म पाटन अस्पतालको इमर्जेन्सी हुँ। आज म तपाईंहरूलाई आफ्नो कथा सुनाउँछु।
सधैं दौडादौड र बिरामीको चाप हुने मेरोमा आज अरू दिनभन्दा अलि कम बिरामी छन्। त्यसैले मैले एकछिन भए पनि सुस्ताउने मौका पाएको छु।
सुस्ताउँदै गर्दा आफ्ना भोगाइहरू तपाईंलाई सुनाऊँ सुनाऊँ लाग्यो। फेरि यसरी सुस्ताउने र कथा सुनाउने मौका पाइएला, नपाइएला! अस्पतालको इमर्जेन्सी भएपछि फुर्सदै पाउन मुश्किल छ।
मेरो स्थापना कसरी भयो? स्थापनाकालमा मसँग कति बेड थिए? यस्ता कुराहरू भनेर म तपाईंलाई बोर गराउँदिनँ। यी कुरा त इतिहासको किताबमा प्रशस्तै भेटिन्छन्। फेरि बुढेसकालले होला आजकल स्मरणशक्ति पनि कमजोर भएको छ मेरो। कति कुरा सम्झन्छु, कति भुसुक्कै!
त्यसैले मेरो इतिहासका बारेमा बुझ्न ती दस्तावेजहरू पढ्नु होला है! आज त म तपाईंहरूलाई मैले देखेका केही कथाहरू भन्न आएको हुँ।
आजको दिनमा ठ्याक्कै गनेर हेर्ने हो भने चाहिँ मेरोमा ३५ बेड छन्। बेडहरू समयअनुसार घटबढ भइरहन्छन्। हरेक बेडको आफ्नै विशेषता छ। तपाईं पाटन इमर्जेन्सी आउनुभएको छ भने याद गर्नुभएको होला- ठूलो हलभित्र भिताहरूमा रातो, पहेँलो र हरियो लाइनहरू पोतिएका छन्।
रातो रङ लगाइएका भित्तामुनिका बेडहरू अति सिकिस्त बिरामीहरूलाई छुट्याइको हो। पहेँलो चाहिँ अलि कम सिकिस्त र हरियो चाहिँ अझ कम सिकिस्त।
हुन त म कहाँ आउने बिरामीहरू र बिरामीका आफन्तलाई आफू सिकिस्तै परेर रातबिरात इमर्जेन्सी आएको हो भन्ने लाग्छ। ठीकै पनि हो। तर मेरोमा ड्युटी सम्हाल्ने डाक्टर र नर्सले बिरामीको अवस्था हेरेर रातो, पहेँलो र हरियो भनेर नछुट्याउने हो भने भाँडभैलो नै मच्चिन्छ।
कसरी?
ल सुन्नुस् कसरी- पाँच महिनादेखि घुँडा दुखेको बिरामीका रोचक कुरा सुन्दासुन्दै सुगर अति कम भएर बेहोस भएर आएको बिरामी मरिसक्छ। टाउको झन्झन् गरेर निद्रा कम लाग्ने बिरामीका कथा सुन्दै गर्दा दुर्घटनामा परेर आएको बिरामीको रगत धेरै बगिसक्छ। हरियो र पहेँलोका बिरामीलाई डिस्चार्ज गर्दैगर्दा झाडावान्ताले सिकिस्त बच्चाले छिटो सलाइन नपाउन सक्छ।
मकँहा बिरामी भएर आउने मान्छेलाई कुनै पनि हिसाबले बेवास्ता होस् भन्ने म कदापि चाहन्नँ। तर अस्पतालको इमर्जेन्सी एउटा यस्तो ठाउँ हो जहाँ अघि भनेजस्तै बिरामीको अवस्था हेरेर रातो, पहेँलो र हरियोमा छुट्याउने वा प्राथमिकता निर्धारण गर्नुपर्ने बाध्यता र चुनौती दुवै हुन्छ।
यसो गरिरहँदा कतिपय बिरामीलाई बेवास्ता गरिएको अनुभव भएको मैले बाराम्बार देख्ने गरेको छु। बिरामी र बिरामीका आफन्तलाई रिस उठेको, अपहेलित र कहिलेकाहीँ अपमानितसम्म अनुभव भएको मैले प्रष्ट देखिराखेको हुन्छु। तर मेरोमा काम गर्ने डाक्टर-नर्सहरूले आफ्नो बलबुताले भ्याएसम्म बिरामीको उपचारमा कुनै कसर छाड्छन् जस्तो मलाई लाग्दैन।
कहिलेकाहीँ चाहिँ मलाई केही डाक्टर-नर्सले बिरामी र उनीहरूका आफन्तसँग अलि ढंग पुर्याएर, अलि नम्र भएर कुरा गरिदिए असमझदारीहरू पैदा हुन्थेनन् कि भन्ने पक्कै लाग्छ। त्यस्तै एउटै बिरामीका लागि धेरै आफन्तहरू आएर इमर्जेन्सीमै आमसभा नगरिदिनुभए हुन्थ्यो भन्ने पनि लाग्छ मलाई।
अँ साँच्चै, गफ गर्दागर्दै झन्डै मैले मेरा दुई अत्यन्त महत्वपूर्ण बेडका बारेमा कुरै गर्न बिर्सेको। यी दुई बेडहरू तपाईं इमर्जेन्सीको ढोकाबाट भित्र छिर्नेबित्तिकै देब्रेतिरका बेड हुन्। यी दुई बेडले जति जीवन र मृत्युलाई नजिकबाट नियाल्न सायदै अरू बेडले पाएका होलान्।
यी दुई बेडमा आइपुग्ने धेरैजसो बिरामीको होश हुँदैन, कि त होश हराउन लागेको हुन्छ। यी दुई बेडमा आइपुग्नेहरू स्वाँस्वाँ र घिटीघिटीको अवस्थामा हुन्छन्। कहिलेकाहीँ त जीवनका चिह्नहरू, जस्तै, श्वासप्रश्वास, नाडीको चाल, मुटुको धड्कन आदि सबै नभएर भर्खैरै शून्यमा बिलाएको मान्छे पनि यो बेडमा आइपुग्छ।
यसरी शून्यमा बिलाएको मान्छे त अनन्त शान्तिमा हराएको हुन्छ। तर उसले छाडेर गएका उसका आफन्तका रोदन र कोलाहाल सधैंजसो मेरा भित्ताहरूमा ठोक्किन आइपुग्छ। अझ एकदमै युवा अवस्थाको मान्छे जसको सास हराएको छ, उसलाई देखेर त आफ्नै मन कुँडिएर आउँछ।
मेरोमा ड्युटीमा खटिने डाक्टर-नर्सले सकेसम्म यी दुई बेडमा सुत्न आइपुग्ने बिरामीलाई बचाउने कोशिस गर्छन्। कहिलेकाहीँ सफल हुन्छन्, कहिलेकाहीँ दुखी हुँदै सेतो पन्जा खोलेर बेसिनमा हात धुन्छन्। जीवन र मरणको यो चक्र आफू इमर्जेन्सी भएका नाताले मैले सधैं देख्न र भोग्न पर्छ।
मेरोमा आइपुग्ने धेरै बिरामी र बिरामीका आफन्तको एउटा सोचाइ चाहिँ कसरी परिवर्तन गर्न सकिएला भनेर म सधैं सोचिरहन्छु। उहाँहरूले बारम्बार ‘वार्डमा कहिले लैजाने? खाली इमर्जेन्सीमा राख्यो, भर्नाको बेड पाइएन' भनेर चिन्ता र आक्रोश पोखिरहेको देख्छु।
वास्तवमा उहाँहरूलाई सम्झाउन मन लाग्छ, कुनै पनि बिरामी इमर्जेन्सीको ढोकाबाट छिर्नेबित्तिकै उसको उपचार सुरू हुन्छ। उहाँहरूलाई लाग्छ, वार्डमा गएपछि मात्र उपचार सुरू हुन्छ। तर त्यो गलत बुझाइ हो। यो कुरा बिरामी र बिरामीका आफन्तलाई बुझाउन सकिए कति जाति हुन्थ्यो भन्ने लाग्छ।
अर्को एकदमै दुःख लाग्ने कुरा छ। आफ्नो अस्पतालमा आइसियु बेडको अभावले गर्दा अति सिकिस्त बिरामीलाई अन्य अस्पतालमा रिफर गर्नु! त्यो बेला मकहाँ ड्युटीमा खटिने डाक्टरलाई सो कुरा भन्न कति सकस भइरहेको हुन्छ, म राम्रोसँग बुझ्छु।
इमर्जेन्सी एउटा यस्तो ठाउँ हो जहाँ बिरामीलाई केहीबेर, केही घन्टा 'अब्जरभेसन' अर्थात् निगरानीमा राख्नुपर्ने हुन्छ। कहिलेकाहीँ बिरामीलाई वार्डमा भर्ना गर्नुपर्ने जस्तो हुन्छ। त्यस्तो अवस्थामा बिरामी भर्ना गर्ने सम्बन्धित विभागको ड्युटी डाक्टरले आएर भर्ना गर्छ। केही बिरामी निश्चित समयको निगरानीपछि इमर्जेन्सीबाटै पनि डिस्चार्च हुन सक्छन्। जस्तोजस्तो रोग छ, उस्तैउस्तै निदान र उपचारका बाटाहरू अबलम्बन गरिन्छ।
धेरैजसो बिरामी र बिरामीका आफन्तहरूलाई अर्को एउटा कुरा के बुझाउन मन छ भने, मेरोमा आइसकेपछि अघि भनेजस्तै विभिन्न विभागका डाक्टरहरूले आएर, हेरेर बिरामीलाई भर्ना गर्नुपर्ने हुन सक्छ। त्यस्तो अवस्थामा सो विभागका डाक्टर छिटो आएर हेरेनन् भन्ने गुनासो म सुनिराखेको हुन्छु।
विभिन्न विभागका खटिने डाक्टरहरू पनि अस्पतालमा २४ घन्टे ड्युटीमा खटिइरहेका हुन्छ्न्। तपाईं वा तपाईंको बिरामीलाई हेर्न ढिलो आएको डाक्टर कुनै वार्डमा वा अपरेसन थिएटरमा कसैको ज्यान बचाउँदै हुन सक्छ।
यति भन्दाभन्दै यो पनि भन्न जरूरी ठान्छु कि धेरै डाक्टर उत्पादन हुने हाम्रो देशमा अझै पनि बिरामी र डाक्टरको अनुपातबीच फरक धेरै छ। एउटा डाक्टरले हेर्नुपर्ने बिरामी धेरै हुन्छन्। त्यसैले दिलोज्यान दिएर खट्दाखट्दै पनि भ्याइनभ्याइ भइरहेको मैले पनि देखिराखेको हुन्छु। यो देशको सरकारले डाक्टर-नर्सलाई यही देशमा टिकाउन सक्ने हो भने मात्रै यो समस्याको समाधान हुन्छ जस्तो मलाई लाग्छ।
आफ्ना भोगाइहरूका बारेमा कुरा गर्दै गर्दा मैले ड्युटीमा खटिने डाक्टर-नर्सको मात्रै कुरा गरेँ भने सायदै न्याय हुन्छ। म इमर्जेन्सी कोठालाई सफा-सुग्घर बनाइदिने सफाइ विभागका साथीहरू र मेरो काम चुस्त र सजिलो होस् भनेर सहयोग गर्ने काउन्टरका टिकट काट्ने साथी, ल्याब, एक्स-रे, सुरक्षा गार्ड दाइ-दिदी, फार्मेसीका साथीहरू, त्यस्तै बेला-बेलामा फोन गर्दा अन्य विभागका डाक्टरलाई फोन लगाइदिने रिसेप्सनका साथीहरू लगायत मेरो काममा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबैमा कृतज्ञ छु।
हुन त मेरोमा खटिने डाक्टर-नर्स सबै जना मलाई मनपर्छ। तर कहिलेकाहीँ भिडभाड र दौडादौडमा डाक्टर-नर्सबीच बिरामीकै अगाडि भनाभन परेको मैले देखेको छु। त्यसरी झगडा गरेको देख्दा बिरामीलाई भन्दा मलाई बढी टीठ लाग्छ।
मेरोमा आउने बिरामी दुखाइको छटपटी लिएर आएको हुन्छ। इमर्जेन्सी विभाग भनेको भावना र आवेग तरंगित हुने ठाउँ हो। यहाँ चाँडो रिस उठ्छ, चाँडो आवेगको छाल बढ्छ। यस्तो माहौलमा डाक्टर-नर्सबीच राम्रो समन्वय भएन र मनमुटाव भयो भने काम ठप्प हुन्छ। साथै काम गलत हुने खतरा हुन्छ।
आफूलाई चित्त नबुझेको कुरा छुट्टै आएर राख्न सिक्ने हो, न कि बिरामी र उनका आफन्तका अगाडि चिच्याउने हो। यसो गर्न सिकियो भने धेरै कुरा सुल्झिन्छ जस्तो मलाई लाग्छ। यसले अनावश्यक मनमुटाव कम गर्छ र स्वस्थ प्रतिक्रिया दिने बानी पनि विकास गर्छ।
मेरोमा बिहान-बेलुकी राउन्ड लिन र ड्युटीमा खटिने जुनियर डाक्टरलाई २४ घन्टा नै गाइड गर्न सिनियर डाक्टरहरूको टिम सक्रिय छ। सिनियर डाक्टरहरूले जुनियरलाई सिकाउँदै, बिरामीका अवस्थाका बारेमा बुझ्दै राउन्ड लिएको हेर्न मलाई रमाइलो लाग्छ। इमर्जेन्सी विभागका सम्पूर्ण सिनियर डाक्टर लगनशील र कामप्रति इमानदार छन्। यसो भनिरहँदा पाटन अस्पतालको इमर्जेन्सीमा काम गर्ने एक जना अत्यन्त शालीन र शान्त स्वभावका सिनियर डाक्टरका बारेमा मैले यहाँ कुरा राखिनँ भने सायद यो वर्णन खल्लो खल्लो हुन्छ।
सानो स्वरमा धेरै कम बोल्ने तर गहकिलो कुरा गर्ने थोरै मानिसमा पर्छ ऊ। उसको नाम यहाँ उल्लेख गर्नुको कुनै महत्व छैन किनभने ती शान्त डाक्टरलाई ‘चिनिने भोक’ छैन! यो चिनिने भोक साह्रै डरलाग्दो भोक हो। तर ऊ त्यसभन्दा माथि छ। उसले बोल्नुपर्दैन, उसका कामहरू बोल्छन्। आफ्ना जुनियर र विद्यार्थीलाई कसरी सबल बनाउनेमा उसको सधैं ध्यान हुन्छ।
ऊ आफ्ना विद्यार्थीलाई कुनै पनि घटनालाई वा बिरामीले भन्ने कुनै पनि लक्षणलाई नौ पटक 'किन?' भन्न सिकाउँछ। ऊ थप्छ- नौ पटक किन भनेर प्रश्न गरेमा जुनसुकै कुरा पनि गल्छ र त्यसको सत्यतथ्य बाहिर आउँछ।
यो नौ पटक किन सोध्ने कला मेडिकल साइन्समा मात्रै होइन, दैनिक जीवनमा पनि उपयोगी छ।
ऊ र ऊजस्तै सिनियर डाक्टरहरू र ड्युटीमा खटिने डाक्टर एवं नर्सहरूको संयुक्त प्रयासले पीडामा छट्पटिएर आएको मान्छे, पीडामुक्त भएर शान्त भएको देख्दा मलाई धेरै खुसी लाग्छ।
म इमर्जेन्सी विभाग हुँ। कसैकसैले मलाई इमर्जेन्सी कोठा/रूम अर्थात छोटोमा 'ईआर' पनि भन्छन्। उखान सुन्नुभएको होला, भित्ताहरूको कान हुन्छ। तर मेरा भित्ताहरूका कान मात्रै होइन, दुई आँखाहरू पनि छ्न् जसले दैनिक मैले माथि सुनाएकाजस्ता दृश्य देखिराखेका हुन्छन्।
हरेक दिन आफ्नो ड्युटी सकेर घर जान लागेका थकित र अनिँदा डाक्टरहरूका अनुहार मैले नियाल्ने गरेको छु। उनीहरूमा थकान अवश्य छ तर मुहारमा जीतको अलौकिक ज्योति पनि छ।
जीतः छट्पटिएर आएका ती बिरामीका दुखाइ माथि।
जीतः बेहोस भएर आएको बिरामीको डरलाग्दो बेहोसीपनमाथि।
जीतः रोग र व्याधहरूमाथि!
मेरा हातहरू हुँदा हुन् त ड्युटीबाट घर फर्कन लागेका हरेक डाक्टर-नर्सलाई धन्यवाद भन्दै एउटा पुष्प उपहार दिन्थेँ। जसले भोलि बिहान उसलाई अरू जीवनहरू बचाउन, दुखाइ-दर्दहरू कम गराउन फेरि पाटन इमर्जेन्सीको ड्युटीमा फर्किन प्रेरित गरोस्!
(डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)
ट्वीटर: @luintelaayas
(डा. आयास लुइँटेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)