आज जेठ १८। पोहोर साल आजैका दिन उज्ज्वल दाइ (उज्ज्वल थापा) को देहावसान भएको थियो। यो एक वर्षमा नेपाली समाजको सामूहिक स्मृतिमा दाइको तस्वीर अलिकति धमिलो भइसकेको छ। भन्छन् नि, मरेको अर्को दिन दुई दिन हुन्छन्।
तर त्यो धमिलोपनलाई बारम्बार पन्छाएर हाम्रो पुस्ताले पछिसम्म सम्झिरहने सीमित व्यक्तिहरूमध्ये एक हुन् उज्ज्वल दाइ।
यो एक वर्षमा देशमा केही परिवर्तन भयो, धेरै उस्ताको उस्तै छ। यो स्थानीय चुनावसम्म आउँदा दाइले स्थापना गरेको वैकल्पिक राजनीतिक अभियान दोबाटोमा पुगेको देखियो। एकातिर वैकल्पिक राजनीतिको औपचारिक मोर्चामा रहेका दलहरू बाँडिएर र बाटो बिराएर छियाछिया भइसकेका छन्।
अर्कोतिर भ्रष्टाचार र गतिविहीनताले पक्षघातग्रस्त भइसकेका पुराना दल र तिनका नेताबाट मुक्ति पाउने आम मानिसको हुटहुटी झन् टड्कारो हुँदैछ। त्यो हुटहुटीले हालै सम्पन्न स्थानीय चुनावमा केही अनपेक्षित परिणामहरू समेत ल्याएको छ।
दाइको वार्षिकीका अवसरमा यहाँ केही पुराना सम्झनाहरू खोतल्ने प्रयास गरेको छु।
२०६९ सालमा मेरो उज्ज्वल दाइसित पहिलो भेट भयो, डाक्टर गोविन्द केसीको पहिलो सत्याग्रहका क्रममा। त्यसपछिका झन्डै नौ वर्ष दाइसँगै विभिन्न अभियानहरूमा सहभागी हुन पाएँ।
म वामपन्थी स्कुलिङबाट आएको हुँदा घरिघरि उद्यमको कुरा गरिरहने उज्ज्वल दाइलाई मैले सुरूमा संशयसहित हेर्थेँ। वर्गयुद्ध र द्वन्द्वात्मक भौतिकवादका कुरै नगरी हुने उद्यम र विकास, समता र न्यायको बहस मलाई सतही लाग्थ्यो।
डाक्टर केसीको सत्याग्रहको निशानामा नेपालका मेडिकल कलेजहरू पर्दै गर्दा मलाई लाग्थ्यो- आखिर निजी मेडिकल कलेजहरूको पनि त उद्यम नै हो नि। उद्यमको प्रवर्द्धन गर्ने भनेपछि हामीले ‘माफिया’ भनेर गाली गर्ने मानिसहरूको उद्यमको पनि प्रवर्द्धन नै गर्नुपर्यो नि। एउटा बिन्दुमा गएर उज्ज्वल दाइहरूले यो कुरा महसुस गर्नु हुनेछ अनि हाम्रो दुरी बढ्नेछ। उहाँ डाक्टर केसीको सुधार अभियानबाट पछि हट्नु हुनेछ।
मलाई त्यति बेला यस्तै लाग्थ्यो।
तर समयक्रमले मलाई गलत सावित गर्यो। जीवनको अन्तिम घडीसम्म पनि सार्वजनिक स्वास्थ्य प्रणाली र सबै नेपालीको स्वास्थ्य सेवा पाउने अधिकारको वकालत गरेरै दाइ बिदा हुनुभयो। ०६९ सालमा सुरू भएको डाक्टर केसीको सत्याग्रह ०७७ सालमा बीसौंपल्ट दोहोरिँदा कुनै बेला उहाँको अत्यन्त निकट रहेका धेरै मानिसहरू टाढिए, कतिले विरोध समेत गरे। तर उज्ज्वल दाइ कुनै क्षण त्यो अभियानबाट टाढिनु भएन।
यो वा ऊवाद भनेर विषयवस्तुलाई सिद्धान्तको पर्दाले ढाक्ने दाइको बानी थिएन। हृदयदेखि दाइ एक मानववादी वा ‘ह्युमनिस्ट’ हुनु हुन्थ्यो। अनि त्यसलाई प्रकट गर्ने दाइको आफ्नै शैली थियो।
डाक्टर केसीको अभियान र त्यसले गर्ने सार्वजनिक स्वास्थ्य प्रणालीको वकालतलाई हेर्ने पनि दाइको आफ्नै मौलिक दृष्टिकोण थियो- जीवन बचाउने सेवा र जीविका चलाउने उद्यमबीच फरक रहेकाले दुईलाई मिसाउनु हुँदैन। पोहोर साल दाइको मृत्युलगत्तै पुराना इमेलहरू खोल्दा नेपालको स्वास्थ्य प्रणालीलाई हेर्ने दाइको प्रष्ट र धारिलो दृष्टिकोणको एउटा उदाहरण भेटियो।
हामी केही साथीलाई सन् २०१६ जुलाइमा पठाएको एउटा इमेलमा दाइले लेख्नुभएको रहेछ- पञ्चायतकालमा नेपालको मेडिकल शिक्षा अहिलेको जस्तै निजी क्षेत्रको हातमा रहेको भए हामीसित न डाक्टर केसी हुनु हुन्थ्यो, न डाक्टर भगवान कोइराला। न डाक्टर उपेन्द्र देवकोटा, न डाक्टर भोला रिजाल र डाक्टर चन्दा कार्की। अर्थात् नेपालको स्वास्थ्य क्षेत्रका ‘पायोनियर’हरू निःशुल्क मेडिकल शिक्षाका उत्पादन थिए। ती सबै चिकित्सकहरूको पुस्ताले छात्रवृत्तिमा चिकित्सा पढेको थियो अनि देशको सेवामा फर्केको थियो।
तर दाइले त्यो इमेल लेख्ने बेला डाक्टर भोला रिजाल र चन्दा कार्की खुलेआम डाक्टर केसीको सुधार अभियानविरूद्ध नाराबाजी गर्दै सडकमा हिँडिरहेका थिए। रोजगारी दिने अरू उद्यमजस्तै निजी मेडिकल कलेज पनि फस्टाउनु पर्छ, तिनमाथि सरकारले अंकुश लगाउनु हुँदैन भन्ने उनीहरूको माग थियो।
मान्छेको ज्यान बचाउने कुरा सेवा हुनुपर्छ, उद्यम गर्नलाई अन्य क्षेत्रमा अनन्त सम्भावनाहरू छन् भन्ने उज्ज्वल दाइको दृढ विश्वास थियो। त्यसमा कुनै किन्तु–परन्तुको गुञ्जायस थिएन।
यस्ता कुरामा धारणा बनाएपछि त्यसबारे लेखेर वा बोलेर बस्ने दाइको बानी थिएन। त्यसअनुसार नतिजा निकाल्नु दाइको प्राथमिकता हुन्थ्यो।
त्यसैले नाम कमाएका चिकित्सकहरू नेपालका बदनाम निजी मेडिकल कलेजहरूको रक्षामा लागेर डाक्टर केसीको निन्दा गर्न थालेपछि दाइले त्यसका प्रतिकारमा रणनीति बनाउनुभएको थियो। त्यो इमेलमा त्यस्ता केही डाक्टरहरूको पारिवारिक र शैक्षिक पृष्ठभूमिसमेत खोतलेर दाइले पठाउनुभएको थियो।
अनि भन्नुभएको थियो- कसैले उनीहरू आफैंलाई सोध्नु वा तुरुन्त छरितो खोजी गर्नु कि कति मेडिकल कलेजका सञ्चालकहरूले पैसा तिरेर पढेका थिए। आफू सित्तैमा पढ्ने अनि अहिलेको पुस्ताको ढाड सेक्नेरु
या त यो प्रश्न सोधेर मिडियाले उनीहरूको ढोंगी चरित्र उदांगो पारोस्। होइन भने हामी अभियन्ताहरूले भए पनि त्यसो गरेर उनीहरूले छरिरहेको भ्रम चिर्नुपर्छ भन्ने दाइको आसय थियो। त्यसो गर्दा एकसाथ निःशुल्क चिकित्सा शिक्षा र सार्वजनिक स्वास्थ्य प्रणालीको मात्रै वकालत हुँदैन थियो, डाक्टर केसीको अभियानले पनि गति पाउन सक्थ्यो।
पोहोर साल जेठ १८ गते दिउँसो दाइ बित्नुभयो। साँझ क्लबहाउसमा हामी सयौं शोकाकुल मानिसहरू जम्मा भएर उहाँलाई सम्झँदै थियौं।
त्यहाँ साथीहरूलाई सुनेपछि लाग्यो, मैले चिनेको उज्ज्वल थापा त वास्तविक उज्ज्वल थापाको एउटा असाध्यै सानो अंश पो रहेछ। जबकि झन्डै एक दशकसम्म संगत गरेर उहाँलाई नजिकबाट चिन्नेमा पर्छु भन्ने भ्रम थियो मलाई त्यतिखेरसम्म।
कसैको पनि मृत्युमा हामी स्वभावतः शोकमा डुब्छौं। तर उज्ज्वल दाइको मृत्युमा हामी शोकाकुल मात्रै थिएनौं, केही साथीहरूले खुलेरै भने- आजको दिन हामी शोकाकुल भएर बितायौं भने दाइप्रति अन्याय हुनेछ, त्यसैले बरू उहाँसित बिताएका उज्याला र रमाइला क्षणहरूको चर्चा गरौं।
साथी प्रितमलाई केही महिनाअगाडि मोटरबाइकको पछि बसेर दाइले भन्नुभएको रहेछ- यति धेरै नकुदाऊ, मलाई यति छिट्टै माथि जानु छैन।
अर्की साथीलाई अस्पतालमा कोभिडको उपचार गराइरहँदा आफ्नै मजाक उडाउँदै भन्नुभएको रहेछ- यार, अस्पतालको बेडमा त मान्छे ह्यान्डसम नदेखिने रहेछ।
अधिकांश युवा साथीहरुको साझा मत थियो- नेपाली राजनीतिमा दाइ यस्तो विरल नेता हो जसलाई नयाँ पुस्ताको नेतृत्व गर्ने नयाँ नेताहरू जन्माउनु थियो। कार्यकर्ता जन्माएर तिनको भर्याङ चढेर आफू माथि जानु थिएन।
तीन सय वर्षअगाडि कसले के भन्यो भन्नेमा गलफत्ती गरेर जीवन बिताउनु दाइका लागि राजनीति थिएन। भाषण गर्नु, अरूको खोइरो खन्नु र खुट्टा तान्नुले दाइको राजनीतिमा कहिल्यै ठाउँ पाएनन्।
पहिले विवेकशील नेपाली दलमा रहेका एक साथी विवेकशील साझा फुट्ने बेला साझा पार्टीतिर जाने निर्णय गरेछन्। त्यो निर्णयबारे उज्ज्वल दाइलाई सुनाउँदा ‘किन?’ भन्ने दाइको स्वाभाविक प्रश्न थियो। तर त्यसको जवाफ पाएपछि दाइले घन्टाभर उनलाई सम्झाउनुभएछ कि कसरी साझा पार्टीमा गएपछि उनले अर्थपूर्ण राजनीति गर्न सक्थे।
उनले त्यो वार्तालाप स्मरण गरेर भन्दै थिए- फर्केर विवेकशीलमा आउन एकचोटि पनि दाइले उनलाई आग्रह गर्नु भएन।
यस्तो थियो दाइको राजनीतिक विवेक र शालीनता।
त्यो दिन क्लबहाउसमा केही साथीहरूले उज्ज्वल दाइ बीपी कोइराला र मदन भण्डारीझैं नेपाली राजनीतिको कालजयी नेता बन्ने प्रक्षेपण गरे। त्यो कति साँचो ठहर्ला भन्ने त भविष्यले बताउने नै छ। तर नेपाली राजनीतिमा दाइको ‘लिगेसी’ को स्मरण गर्ने र दाइले बालेको वैकल्पिक राजनीतिक चेतको दियोमा अलिकति तेल थप्ने उपयुक्त मौका चाहिँ हो उहाँको वार्षिकी। यस्तै लेखनीहरू नै दाइबारे लेखिने इतिहासको पहिलो 'ड्राफ्ट' हुन सक्नेछन्।
दाइ अमेरिकाबाट नेपाल फर्केर अभियानहरू सुरू गर्दा यहाँ विरोध प्रदर्शनको अर्थ चक्का जाम, उपत्यका बन्द वा नेपाल बन्द लाग्ने अवस्था थियो। सत्तामा भएका पार्टी वा तिनका भातृ संगठनहरूले समेत चित्त नबुझ्दा बन्द गरिहाल्थे। विपक्षीहरूको त कुरै छाडौं। कालो धुवाँको मुस्लो छाड्ने गरी टायर बाल्नु, रेलिङ भाँच्नु, सरकारी गाडी जलाउनु, सडक छेउका घरका सिसा फुटाउनु त्यस्ता आन्दोलनहरूका सामान्य गतिविधि हुन्थे।
उता सरकारले काठमाडौं वा देशै ठप्प नभएसम्म कसैका मागहरूको बारेमा पनि टेरपुच्छर लगाउँदैन थियो। अनि विरोधीहरूले पनि ‘यहाँ बन्द नगरी कसैले सुन्दैन’ भन्ने बहाना पाउँथे। यो दुष्चक्रले हाम्रो लोकतन्त्रलाई नै दूषित बनाउँदै थियो। काठमाडौंका सडक, वायुमण्डल र मानसिकता सबै उसरी नै दूषित बन्दै थिए।
यो पृष्ठभूमिमा जब उज्ज्वल दाइको विवेकशील नेपाली अभियानले कागजका प्लेकार्ड र कागजकै टोपी लगाएर शान्तिपुर्ण प्रदर्शनको चलन सुरू गर्यो। धेरैले त्यसको खिल्ली उडाए। जोखिम लिन नचाहने सहरी मध्यम वर्गको ‘स्टन्ट’ सम्झेर अरू पार्टीहरूले त्यसको सिको गरेनन्। तर दाइहरूले बन्दका कारण सडक ठप्प भएका बेला सानो समूहमा भए पनि नेपाल खुल्लै छ भनेर ब्यानर लिएर निस्किँदा त्यसले स-सानो तरंग सिर्जना गर्यो।
ठूला राजनीतिक दलसम्बद्ध विद्यार्थी र युवा संगठनका युवाहरू एक अर्कासित खुँडा हानाहानसम्म गरिरहँदा काठमाडौंको मध्यमवर्गका धेरै युवा, किशोर र स्कुले विद्यार्थीसम्मले विवेकशील नेपाली अभियानलाई नजिकबाट हेर्दै थिए।
बुढेसकालसम्म विद्यार्थी राजनीति गरिरहने अनि बागी चेतना मारेर माउ पार्टीको भक्ति मात्रै प्रवर्द्धन गर्ने विद्यार्थी संगठनहरूबीच स्ववियुका लागि चुनावहरू समेत पातलिँदै गए। ती संगठनहरूले गतिशीलता र जुझारूपन दुवै गुमाउँदै गए। अनि युवा राजनीतिमा एक खाले खाली ठाउँ पनि विकसित हुँदै गयो।
अभियानबाट बिस्तारै राजनीतिक पार्टी बन्दै गरेको विवेकशील नेपाली दलले त्यो खाली ठाउँ भर्न थाल्यो।
त्यसका केही उदाहरण हेरौं।
जब शिक्षा र स्वास्थ्यमा व्यापारीकरणको विषय आयो, कोभन्दा को बढी मार्क्सवादी भनेर बहसको भुलभुलैया सिर्जना गर्ने पार्टीका विद्यार्थी संगठनहरूले माउ पार्टीका नेताहरूतिर हेरे। शिक्षा र स्वास्थ्यमा व्यापार गरेर अकूत कमाउनेहरूको चंगुलमा फसेका नेताहरूको एकै इशारा त्यो व्यापारीकरणको विरोधमा उत्रनबाट विद्यार्थी संगठनहरूलाई रोक्न काफी भयो।
जब डाक्टर केसीले त्यस्तो व्यापारीकरणविरूद्ध सत्याग्रह सुरू गर्नुभयो, मेडिकल कलेजहरूको अर्बौंको ठगी उदांगो भयो। देशभरिका ठगिएका मेडिकल विद्यार्थीहरूले सहयोगका लागि हारगुहार गरे। विद्यार्थी संगठनहरूले फेरि निर्देशनका लागि पार्टी नेताहरूको मुख ताके। फेरि पनि माफिया भनिने निजी मेडिकल कलेज सञ्चालकहरूबाट चुनाव खर्च उठाइरहेका नेताको एक इशारामा विद्यार्थी संगठन पाखा लागे।
युगै फेर्ने क्रान्तिकारी भाषण दिएर भीडलाई जुरुकजुरुक उचाल्ने विद्यार्थी नेताहरू यस्ता अभियानबाट टाउको लुकाएर भागे।
ठूला पार्टीका विद्यार्थी संगठनहरू ‘हाम्रो महान गौरवशाली संगठन’ को रट लगाएर कुनामा लुकिरहँदा विवेकशील पार्टीको सिंगो संयन्त्र डाक्टर केसीको अभियानको पक्षमा सडक र सामाजिक सञ्जालमा उत्रियो। मुश्किलले जम्मा गरेको सीमित आर्थिक स्रोत त्यही अभियानमा खन्यायो। पार्टीका साथीहरू बारम्बार पक्राउ खाएर प्रहरी थुनामा समेत परे।
यही सिलसिलामा २०७३ सालमा डाक्टर केसीले लोकमान सिंह कार्कीविरूद्ध महाभियोगको मागसमेत राख्दै सत्याग्रह सुरू गर्नुभयो। चार मुख्य पार्टी मिलेर आ-आफ्ना भ्रष्ट करतुत छोप्न ल्याइएका लोकमान त्यतिखेर सर्वशक्तिमान नै थिए। सबै प्रमुख दल उनको नामसितै त्रस्त थिए। लोकमानले अवैध रूपमा पार्टीका नेता र कार्यकर्तामाथि जासुसी गरिरहेका छन् भनेर मिडियामा आउँदा पनि उनीहरू चुँ गर्न सकेका थिएनन्।
त्यो अवस्थामा ज्यानै होमेर विवेकशीलका ‘कागजको टोपीधारी’ साथीहरू डाक्टर केसीको अभियानमा होमिए। सामाजिक सञ्जालमा देशैभरका नागरिकहरूले साथ दिए। नेपालको एउटै स्थापित राजनीतिक पार्टीको सहभागिताबिना त्यो आन्दोलन राष्ट्रिय राजनीतिको केन्द्रमा पुग्यो। पार्टीहरूलाई मानिसले सडक र सामाजिक सञ्जालमा कुरीकुरी गरेपछि लोकमानलाई महाभियोग लगाउने विषयले संसदमा प्रवेशसम्म पाउने अवस्था बन्यो।
तर लोकमानको पद हतपत डग्मगाउने वाला थिएन, उनी तत्काल पदबाट हटेनन्। बरू डाक्टर केसीले उनलाई भ्रष्ट घोषणा गरेर उनको पदमाथि धावा बोलेसँगै हामी अभियन्ताहरूमाथि उनी खनिए। चितवनमा मेरा रोजगारदाताहरूलाई उनले तर्साए। उज्ज्वल दाइ जीवनमा जति उद्यमसित जोडिनुभयो, ती सबै खोतलखातल पारेर दाइको आवाज दबाउन खोजे लोकमानले।
यसरी देशको प्रमुख राजनीतिक मुद्दामा विवेकशील नेपाली मुख्य पात्र भएर भिडिरहँदा राजनीतिक दल र तिनका विद्यार्थी–युवा संगठनहरू कुनामै लुकेर बसिरहे। त्यसको एउटा ठोस उदाहरण हेरौं।
डाक्टर केसीको त्यो चरणको सत्याग्रह चलिरहेकै बेला कुनै सानो राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनले सबै जसो पार्टीका विद्यार्थी संगठनका नेताहरूसँग डाक्टर केसी पक्षका अभियन्ताहरूको बैठकको प्रबन्ध गर्यो। आरआर क्याम्पसमा भएको त्यो बैठकमा हामीले डाक्टर केसीको अभियानका तर्फबाट आफ्ना कुरा राखेर त्यसमा जोडिन सबै विद्यार्थी संगठनहरूलाई अपिल गर्यौं।
आगो ओकल्ने विद्यार्थी नेताहरूको कहानी सुनेको मैले त्यहाँ पनि उनीहरूले लोकमानविरूद्ध त्यत्तिकै आक्रामक कुरा राख्लान् भन्ने आशा राखेको थिएँ।
तर भयो ठ्याक्कै उल्टो। लोकमानको विषयमा उनीहरूले गोलमटोल कुरा मात्रै गरे। एमालेको विद्यार्थी संगठनबाट त्यो बैठकमा नवीना लामा आएकी थिइन्। नेविसंघबाट को थियो भन्नेसम्म मलाई अहिले याद छैन।
बैठकको निश्कर्षका रूपमा उनीहरूले लोकमानविरोधी अभियानलाई उल्लेख मात्रै गरेर एउटा साझा प्रेस विज्ञप्ति निकाल्नेसमेत आँट गरेनन्, लोकमानको खुला विरोध गर्नुको त कुरै छाडौं।
आखिर सामाजिक सञ्जालमा छोटा भिडिओ अपिल राख्ने, विवेकशील नेपाली दलको संयन्त्रबाट हजारौं मानिसलाई एसएमएसबाट बोलाउने, आदि अनेक उपाय अपनाएर त्यो अभियानका बेला हामीले हजारौं मानिसलाई शान्तिपूर्ण प्रदर्शनका लागि काठमाडौंका सडकमा उतार्यौं। मिडियाले त्यसबीच लोकमानका दर्जनौं करतुत खुलस्त बनाएर अख्तियार प्रमुखका रूपमा उनको लोकप्रिय वैधता शून्यमा झारिदियो।
ठूलो संख्यामा आम मानिसले उल्लीबिल्ली पार्न थालेपछि पार्टीहरूसमेत लोकमानको ज्यादतीको विषयलाई संसदमा प्रवेश दिएर छलफल गर्न बाध्य भए। तत्काल महाभियोगको प्रस्ताव दर्ता नभए पनि सार्वजनिक महत्वको प्रस्तावमार्फत लोकमानले गरेका अनियमितताहरूले संसदको रेकर्डमा स्थान पाए।
मेरा लागि असाध्य जोखिमपूर्ण रहेको अभियानको त्यो चरण सकिँदा लोकमान पदबाट हटेनन् तर म पूर्ण बेरोजगार डाक्टर बनिसकेको थिएँ। त्यस्तो चुनौती र जटिलताका बीच म भावनात्मक उथलपुथलबाट ग्रस्त थिएँ। यत्रो मूल्य चुकाएर आखिर केही नहुने त होइन भन्ने निराशाको भावले पनि छोप्थ्यो।
तर पनि जब उज्ज्वल दाइसित भेट हुन्थ्यो, दाइसित देश वा हाम्रो भविष्य बदल्ने वा हामीले चाहेझैं काठमाडौंमा लोकमानविरूद्ध एक लाख जना उतार्ने जादुमन्त्र नभए पनि तत्काल गरिहाल्न सकिने केही न केही काम हुन्थ्यो। त्यसले सानै भए पनि परिणाम दिन सक्थ्यो। अनि हामीलाई व्यस्त पनि राख्थ्यो।
लोकमानलाई महाभियोग लगाएर हटाउन हामीले बाँकी केही गर्न नसक्ने भए पनि दाइ भन्नुहुन्थ्यो- यो नेता र सांसदहरूलाई ‘इरिटेट’ गर्न भए पनि एसएमएस क्याम्पेन चलाऔं। आफ्नो काम गर्दैनन् भने यिनलाई किन चैनसित सुत्न दिने?
२०७४ सालयता दाइसित भेट पातलिँदै गयो। म चितवनमा, दाइ काठमाडौंमा। काठमाडौं जाँदा चाहिँ अक्सर डाक्टर केसीको क्वार्टरमा जम्मा भएर हामी अभियानको समीक्षा गर्थ्यौं। पुस महिना भए पनि केसी सर कोक पिउनु हुन्थ्यो र हामीलाई पनि अफर गर्नु हुन्थ्यो। म चाहिँ स्याउ पनि उम्लेको पानीमा डुबाएर खान्थेँ। सरको गाउँतिरबाट आएका भुटेका मकैसित कोक वा चिया पिउँदै हामी घन्टौं गफ गर्थ्यौं।
लोकमानविरूद्धको अभियानका बेला हामीले ‘वार रुम’ भन्ने गरेको त्यो कोठामा अक्सर हामी असफलताहरूलाई कसरी चिर्ने भनेर लामो बहस गर्थ्यौं।
डाक्टर केसीका धेरै जसो सत्याग्रह सरकारसित सम्झौता भएर टुंगिए पनि लगत्तै सरकारले त्यसलाई उल्लंघन गर्थ्यो। कागजमा हाम्रो जीत भए पनि व्यवहारमा अक्सर माफियाहरूले जित्थे। त्यसैले अभियानमा लागिरहँदा हामीलाई कहिलेकाहीँ दिक्दारी र निराशाले छोप्थ्यो।
उता राजनीतिमा दाइको हालत पनि उस्तै थियो। शहरी शिक्षित वर्गमा चिनिने गरी एउटा उचाइ लिएपछि विवेकशील नेपाली दलले निरन्तर गति लिन सकेको थिएन। त्यसमाथि स्थानीय चुनावलगत्तै भएको साझा पार्टीसितको एकीकरण दाइ र उहाँले हुर्काएको पुस्ताका युवा राजनीतिज्ञ साथीहरूका लागि पीडादायी सावित हुँदै गइरहेको थियो।
राजनीति अब दाइका लागि थप जटिल बन्दै थियो। पहिले अभियानहरूमा खर्चिने गरेको ऊर्जा अब पार्टीभित्रको घर्षणले खपत गरिरहेजस्तो लाग्थ्यो।
एकीकरणपछिको आम चुनावमा पार्टीले राम्रो गर्न नसकेपछि र नेपाली राजनीतिको अपराधीकरण निरन्तर रहेपछि दाइ अलि हतोत्साहित हुनुहुन्थ्यो। राजनीतिमा आउने बेला दाइको उद्देश्य आफ्नो पार्टीलाई सत्तामा पुर्याउन नसके पनि राजनीतिको खेललाई नै शुद्धीकरण गर्दै ठूला दललाई पनि बढी पारदर्शी र जवाफदेही बन्न बाध्य पार्ने थियो।
दलहरूको निरन्तर भ्रष्टीकरण र आन्तरिक लोकतन्त्रको अभावका कारण पछिल्लो उद्देश्यसमेत पूरा नभइरहँदा दाइ अलि बढी नै क्षुब्ध हुनु हुन्थ्यो।
‘नेतालाई भ्रष्ट भनेर गाली पनि गर्ने अनि भोट पनि तिनै भ्रष्ट नेतालाई दिइरहने, मतदातालाई के भएको हो’ भनेजस्तो कुरा पनि दाइले कहिलेकाहीँ गर्नु हुन्थ्यो।
दाइ र म मात्रै भएका बेला जब दाइले ‘ल जीवन, भन अब के गर्नुपर्ला’ भन्नु हुन्थ्यो, मलाई आफैं जीवनको ठूलो परीक्षामा खडा भएजस्तो लाग्थ्यो। सम्पूर्ण मानसिक ऊर्जा लगाएर म आफ्ना आधा–अधुरा भए पनि विचारहरू सुनाउँथेँ। बोलिसक्दा तीव्र थकानको महसुस हुन्थ्यो।
तर दाइ ‘अनि?’ भनेर निरन्तर मलाई बोलिरहन लगाउनु हुन्थ्यो। थकित र गलित भए पनि म आफैंले पनि त्यो अभ्यासपछि खास मुद्दाहरूमा अलि प्रष्टता हासिल गरेँ कि जस्तो लाग्थ्यो।
दस वर्ष अगाडिको कुरा। चार वर्ष साउदीमा आँशु र पसिना बगाएर दुई लाख २२ हजार रूपैयाँ कमाएर सीता राई (नाम परिवर्तन) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगिन्। अध्यागमनका अधिकारी सोमनाथ खनालले त्यो रकम पूरै लुटे। बहाना थियो- उनीसित अर्कै व्यक्तिको राहदानी हुनु।
भोक छल्न गरेको सानो अपराधको बदला राज्यले उनीमाथि ठूलो अपराध गर्यो। पैसा लुटिएको केही दिनमा राज्यले उनीमाथि झन् ठूलो अपराध गर्यो। एक प्रहरी जवानले उनलाई घर जाने गाडी चढाइदिने भनेर गोंगबुको होटलमा लगेर बारम्बार बलात्कार गरे। अन्तमा कसैलाई भने मारिदिने धम्की दिएर गाउँको गाडी चढाइदिए।
एक महिनापछि मात्रै युवतीले आफन्तलाई यो दुर्दान्त कथा सुनाइन्। काठमाडौं पोस्ट र नेपाली टाइम्स पत्रिकाले यो प्रकरणलाई सुरूमा सार्वजनिक गरे। तर त्यति हुँदा पनि उनलाई न्याय नदिएर राज्यले तेस्रो पल्ट उनीमाथि अपराध गर्यो।
सामाजिक सञ्जालमा क्रुद्ध नागरिकहरूले न्यायका लागि चर्को आवाज उठाए तर सरकार कानमा तेल हालेर बसिरह्यो।
कुनै बेला राईजस्ता युवतीहरूलाई मुक्तिको सपना देखाएर युद्धमा होमेको माओवादी सरकारमा पुगिसकेको थियो। युद्ध सकिएसँगै पूर्वलडाकु समेतका युवायुवतीहरू लश्कर लागेर खाडी पसेका थिए। तर उनीहरू फर्किने बेला भोग्नुपर्ने व्यवहारको प्रतिनिधित्व गर्थ्यो त्यो घटनाले।
त्यस्तो अचाक्लीबाट क्रुद्ध युवापुस्ताले केही समय अगाडि अमेरिकामा चलेको ‘अकुपाइ वालस्ट्रिट’ को सिको गर्दै ‘अकुपाइ बालुवाटार’ अभियान सुरू गरे। दलीय बन्धनभित्र नरहेको ‘सुकिलामुकिला’ युवाहरूको पुस्ताले स्वस्फूर्त चलाएको सबभन्दा पहिलो र ठूलो अभियान थियो त्यो।
मैले बुझेसम्म महिनौं चलेको त्यही अभियानलाई नेपाली परिवेशको युवा अभियानको पाठशाला बनाउनुभएको थियो उज्ज्वल दाइले।
सीता राईको मुद्दालाई केन्द्रमा राखेर सुरू भए पनि छोरी माया महर्जन, सरस्वती सुवेदी, शिवा हसमी, बिन्दु ठाकुर र उज्जन श्रेष्ठ लगायतका हिंसापीडितहरूका मुद्दा त्यो अभियानमा जोडिए। द्वन्द्वकालका एकाध मुद्दा जोडिनासाथ माओवादी पार्टीका भातृ संगठनहरू अकुपाइ बालुवाटारको प्रतिकारमा धम्की दिने हदसम्मै पुगे।
जस्तोसुकै मुद्दामा न्याय र समताको विषय उठाउनासाथ त्यसले आफ्नो स्वार्थमा आँच पुर्याउन थाल्यो भने त्यसलाई नेपालका बाम पार्टीहरूले ‘डलरवादी’ भनेर खेदो खन्ने सिलसिला सायद त्यही अभियानको बेलाबाट सुरू भएको हो।
यो विषयमा उज्ज्वल दाइसित खुलेर कुरा गर्न त पाइएन। तर मेरो बुझाइ के छ भने न्याय र अधिकारका लागि लडिने यस्ता लडाइँहरू अन्ततः राज्य संस्थापन र सत्तामा हुने दलहरूसित ठोक्किन्छन् भन्ने बोध दाइलाई भएको देखिन्छ। त्यसपछि उहाँले विवेकशील नेपाली अभियानलाई राजनीतिक दलतर्फ मोड्ने निर्णय गरेजस्तो मलाई लाग्छ।
राजनीतिक दल बनाएर चुनावी मैदानमा भिडेसँगै दाइसामू चुनौतीको अर्को पहाड खडा भयो- कांग्रेस र कम्युनिस्टबीच बाँडिएका आम नेपाली मतदातालाई कसरी तेस्रो पार्टीका चिह्नमा भोट हाल्ने बनाउने? न्याय, समता र लोकतन्त्रभन्दा समेत माथि दलीय बफादारीलाई राख्ने जनसंख्यालाई कसरी सचेत बनाउने?
नेपालमा वैकल्पिक राजनीति गर्न खोज्नेहरूका सामुन्ने त्यो प्रश्न अद्यापि खडा छ। यद्यपि पछिल्लो स्थानीय चुनावपछि केही आशाका किरणहरू चाहिँ देखिएका छन्। भ्रष्टाचार र अकर्मण्यताको पर्याय बनेका दललाई अहिले ठूलो जोश र जाँगरसहित चुनौती दिइरहेका युवाहरूले उज्ज्वल दाइको जीवनबाट सिक्नु पर्ने कुरा धेरै छन्- उहाँको सफलताबाट पनि र असफलताबाट पनि।
अन्तमा, मैले उज्ज्वल दाइबारे धेरै कुरा उहाँको मृत्युपछि थाहा पाएँ। उहाँले जीवनभर जति मन्थन र वैचारिक आविष्कारहरू गर्नुभयो, ती दाइको ब्लग 'ह्वाइनेपालडटकम' मा सुरक्षित छन्। दाइलाई चिन्नमा मैले जस्तै धेरै नेपालीहरूले ढिलो गरे पनि दाइले छाडेका पाठहरू पढ्न, तिनबाट सिक्न र व्यवहारमा उतार्न कहिल्यै ढिलो हुने छैन।
सायद परम्परागत राजनीतिको तलाउमा स्थानीय चुनावले स-सानो भए पनि तरंग ल्याइदिएको यो समय दाइले छाडेका पाठहरू पढेर तिनलाई व्यवहारमा उतार्न सबैभन्दा उत्तम अवसर हो।