाई सुखी र खुसी राख्न सक्लान्?
हावा विषाक्त भएर एसी चलाउन र महँगा अस्पतालमा उपचार गराउन नसक्ने अरूहरू प्याकप्याक भएर मरून्जेल त तपाईंले कार किनेर एसी चलाउँदै र धुँवा निकाल्दै चढ्नुभयो, तर सडकमा गाडी गुड्ने ठाउँ भरिएपछि के गर्नुहुन्छ?
स्मरण रहोस्, हामीले सुविधाका लागि चढ्ने कारजस्ता साधनको असर तत्काल हुने वायु प्रदूषणमा सीमित छैन। जर्नल अफ फ्लोरिन केमिस्ट्रिका अनुसार तपाईंको फ्रिज वा घर र कारको एसीबाट चुहिने हाइड्रोफ्लोरोकार्बनमध्ये ट्राइफ्लोरोमिथेनको वायुमण्डललाई तताउने क्षमता कार्बन डाइअक्साइडको भन्दा ११,७०० गुणा बढी हुन्छ।
अर्थात्, तपाईंले आफ्नो सुविधाका लागि आफ्नै कमाइले एउटा फ्रिज वा एसी थप्दा त्यो किनेर प्रयोग गर्न नसक्ने मानिसको समेत पृथ्वीमा आयु उल्लेख्य रूपले घटाउँदै हुनुहुन्छ। मानव सभ्यतालाई विनाशको संघारमा पुर्याइसकेको जलवायु संकट हाम्रो जीवनकालमा यति घनीभुत भएर जानुमा हाम्रो 'हेडोनिक प्लेजर' प्रतिको यस्तो आशक्ति मुख्यतः जिम्मेवार छ।
हाम्रो वायुमण्डललाई ग्यास च्याम्बर र बस्तीहरूलाई क्यान्सरको नर्सरी बन्नबाट रोक्ने अब एउटा मात्रै उपाय छ, हाम्रो 'हेडोनिक' खुसीप्रतिको यस्तो आशक्ति बदल्ने।
जुन दिनसम्म तपाईंले एसीसहितको कार किनेर आफ्ना छोराछोरीलाई त्यसमा सरर घुमाउने सपना छाडेर तपाईंको सहरका सबैजसो मानिस साइकल चढेर हिँडेको सपना देख्नुहुन्न, अनि त्यसलाई साकार पार्न चार वटा साइकल किनेर घरका चारै जना सामूहिक राइडमा जान थाल्नुहुन्न, नेता, सरकार वा व्यवस्था जस्तो भए पनि नेपाल ग्यास च्याम्बर नै बनिरहनेछ, हाम्रा बस्ती क्यान्सरका नर्सरी बनिरहनेछन्।
उसो त नेपालीहरूको पेट्रोलियम दुर्व्यसन यस्तै रहने हो भने भोकमरीले पनि धेरै ज्यान लिनेछ। कारण, देशमा उत्पादित अर्बौंको बिजुली खेर फालेर खाडीको तेल–ग्यास आयात र खपत गर्ने राष्ट्रवादीहरूले भरिभराउ छ यो देश। यस वर्ष युरोपमा अहिल्यै एलपी ग्यासको मूल्य चार गुणाले बढिसकेको छ। अनि अबको हिउँदमा संसारभर पेट्रोलियमको भाउ आकासिने र नेपालजस्ता देशको अर्थतन्त्र तेल–ग्यासको मूल्यकै कारण टाट पल्टने सम्भावना छ।
त्यसैले सकिन्छ भने जीवनमा 'हेडोनिक' खुसीसँगै अलिकति 'युडाइमोनिक' खुसीको पनि खोजी गरौं। हाम्रा साझा सपनाहरू बदल्दै पेट्रोलियम दुर्व्यसनको उपचार गरौं। साइकल र विद्युतीय साधनहरू अपनाऔं। झारपात र फोहोर जलाउन छाडौं। सहरहरूलाई मानिस बस्न योग्य बनाऔं।
(लेखक क्षेत्रीको प्रकाशोन्मुख किताब मूलतः उनको परिवार र गाउँको इतिहास हो जसमा विभिन्न पुस्ताको गाउँ–सहर यात्रा, पहाड-तराइ बसाइसराइ, बर्मासम्म नेपालीहरूको आप्रवासन, गोर्खा भर्ती, दुई विश्वयुद्धदेखि भारतको हरित क्रान्तिसम्मले गाउँमा पारेका प्रभाव लगायतका विषयवस्तु समेटिएका छन्। लेखकले गाउँ हुँदै २०७३ सालमा गरेको पर्वत–बाग्लुङ–गुल्मी–पाल्पा–रुपन्देही ‘नुन–तेल मार्ग’को एकल पदयात्रालाई आधार बनाएर लेखिएको किताबमा २०४६ सालपछि लेखक हुर्किँदै गर्दाका पहाडी गाउँहरूको मिहिन चित्रण छ। २०७७ र २०७८ मा लेखकले फेरि गरेका दुई गाउँ यात्राहरूमा आधारित नेपालका गाउँहरूको वर्तमान र भविष्य समेट्ने दुई लामा निबन्धहरू जलवायु संकटले नेपालमा ल्याउन सक्ने विपत्तिहरूमा केन्द्रित छन्।)